नेभिगेशन
प्रदेश

मण्डनदेउपुरका महिलाको नमूना तरकारी खेती

मण्डनदेउपुर (काभ्रे) । एक वर्ष अघिसम्म जंगली बुटा र झारले ढाकिएको खुला जमिनमा यतिबेला रहरलाग्दो गरी तरकारी फलेका छन् । कतै सिमी, कतै काँक्रा, कतै फर्सी त कतै करेला, घिरौंला, बोडी तथा अन्य मौसमी तथा बेमौसमी तरकारी खेती । सबैका लागि उदाहरण । खेतीमा पालैपालो गोडमेल गरिरहेका महिला किसान तथा सँगै हौसला प्रदान गर्दै सहयोग गरिरहेका पुरुष किसानहरू पनि । 
काभ्रेको मण्डनदेउपुर नगरपालिका–९, अकसीबेंसीमा १७ जना महिलाको एउटा समूह छ । त्यसमार्फत उनीहरूले आयआर्जनका विभिन्न कामहरू गरिरहेका छन् । गत वर्ष उनीहरूले सामूहिक तरकारी खेतीको सोच राखे र काम सुरु गरे । जुन यतिबेला आम्दानीको स्रोत बनिरहेको छ । रियता भगवती गृहिणी महिला समूहले यसको सुरुवात गरेको हो । जुन यस वडामै पहिलो हो । 
समूहको नेतृत्व स्थानीय रीता नेपालले गरेकी छन् । उनको अध्यक्षतामा समूहले विभिन्न सामाजिक कामहरूका साथै उत्पादनमूलक कामहरू पनि गरिरहेको छ । समूहकी सदस्य पवित्रा भट्टराई नेपालका अनुसार नगरपालिका र जिल्लामा दर्ता गरेर समूह सञ्चालित छ । ०८१ सालको असारदेखि भने यहाँ सामूहिक तरकारी खेतीको सुरु भएको हो । त्यतिबेला गोलभेंडा, खुर्सानी, काउली, बन्दालगायतका तरकारीहरू रोपिएको थियो । पहिलो वर्षमै राम्रो उत्पादन भयो तर धेरै बचत गर्न भने सकिएन । त्यसबाट गरे हुने रहेछ भन्ने लागेकाले पुनः महिलाहरू सक्रिय भए । समूहमा काम गर्दा धेरै मेहनत पनि नपर्ने र काम गर्न पनि रमाइलो हुने किसानहरूको अनुभव छ ।
अहिले दोस्रो लटमा गत पुसमा बेर्ना तयार पारेर रोपिएको तरकारीले उत्पादन दिन थालेको छ । केही दिनमै बजार लैजानका लागि तयार हुन्छ । तर यो वर्ष किसानले बेच्ने तरकारीको भाउ नै छैन । त्यसले भने उनीहरूलाई चिन्ता थपेको छ । ‘भाउ पाए त राम्रै आम्दानी हुने रहेछ ।’ स्थानीय किसान चण्डीका नेपाल भन्छिन्, ‘हामीले उत्पादन गरेका तरकारीहरू नगरपालिकाले बजारीकरण गरिदिने हो भने थप जाँगर बढ्थ्यो । अझ धेरै किसानहरूलाई समेट्न सकिन्थ्यो ।’ 
जग्गा सामुदायिक भएकाले भाडा तिर्नु पनि पर्दैन । मल, बीउ, विषादी भने खरिद गर्नुपर्छ । गोडमेलका लागि पालैपालो काम गरिन्छ । सिँचाइको पनि समस्या छैन । उत्पादन भएका तरकारीबाट आएको आम्दानी समूहमै रहन्छ । खर्च कटाएर बचत भएको रकम समूहकै निर्णयमा सामुदायिक काममा खर्च गरिन्छ । कसैलाई आवश्यक परेमा निश्चित प्रतिशत ब्याजमा लगानी पनि हुन्छ । यो नगरपालिकाका अरू वडाका किसानका लागि पनि उदाहरण भएको यहाँका महिला किसानहरूको भनाइ छ । 
गत वर्ष यहाँ फूलखेती पनि गरिएको थियो । दशैं, तिहारका लागि चाहिने फूलको उत्पादन पनि राम्रो भयो । आम्दानी पनि राम्रो भयो । गाउँबाटै फूल बिक्री भएपछि आउने वर्षका लागि पनि फेरि फूल रोप्ने तयारीमा छन् उनीहरू । यो सबै कामका लागि नगरपालिकाले १५ दिने तालिम दिएको थियो । त्यतिबेला बीउ पुँजीका रूपमा नगरपालिका र प्रदेश सरकारले आर्थिक सहयोग गरेको थियो । यसलाई निरन्तरता दिने सोचमा रहेका महिलाहरूको समूहका लागि अबको केही समयपछि आफ्नै भवन निर्माण हुने भएको छ । यसमा नगरपालिकाले ६० प्रतिशत र किसानहरूले ४० प्रतिशत लगानी गर्ने गरि सम्झौता भएको स्थानीय समाजसेवी लीला नेपालले जानकारी दिए । यसले समूहका लागि धेरै सहयोग पुग्ने उनको विश्वास छ । 
घरको काम गरेर र आफ्नो काम सकेर बचेको समय समूहका लागि दिने गरेको किसानहरू बताउँछन् । यो थप आम्दानीको स्रोत भएको छ । उनीहरूको मिहिनेत देख्दा त्यहाँ पुग्नेहरू रमाउँछन् र यस्तै काम आफ्नो ठाउँमा पनि सुरु गर्ने भन्दै फर्कन्छन् । महिला किसानहरू भन्छन्, ‘स्वदेशमै थुप्रै कामका लागि अवसर छन् । काम गर्ने जाँगर चलाउने हो भने रोजगारीका लागि विदेशिनु नै पर्दैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्