नेभिगेशन
साहित्य

भैरव पुरस्कार हास्य व्यंग्यकार प्रधानलाई

प्रख्यात साहित्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार घोषणा गरिएको छ । भैरव पुरस्कार गुठीले शुक्रबार सो घोषणा सार्वजनिक गरेको हो ।

भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताको नाम अनुमोदन गरेको हो । जसअनुसार २०८२ सालको भैरव पुरस्कार भारत–सिलगुढी निवासी वरिष्ठ हास्य व्यंग्यकार कृष्ण प्रधानलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि एक लाख ११ हजार १११ रुपैयाँ रहेको छ । 

भैरव पुरस्कार पहिलोपटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गर्न लागिएको हो । त्यस्तै एक लाख एक हजार १११ रुपैयाँ राशिको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने गुठीले जनाएको छ । 

त्यस्तै ५१ हजार १११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरिने भएको छ । पुरस्कार प्राप्तकर्ताको नाम छनोट गर्न गुठीले साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्वय नरेन्द्रराज पौडेल र प्रह्लाद पोखरेल सदस्य रहेको चयन समिति गठन गरेको थियो ।

आउँदो असोज ३ गते राजधानीको गोकर्णेश्वर–५, स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम आयोजन गरी घोषित पुरस्कार वितरण गरिने र सोही दिन गुठीको साधारणसभा पनि आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्