नेभिगेशन
विश्व
अफगान–पाकिस्तान द्वन्द्व

कथा नियन्त्रणको लडाइँमा दुवैतिरका सेना

काबुल । सोमबार काबुलमा भएको हवाई आक्रमणले फेब्रुअरीमा फेरि सुरु भएको शत्रुतापछि देखिएको सबैभन्दा ठूलो हताहती निम्त्यायो ।
राजधानीभर विस्फोटको आवाज गुञ्जिएको केही घण्टामै दुवै पक्षले सामाजिक सञ्जालमा पोस्ट गर्न थाले — उत्तर खोजिरहेका मानिसहरूबीच शब्दको युद्ध सुरु भयो ।
‘पाकिस्तानी सैन्य शासनले फेरि एकपटक अफगानिस्तानको हवाई क्षेत्र उल्लङ्घन गर्दै काबुलस्थित लागूऔषध पुनस्र्थापना अस्पताललाई लक्षित गरेको छ, जसका कारण उपचार गरिरहेका लागूऔषध प्रयोगकर्ताहरूको मृत्यु र घाइते भएका छन्,’ तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले पोस्ट गरे र उनले यस्तो कार्यलाई ‘मानवता विरुद्धको अपराध’ भने ।
फ्याक्टचेकर मोइब नामको खाताबाट पाकिस्तानको सूचना मन्त्रालयले प्रतिक्रिया दिँदै तालिबान प्रवक्ताको पोस्टको तस्वीरमाथि ‘प्रपोगन्डा’ भन्ने छाप लगायो ।
‘१६ मार्चको रात पाकिस्तानले काबुल र नंगरहारमा रहेका सैन्य प्रतिष्ठान तथा आतङ्कवादी सहयोग पूर्वाधार, जसमा प्राविधिक उपकरण भण्डारण र गोला–बारुद भण्डारण समावेश थियो, सटीक रूपमा लक्षित गरेको थियो, त्यहाँबाट निर्दोष पाकिस्तानी नागरिकमाथि प्रयोग भइरहेको थियो,’ पोस्टमा भनिएको थियो ।
‘आक्रमणपछि भण्डारण गरिएको गोला–बारुद विस्फोट भएको घटनाले झुटा दाबी पूर्ण रूपमा असत्य सावित गर्छ ।’
बिहानसम्म अफगान तालिबान अधिकारीहरूले आक्रमणमा चार सयभन्दा बढी मानिसको मृत्यु भएको दाबी गरे ।
बीबीसीले यो संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न सकेन तर स्रोतहरूले एक सयभन्दा बढी मानिस मारिएको बताएका छन् । पछि अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय सहायता मिशनले १४३ जनाको मृत्यु र ११९ जना घाइते भएको पुष्टि गरेको बतायो र अनुसन्धान जारी रहेकाले संख्या अझ बढ्न सक्ने जनाएको छ ।
मिडिया र संयुक्त राष्ट्रसंघका प्रतिवेदनले लागूऔषध पुनस्र्थापना केन्द्र प्रभावित भएको बताएका भए पनि पाकिस्तानी सेनाले नागरिक हताहती भएको स्वीकार गरेको छैन । बरु सैन्य प्रवक्ताले थप आरोप लगाए ।
‘साँचो कुरा के हो भने उनीहरूले लागूऔषध प्रयोगकर्ताहरूलाई जम्मा गर्छन् र आत्मघाती बमबारुदका रूपमा प्रयोग गर्छन्,’ पाकिस्तान सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले आक्रमणपछिका दिनहरूमा दिएको अन्तर्वार्तामा भने ।
‘यदि त्यहाँ लागूऔषध प्रयोगकर्ताहरू थिए भने सम्भवतः त्यो बम आक्रमणकारीलाई तालिम दिने केन्द्र थियो ।’
उनले आफ्नो दाबीको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेनन् ।
बीबीसीले यसअघि उक्त पुनस्र्थापना केन्द्रबाट रिपोर्टिङ गरेको थियो । यसलाई सेनाले एक दशकदेखि चलाइरहेको छ र सन् २०२३ मा त्यहाँ उपचार गराइरहेका बिरामीहरूसँग कुरा गरेको थियो ।
यो हप्ता भएको घटनाले यो द्वन्द्व कसरी अघि बढिरहेको छ भन्ने देखाउँछ ।
दुवै पक्ष न त सैन्य रूपमा पछि हटिरहेका छन्, न त भाषिक युद्ध छाडेका छन् । पाकिस्तानले हवाई आक्रमण गरिरहेको छ भने तालिबान सरकारले ड्रोन आक्रमण गरिरहेको छ ।
यी पोस्ट र समाचार शीर्षकहरूले दुवै पक्षले यस द्वन्द्वलाई कसरी हेर्छन् भन्ने कुरा देखाउँछन् । पहिलेका मित्र राष्ट्र अहिले शत्रुमा परिणत भएका छन् र मिलापको अवसर साँघुरिँदै जान थालेको छ ।
किन लडिरहेका छन् ?
दुवै पक्षले द्वन्द्व सुरु गरेको आरोप एकअर्कामाथि लगाउँछन् । पाकिस्तान भन्छ, यो आतंकवादको विषय हो ।
पाकिस्तानभित्रका आक्रमणहरूमा मृत्यु संख्या बढ्दै गएको छ । इस्लामाबादस्थित ‘सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडीज’ अनुसार २०२५ पछिल्लो एक दशककै सबैभन्दा हिंसात्मक वर्ष थियो ।
पाकिस्तानले लामो समयदेखि तालिबान सरकारले आफ्नो सीमाभित्र आतङ्ककारी समूहलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ र भारतले पनि त्यस्ता गतिविधिलाई सहयोग गरेको आरोप लगाएको छ ।
भारत र तालिबान दुवैले यी आरोपलाई कडा रूपमा अस्वीकार गर्दै पाकिस्तानभित्रको समस्या पाकिस्तानकै आन्तरिक विषय भएको बताएका छन् ।
तर यसले पाकिस्तानका अधिकारीहरूलाई अझ आक्रोशित बनाएको छ ।
प्रायः कुनै आक्रमण भएको केही घण्टामै पाकिस्तानका मन्त्रीहरूले अफगानिस्तानलाई दोष दिन्छन्, जसको तालिबान सरकारले कडा प्रतिवाद गर्छ ।
वर्षौँको कूटनीतिक प्रयासपछि पाकिस्तानले अब कुरा गर्ने केही बाँकी नरहेको बताउन थालेको छ– ‘पाकिस्तानमा आतङ्कवादको समस्या छैन,’ पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ता मोशर्रफ जैदी भन्छन्, ‘पाकिस्तानमा अफगान–तालिबान शासनको समस्या छ र पाकिस्तानसँग भारतको प्रभुत्वको समस्या पनि छ । हामी यी सबै समस्या समाधान गर्नेछौँ ।’
उनका अनुसार पाकिस्तानले गरेको कारबाहीका लागि माफी माग्ने आवश्यकता छैन । ‘पाकिस्तानी विश्लेषक वा सरकारी प्रतिनिधि टेलिभिजनमा आएर आफ्नो देशको रक्षा गरेकोमा माफी माग्ने समय सकिएको छ । पश्चिमी सञ्चारमाध्यमहरूले अब स्पष्ट र दृढ पाकिस्तानलाई स्वीकार गर्नुपर्नेछ ।’
अक्टोबरमा सीमा क्षेत्रमा हिंसात्मक झडप र काबुल–कन्धारमा आक्रमण हुँदा पाकिस्तानले हवाई आक्रमणको जिम्मेवारी खुला रूपमा लिएको थिएन ।
तर अहिले अवस्था बदलिएको छ । पाकिस्तानका सूचना मन्त्रीले सामाजिक सञ्जालमा आक्रमणका भिडियो पोस्ट गरिरहेका छन् । तालिबान सरकारले भने पाकिस्तानी तालिबानको समस्या पाकिस्तानले नै सिर्जना गरेको बताउँदै आएको छ । उनीहरूले यसलाई आफ्नो सार्वभौमिकताको रक्षा भनेर प्रस्तुत गर्छन् ।
उनीहरूले पाकिस्तान अन्य शक्तिसँग मिलेर अफगानिस्तानलाई अस्थिर बनाउन खोजिरहेको आरोप पनि लगाएका छन् । ‘पाकिस्तानका केही सैन्य समूहहरू ठूला शक्तिहरूसँग मिलेर अफगानिस्तानलाई अस्थिर बनाउन खोजिरहेका छन्,’ मुजाहिदले जनवरीमा दिएको अन्तर्वार्तामा भनेका थिए ।
पाकिस्तानले यी आरोप अस्वीकार गर्दै आफ्नो कारबाही नागरिक सुरक्षाका लागि भएको बताएको छ । यदि आक्रमण जारी रहे, तालिबान अधिकारीहरूले पाकिस्तानले पनि गम्भीर चुनौती बेहोर्ने चेतावनी दिएका छन् ।
‘उनीहरूले काबुलमा आक्रमण गरेर सुरक्षित बस्न सक्छु भन्ने नसोचून्,’
तालिबानका रक्षा मन्त्री मुल्ला याकूबले भने, ‘जसरी उनीहरूले काबुललाई लक्षित गर्छन्, इस्लामाबाद पनि लक्षित हुनेछ ।’
सोमबारको आक्रमणभन्दा तीन दिनअघि तालिबानले पाकिस्तानको राजधानीतर्फ ड्रोन पठाएको दाबी गरेको थियो । पाकिस्तानले भने त्यसलाई ‘सामान्य’ आक्रमण भन्दै खारेज गरेको थियो । आक्रमणपछि तालिबानले ‘कडा प्रतिक्रिया’ आउने चेतावनी दिएको छ ।
ईदको नमाजमा तालिबान नेता हिबतुल्लाह अखुन्दजादाले पाकिस्तानको नाम नलिए पनि स्पष्ट संकेत दिँदै भनेका छन्, ‘यदि कसैले हामीमाथि बम हान्छ भने हान्न देऊ, रकेट प्रहार गर्छ भने गर्न देऊ, हामी परिवर्तन हुँदैनौँ । हामीलाई बम र विमानले नष्ट गर्न सकिँदैन ।’
दुवै पक्षले ईद उल फित्रका अवसरमा कारबाही रोकिने बताएका छन्, जसमा साउदी अरब, कतार र टर्कीले मध्यस्थता गरेका छन् । मध्यस्थकर्ताहरूले यसलाई स्थायी युद्धविरामको अवसर बनाउन खोजेका छन्, तर दुवै पक्ष आक्रामक बयान र आक्रमणमा अडिग रहेकाले मेलमिलापको सम्भावना घट्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्