नेभिगेशन
स्वास्थ्य

वीरगंजमा फैलियो हैजा, दुईको मृत्यु, २०० भन्दा बढी बिरामी

पर्सा, ७ भदौ - वीरगंजमा हैजा संक्रमण तीव्र गतिमा फैलिदै जाँदा दुई जनाको ज्यान गएको छ भने दुई सय जनाभन्दा बढी बिरामी परेका छन् । नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार झाडापखालाको लक्षण देखिएका दुई बिरामीको मृत्यु भएको हो ।

३५ वर्षीय एक पुरुषको नारायणी अस्पतालमा शनिबार र १९ वर्षीया युवतीको वीरगंज हेल्थ केयरमा शुक्रबार मृत्यु भएको हो । दुवैको हैजा परीक्षण हुन नपाउँदै मृत्यु भएकाले पुष्टि हुन बाँकी रहेको जनाइएको छ । वीरगंज–१२ मुर्ली टोलबाट शुक्रबार झाडापखालाका ३० जनाभन्दा बढी बिरामी अस्पताल भर्ना भएका थिए ।

परीक्षणमा तीमध्ये ३ जनामा हैजाको जीवाणु विब्रिओ कोलेरा भेटिएको पुष्टि भएको छ । संक्रमितमध्ये एक १६ वर्षीय किशोरको अवस्था गम्भीर छ । जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. जयमोद ठाकुरका अनुसार हैजा संक्रमण सुरुमा वडा नम्बर ११, १२ र १३ मा देखिए पनि शनिबार साँझसम्म यो १६ नम्बर वडासम्म फैलिसकेको छ । 

धेरै जना उस्तै लक्षण देखिएर उपचारार्थ स्वास्थ्य संस्थामा पुगिरहेका छन् । संक्रमणको अवस्था देखेर हाल वडा नम्बर १ देखि १६ सम्मलाई जोखिमयुक्त क्षेत्र घोषणा गरिएको छ । संक्रमण फैलिदै जाँदा वीरगंज महानगरपालिकाले उच्च सतर्कता अपनाउन नगरबासीलाई आग्रह गरेको छ । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियान, पानी परीक्षण, र सरसफाइ प्रवर्धनका काम तीव्र पारिएको छ ।

शनिबार साँझसम्म वीरगंजका विभिन्न अस्पतालमा दुई सय जनाभन्दा बढी बिरामी उपचाररत छन् भने ३९ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ । सतर्कता अपनाउँदै संक्रमण नियन्त्रणका लागि दुई दिनसम्म नगरका सबै शैक्षिक संस्थाहरू बन्द गरिएका छन् । साथै, पानीपुरी, चाट जस्ता स्ट्रीट फूड पसलहरू पनि बन्द गर्न आदेश दिइएको छ ।

अस्पतालहरूका बिरामीको चाप बढेसँगै संक्रमण रोकथाममा मधेस प्रदेश सरकार पनि सक्रिय भएको छ । कार्यवाहक मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनमा डा. विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुर वीरगंजमा खटिएका छन् । उनीहरू संक्रमित क्षेत्रको अनुगमन तथा समन्वयमा जुटेका छन् । साथै, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्याउने, जनशक्ति थप गर्ने र घरदैलो जनचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

डीप बोरिङको पानी सेवनका कारण हैजा फैलिएको आशंका गरिएको छ । महानगरपालिकाका अनुसार पानीको नमुना संकलन गरी काठमाडौंको प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । फोहोर मुख्य कारक चिकित्सकहरूका अनुसार हैजा फोहोरबाट सर्ने रोग हो । यसका कीटाणु दूषित पानीको प्रयोगले फैलन्छ । जब हैजा संक्रमित व्यक्तिको दिसा कुनै तरिकाले पिउने पानीको स्रोतमा मिसिन्छ, तब पानी दूषित हुन्छ । यस्तो पानी नउमाली वा शुद्धीकरण नगरी पिउँदा, खाना बनाउन प्रयोग गर्दा, वा भाँडाकुँडा धुँदा रोग सर्ने खतरा अत्यधिक हुन्छ । 

बाढी, पहिरो वा फोहोर खानेपानी, मुहानमा ढल मिसिनु, खुला ठाउँमा दिसा गरेको ठाउँ नजिकै पानीको स्रोत हुनुले पानी दूषित हुन्छ । हैजाको कीटाणु खानाको माध्यमबाट पनि तीव्र गतिमा फैलिन्छ । दूषित पानीले पखालेको काँचै खाने फलफूल वा तरकारी खाँदा, हैजा लागेको व्यक्तिले राम्ररी हात नधोई खाना बनाउँदा वा छोएमा, संक्रमित व्यक्तिको दिसामा बसेको झिंगा नछोपेको खानामा बस्दा, सडकमा खुला रूपमा बेच्न राखिएका, बासी वा राम्ररी नपकाइएका खानेकुरा खाँदा, विशेषगरी, दूषित पानीबाट निकालिएका माछा वा अन्य समुद्री खाना काँचै खाँदा यो रोग सर्न सक्छ ।

स्वास्थ्यकर्मीले व्यक्तिगत सरसफाइको कमीलाई पनि कारक बताएका छन् । व्यक्तिगत सरसफाइमा ध्यान नदिदा पनि हैजा सजिलै सर्न सक्छ । शौचालय गएपछि साबुन–पानीले राम्ररी हात नधुनु, खाना खानुअघि वा खाना बनाउनुअघि हात सफा नगर्नु र हैजाका बिरामीको हेरचाह गरेपछि राम्ररी हात सफा नगर्नुले संक्रमणको जोखिम उच्च हुन्छ ।

वरपरको वातावरण फोहोर हुँदा हैजाको कीटाणुलाई फैलिन सजिलो हुन्छ । जथाभावी खुला ठाउँमा दिसापिसाब गर्नु, ढल निकासको राम्रो व्यवस्था नहुनु र फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा झिंगा बढ्दा पनि हैजा फैलन्छ । सफा पानी, सफा खाना र साबुन–पानीले हात धुने बानीले नै हैजाबाट बच्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।

महानगरका धेरै ठाउँमा खानेपानीका स्रोत वरपर फोहोर छ । नाला खुला छन् । वर्षासँगै ढलको पानी खानेपानीका स्रोतमा मिसिएको अनु्मान छ । केही महिना अघिसम्म खानेपानीको हाहाकार रहेको महानगरमा वर्षासंगै ढल थुनिएका छन् । फोहोर बढेको छ । पानीका स्रोत सफा गर्न चुनौती बढेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
स्क्रीनभित्रको एक्लोपन

स्क्रीनभित्रको एक्लोपन

संवेदना नै अस्तित्व हाे

संवेदना नै अस्तित्व हाे

मन मिल्छ किन कसैसँग झट्टै ?

मन मिल्छ किन कसैसँग झट्टै ?