नेभिगेशन
मनोरञ्जन

‘छोटे हलिउड’ समस्यामा

एटलान्टा, (एपी) । अमेरिकाको जर्जिया राज्य कुनै समय छोटो हलिउडका रुपमा प्रख्यात थियो । हलिउडका सबैजसो फिल्महरु जर्जिया र राजधानी एटलान्टामा सुटिङ हुन्थे । यसले त्यहाँका फिल्म अध्ययन गर्ने विद्यार्थी र अन्य सर्वसाधारणले मारामार काम पाउँथे । यतिबेला भने उनीहरु कामविहीन हुन थालेका छन् । 
तीमध्ये एक हुन्, क्रिस रैटलिज । क्रिसले एटलान्टामा फिल्म सेटमा काम गर्दा हप्तामा ९,५०० डलरसम्म कमाउँथे । अहिले भने उनी खाद्य सहायता (फुड स्टाम्प) मा निर्भर छन् ।
४८ वर्षीय डिजिटल इमेजिङ प्राविधिक रैटलिज सन् २०१७ मा इन्डियानाबाट जर्जिया सरेका थिए । उदार कर छुटको आकर्षणका कारण धेरै स्टुडियोहरू एटलान्टा आएका थिए र शहर ‘दक्षिणको हलिउड’ भनेर चिनिन थालेको थियो । ‘द हंगर गेम्स’, ‘स्ट्रेन्जर थिंग्स’ र दर्जनभन्दा बढी मार्भल फिल्मजस्ता सयौँ निर्माण यहीँ भएका थिए ।
रैटलिजका अनुसार काम निकै कठिन थियो—हप्तामा ७० घण्टा काम गर्नु सामान्य कुरा थियो—तर प्रतिघण्टा ७२ डलर पारिश्रमिकले जीवन नै बदलिदियो । उनले भने, ‘मैले कमाएको पैसाबाट एकै वर्षमा तीन वर्षको कर तिर्न सकेँ ।’ उनले नेटफ्लिक्सको ‘रेड नोटिस’सहित ‘मिराकल वर्कर्स’ र ‘पी–भ्याली’जस्ता शृंखलाहरूमा काम गरेका थिए ।
तर अहिले अवस्था फेरिएको छ । मे २०२४ यता उनले फिल्म सेटमा जम्मा चार दिन मात्र काम पाएका छन् । अहिले उनी स्थानीय टेनिस सेन्टरमा अल्पकालीन काम गर्छन् र अतिरिक्त आम्दानीका लागि ¥याकेट मर्मत गर्छन् । घण्टाको १५ डलर कमाइमा चार जनाको परिवार चलाउन कठिन भएको छ । क्यान्सरपीडित  उनकी श्रीमतीले पनि घर खर्च जोड्न केही दिन अरुका घर सफा गर्ने काम गर्न थालेकी छन् । घरको भाडा तिर्न पनि गाह्रो भएपछि परिवार ऋणमा छ र उनी गहिरो तनावमा छन् ।
‘मेरो क्रिसमसको एउटै चाहना छ कि फिल्म करिअर फेरि फर्कियोस्,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।
जर्जियाको फिल्म उद्योगमा गिरावट
सन् २०२२ मा ४.४ अर्ब डलरसम्म पुगेको जर्जियाको फिल्म तथा टेलिभिजन उत्पादन खर्च घटेर पछिल्लो आर्थिक वर्षमा २.३ अर्ब डलरमा झरेको छ । उत्पादन संख्या पनि ४१२ बाट घटेर २४५ मा पुगेको छ ।
सन् २०२३ मा लेखक र कलाकारहरूको हडतालका कारण महिनौँसम्म काम रोकिँदा उद्योगलाई ठूलो धक्का लागेको थियो ।
जर्जिया फिल्म अफिसका उपआयुक्त ली थोमसका अनुसार धेरै निर्माण कम्पनीहरूले विदेशतिर काम सार्न थालेका छन्, किनकि त्यहाँ लागत कम पर्छ । मार्भल स्टुडियोले पनि आफ्नो ठूलो उत्पादन बेलायततिर सारिसकेको छ । नेटफ्लिक्सजस्ता स्ट्रिमिङ कम्पनीहरूले पनि विदेशमा बढी छायांकन गर्न थालेका छन् ।
स्थानीय फेसबुक समूहहरूमा काम नपाएको गुनासो बढ्न थालेको छ । पोशाक सुपरभाइजर मोनिक यङ्गर भन्छिन्, ‘पहिलेभन्दा आधाभन्दा कम काम पाइन थालेको छ, कहिलेकाहीँ त आफू कामै नलाग्ने व्यक्ति पो हूँ कि जस्तो लाग्न थालेको छ ।’
लोकेसन स्काउट जेन फ्यारिसका अनुसार पहिले काम धेरै भएर प्रस्ताव अस्वीकार गर्नुपथ्र्यो, अहिले भने दुई–तीन महिनासम्म काम नपाउने अवस्था आएको छ ।
अनिश्चित भविष्यबीच तालिम 
उद्योग कमजोर भए पनि एटलान्टाका ठूला स्टुडियोमध्ये एक श्याडोबक्स स्टुडियोले भविष्यमा सुधार आउने विश्वास गर्दै नयाँ तालिम कार्यक्रम सुरु गरेको छ ।
यसमा सहभागीलाई फिल्म निर्माणका आधारभूत सीप सिकाइन्छ र पहिलो काम पाउन सहयोग गरिन्छ ।
२४ वर्षीय विद्यार्थी जुलियन विलियम्स उत्पादन सहायक बन्ने सपना देख्छन् । उनले भने, ‘यहाँका मानिसहरू सहयोगी छन्, सिकेको कुरा बाँड्न तयार छन् ।’
तर स्टुडियोका अधिकारीहरू भन्छन्, अहिले उद्योग अझै कमजोर छ । नौ वटा साउन्ड स्टेजमध्ये एउटा मात्र प्रयोग हुने गरेको छ ।
पुनःस्थापनाको खोजी
रैटलिज अहिले पनि कुनै चमत्कार चाहँदैनन्, उनलाई नियमित काम भए पुग्छ । पाँच–छ महिनाको स्थिर काम पाए आर्थिक अवस्था सुधार्न र जीवनलाई फेरि व्यवस्थित गर्न सकिने उनको विश्वास छ ।
उनले भने, ‘सन् ७० को दशकमा अमेरिकाको अटो उद्योग विदेश पलायन भएपछि  डेट्रोइट (कार उत्पादक)का कामदारले भोगेको अवस्थाजस्तै अहिले हाम्रो उद्योगमा भएको छ ।’
यद्यपि केही अनुभवी फिल्मकर्मीहरू अझै आशावादी छन् । जेन फ्यारिस भन्छिन्, ‘यहाँ धेरै प्रतिभाशाली मानिस छन् । यो उद्योग सजिलै हराउने छैन । जर्जियाले फेरि नयाँ सिर्जनात्मक लहर ल्याउनेछ भन्ने मलाई विश्वास छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन