नेभिगेशन
उपत्यका

काठमाडौंमै उक्लियो आर्थिक अपराधको ग्राफ

डिजिटल भुक्तानी कारोबारमा पहुँच बढाउने अपराधको प्रकृति पनि हाइटेक

काठमाडौं । 

१. नागार्जुन–८ भीमढुंगाबाट हुन्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई १ करोड १६ लाख रुपैयाँ नगदसहित पक्राउ ग¥यो । पक्राउ पर्नेमा नागार्जुन–८ का २८ वर्षीय सागर गिरी र सोही उमरका प्रमोदप्रसाद धिताल छन् । उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा काटिएका चेक, एटीएम कार्ड, मोबाइल, सिमकार्ड तथा सवारीसाधनसमेत बरामद भएको छ ।
२) बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका पूर्व कार्यकारी अध्यक्ष ६९ वर्षीय योगेन्द्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । सर्वोच्च अदालतले उनलाई दुई मुद्दामा गरी ६ वर्ष कैद र २२ करोड ६७ लाख ४० हजार रुपैयाँभन्दा बढी जरिवाना तोकेको थियो ।
३) दरबारमार्ग क्षेत्रको जय नेपाल हलनजिक प्रहरीले शनिबार राति स्कुटरमा सवार दुई युवकलाई स्रोत नखुलेको १० लाख ६३ हजार ८४० रुपैयाँ नगदसहित नियन्त्रणमा लियो । पक्राउ पर्नेमा कपन बस्ने रामेछापको खाँडादेवी–५ का २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ छन् ।
४) बैंकिङ कसुर मुद्दाका फरार नागार्जुन–१ रानीवन बस्ने बर्दिया राजापुर–५ की ३१ वर्षीया सदिशा पाण्डे खनाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंले गत वैशाख ३ मा उनलाई उक्त मुद्दामा ३६ लाख ८२ हजार ९ सय ८० रूपैयाँ जरिवाना, ३ दिन कैद र १ लाख ४७ हजार ३ सय १९ रूपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने सजाय फैसला गरेको थियो । उनी फरार सूचीमा थिइन ।
यी केही प्रतिनिधि घटना मात्रै हुन् । काठमाडौंमा आर्थिक अपराधको ग्राफ बढ्दै गएको देखिएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले सार्वजनिक गरेको फागुनको मासिक प्रतिवेदनमा राजधानीमा भएका कुल अपराधमध्ये करिब आधा हिस्सा आर्थिक अपराधसँग सम्बन्धित रहेको तथ्य बाहिर ल्याएको छ ।
परिसरमा एक महिनामा दर्ता भएका कुल ६५३ मुद्दामध्ये ३०८ आर्थिक अपराधसँग सम्बन्धित छन् । जघन्य तथा गम्भीर अपराधका २१४, महिला तथा बालबालिका विरुद्धका ३५ र अन्य विभिन्न प्रकृतिका ९६ मुद्दा दर्ता भएका छन् ।
प्रहरीका अनुसार आर्थिक अपराध अन्तर्गत बैंकिङ कसुर, ठगी, हुन्डी कारोबार, स्रोत नखुलेको रकमको ओसारपसार, अनियमित वित्तीय कारोबार तथा लेनदेनसम्बन्धी मुद्दाहरू बढी दर्ता भएका छन् । राजधानी आर्थिक गतिविधिको केन्द्र भएकाले पनि यस्ता अपराध बढी देखिने गरेको प्रहरीको भनाइ छ ।
फागुन महिनाको विवरण हेर्दा आर्थिक अपराधसँग सम्बन्धित रकमको परिमाण पनि ठूलो छ । विभिन्न बैंकिङ कसुर, ठगी तथा स्रोत नखुलेको रकमका घटनामा करोडौं रुपैयाँ बराबरको आर्थिक कारोबार अनुसन्धानको दायरामा आएको छ । बैंकिङ कसुरका छुट्टाछुट्टै मुद्दामा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ । ठगीमा ११, सहकारी ठगीमा ४ र सट्टेबाजी कसुरमा ३ जना पक्राउ परेका छन् । अनुचित लेनदेनका दुई मुद्दामा एक जना पक्राउ परेका छन्, मागदाबी रकम ३ करोड ५४ लाख ७९ हजार रुपैयाँ छ । 
यो अवधिमा साइबर अपराध र ठगीका कसुरमा मात्रै १९९ निवेदन प्रहरीले प्राप्त गरेको छ । जसमा अनलाईनमा सामान किन्दा ठगीमा परेको भन्दै ११७ जनाले कार्बाहीका लागि जाहेरी दिएका छन् । चिट्ठा परेको भनेर ठगिएका ७, पैसा दोब्बर बनाइदिने लोभ देखाएर ठगेका ६, पार्सल आएको रकम जम्मा गर्न लगाएर ठगी गरेका ५, जैदेशिक रोगराीमा पठाइदिने भन्दै ठगेका ४ र बैंक खातामा अनधिकृत पहुँच पु¥याइ ठगेका घटना ४ वटा छन् । 
मोबाइल हराउँदा पैसा चोरी भएका ९ घटना छन्, जसमा पीडितले सम्बद्ध आरोपीमाथि कार्बाहीका लागि जाहेरी दिएका छन् । आर्थिक अपराधको सूचीमा भुलबस अर्काको खातामा पैसा ट्रान्सफर गरेर फिर्ता नपाएको जाहेरी पनि छन् । यस्तोको संख्या ३ वटा छ भने अर्काको ओटीपी मागेर ठगी गरेका घटना ७ वटा छन् ।
परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार डिजिटल भुक्तानीको सजिलो व्यवहारसँगै वित्तीय कसुरका अपराधको प्रकृति पनि परिवर्तन भएको पाइएका छन् । मोबाइल र ओटीपीबाट बैंक खातामा अनधिकृत पहुँच पु¥याइ पैसा चोरेका घटना यसका ज्वलन्त उदाहरण छन् । यसले अनुसन्धानमा प्रहरीले आइटीमा दख्खल बढाउनुपर्ने देखाएको छ । 
‘आर्थिक अपराधको स्वरूप परिवर्तन हुँदै गएको छ । पहिले ठगी वा लेनदेन विवादजस्ता मुद्दा बढी देखिने गरे पनि अहिले बैंकिङ प्रणाली, डिजिटल कारोबार, अभौतिक मुद्रा र अन्तरदेशीय रकम कारोबारसँग सम्बन्धित अपराध बढ्दै गएका छन्,’ एसपी भट्टराईले भने । अर्थतन्त्रसँग जोडिएका गतिविधि तीव्र रूपमा विस्तार हुँदै जाँदा त्यसको दुरुपयोग गर्ने प्रवृत्ति पनि बढेको प्रहरीको विश्लेषण छ । विशेषगरी छिटो आर्थिक लाभ लिने उद्देश्य, अवैध रकमको चलखेल तथा अनौपचारिक वित्तीय प्रणालीको प्रयोग आर्थिक अपराध बढ्नुका कारण मानिन्छ ।
प्रहरीले आर्थिक अपराध नियन्त्रणका लागि विशेष अनुसन्धान टोली परिचालन, वित्तीय संस्थासँग समन्वय, डिजिटल निगरानी तथा सूचनाको आधारमा छापा अभियान सञ्चालन गरिरहेको जनाएको छ । 
आर्थिक अपराधका जाहेरी, धरपकड र मुद्दाको कार्बाही प्रमुख १० अपरोधमा पहिलो नम्बरमा छ । जबकी गत फागुनमा देशमा प्रतिनिधिसभा निर्वाचन थियो । चुनावी गतिविधि रहँदा अन्य अपराध कम भए पनि आर्थिक अपरोधको संख्या घटेन । 
गत आर्थिक वर्ष २०८१÷८२ मै पनि काठमाडौंमा आर्थिक अपराधको सूचक उच्च थियो । एक वर्षमा बैंकिङ कसुरमा कार्बाहीका लागि ६ हजार ५ सय ५३ जाहेरी आएको तथ्यांक छ । तिनमा धेरैजसो मुद्दा अदालत पुगेका छन् । अघिल्लो आर्थिक वर्ष यस्तो कसुरका उजुरी ५ हजार ७ सय १ वटा दर्ता भएको तथ्यांक छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्