नेभिगेशन
अर्थतन्त्र

रिलायन्सको फन्दामा शेयर लगानीकर्ता, पहिलो दिन २६ हजार ४ सय घाटा

संवाददाता
काठमाडौं, फागुन १
आईपीओ निष्कासनको अनुमति पाएदेखि नै विवाद मुछिएको रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले पहिलो कारोबार दिनमै ठुलो घाटा व्यहोर्नुपर्ने भएको छ । ४१ हजार ४४ रुपैयाँमा ५० कित्ता खरिद गरेका लगानीकर्ताले ओपनिङ रेन्जको अधिकतम मूल्य पाउँदा पनि २६ हजार ४०० रुपैयाँ घाटा व्यहोर्ने भएका हुन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले रिलायन्सको १ करोड ९० लाख कित्ता साधारण सेयर शुक्रबार सूचीकरण गर्दै सोमबारबाट पहिलो कारोबार खोल्ने भएको छ । नेप्सेले कम्पनीको ओपनिङ रेन्ज प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतम् ३०० रुपैयाँ तोकेको छ । जसअनुसार अधिकतम मूल्य पाउँदा पनि ५० कित्ता आईपीओ परेका लगानीकर्ताको सम्पत्ति १५ हजार रुपैयाँमा सीमित हुनेछ ।

प्रतिकित्ता ८२० रुपैयाँ ८८ पैसा खर्चिएर आईपीओ किनेका लगानीकर्ताले पहिलो कारोबार दिनमा प्रतिकित्ता करिब ५ सय रुपैयाँ गुमाउनेछन् । बोर्डले महँगो मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति दिए पनि नेप्सेले भने अधिकतम ३ सय रुपैयाँमात्रै ओपनिङ रेन्ज तोकेपछि लगानीकर्ता पहिलो दिन घाटामा पुगेका हुन् ।

कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गरेको हो, जसअनुसार संस्थागत लगानीकर्ताले गरेको बोलकबोलमा अन्तिम कट–अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ कायम भएकोमा नेपाल धितोपत्र बोर्डले १० प्रतिशत कम गरी ८२० रुपैयाँ ८८ पैसा प्रतिकित्तामा आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो ।

कम्पनीको वास्तविक नेटवर्थ र प्रतिसेयर आम्दानी न्यून हुँदा पनि मूल्य उच्च राखिएपछि विवाद बढेको थियो । आईपीओ निष्कासनमा अनियमितता देखिएपछि स्पिनिङविरुद्ध अर्थ मन्त्रालयमा उजुरी परेको थियो । त्यसपछि मन्त्रालयले बोर्डलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

बोर्डले अनुसन्धानका लागि पुस ४ गते १५ दिनको समय दिएर सञ्चालक विनोदकुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरे अध्ययन प्रतिवेदन बाहिर ल्याइएको छैन । समितिलाई बुक बिल्डिङ प्रक्रिया, मूल्य निर्धारण, वित्तीय विवरण उपयोग र अन्य प्रक्रियागत पक्षहरूमाथि समग्रमा अध्ययन गर्ने कार्यादेश दिइएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्