काभ्रे । हामीले गाउँघरमा पाइने बाँसलाई त्यति ध्यान दिएका हुँदैनौं । तर बाँस खासमा बहुउपयोगी वनस्पति हो भन्ने हामीले बिर्सनु हुँदैन । मानिस जन्मिएदेखि मरेपछिसम्म पनि बाँस आवश्यक मानिन्छ । अझ धार्मिक काममा त यसको प्रयोग गरिन्छ नै, यसका साथै बाँसबाट तामाको तरकारी, हस्तकलाका सामानहरु र दैनिक प्रयोजनका बहुमूल्य सामानहरु पनि बनाउन सकिन्छ ।
करिब दुई दशकदेखि बाँसकै अनुसन्धान र नर्सरी शुरु गरेका बनेपाका बद्री अधिकारीको नर्सरीमा अहिले करिब १० हजार मोसो प्रजातीका बाँसका बेर्ना उत्पादन भएका छन् । उनले यसका लागि बीउहरु चाइनाबाट ल्याएका छन् । उत्पादित बेर्नाको प्रतिवटा दुई सयदेखि चार सय रुपैंयाँसम्ममा बिक्री हुन्छ ।
नेपालमा पाइने करिब ८० प्रजातिका बाँसमध्ये यो बेग्लै विशेषता भएको बाँस रहेको उनी बताउँछन् । अधिकारीका अनुसार यस बाँसलाई तामाको तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ भने कागज र हस्तकलाका सामान बनाउन पनि सकिन्छ । अझ नेपाल जस्तो पहाडी देशका पहिरो गइरहने ठाउँहरुमा लगाउने हो भने यसले भूक्षय रोक्न पनि ठूलो सहयोग गर्छ ।
मोसो बाँसको परिचय
यो बाँस ग्रामिनी परिवारभित्र पर्ने पात नझर्ने एक ठूलो आकारको घाँस हो । बाँसको काठ जस्तै कडा घना, बलिया हाँगाहरु, ढ्यांग्र्रा र चक्रिय फूल फूल्ने जस्ता गुणहरुले गर्दा अन्य घाँसभन्दा फरक हुन्छ । मोसो बाँस गानोबाट छुट्टाछुट्टै रुपमा विकसित हुने प्रजाति हो । यस प्रजातिको झ्याङ हुँदैन । मोसो बाँस पृथ्वीको शितोष्ण क्षेत्रमा पाइने सबैभन्दा ठूलो बाँस हो । यो सरदर ७५ फिट अग्लो र १८ सेन्टीमिटर डायमिटरको हुन्छ । मध्य पहाडी क्षेत्रमा यसको सफलतापूर्वक खेती गर्न सकिन्छ । यसको जरा उकालो र दायाँबायाँ सहजै फैलिन्छ भने ओरालोतिर कम फैलिन्छ ।
धनेश्वर बैकिवा सामुदायिक वन
०६४ साल श्रावण महिनामा वन विभाग अन्तर्गतको नेपाल वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले धनेश्वरको बैकिवा सामुदायिक वनमा पाँच सय बोट मोसो बाँसका बिरुवाहरु रोपेको थियो । सुरुमा ७ रोपनी जमिनमा लगाइएको उक्त बाँस हाल १ हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको छ । यो प्लट समुद्री सतहबाट १ हजार ५५० मिटरको उचाइमा छ ।
उत्तर मोहडाको सेपिलो जग्गामा यो बाँस छिट्टै मौलाउँछ । आजको दिनमा उक्त प्लटमा रुख र बाँसहरु सँगसँगै हुर्किरहेका छन् । त्यहाँको बाँस प्लटमा पुग्दा बेग्लै आनन्दको अनुभूति हुन्छ । त्यहाँ आउने सबै पर्यटक र दर्शकहरुले उक्त बाँस मन पराएका छन् । त्यस सामुदायिक वनका उपभोक्ता एवं पदाधिकारीहरुले राम्रो काम गरिएछ भनी गर्व गर्छन् ।
बिरुवा रोप्ने तरिका
नर्सरीमा राम्ररी हुर्किएका बिरुवाहरु रोप्दा राम्रो प्रतिफल भेटिएको छ । सानो र कलिला बिरुवाहरु कडा घाम र ठूलो पानीले मर्दछन् । बिरुवा लगाउँदा एक लाइनदेखि अर्को लाइन ३ मिटर र एक बिरुवादेखि अर्को बिरुवा ३ मिटरको फरकमा रोप्नुपर्छ । बिरुवाको खाडल ४५ सेन्टीमिटर × ४५ सेन्टीमिटरमा खन्नुपर्छ ।
सुरु–सुरुमा बाँस सानै रहेकाले तरकारीलाई थाँक्रा दिने, डोको, डालो बुन्ने र सिन्का बनाउने काममा प्रयोग हुन्थे । पछि आएर ग्रिन ब्याम्बो क्रियशनलाई हस्तकलाका सामानहरु बनाउन बिक्री गर्न सुरु भयो । यो प्रजातीको बाँसबाट बाक्लो खालको कागज पनि बनाउन सकिन्छ । यो अन्य बाँसभन्दा धेरै फरक छ । यसलाई नेपालका हरेकजसो जिल्लामा रोप्न सकिने अध्ययनले देखाएको छ ।
मोसो बाँसका बिरुवाहरु
बनेपा–धनेश्वर निवासी बद्री अधिकारीले सुरु गरेको मोसो बाँस नर्सरीमा २ वर्षे बिरुवाको दुई सय, ३ वर्षे बिरुवाको तीन सय, ४ वर्षे बिरुवाको चार सयका दरले बिक्री गरिरहेका छन् । उनले उत्पादन गरेका मोसो बाँस काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, काठमाडौं, कास्की, भक्तपुर, जुम्ला, ललितपुर, कालिकोट, दोलखा, दैलेख, रामेछाप, जाजरकोट, इलाम र अछाम गरी १६ जिल्लाहरुमा १२ हजार ५०० बिरुवाहरु रोपिसकिएका छन् । गतवर्ष खोटाङमा ५ हजार बिरुवाको माग आएको अधिकारीले बताउनुभयो । दुई वर्ष पहिले खोटाङमा भएको बाँस सम्मेलनमा यस जिल्लामा बाँसको नमूना उत्पादन गर्ने निर्णय भए बमोजिम माग गरिएको हो ।
हाल आफूलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, डिभिजनल वन कार्यालयहरु, स्थानीय सरकारी निकायहरु, वन तथा वातावरण संरक्षण मञ्च, ग्रिन ब्याम्बो क्रियशन, रिकफ्ट नेपाल, साहारा नेपाल, रुपान्तरण, आभारी जस्ता संस्थाहरुको यो बाँस विकास विस्तारमा साथ र सहयोग प्राप्त भइरहेको अधिकारी बताउँछन् ।
मोसो बाँसका फाइदा
एकल व्यक्तिले पनि सजिलै गोडमेल र काँटछाँट गर्न सकिन्छ भने बाँस रोपिएको क्षेत्रमा चिस्यान कायम रही पानीको मुलको संरक्षण हुने अनुसन्धानले देखाएको छ । धेरै बाँसका धनाहरु (बिरुवा) बिक्रीबाट बढी आम्दानी हुन्छ । पहिरो रोकथामका लागि त मोसो बाँस बरदान नै साबित भएको छ । यो बाँसमा किरा लाग्दैन भने तरकारी खानको लागि स्वादिलो र पोषणयुक्त टुसाहरु उत्पादन हुन्छ । यो बाँस रोपिएको ठाउँमा बाँदर आतंकको भय हुँदैन ।
मोसो बाँसबाट हस्तकलाका सुन्दर र आकर्षक सामाग्रीहरु तयार गर्न सकिन्छ । खेर गइरहेको र काम नलाग्ने खालको जग्गामा पनि यो बाँस रोप्न सकिने हुँदा जमिनको सदूपयोग पनि हुन्छ । यसका अतिरिक्त कागज उद्योगमा कच्चा पदार्थको रुपमा प्रयोग गरी गुणस्तरिय कागज प्राप्त गर्न सकिन्छ । उच्चकोटीको धागोबाट अन्तर्राष्ट्रियस्तरको कपडा पनि तयार हुने भएकाले यसबाट बेफाइदा कुनै देखिएको छैन । यसरी हामीलाई सामान्य लाग्ने बाँसको खेती गर्ने हो भने नेपालका धेरै डाँडाकाँडाहरु हरियाली हुने र पहिरो तथा भूक्षयबाट बचाउन सकिने अधिकारीको अनुभव छ ।
बिरुवा रोपिएको तीन वर्षपछि मुसाले बिरुवाको जरा खान सुरु गर्छ । तसर्थ सुरुदेखि नै वृक्षरोपण गरिएको क्षेत्र सफा राखी मुसा नियन्त्रण कार्य गर्नुपर्दछ । मुसा यो बाँसको ठूलो शत्रु हो । कोशी प्रदेशको खोटाङमा भएको पहिलो बाँस सम्मेलनबाट बाँसको संग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’ का रूपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरिएको थियो । दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको घोषणापत्रमा यस्तो निर्णय समेटिएको हो ।
तीन दिनसम्म संचालन भएको सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’ मा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलोपटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ रूपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नारासहित २०८२ फागुन १५ गते सुरु गरिएको बाँस सम्मेलन बाँसको अपार सम्भावनालाई स्वीकार गर्दै फागुन १७ गते सम्पन्न भएको थियो ।
जिल्ला घोषणापत्रमा बाँसलाई छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दीगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ । सम्मेलन अवधिभर बाँससँग सम्बन्धित नीति निर्माण, खेती विस्तार, उद्यम विकास, बजारीकरणलगायत विषयमा ४४ जना विज्ञ तथा अध्येताबाट प्रस्तुत भएका २३ वटा कार्यपत्रको निचोडको आधारमा घोषणापत्र जारी गरिएको थियो ।