नेभिगेशन
मनोरञ्जन

अत्तरको सभ्यता यात्राः बेबिलोनदेखि टिकटकसम्म

मेसोपोटामिया, भारत, इजिप्ट र युरोप हुँदै अत्तर (परफ्यूम) को इतिहासले विभिन्न स्थानहरूमा आफ्नो छाप छोडेको छ । अहिले डिजिटल युगमा सोसल मिडियामार्फत यसको कथा नयाँ शैलीमा सुनाइँदैछ ।
‘परफ्यूम’ को नाम लिने बित्तिकै हाम्रो मनमा सुन्दर बोतलहरूमा राखिएको सुगन्धित तरल पदार्थको तस्बिर आउँछ । यो शब्द ल्याटिन शब्द ‘पर फ्यूमम’ बाट बनेको हो, जसको अर्थ ‘धुवाँको माध्यमबाट’ भन्ने हुन्छ । यसले के बुझाउँछ भने, आज हामी जसलाई ‘परफ्यूम’ वा अत्तर भन्छौँ, त्यो यसको पुरानो स्वरूप र हाम्रा पुर्खाहरूले प्रयोग गर्ने तरिकाभन्दा धेरै फरक छ ।
अत्तरको इतिहास सुगन्धसँग मात्र जोडिएको छैन, बरु यो वैज्ञानिक खोज, एक देशबाट अर्को देशसम्म पुगेको ज्ञान र व्यापार विस्तारको अध्ययन पनि हो । यसका साथै, यसले उपनिवेशवाद, प्राकृतिक स्रोतको दोहन र आजको युरोपेली मार्केटिङको कथा पनि भन्छ ।
सुगन्धको चर्चा हरेक कालखण्डमा
ब्रिटानिकाका अनुसार प्राचीन चिनियाँ, हिन्दू, इजिप्टवासी, इजरायली, कार्थेजियन, अरब, ग्रीक र रोमनहरू अत्तर बनाउने कलासँग परिचित थिए । अत्तर र यसको प्रयोगबारे बाइबलका साथै हदीसमा पनि उल्लेख पाइन्छ ।
सुरुवाती अत्तर बनाउने काम चार हजार वर्षभन्दा पहिले मेसोपोटामियाको सभ्यताबाट सुरु भएको थियो । त्यहाँ लोबान र गन्धरस जस्ता सुगन्धित पदार्थहरू जलाइने गरिन्थ्यो । माथितिर उड्ने धुवाँले धर्तीलाई भगवान्सँग जोड्छ भन्ने विश्वास गरिन्थ्यो ।
वास्तवमा, इतिहासमा दर्ता भएकी पहिलो ‘नोज’ अर्थात् अत्तर बनाउन माहिर व्यक्ति ‘तप्पुती’ नामकी एक महिला थिइन् । उनी मेसोपोटामियाकी एक रसायनशास्त्री थिइन् । करिब ३,२०० वर्ष पहिले (ईसापूर्व १२००) को एउटा प्राचीन शिलालेखमा उनले अत्तर बनाउने तरिकाहरू उल्लेख गरेको पाइन्छ ।
अत्तर विज्ञ तथा इतिहासकार अलेक्ज्याण्ड्रे हेलवानीले डीडब्ल्यूलाई बताएअनुसार, ‘तप्पुती एक ‘मुराक्किटु’ थिइन् । असिरियन र बेबिलोनका शाही दरबारहरूमा ‘मुराक्किटु’ को पद अत्तर बनाउने सबैभन्दा ठूला विशेषज्ञहरूलाई दिइन्थ्यो ।’ इतिहासमा तप्पुतीको नाम हुनु ठूलो कुरा हो, किनभने यसले हजारौँ वर्ष पहिले पनि शाही महलहरूमा अत्तर बनाउने काम महिलाहरूको हातमा थियो र उनीहरूलाई निकै सम्मान गरिन्थ्यो भन्ने देखाउँछ ।
आर्कियोकेमिस्ट बारबरा ह्युबर इतिहासमा मानिस र बिरुवाबीचको सम्बन्धमा अनुसन्धान गर्छिन् । उनी भन्छिन्, ‘समयसँगै अत्तरमा विभिन्न सुगन्धित वस्तु र विधिहरू थपिँदै गए । यसमा धूप, अगरबत्ती, सुगन्धित काठ, तेल, मलम, लेप र सौन्दर्य प्रशाधनहरू समेत छन् ।’
उनले डीडब्ल्यूलाई बताए अनुसार, यीमध्ये धेरैजसो वस्तुहरू केवल सजावटका लागि मात्र नभई धार्मिक कार्य, देवी–देवतालाई चढाउन, शुद्धीकरण वा उपचारका लागि प्रयोग गरिन्थे । अत्तर, औषधि र कस्मेटिक्सबीचको सीमा अक्सर अस्पष्ट हुने गर्दथ्यो ।
प्राचीन इजिप्टमा सुगन्धित तेल र खोटो (रेजिन) धार्मिक संस्कार र ममी बनाउन अनिवार्य थियो । त्यस्तै भारतमा छालामा चन्दनको लेप लगाइने, कपालमा चमेलीको फूल उनिने र लुगामा केशरको बास्ना बसाइने गरिन्थ्यो । सुगन्धको यस्तो फरक प्रयोगको मुख्य उद्देश्य शरीरलाई शुद्ध बनाउनु थियो ।
हालैको एक शोधले प्राचीन ग्रीस र रोममा देवी–देवताका मूर्तिहरूलाई थप जीवन्त देखाउन सुगन्धित वस्तुहरूले ‘महकाउने’ गरिएको तथ्य पनि पत्ता लगाएको छ ।
तरल अत्तरको खोजी
सुरुवाती समयमा सुगन्ध भन्नाले बल्दै गरेको काठ वा बाक्लो लेप मात्र बुझिन्थ्यो, तर इस्लामिक स्वर्ण युगमा अरब वैज्ञानिकहरूले यसलाई तरल रूप दिन थाले । बगदादका महान् विद्वान अल–किन्दीले ९औँ शताब्दीमा अत्तरको रसायन विज्ञानमा ‘द बुक अफ द केमेस्ट्री अफ परफ्यूम एण्ड डिस्टिलेसन’ नामक पुस्तक लेखे । यसलाई अत्तर निर्माणका सूक्ष्म कुराहरू बुझाउने पहिलो पूर्ण गाइड मानिन्छ ।
एक शताब्दीपछि, फारसी विद्वान इब्न सिना (जसलाई पश्चिममा एभिसेन्ना भनिन्छ) ले फूलबाट ‘इत्र’ (एसेन्सियल आयल) निकाल्न ‘भाप आसवन’ (स्टिम डिस्टिलेसन) प्रविधिलाई थप परिष्कृत बनाए । उनले विशेषगरी गुलाबमा काम गरे, जुन पछि अत्तर बनाउनेहरूका लागि एउटा नमूना बन्यो ।
यी दुवैले धेरै आधारभूत प्रविधि र विधिहरू आविष्कार गरे । आजको अत्तर उद्योगमा तिनै विधिहरू प्रयोग गरिन्छ ।
अत्तरको क्षेत्रमा पश्चिमा देशहरूको प्रगति
यी प्रगतिहरू विभिन्न माध्यमबाट युरोप पुगे । ८औँ देखि १५औँ शताब्दीको बीचमा स्पेन र पोर्चुगलको मुस्लिम–शासित हिस्सा ‘अल–अन्दलुस’ले एउटा पुलको काम ग¥यो, जहाँ टोलेडोमा बस्ने विद्वानहरूले अरबी ग्रन्थहरूलाई ल्याटिनमा अनुवाद गरे । त्यही समयमा भूमध्यसागरीय व्यापारमार्फत गुलाब जल र मसलाहरू भेनिस र जेनोआ जस्ता बन्दरगाहसम्म पुगे । त्यस्तै, धर्म युद्धका क्रममा युरोपेलीहरूले अरबको चिकित्सा पद्धति र अत्तर बनाउने तरिकाहरूलाई नजिकबाट बुझ्ने मौका पाए ।
स्पष्ट रूपमा भन्नुपर्दा, युरोपका लागि अत्तर नयाँ कुरा थिएन । रोमका मानिसहरू नुहाउनका लागि सुगन्धित पानी र तेल प्रयोग गर्थे । मध्यकालीन कुलीनहरू जडीबुटी, पोमेन्डर र अगरबत्ती प्रयोग गर्थे । मध्य युगमा अत्तरको व्यावहारिक र प्रतीकात्मक प्रयोग थियो । डाक्टरहरू ‘ब्ल्याक डेथ’ (प्लेग) फैलाउने ‘फोहर हावा’ बाट बच्न चराको चुच्चो जस्तो मास्कमा जडीबुटी भर्थे । फ्रान्सका राजा लुई १४औँ को भर्सायल दरबारका फब्बाराहरूबाट उनको मनपर्ने ‘ओरेन्ज ब्लोसम’ को पानी निस्कन्थ्यो । त्यस समयमा सुगन्धित पञ्जाहरू दुर्गन्ध लुकाउन मात्र नभई फेसनको हिस्सा पनि थिए ।
यद्यपि, अरब संसारको आधुनिक प्रविधि र उत्कृष्ट सामग्रीहरूले युरोपेली अत्तर कलालाई पुनर्जीवित ग¥यो र यसलाई एक आधुनिक उद्योगमा बदल्यो । उनीहरूले अल्कोहललाई बेसको रूपमा प्रयोग गर्न थाले, जसले गर्दा पहिलेको तुलनामा हल्का र लामो समयसम्म टिकिरहने अत्तरहरू बने ।
औपनिवेशिक विस्तारको असर
जब युरोपेली अत्तर उद्योग फस्टाउन थाल्यो (विशेष गरी फ्रान्समा), उपनिवेशहरूको विस्तारले यस उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको आपूर्तिमा ठूलो सहयोग पु¥यायो ।
अलेक्ज्याण्ड्रे हेलवानी भन्छन्, ‘मार्केटिङका तस्बिरहरूमा कच्चा पदार्थलाई प्रकृतिको अनमोल उपहारका रूपमा देखाइन्छ । अक्सर यिनलाई कुनै टाढाको अनौठो र जादुई देशबाट आएको जस्तो गरी प्रस्तुत गरिन्छ, जसले पुरानो औपनिवेशिक कालको सम्झना दिलाउँछ । तर जमिनको स्वामित्व, मजदुरको अवस्था, उचित मूल्य र वातावरणमा पर्ने असर जस्ता जटिल प्रश्नहरूलाई अक्सर लुकाइन्छ ।’
यसको एउटा उत्कृष्ट उदाहरण भनिला हो । १६औँ शताब्दीमा स्पेनीहरूले यसलाई युरोप ल्याए । पछि यो हिन्द महासागरका टापुहरूमा एक प्रमुख औपनिवेशिक बाली बन्यो । हेलवानी यहाँ एडमण्ड एलबियसको कथा सुनाउँछन्, जो रियुनियन टापुका एक दास बालक थिए । सन् १८४१ मा मात्र १२ वर्षको उमेरमा उनले भनिलाको बिरुवामा हातैले परागशेचना गर्ने तरिका पत्ता लगाए । आज पनि भनिला उत्पादनमा यही विधि प्रयोग गरिन्छ ।
हेलवानी भन्छन्, ‘यदि उनी नभएको भए भनिला एक दुर्लभ वस्तु मात्र बनेर रहने थियो । आजको पेटेन्ट र प्रविधिको संसारमा म सोच्ने गर्छु—यदि एडमण्ड एलबियस दास नभएको भए उनी कति ठूला अर्बपति हुन्थे होलान् ।’ उनले जोड दिँदै भने कि जब हामी ‘अत्तरको इतिहास’ को कुरा गर्छौँ, हामी सँगसँगै साम्राज्य, व्यापार र उपनिवेशवादको इतिहासको पनि कुरा गरिरहेका हुन्छौँ ।
युरोपेली ब्रान्डिङको प्रभाव
अत्तरको बजार बढ्दै जाँदा युरोपका ठूला कम्पनीहरूले प्रचार र विज्ञापनमा आफ्नो कब्जा जमाए । उनीहरूले बिस्तारै संसारलाई यो विश्वास दिलाए कि असल र महँगो अत्तर त्यही हो जुन युरोपेली शैलीको हुन्छ । यसरी ‘भद्रता’ र ‘स्तर’ लाई युरोपेली सौन्दर्यसँग जोडेर हेर्न थालियो ।
बारबरा ह्युबर भन्छिन्, ‘अत्तर बनाउन प्रयोग हुने फूल, मसला र जडीबुटीहरू संसारका विभिन्न भागबाट आउँछन् जहाँ अत्तर प्रयोगको शताब्दीयौँ पुरानो परम्परा छ, तर तिनलाई प्रस्तुत गर्ने तरिका र कथाहरू अक्सर ‘युरोसेन्ट्रिक’ (युरोप केन्द्रित) हुन्छन् । जब यी अत्तरहरू बेचिन्छन्, विज्ञापनमा सबै श्रेय युरोपेली शैली र संस्कृतिलाई दिइन्छ ।’
यसै कारण केही युरोपेली अत्तर कम्पनीहरूले आलोचना पनि खेप्नुपरेको छ, जसले सुगन्धलाई ‘ओरिएन्टल’ (पूर्वीय) भनी वर्गीकृत गर्छन् । ‘चेन्ज डट ओआरजी’को एउटा निवेदनमा यस्तो वर्गीकरणको विरोध गर्दै भनिएको छः ‘ओरिएन्ट शब्दले मध्यपूर्व, उत्तर अफ्रिका र दक्षिण एसियाजस्तो ठूलो क्षेत्रलाई एउटै घेरामा समेट्न खोज्छ, जहाँ अत्तर बनाउने धेरै पुराना विधि र कच्चा पदार्थको खोजी भएको थियो । कुनै कुरालाई केवल ‘आकर्षक’ देखाउन यो शब्दको बारम्बार प्रयोग गर्नाले त्यो साम्राज्यवाद र इस्लामोफोबियालाई लुकाउन खोजिन्छ जसले आज पनि संसारका यी भागहरूलाई अस्थिर बनाइरहेका छन् ।’
त्यसैले सन् २००० पछि अत्तर कम्पनीहरूले आफ्नो मार्केटिङको तरिका बदलेका छन् । अब तीखा र न्यानो सुगन्धहरू बुझाउन ‘एम्बर’ शब्द प्रयोग गरिन्छ ।
‘परफ्यूम–टक’ को असर
सोसल मिडियाले अत्तरको संसारलाई सबैका लागि खुल्ला गरिदिएको छ । आज टिकटकका इन्फ्लुएन्सरहरू र उनीहरूको ‘अनप्याकिङ’ भिडियोका कारण संसारभरका मानिसहरूले ती सुगन्धहरूबारे सजिलै जान्न सक्छन्, जसको बारेमा पहिले सीमित जानकारी मात्र थियो ।
परफ्यूम–टक (सुगन्धका लागि प्रयोग हुने टिकटक ह्यासट्याग) मा सुरुवाती समयमा ‘फ्लूर’ को ‘मिसिङ पर्सन’ निकै भाइरल भएको थियो । सन् २०२२ मा यो यति धेरै बिक्री भयो कि स्टक नै सकियो र अमेरिकामा २ लाखभन्दा बढी मानिसको ‘कुर्ने सूची’ तयार पारियो । यसले गर्दा भावनात्मक भिडियोहरूको बाढी नै आयो, जसमा मानिसहरू यो अत्तर सुँघेर आफ्ना बिछोडिएका प्रियजनहरूलाई सम्झिरहेका थिए ।
त्यस्तै, आज भारतमा युवाहरूको एक नयाँ वर्ग जन्मिएको छ जसले अत्तर बनाउने परम्परागत विधिहरूलाई आधुनिक रूप दिइरहेका छन् । इन्स्टाग्रामजस्ता प्लेटफर्म प्रयोग गरेर उनीहरू संसारलाई अत्तर बनाउने प्राचीन र वातावरणमैत्री प्रक्रियाबारे बताइरहेका छन् । उनीहरूको यो ‘डिजिटल स्टोरीटेलिङ’ले के प्रमाणित गर्छ भने सोसल मिडियामार्फत हामी हाम्रा ती जराहरूसम्म पुनः पुग्न सक्छौँ, जुन शायद औपनिवेशिक कालको व्यापारका क्रममा ओझेलमा पारिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्