धेरैजसो नेपालीहरूले हिन्दी फिल्म ‘बाहुबली’ हेरे । नेपालमा हिट भएर धेरै कमाउने हिन्दी फिल्महरूमध्ये ‘बाहुबली’ पनि एक बन्न पुग्यो । त्यो फिल्ममा माहिस्मती साम्राज्यमा आक्रमण गर्न आउने आतंककारीहरूले बोल्ने भाषा अन्य भाषाभन्दा फरक थियो । जिब्रो फड्कारेर बोलिने त्यो भाषा यति अनौठो थियो कि धेरै वर्षसम्म त्यो भाषा व्यंग्य र रोचकताको विषय बनिरह्यो ।
पछिल्लो समय ‘अवतार’ फिल्म रिलिज भएपछि पनि दर्शकहरूले त्यस्तै अनौठो अनुभव गर्न पाए । फिल्ममा पान्डोरा ग्रहमा बोलिने भाषा नै सिर्जना गरियो । साहित्यमा नयाँ भाषा बनाउने क्रम सय वर्षभन्दा बढी भइसके पनि फिल्ममा यस्तो प्रयोग निकै कम भएका छन् । निकै कम मानिसले मात्र यस्तो नयाँ भाषा आविष्कार गर्ने मौका पाउँछन् र त्यो भाषा करोडौँले सुनेर अनौठो मान्ने गर्दछन् । भाषाविद् पल फ्रोमर ती कम भाग्यमानीमध्येका एक हुन् । उनले ‘अवतार’का एलियनहरूको भाषा बनाएका थिए । ‘यो मेरो जीवनको बिर्सन नसकिनेमध्येको एउटा काम हो,’ भाषाविद् फ्रोमरले भने ।
फ्रोमरले ‘अवतार’का निर्देशक जेम्स क्यामरुनसँगको आफ्नो पहिलो भेटलाई बिर्सन नसकिने अवसरका रुपमा लिएका छन् ।
एउटा विज्ञान–कथा (साइन्स–फिक्सन) चलचित्रका लागि ‘कन्स्ट्रक्टेड ल्याङ्वेज’ (बनावटी भाषा) विकसित गर्न सक्ने व्यक्तिको खोजीमा ती प्रख्यात निर्देशकले युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाको भाषाविज्ञान विभागमा एउटा इमेल पठाएका थिए । त्यही विश्वविद्यालयमा फ्रोमर पढाउँथे । त्यसो त यो कामका लागि अरुले पनि निवेदन दिएका थिए तर उनी छानिए ।
यो कामका लागि आफ्नो आवेदन दिँदा, फ्रोमरले यो चुनौतीप्रतिको आफ्नो उत्साहलाई निकै विश्वासिलो ढङ्गले व्यक्त गरेका थिए । सन् २००५ मा यो कामका लागि फिल्म निर्देशक क्यामरुनसँग फ्रोमरको भेट भएको थियो । उनहिरुबचि पहिलो पटक भेट हुँदा जम्मा ९० मिनेट कुराकानी भयो र क्यामरुनले कुराकानी टुंगिसकेपछि भाषाविज्ञानका ती डाक्टरलाई भने, ‘तपाईंलाई मेरो फिल्ममा स्वागत छ ।’
२० वर्षपछि, यो महाकाव्य सिरिजको तेस्रो चलचित्र ‘अवतारः फायर एन्ड ऐस’ रिलिज भएपछि फ्रोमर भन्छन्, ‘त्यसपछि मेरो जीवन वास्तवमै पहिले जस्तो रहेन । म यो बनावटी भाषाको अझ बढी विशेषज्ञ बन्न पुगेको छु ।’
असामान्य भाषाको सिर्जना
भाषा बनाउनेबारे निर्देशक क्यामरुनको शर्त के थियो भने यो सुन्दा ‘मीठो’ सुनियोस् । फ्रोमर यसमा सहमत थिए किनभने कुनै पनि भाषा सिक्न सजिलो हुनुको एउटै शर्त त्यो सुन्दा मीठो सुनिनुपर्छ ।
मीठो नसुनिए कलाकारहरुले संवाद बोल्न कठिन हुन्छ, सिक्न कठिन हुन्छ । निर्देशक क्यामरुन पहिलेदेखि नै कलाकारहरुको भाषा पछि स्टुडियोमा परिवर्तन गर्ने कुराको विरोधी थिए । जे सुटिङ स्थलमा प्रयोग हुन्छ, त्यही पर्दामा देखिने सुनिने हुनुपर्छ भन्ने मान्यता राख्थे ।
निर्देशकको भनाइ थियो, नभीहरुको आवाज निकाल्ने संयन्त्र पृथ्वीका मानिसको जस्तै होस् । त्यसैले फ्रोमरले पनि मान्छेकैजस्तो तर नयाँ भाषा सिर्जना गरे ।
नभी भाषाका विभिन्न पक्षहरूलाई अन्य भाषाहरूसँग तुलना गर्न सकिन्छ, तर यसलाई कुनै पनि एकल भाषासँग सिधै जोड्न सकिँदैन फ्रोमर बताउँछन् । उनी भन्छन्, ‘म यसलाई असामान्य बनाउन चाहन्थेँ ।’
‘स्टेरोइड्स’मा रहेको भाषा
भाषा विकासको प्रक्रियालाई वर्णन गर्दै, फ्रोमर भाषाविज्ञानमा प्रयोग हुने विभिन्न ‘मोड्युलहरू’ अर्थात् निर्माणका एकाइहरूबारे बताउँछन् । उनी भन्छन्, ‘सबैभन्दा पहिले, कुनै पनि भाषाको केन्द्रमा त्यसको ‘फोनेटिक्स र फोनोलोजी’ अर्थात् ‘ध्वनि र ध्वनि प्रणाली’ हुन्छ । भाषामा कुन ध्वनिहरू समावेश गरिएन भन्ने कुरा कुन ध्वनिहरू राखिए भन्ने जत्तिकै महŒवपूर्ण हुन्छ,’ फ्रोमर औँल्याउँछन्, ‘किनभने त्यसैले भाषालाई एउटा विशिष्ट स्वाद दिन्छ ।’
उनले उदाहरणका लागि, ‘इजेटिभ साउन्ड’का बारेमा बताए । अफ्रिका, एसिया र मूल अमेरिकी भाषाहरूका केही भागमा सुनिने ‘पपिङ’ ध्वनिहरू समावेश गरेका छन् । उनले भाषामा व्यञ्जन वर्णहरूको असामान्य संयोजन पनि समावेश गरे, मूलतः परिचित ध्वनिहरू लिएर तिनलाई अपरिचित तरिकाले सँगै राखे ।
त्यसपछि, फ्रोमरले भाषाको ‘मोर्फोलोजी’ अर्थात् शब्दहरू कसरी बन्छन् भन्ने कुरा निर्धारण गरे, ‘यसमा निश्चित मात्रामा रचनात्मकता चाहिन्छ,’ उनी भन्छन् । उनले अन्य मानव भाषाहरूमा अस्तित्वमा रहेका संरचनाहरूबाट प्रेरणा लिए तापनि केही कुराहरूलाई लिएर तिनलाई स्टेरोइड्समा राखे (अर्थात् थप शक्तिशाली वा जटिल बनाए) ।
उदाहरणका लागि, क्रियापदका रूप परिवर्तनका पाँचवटा स्तरहरू छन्ः वर्तमान, निकट भूत, दूर भूत, निकट भविष्य र दूर भविष्य । वाक्यमा शब्दहरूको क्रम पनि निकै लचिलो छ । नभी भाषामा शब्दको कार्य वाक्यमा त्यसको स्थानले निर्धारण गर्दैन, बरु ६ वटा फरक कारकहरू (डिक्लिसन) मार्फत निर्धारण हुन्छ । तुलनात्मक रूपमा, जर्मन भाषामा चारवटा व्याकरणिक कारकहरू हुन्छन्, प्रथमा (सब्जेक्ट), द्वितीया (डाइरेक्ट अब्जेक्ट), चतुर्थी (इन्डाइरेक्ट अब्जेक्ट) र षष्ठी (पोसेसन) ।
त्यसपछि शब्दावली निर्माण गर्ने अर्को काम हुन्छ । ‘एउटा तरिकाले यो प्रक्रियाको सबैभन्दा कलात्मक भाग हो,’ उनी भन्छन् । शब्दहरू भाषाको ढाँचामा फिट हुनुपथ्र्यो तर फ्रोमरले नयाँ शब्दहरू सिर्जना गर्ने तरिका ‘शब्दहरूसँग खेल्ने’ र ती मुखमा कसरी उच्चारण हुन्छन् भनेर हेर्ने थियो ।
यो शृंखलाका प्रत्येक चलचित्रसँगै, विभिन्न नभी समुदाय (क्लान) हरूले बोल्ने शैलीलाई झल्काउन नयाँ बोलीचालीका शब्दहरू र भाषिका (डाइलेक्ट्स) हरू विकसित गरियो । यसरी शब्दावली विस्तार भयो र फ्रोमरको अनुमानमा अहिले तीन हजारभन्दा बढी नभी शब्दहरू बनाइएका छन् । यी शब्दावलीको सहयोगले सर्वसाधारणले एकअर्कासँगको सम्बन्ध र दैनिक गतिविधिहरूको सन्दर्भमा सबै प्रकारका मानवीय अनुभवहरूका बारेमा छलफल गर्न सकिने भएको फ्रोमर बताउँछन् । नभी भाषाले प्राविधिक वा वैज्ञानिक क्षेत्रहरूलाई समेट्दैन तर ‘तपाईँसँग अहिले धेरै सूक्ष्म शब्दहरू नभए पनि आफ्नो सन्देश प्रवाह गर्न सक्नुहुन्छ ।’
तुलनात्मक रूपमा, अक्सफोर्ड शब्दकोशमा करिब छ लाख शब्दका रूपहरू छन् र एक शिक्षित व्यक्तिले करिब ४० हजार शब्दहरू जानेको हुनसक्छ । पहिलो ‘अवतार’ चलचित्र निर्माण भएको दुई दशक भइसक्दा एआई एउटा शक्तिशाली नयाँ उपकरणको रूपमा देखा परेको छ । यद्यपि ‘लार्ज ल्याङ्वेज मोडल्स’ले सम्भवतः फ्रोमरका नियमहरू पछ्याउँदै अनगिन्ती नयाँ नभी शब्दहरू निकाल्न सक्थ्यो तर भाषाविद् भन्छन्, ‘बरु बिस्तारै जान र प्रत्येक शब्दमा आफ्नै सोच दिन मलाई ठीक लाग्छ ।’
नभी उत्साहीहरूले ‘लेक्सिकल एक्सपान्सन प्रोजेक्ट’ नामक प्लेटफर्ममार्फत नयाँ शब्दहरू पनि सुझाव दिएका थिए तर नयाँ थपिने शब्दहरूमा भाषाविद्कै अन्तिम निर्णय हुन्छ । एक हिसाबले फ्रोमर यो भाषाको अझै पनि एक मात्र द्वारपाल बन्न पुगेका छन् ।
‘स्टार ट्रेक’ वा जे.आर.आर. टोल्किनको ‘लर्ड अफ द रिङ्स’ का प्रशंसकहरू क्लिङ्गोन वा एल्भिस सिकेर यी जटिल काल्पनिक ब्रह्माण्डहरूप्रति आफ्नो उत्साह देखाउने गर्छन् । ती पनि बनावटी नै भाषाहरू हुन् ।
त्यसैगरी, अहिले विश्वभर नभी सिक्नेहरूको एउटा समुदाय पनि छ । उनीहरू नभीका भाषामा रुचि राख्छन् । यति रूचि राख्छन् कि उनीहरूले एउटा नभी शब्दकोश नै छापेका छन् भने अनलाइन स्रोतहरूको भण्डार नै बनाएका छन् ।
‘म तपाईँलाई ती हजारौँ मानिसहरू हुन् त भन्दिनँ, तर यो निकै राम्रो आकारको समुदाय हो,’ फ्रोमर भन्छन् । नभीको भाषामा सबैभन्दा बढी रुचि राख्नेहरुमा अमेरिकी र जर्मन हुन् । उनीहरूको संख्या दिनप्रतिदिन बढेको देखेर क्यानडेली भाषा मानवशासत्री क्रिस्टिन स्रेयरले नभी भाषा सिक्ने समुदायहरुमाथि नै अनुसन्धान गरिन् ।
स्रेयरले भनेकी छन्, ‘नभी बोल्नेमध्ये कोही चलचित्रप्रति अत्यन्तै आशक्त छन् । उनीहरू सायद फिल्मको काल्पनिक ग्रह ‘पान्डोरा’ भ्रमण गर्न पनि चाहन्छन् । त्यहाँ बोलिने भाषा सिक्नु उनीहरूका लागि त्यो संसारसँग जोडिने एउटा माध्यम जस्तो बन्न पुगेको छ ।’
कोही नभीको भाषिक पक्षबाट प्रेरित छन्, किनभने यो सिक्नका लागि एकदमै नयाँ र असामान्य भाषा हो । अर्को प्रेरणादायी पक्ष चाहिँ यो भाषामा विश्वकै उत्कृष्ट विज्ञहरूमध्ये एक बन्न तुलनात्मक रूपमा सजिलो छ । र फेरि, अरू कोही यस्ता छन् जो आफ्नो रचनात्मकता व्यक्त गर्न यसलाई प्रयोग गर्न चाहन्छन् । अन्य धेरै विशिष्ट (निस) रुचिहरू जस्तै, नाभी सिक्नेहरूले ‘एक यस्तो ठाउँ सिर्जना गरेका छन् जहाँ उनीहरू सँगै हुन सक्छन् र अन्य समान विचारधाराका मानिसहरूलाई भेट्न सक्छन् ।’ फ्रोमर यो चलिरहेको परियोजनामार्फत नयाँ नयाँ सम्बन्ध र गहिरो मित्रताप्रति कृतज्ञ छन् ।
नभी भाषाको एउटा क्लासिक वाक्यलाई उद्धृत गर्ने हो भने, यो समुदायका मानिसहरूले एकअर्कालाई भन्न सक्छन्ः ‘ओएल ङ्गाती कामेई’ । यसको अर्थ हो, ‘म तिमीलाई देख्छु’ वा थप स्पष्ट रूपमा भन्नुपर्दा, ‘म तिमीलाई गहिराइबाट बुझ्छु ।’