नेभिगेशन
मनोरञ्जन

के–पपमाथि चीनको अघोषित प्रतिबन्ध

बेइजिङ । विश्वप्रख्यात के–पप समूह बीटीएस तीन वर्षे लामो अन्तरालपछि स्टेजमा फर्किएको छ । तर, उसको एक वर्षे विश्व भ्रमणको सूचीबाट एउटा प्रमुख बजार गायब छ । त्यो बजार हो, चीन ।
समूहको सबैभन्दा ठूलो फ्यान बेसमध्ये एक रहेको चीन यो सूचीमा नपर्नु कुनै आश्चर्यको कुरा होइन । वास्तवमा, बीटीएस चीन जाने कुरा भएको भए चाहिँ त्यो ठूलो समाचार हुने थियो । चीनले सन् २०१६ देखि एक अघोषित प्रतिबन्ध लगाएर दक्षिण कोरियाली मनोरञ्जनका अधिकांश कार्यक्रमहरू रोक्दै आएको छ, जसले चलचित्र र त्यहाँका लोकप्रिय टिभी ड्रामाहरूलाई पनि सीमित निकै गरिदिएको छ । कतिपय चिनियाँ प्रशंसकहरूका लागि यसको अर्थ आफ्ना मनपर्ने कलाकारको प्रस्तुति हेर्न सियोल (दक्षिण कोरिया) सम्म उड्नु हो । यसै साता र सप्ताहान्तमा हुने तीनवटा कन्सर्टका लागि धेरैले सियोलसम्म उड्ने अपेक्षा गरिएको छ ।
चीनले लामो समयदेखि भू–राजनीतिक विवाद हुँदा व्यापार प्रतिबन्धलाई हतियारका रुपमा प्रयोग गर्दै आइरहेको छ । यो मनोरञ्जन प्रतिबन्धको मुख्य कारण दक्षिण कोरियाले आफ्नो भूमिमा अमेरिकालाई मिसाइल विरोधी प्रणाली (थाड) राख्न अनुमति दिने निर्णय थियो । यस प्रतिबन्धलाई अन्यभन्दा फरक बनाउने कुरा भनेको यसको लामो अवधि हो, जसलाई विश्लेषकहरू कोरियाली संगीत र भिडियोको अत्यधिक लोकप्रियताप्रति चिनियाँ सरकारको चिन्तासँग जोडेर हेर्छन् । चीन आफ्नै सांस्कृतिक उत्पादनहरूको कट्टर संरक्षक हो ।
दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ र चिनियाँ नेता सी जिनपिङबीच सम्बन्ध सुधारका प्रयास भइरहँदा यो प्रतिबन्ध खुकुलो हुन सक्ने आशा पलाएको छ । पछिल्लो समय सांस्कृतिक प्रतिबन्धलाई फेरि समाचारमा ल्याएको छ ।
चिनियाँ आर्थिक प्रतिबन्धबारे पुस्तक लेखिरहेकी ब्रिन मावर कलेजकी प्राध्यापक सेउङ–यौन ओ भन्छिन्, ‘चीनको तर्फबाट यी कार्यहरू सांकेतिक मात्र होइनन् । यी अन्तर्राष्ट्रिय वातावरणलाई आफ्नो अनुकूल बनाउने रणनीतिक औजारहरू हुन् ।’
प्रतिबन्ध पूर्ण भने छैन
धेरै के–पप समूहहरूमा गैर–कोरियाली सदस्यहरू पनि छन् र उनीहरूलाई चीनमा प्रस्तुति दिन अनुमति दिइएको छ । के–पपका सामग्रीहरू बेच्ने पप–अप स्टोरहरूमा फ्यानहरूको ठूलो भिड लाग्छ र व्यस्त समयमा पहिले नै बुकिङ गर्नुपर्ने हुन्छ ।
भिडियोको हकमा, स्ट्रिमिङको वृद्धिका कारण ड्रामाहरू केही हदसम्म पहुँचयोग्य छन् । यद्यपि पछिल्ला सामग्रीहरू पाइरेटेड (चोरी गरिएका) हुन सक्छन् । चीनका चार प्रमुख प्लेटफर्महरू जाँच गर्दा करिब ५० वटा ड्रामाहरू मात्र भेटिए र ती सबै कम्तीमा चार वर्ष पुराना थिए ।
यो प्रतिबन्ध मकाउ र हङकङमा भने लागू हुँदैन, जहाँ सन् २०२७ मा बीटीएसको भ्रमण पुग्नेछ । किनभने यी दुवै चीनका विशेष प्रशासनिक क्षेत्र हुन् जसको आफ्नै सरकार र कानून छ ।
‘हङकङ, मकाउ र ताइवानजस्ता ठाउँमा उनीहरूले प्रस्तुति दिन पाएकोमा म आभारी छु,’ एक प्रशंसक टियान सिनले भनिन्, ‘बाँकी कुरा राष्ट्रिय नीतिको हो । म अझै पनि उनीहरू हाम्रो सहर नजिक आएर आफ्नो गायन प्रस्तुत गर्न सकून् भन्ने चाहन्छु ।’
मिसाइल रक्षा प्रणाली (थाड) उत्तर कोरियाली खतरालाई लक्षित गरी राखिएको हो । तर चीनको भनाइअनुसार यसको राडारले चिनियाँ भूभागभित्र चियाउन सक्छ । यद्यपि यो प्रणाली अमेरिकाले सञ्चालन गर्छ तर यसलाई आफ्नो देशमा राख्न दिने दक्षिण कोरियाको निर्णयले चीनलाई आक्रोशित बनाएको थियो ।
मनोरञ्जन प्रतिबन्धका साथै चीनले दक्षिण कोरियाली सुपरमार्केट चेनलाई पनि लखेटेको थियो । थाड प्रणाली अझै छ— यद्यपि हालैका तस्विरहरूले अमेरिकाले इरानसँगको युद्धका लागि केही मिसाइलहरू मध्यपूर्व पठाएको हुन सक्ने अड्कलबाजी सुरु गराएको छ ।
के–पप फ्यानहरूप्रति चीनको चिन्ता
सुरुमा चीनले ‘कोरियाली लहर’लाई आफ्नो राजनीतिक प्रणालीसँग मिल्दो र पश्चिमी पप संस्कृतिको विकल्पका रूपमा स्वागत गरेको थियो । तर २०१० को दशकमा यसको बढ्दो लोकप्रियताले यसलाई नियन्त्रण गर्नुपर्ने कुरामा चिनियाँ सरकार पुगेको सरकारी रिपोर्टले बताउँछ ।
‘चिनियाँ सरकारले यसअघि यस्तो अनुभव कहिल्यै गरेको थिएन,’ बुसान युनिभर्सिटी अफ फरेन स्टडीजका प्राध्यापक डोङ–हा किम भन्छन्, ‘मिसाइल विवाद त एउटा संयोग मात्र थियो, बेइजिङको मुख्य चिन्ता अझ गहिरो छ । उसले विदेशी संस्कृतिलाई आफ्ना युवाहरूको सोचाइ बदल्ने अनुमति दिन सक्दैन, विशेष गरी जब सरकारको त्यसमा कुनै नियन्त्रण हुँदैन ।’
चीनले सन् २०२१ मा टिभीमा ‘महिलाजस्तो देखिने पुरुष’हरूलाई प्रतिबन्ध लगायो । यो शैली चिनियाँ कलाकारहरूले कोरियाली र जापानी कलाकारहरूबाट सिकेका थिए । चीन आफ्नो पप संस्कृतिलाई ‘सफ्ट पावर’का रूपमा विकास गर्न चाहन्छ ।
‘चीन आफ्नै संगीत उद्योग फस्टाएको चाहन्छ,’ वित्तीय विश्लेषक ह्युनजी ली भन्छिन्, ‘यदि के–पप फेरि बाढी जसरी आयो भने यहाँ प्रत्यक्ष द्वन्द्व हुन्छ ।’
प्रतिबन्धबारे चीनको मौनता
यद्यपि, चीनले यस्तो कुनै प्रतिबन्ध रहेको कुरा कहिल्यै स्वीकार गरेको छैन । सन् २०२२ मा परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियनले चीनले दक्षिण कोरियामाथि कुनै तथाकथित प्रतिबन्ध नलगाएको बताएका थिए । अर्का प्रवक्ता लिन जियानले गत सेप्टेम्बरमा चीन ‘स्वस्थ र लाभदायक’ सांस्कृतिक आदानप्रदानको विरुद्धमा नरहेको बताएका थिए ।
राष्ट्रपति ली र सी बीचको भेटपछि प्रतिबन्ध हट्ने आशा पलाएको थियो । जनवरीमा लीको चीन भ्रमणका क्रममा दुवै सरकारले सांस्कृतिक आदानप्रदान बढाउने सम्झौता गरे तर बिस्तारै र फुटबल तथा ‘गो’ भनिने परम्परागत बोर्ड गेमबाट मात्र ।
सी जिनपिङले दुईवटा चिनियाँ उखान उद्धृत गरेका थिए– ‘तीन फिटको बरफ एकै दिनमा जम्दैन’ र ‘फल पाकेपछि मात्र झर्छ ।’ यसको अर्थ कुनै पनि ढोका खुल्न समय लाग्नेछ र सही परिस्थिति भएपछि मात्र हुनेछ ।
चिनियाँ सामाजिक सञ्जालमा केहीले के–पपका उत्तेजक नृत्यहरू बालबालिकाका लागि उपयुक्त नभएको बताएका छन् । प्रशंसकहरू भने चीनमै कन्सर्ट हुने दिनको पर्खाइमा छन् ताकि उनीहरूले विदेश जान महँगो हवाइ टिकट र होटल खर्च गर्न नपरोस् ।

दक्षिण कोरिया अब चीनभन्दा पर हेर्दै
यो प्रतिबन्धले दक्षिण कोरियाली मनोरञ्जन कम्पनीहरूको चीनप्रतिको दृष्टिकोण बदलिदिएको छ । ड्रामा उत्पादकहरूले यसको घाटा सबैभन्दा बढी महसूस गरेका छन् । नेटफ्लिक्स र डिज्नी प्लस जस्ता प्लेटफर्महरू चीनमा प्रतिबन्धित छन् । यद्यपि भीपीएनमार्फत ती हेर्ने गरिन्छ तर त्यो गैरकानूनी हो ।
के–पप उद्योगले आफूलाई यसरी पुनर्संरचना गरेको छ कि अब चीन त्यसका लागि निर्णायक रहेन । जापान अहिले मुख्य बजार बनेको छ भने उत्तर अमेरिका प्राथमिक वृद्धिको क्षेत्रका रूपमा उदाएको छ । ‘चीन महŒवपूर्ण छ,’ विश्लेषक ली भन्छिन्, ‘तर अब कम्पनीहरू यसको प्रतीक्षामा मरिमेटेर बसेका छैनन् ।’ (एपी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्