नेपाली मनोरञ्जन क्षेत्र अहिले गम्भीर विवादको केन्द्रमा पुगेको छ । हास्य–कलाकार सागर लम्साल (बले)माथि लागेको बलात्कार आरोपले सामाजिक सञ्जालदेखि कलाकार समुदायसम्म व्यापक बहस सुरु गराएको छ । यो एक व्यक्तिमाथिको आरोप मात्र नभई शक्ति, विश्वास, मौनता र न्यायको प्रश्नसँग गाँसिएको गहिरो सामाजिक विषय बनेको छ ।
अमेरिकामा बस्दै आएकी विष्ट थरकी एक युवतीले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो स्टाटसले यो विवादलाई सतहमा ल्यायो । उनले आफूलाई सानैदेखि ‘दाइ’ भनेर चिनिने र परिवारसँग घनिष्ठ सम्बन्ध भएको व्यक्तिबाट बलात्कृत भएको दाबी गरेकी छन् । उनका अनुसार उक्त घटना करिब एक वर्षअघि अमेरिकामा भएको हो, जहाँ परिवारको आग्रहमा उनी सागर लम्सालसँग भेट्न गएकी थिइन् ।
पीडित युवतीले आफ्नो बयानमा उल्लेख गरेअनुसार, भेटका क्रममा उनीहरू एक अपार्टमेन्टमा गएका थिए । त्यहाँ उनले आफ्नो मानसिक अवस्थाबारे खुलेर कुरा गरेकी थिइन् । डिप्रेसन र एन्जाइटीसँग लामो समयदेखि जुधिरहेको आफ्नो संघर्ष सुनाएकी थिइन् । तर उनले विश्वास गरेको व्यक्तिबाटै आफूले यौन हिंसा भोग्नुपरेको दाबी गरेकी छन् । ‘म रोइरहेकी थिएँ, आफ्नो पीडा सुनाइरहेकी थिएँ । तर मलाई थाहा थिएन, जसलाई म दाइ भन्थें, त्यो व्यक्ति वास्तवमा राक्षस रहेछ,’ उनले लेखेकी छन् ।
घटनापछि आफू पूर्णरूपले मानसिकरूपमा टुटेको र आवाज उठाउने साहस हराएको उनले बताएकी छन् । उनले परिवार टुट्ने डर, सामाजिक लाञ्छना र आत्मदोषको भावनाले आफूलाई वर्षभर मौन बस्न बाध्य बनाएको उल्लेख गरेकी छन् । ‘म बोल्न चाहन्थें, तर डरले मलाई रोकेको थियो,’ उनले लेखेकी छन् ।
उनको सार्वजनिक स्वीकारोक्तिपछि सामाजिक सञ्जालमा समर्थन र विरोधमा प्रश्नहरू उठेका छन् । खासगरी पुरुषहरूले किन यति ढिलो बोलेको भनेर प्रश्न गरेका छन् भने धेरैले उनको साहसको प्रशंसा गर्दै पीडितलाई साथ दिनुपर्ने बताएका छन् । अभिनेत्री स्वस्तिमा खड्काले पीडितमाथि प्रश्न उठाउने प्रवृत्तिको आलोचना गर्दै भनेकी छन्, ‘एक वर्षसम्म चुप बस्नु कमजोरी हो भन्ने हामी किन सोच्छौं ? त्यो मौनता तोड्न कति ठूलो मानसिक संघर्ष गर्नुपर्छ भन्ने बुझ्नुपर्छ ।’
त्यस्तै अर्की अभिनेत्री लक्ष्मी बर्देवाले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अपराधको कुनै पेसा वा क्षेत्र नहुने बताउँदै पीडितलाई संरक्षण र दोषीलाई कानूनी दायरामा ल्याउन जोड दिइन् । कलाकारहरूबाट आएको यस्तो प्रतिक्रिया देखाउँछ कि नेपाली समाजमा यौन हिंसाका मुद्दालाई अब पहिलेभन्दा बढी गम्भीरतापूर्वक लिन थालिएको छ ।
यो घटनाले कुनै व्यक्तिको शोषणको कथाभन्दा पनि ठूलो सन्देश दिएको छ—विश्वासको दुरुपयोग कति खतरनाक हुन सक्छ ! परिवारजस्तो नजिकको सम्बन्धमा रहेको व्यक्तिबाटै हिंसा हुनु पीडितका लागि अझ गहिरो मानसिक आघातको कारण बन्छ । यस्तो अवस्थामा पीडितले बोल्न नसक्नु कुनै अस्वाभाविक कुरा होइन, बरु समाजले नै सिर्जना गरेको डर र दबाबको परिणाम हो ।
पछिल्लो समय विश्वभर, विशेषगरी हलिउडमा, यस्ता घटनाहरूलाई गम्भीरतापूर्वक लिन थालिएको उदाहरणहरू पनि प्रशस्त छन् । उदाहरणका लागि, हार्भे वाइन्स्टिन विरुद्धको यौन दुव्र्यवहार प्रकरणले विश्वव्यापी मीटू आन्दोलनलाई गति दिएको थियो । दशकौंसम्म मौन बसेका महिलाहरूले एकपछि अर्को गर्दै आफ्नो अनुभव सार्वजनिक गरेपछि मात्र ती घटनाहरू सतहमा आएका थिए । वाइन्स्टिनलाई अन्ततः दोषी ठहर गर्दै कारावास सजाय दिइयो । हार्भेको घटनामा ढिलो भए पनि न्याय सम्भव छ भन्ने देखाएको थियो ।
त्यो बेला पनि समयमै आवाज नउठाएको भन्दै पीडिताहरूमाथि चर्को आलोचना गरिएको थियो । तर घटना सार्वजनिक भएपछि हार्भे लामो कानूनी लडाइँमा जानुप¥यो ।
त्यस्तै, अभिनेता केभिन स्पेसीमाथि पनि यौन दुव्र्यवहारका आरोप लागेपछि उनको करियर लगभग समाप्त भयो । यी घटनाहरूले एउटा स्पष्ट सन्देश दिएका छन्, कलाकार, शक्ति वा प्रसिद्धिले कुनै पनि व्यक्तिलाई कानूनभन्दा माथि राख्दैन ।
नेपाली सन्दर्भमा पनि यो घटना एउटा महŒवपूर्ण मोड हुन सक्छ । अभिनेत्री खड्का समाजलाई प्रश्न सोध्छिन्, ‘के हामी पीडितको आवाज सुन्न तयार छौं ? के हामी दोषीलाई चिनेर कानूनी दायरामा ल्याउने साहस राख्छौं ? कि अझै पनि मौनता, शंका र सामाजिक डरकै घेरामा सीमित रहनेछौं ?’
यो प्रकरणले देखाएको अर्को गम्भीर पक्ष हो— मानसिक स्वास्थ्य । पीडित युवतीले आफ्नो डिप्रेसन र एन्जाइटीको अवस्थालाई उल्लेख गरेकी छन्, जसले उनलाई अझ संवेदनशील अवस्थामा पु¥याएको थियो । यस्तो अवस्थामा विश्वासको दुरुपयोग हुनु शारीरिक मात्र होइन, गहिरो मनोवैज्ञानिक हिंसा पनि हो ।
‘यहाँ प्रश्न सागर लम्साल दोषी हुन् वा होइनन् भन्ने मात्र होइन, पीडितले न्याय पाउने वातावरण छ कि छैन भन्ने हो,’ अभिनेत्री खड्काको भनाइ छ, ‘कानूनले आफ्नो काम गर्नेछ, तर समाजले आफ्नो जिम्मेवारी बिर्सनु हुँदैन । पीडितलाई दोष लगाउने होइन, उनको पीडा बुझ्ने र साथ दिने संस्कार विकास गर्नु नै आजको सबैभन्दा ठूलो आवश्यकता हो ।’