कैलाली । प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षितरूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीय स्थलको आवश्यक प्रवर्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो ।
यो प्रदेश भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र ऐतिहासिक तथा धार्मिक धरोहरका दृष्टिले भरिपूर्ण मानिन्छ । यहाँ थुप्रै सुन्दर र मन लोभ्याउने ठाउँ भए पनि घुम्ने पर्यटक कम छन् । विभिन्न तहका सरकारबाट पर्यटन प्रवर्धनका लागि बनाइने योजनाको प्रभावकारी कार्यान्वयन नहुँदा पर्यटन प्रवर्धनमा ठोस काम हुन नसकेको विज्ञहरूको भनाइ छ ।
बाह्य पर्यटक टिकाउन पर्यटन प्रवर्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पर्यटन व्यवसायीले बताउँछन् । नीतिगत अस्पष्टता, जटिल कानुनी प्रक्रियालगायतका कारण पनि पर्यटकीय क्षेत्रको प्रवर्धन एवं विकास हुन नसकिरहेको उनीहरूको भनाइ छ ।
पर्यटन व्यवसायी शिवहरि पाण्डेले सुदूरपश्चिम प्रदेशमा प्राकृतिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि पर्यटनका गतिविधि बढ्न नसकिरहेको बताए । ‘धेरै गन्तव्य स्थलमा न्यूनतम पूर्वाधार पनि पु¥याउन सकिएको छैन । ब्रान्डिङ गरेर समयानुकूल प्रचारप्रसारको अभाव छ, तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्चिम पुग्न सक्ने ‘कनेक्टिभिटी’को समस्या हुँदा पनि गतिविधि अपेक्षित बढ्न सकेको छैन,’ उनले भने ।
बाटोको असुविधासँगै पर्यटकीय क्षेत्रमा उचित बसोबासको व्यवस्था नहुँदा र कतिपय पर्यटकीयस्थलको पहिचान हुन नसकेर पनि कहाँ घुम्ने भन्ने अन्योलता पर्यटकमा देखिने गरेको छ । पर्यटन आर्थिक गतिविधिमात्र नभई युवा रोजगारी, स्थानीय उत्पादनको बजार, संस्कृति संरक्षण र क्षेत्रीय विकाससँग जोडिएको विषय पनि हो ।
सुदूरपश्चिम प्रदेशका अन्तरराष्ट्रिय सीमानाका हुँदै नेपाल घुम्न आउने अधिकांश पर्यटकको यस प्रदेशमा बसाइ हुँदैन । अध्यागमन कार्यालय कैलालीको तथ्यांकअनुसार तेस्रो मुलुक भएर नेपाल भित्रिने पर्यटक काठमाडौं, पोखरा, मनाङ, मुस्ताङ, कागबेनीलगायतका ठाउँमा जाने गरेका छन् ।
प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन एकाइका प्रमुख डबल रावलले पर्यटक प्रवर्धनका लागि योजनाबद्ध काम भइरहेका बताए । ‘चालु आर्थिक वर्षमा पर्यटकीय क्षेत्रको विकासका लागि ६० करोड बजेट विनियोजन भएको छ, केही योजना निर्माणको प्रक्रियामा गइसकेका छन्,’ उनले भने ।
मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न सीमा नाकाबाट आन्तरिक, भारतीय र तेस्रो मुलुकका गरी दुई लाख ५९ हजार ६८३ पर्यटक भित्रिएका छन् । त्रिनगर, गड्डाचौकी, खक्रौला, चिसापानी, दार्चुलालगायतका ठाउँमा पर्यटन सूचना केन्द्र सञ्चालनमा छन् । सीमानाकाबाट भित्रिनेमध्ये अधिकांश विदेशी पर्यटक सुदूरपश्चिममा बसाइ नगरी पूर्वी नेपालतर्फ घुम्न जाने गरेका छन् ।
‘सीमानाकाबाट भित्रिनेमध्ये कतिपय धार्मिक पर्यटक प्रदेशका पहाडी जिल्लाका धार्मिक स्थलमा पुग्ने गरेका छन्,’ उनले भने । आव २०८२÷८३ मा प्रदेश सरकारले ‘पर्यटन पूर्वाधारः समृद्ध प्रदेशको आधार’ भन्ने नीति लिएको छ । यसअन्तर्गत प्रदेशभरि धार्मिक सास्ंकृतिक, ऐतिहासिक, पुराताŒिवक र सिमासार तथा तालतलैया क्षेत्रको संरक्षण र विकासका लागि ‘बाँकावीर पर्यटन प्रवर्धन कार्यक्रम’ सञ्चालनमा छ ।
धार्मिक पर्यटन सर्किट निर्माण, खप्तड बडिमालिका मल्लिकार्जुन, सिगासधाम, रामारोशनजस्ता पर्यटकीय क्षेत्रको विकास कार्यक्रम र केबुलकार स्थापनाका लागि अध्ययन गर्ने कार्यक्रम पनि छ । थुप्रै मठमन्दिर एवं देवस्थल रहेकाले सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रूपमा चिन्ने गरिन्छ । प्रदेशसँग जोडिएको महाकाली नदीपारिको भारतको उत्तराखण्ड क्षेत्रलाई पनि देवभूमि मानिन्छ ।
प्रसिद्ध धार्मिकस्थल अछामको वैद्यनाथ धाममा रावणले तपस्या गरेको किंम्वदन्ती छ । शिव प्रकट भएर स्वयंले रावणको घाँटी काटेपछि वैद्य आएर घाँटी जोडिदिएको कथन छ । भगवान् शिवको नाम त्यतिबेला वैद्यनाथ धामले परिचित रहेको जानकारको भनाइ छ ।
यो धामसहित खप्तड क्षेत्र, बडिमालिका, अपी–नाम्पा हिमाल, शुक्लाफाँटा, घोडाघोडी ताल, रामारोशन, बडीकेदार, परशुराम धाम, शैलेश्वरी, उग्रतारा मन्दिर, त्रिपुरासुन्दरी, निङ्लासैनी, गोदावरी धाम, शिवपुरी धाम, बेहडाबाबा धामजस्ता थुप्रै पर्यटकीय क्षेत्र छन् । यस्तै कर्णाली नदीमाथि बनेको एकखम्बे पुल, महाकाली नदीमाथिको झोलुंगे पुलजस्ता आकर्षक गन्तव्यस्थलले अन्तर्राष्ट्रिय पर्यटकसमेत आकर्षित गर्न सक्ने क्षमता राख्छन् ।
विभिन्न प्रजातिका गुलाबका फूलको अवलोकन गर्न सकिने ठाउँका रूपमा चर्चित टीकापुर उद्यान चर्चित छ । यो ठाउँमा तत्कालीन राजा महेन्द्रले विसं २०२८ सालमा एक महिना बसेर राजकाज चलाएको इतिहास छ । यस्तै रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी तालसहित सयौं प्रजातिका चराचुरुंगी, गोही, पानी हाँस, जंगली धानलगायतले यो क्षेत्र आकर्षक मानिन्छ ।
जिल्लाको चुरे पहाडी क्षेत्रमा राणाकालीन समयमा बनेकाको गर्बा दरबार पनि छ । यो दरबार भने संरक्षणको अभावमा खण्डहर बनिसकेको छ । कैलालीको मोहना नदी र पथरैया नदी डल्फिनको अवलोकनका लागि चर्चित छ । साउन, भदौ महिनामा यी नदीमा डल्फिनको अवलोकन गर्न सकिन्छ ।
कञ्चनपुरमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगे झुण्डका साथै अन्य जीवजन्तुको अवलोकन गर्न सकिन्छ । कञ्चनपुरमा शिवलिंगको स्वरूपमा प्राकृतिकरूपमा बनेको लिंगा, वेतकोट ताल, डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला छ । डडेलधुराको अजयमेरूकोट दरबारले एउटा छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कलात्मक शैलीमा निर्माण गरिएका नौला (खानेपानीको परम्परागत धारा), देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ ।
बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित खप्तड क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने देखिन्छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ । खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ ।
समुद्री सतहबाट दुई हजार ७ सयदेखि तीन हजार २२७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जलाई अति दुर्लभ दलदले घाँसेमैदानका रूपमा लिने गरिए पनि प्रचारप्रसार हुन नसकेको प्रमुख रावलले बताए ।
धुपी–सल्ला र लालीगुराँसको जंगलका बीचमा रहेका पाटन, रंगीविरंगी फूलहरू, दह, त्रिवेणी, नागढुंगा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जंगल खप्तडका मन लोभ्याउने आकर्षण हुन् । यस्ता प्राकृतिक दृष्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौं खोला, त्रिवेणी सीतापाइला मन्दिर, त्रिवेणीधाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थपेको छ ।
बाजुराको बडिमालिका प्राकृतिक तथा धार्मिक दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा रहेकाले यसको प्रचारप्रसार र प्रवर्धनमा तीनै तहका सरकारले योजनाबद्ध काम गर्नुपर्नेमा प्रमुख रावलले जोड दिए । भगवान् शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महŒवपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् ।
यहाँका सौन्दर्य विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्य नियाल्न विशेष समयको पर्खाइ गर्नुपर्ने हुन्छ । यो ठाउँ समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा छ । (रासस)