नयाँदिल्ली । जर्मनी यतिबेला दक्ष श्रमिकको अभावसँग जुधिरहेको छ । पुराना कर्मचारीहरू सेवा निवृत्त भइरहेका छन् भने ती रिक्त स्थान भर्नका लागि पर्याप्त मात्रामा युवा जनशक्ति पाइरहेका छैनन् । यो समस्या समाधान गर्न जर्मनीले पछिल्लो समय भारतीय श्रमिकहरूलाई प्राथमिकता दिन थालेको छ ।
हान्डिर्क फन उन्गर्न–स्टर्नबर्गका लागि यो यात्रा सन् २०२१ फेब्रुअरीमा प्राप्त एउटा इमेलबाट सुरु भएको थियो । भारतबाट आएको उक्त सन्देशमा भनिएको थियो, “हामीसँग व्यावसायिक तालिमको खोजीमा रहेका धेरै उत्साही युवाहरू छन्, के तपाईं इच्छुक हुनुहुन्छ ?“
त्यतिबेला फन उन्गर्न दक्षिण–पश्चिम जर्मनीको फ्राइबर्ग चेम्बर अफ स्किल्ड क्राफ्ट्समा कार्यरत थिए । यो संस्थाले सिकर्मी, डकर्मीदेखि कसाई र बेकरी व्यवसायीसम्मका दक्ष कामदार र उनीहरूलाई रोजगारी दिने कम्पनीहरूको प्रतिनिधित्व गर्छ । त्यो इमेल यस्तो समयमा आएको थियो जब जर्मनीका धेरै रोजगारदाताहरू कामदार नपाएर छटपटाइरहेका थिए । त्यसैले उनले यसलाई एउटा अवसरका रूपमा लिने निर्णय गरे ।
विशेषगरी कसाई व्यवसायमा संलग्नहरूले ठूलो संकट झेलिरहेका थिए । सन् २००२ मा १९ हजारको संख्यामा रहेका यस्ता पारिवारिक व्यवसायहरू २०२१ सम्म आइपुग्दा ११ हजारमा खुम्चिएका थिए । यो क्षेत्रमा काम गर्न युवाहरू इच्छुक थिएनन् । कसाई संघका प्रमुख जोआचिम लेडररका अनुसार यो कठिन काम भएको र पछिल्लो २५ वर्षदेखि युवाहरूको आकर्षण अन्य क्षेत्रमा बढेकाले प्रशिक्षार्थी पाउन असम्भव जस्तै थियो ।
यता भारतको ’म्याजिक बिलियन’ नामक एजेन्सीले १३ जना युवाहरू छनोट ग¥यो, जो सन् २०२२ को शरद ऋतुमा जर्मनी पुगे । उनीहरूले स्विट्जरल्याण्डको सीमा नजिकैका साना सहरहरूमा कसाईको काम सिक्न थाले । तीमध्ये २१ वर्षीया अनखा मिरियम शाजी पनि थिइन् । आफ्नो जीवनस्तर सुधार्ने र राम्रो सामाजिक सुरक्षा पाउने सपना बोकेर उनी पहिलो पटक विदेश पुगेकी थिइन् ।
तीन वर्षको अवधिमा धेरै कुरा बदलिएका छन् । फन उन्गर्नले अहिले आफ्नै एजेन्सी ’इन्डिया वक्र्स’ खोलेका छन् । यसले भारतीय युवाहरूलाई जर्मनी ल्याउन मद्दत गर्छ । सुरुका ती १३ जनाबाट बढेर अहिले जर्मनीका मासु पसलहरूमा दुई सय जना भारतीय युवाहरू कार्यरत छन् ।
जर्मनीको जनसांख्यिकीय अवस्था निकै चुनौतीपूर्ण छ । सन् २०२४ को एक अध्ययन अनुसार जर्मनीको अर्थतन्त्र टिकाउन प्रतिवर्ष २ लाख ८८ हजार विदेशी श्रमिक आवश्यक पर्छ । यसो हुन नसके सन् २०४० सम्ममा त्यहाँको कार्यबल १० प्रतिशतले घट्न सक्छ । जर्मनीमा जन्मदर कम हुनु र पुराना पुस्ताका मानिसहरू अवकाश हुनुले यो संकट निम्त्याएको हो । अर्कोतर्फ, भारतमा २५ वर्ष मुनिका ६० करोड जनसंख्या छ र हरेक वर्ष १ करोड २० लाख युवा श्रम बजारमा प्रवेश गर्छन् । त्यसैले भारतमा जनशक्ति प्रचुर मात्रामा छ ।
’इन्डिया वक्र्स’ ले यस वर्ष मात्र ७७५ जना भारतीय युवाहरूलाई जर्मनी ल्याउने तयारी गरिरहेको छ । उनीहरू सडक निर्माण, मेकानिक्स, डकर्मी र बेकरी जस्ता विभिन्न क्षेत्रमा आबद्ध हुनेछन् । सन् २०२२ मा दुई देशबीच भएको ’माइग्रेसन एन्ड मोबिलिटी पार्टनरसिप एग्रिमेन्ट’ पछि भारतीयहरूका लागि जर्मनीमा काम गर्न सहज भएको छ । २०२४ को अन्त्यमा जर्मनीले भारतीय नागरिकका लागि दक्ष कामदार भिसाको कोटा वार्षिक २० हजारबाट बढाएर ९० हजार पु¥याउने घोषणा गरेको छ । तथ्याङ्क अनुसार सन् २०१५ मा २३,३२० रहेको भारतीय कामदारको संख्या २०२४ मा एक लाख ३६ हजार ६७० पुगेको छ ।
जर्मनी पुगेका युवाहरूका आफ्नै कथाहरू छन् । दिल्ली नजिकै बस्ने २० वर्षीय इशु गरिया अहिले जर्मनीको ’ब्ल्याक फरेस्ट’ क्षेत्रमा बेकरी प्रशिक्षार्थीका रूपमा कार्यरत छन् । भारतमा कम तलबमा काम गर्नुभन्दा जर्मनीमा कडा मिहिनेत गरेर राम्रो कमाइ गर्ने र परिवारलाई आर्थिक सहयोग गर्ने उनको लक्ष्य छ । त्यस्तै, मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका २५ वर्षीय अजय कुमार चन्दापाकालाई भारतमा जागिर पाउन मुस्किल भएपछि उनी ’असबिल्डुङ’ (जर्मन तालिम पद्धति) मार्फत जर्मनी पुगेका छन् ।
रोजगारदाता लेडरर भन्छन्, “भारतीय युवाहरूले मेरो व्यवसाय बचाएका छन् । ३५ वर्षअघि मेरो वरपर यस्ता आठवटा पसल थिए, अहिले म एक्लो छु । भारतबाट आएका यी युवाहरू नभएको भए आज मेरो व्यवसाय बन्द भइसक्थ्यो ।“
श्रमिकको यो अभाव निजी क्षेत्रमा मात्र सीमित छैन । वेइल एम राइन सहरकी मेयर डियाना स्टोकर पनि अब भारतबाटै शिक्षकहरू ल्याउने तयारीमा छिन् । उनका अनुसार जर्मनीभरि खोज्दा पनि बालविकास शिक्षकहरू नपाइएपछि विदेशी जनशक्ति गुहार्नुको विकल्प छैन । बीबीसी