नेभिगेशन
मनोरञ्जन

महान् एक्सन हिरो चो युन–फाट

हङकङका प्रख्यात अभिनेता चो युन–फाटले निर्देशक जोन वूसँग मिलेर यस्ता चलचित्रहरू बनाए, जसले एक्सन विधामा क्रान्ति नै ल्याइदिए । ती चलचित्रहरूको सफलताको मुख्य कडी भनेको उनको कठोरता र कोमलताको लोभलाग्दो मिश्रण थियो ।
एक सार्वकालिक एक्सन स्टारमा के हुनुपर्छ ? कोही टम क्रुजजस्तै आफ्ना साहसी र खतरनाक स्टन्टका कारण चिनिन्छन् । अरू कतिपयको मुख्य विशेषता भनेको उनीहरूको बलिष्ठ शरीर हो, जस्तै १९८० को दशकका हलिउडका हस्तीहरू आर्नोल्ड स्वार्जनेगर, सिल्भेस्टर स्टालोन र जीन–क्लाउड भान ड्याम । तर यी कहिल्यै नमर्ने र अपराजितजस्ता देखिने पात्रहरूको तुलनामा चो युन–फाट एउटा यस्ता वास्तविक कलाकार हुन्, जसले आफूलाई मानवीय कमजोरीसहितको पात्रका रूपमा प्रस्तुत गर्न रुचाए । उनी हङकङका केही सबैभन्दा महŒवपूर्ण र अन्तर्राष्ट्रियरूपमा प्रभावशाली एक्सन चलचित्रका नायक हुन् ।
उनले महान् निर्देशक जोन वूसँग मिलेर बनाएका दुई चर्चित चलचित्रहरू ‘अ बेटर टुमरो’ (१९८६) र ‘हार्ड बोइल्ड’ (१९९२) हालै फोके फरम्याटमा पुनः रिलिज भएका छन् । यस्तै, उनको अर्को चलचित्र ‘द किलर’ (१९८९) पनि यसै साता अमेरिकी सिनेमाघरमा लाग्दैछ । यी तीनवटै चलचित्रमा चोले क्रमशः ग्यांगस्टर, एक सिद्धान्तवादी तर क्रोधी प्रहरी र एउटा पश्चात्तापी हत्याराको भूमिका निर्वाह गरेका छन् । यी तीनवटै भूमिकामा एउटा समानता छ– सहनशीलता र संवेदनशीलताको एउटा अनौठो संगम ।
फिल्म समीक्षक सिन गिलम्यानका अनुसार, चोले ज्याकी च्यान वा जेट लीले जस्तो कहिल्यै पनि दर्शकलाई अचम्ममा पार्ने स्टन्टहरू गरेनन्, तर उनको अभिनयको बहुआयामिकताले उनलाई सबैभन्दा अगाडि राख्यो । उनी कहिलेकाहीँ एउटै चलचित्रमा एलेन डेलनजस्तै शान्त, क्यारी ग्रान्टजस्तै सुसंस्कृत वा जेरी लुइसजस्तै रमाइलो स्वभावका देखिन सक्छन् ।
उनको सबैभन्दा उत्कृष्ट काम निर्देशक वूसँगको सहकार्यमै देखिएको छ । निर्देशक वूले ’बुलेट्सको ब्याले’ भनिने एक नयाँ शैलीको सुरुवात गरे, जहाँ अत्यधिक गोलाबारी र हिंसाका बीचमा पनि एक प्रकारको सौन्दर्य र लय देखिन्थ्यो । स्लो–मोसनमा उडिरहेका शरीरहरू र बन्दुकधारीहरूको सुस्त चाललाई उनले कलात्मक रूपमा प्रस्तुत गरे । स्पिलबर्ग, टारान्टिनो र ’द म्याट्रिक्स’ जस्ता ठूला चलचित्रहरूमा पनि वूको यो शैलीको प्रभाव देख्न सकिन्छ ।
चोले वूको यो काल्पनिक एक्सनलाई दैनिक जीवनको यथार्थसँग जोड्ने काम गरे । उनले प्रायः हिंसा र अराजकताको संसारमा आफ्नो आदर्श र नियम पालना गर्न खोज्ने एक मध्यमवर्गीय हङकङेली नागरिकको भूमिका निर्वाह गरे ।
उनको सबैभन्दा प्रभावशाली भूमिका ‘अ बेटर टुमरो’ मा देखियो, जहाँ उनले बालेको पैसाको नोटबाट चुरोट सल्काएको दृश्य निकै चर्चित भयो । तर उनको वास्तविक क्षमता भने ‘द किलर’ बाट प्रष्ट भयो । यसमा उनले एक यस्तो हत्याराको भूमिका निभाएका छन् जसलाई आफ्नै कामप्रति वितृष्णा जाग्छ र उनी पश्चात्तापको बाटोमा लाग्छन् । चलचित्रको सुरुमै उनलाई शारीरिक र भावनात्मकरूपमा घाइते देखाइएको छ, जसले गर्दा दर्शकले उनीप्रति सहानुभूति राख्छन् । उनको यो शैलीको प्रभाव पछि आएका कियानु रिभ्सको ‘जोन विक’जस्ता चलचित्रहरूमा पनि प्रष्ट देखिन्छ ।
सिन गिलम्यानका अनुसार चो यी चलचित्रका भावनात्मक केन्द्र हुन् । उनी थकित, आक्रोशित र घाइते भए पनि हृदयमा प्रेम र हातमा बन्दुकको असीमित भण्डार लिएर हिँड्छन् । आफ्नो कामले अरूलाई पु¥याएको क्षतिप्रति उनी सधैं चिन्तित देखिन्छन् । जब उनलाई आफ्नै मान्छेले धोका दिन्छ, उनको आँखामा आँसु र अनुहारमा पीडा देखिन्छ । चोले त्यो भावनात्मक पीडालाई शरीरमा लागेको गोलीभन्दा पनि बढी कष्टकर महसुस गराउन सक्छन् । यति हुँदाहुँदै पनि एक्सन दृश्यहरूमा उनको शरीरको सन्तुलन र फुर्ती लोभलाग्दो हुन्छ ।
कठोर भूमिकामा पनि कोमलता भर्न सक्ने चोको अर्को विशेषता उनको रमाइलो स्वभाव हो । ‘द किलर’ जस्तो दुखद चलचित्रमा पनि उनी बीचबीचमा ख्यालठट्टा गरिरहेका भेटिन्छन् । समीक्षक एलेना लाजिकका अनुसार, हलिउडका स्टारहरू जस्तै स्टालोनले अभिनय गर्दा उनी आफैंले कामको आनन्द लिइरहेका छन् कि छैनन् भन्ने प्रष्ट हुँदैन, तर चोको अभिनय हेर्दा उनी साँच्चिकै रमाइरहेका देखिन्छन् ।
चो र वूको अन्तिम सहकार्य ‘हार्ड बोइल्ड’ मा उनले एक प्रहरीको भूमिका निभाएका छन् । यसमा उनको पात्र ‘तेकिला’ अझ बढी खुला र मानवीय छ । उनी चलचित्रको सुरुमा हिंसा गरिरहेको नभई एउटा ज्याज क्लबमा क्लारिनेट बजाइरहेको अवस्थामा भेटिन्छन् ।
आजको समयमा चोका यी पुराना चलचित्रहरू अझ बढी सान्दर्भिक लाग्छन् । अहिलेका मार्वल चलचित्रहरूले एक्सन हिरोलाई एक अभेद्य र भिजुअल इफेक्टले भरिएको महामानवका रूपमा प्रस्तुत गर्छन् । यस्तो समयमा चोको अभिनयले शितलता प्रदान गर्छ । उनका पात्रहरूले जतिसुकै ठूला र असम्भव लाग्ने काम गरे पनि, चोको अभिनयका कारण ती सधैं हामीजस्तै वास्तविक मान्छे जस्तो लाग्छन् ।
७० वर्षीय चोको प्रभाव हलिउडमा फैलिएकै कारण यत्तिका पुराना फिल्महरू पनि उनको सम्मानमा पुनः प्रदर्शन हुन सम्भव भएको हो । बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्