काठमाडौं । नेपाली चलचित्र उद्योगका लागि २०८२ व्यावसायिक रूपमा मध्यम तर आशालाग्दो वर्ष साबित भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको चैत १८ सम्मको विवरणअनुसार यो वर्ष रिलिज भएका ५६ नेपाली चलचित्रले कूल १ अर्ब ८ करोड ४० लाख रुपैयाँ भन्दा बढीको व्यापार गरेका छन् । यद्यपि, लगानीको तुलनामा अधिकांश चलचित्रहरूले व्यावसायिक सफलता प्राप्त गर्न सकेनन् । यो वर्ष ८० करोड छेउछाउ लगानी भएको अनुमान गरिएको छ, जसमध्ये थोरै चलचित्रले मात्र नाफा कमाउन सफल भएका छन् ।
यस वर्षको बक्स अफिसमा पारिवारिक कथा र सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरूको दबदबा रह्यो । नीर शाह, मदनकृष्ण श्रेष्ठ लगायत अभिनीत चलचित्र ‘परान’ १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाउँदै वर्षकै नम्बर एक चलचित्र बन्न सफल भयो । त्यस्तै १३ करोड १३ लाखको व्यापार गर्दै ‘आ बाट आमा’ दोस्रो स्थानमा रह्यो भने ‘जेरी अन टप’ ले १२ करोड २८ लाख रुपैयाँको ग्रस कलेक्सन ग¥यो । उच्च आम्दानी गर्ने उत्कृष्ट १० चलचित्रहरूको सूचीमा ‘उःनको स्वेटर’ ले ११ करोड ४१ लाख, ‘जारी २’ ले ६ करोड २४ लाख, ‘के घर के डेरा २’ ले ५ करोड ८८ लाख र ‘बलिदान’ ले ५ करोड १० लाख रुपैयाँ जोडेका छन् । यसैगरी ‘मोहर’ ले ५ करोड ८ लाख, ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ७१ लाख र ‘माग्ने राजा’ले ४ करोड ६९ लाख रुपैयाँको कारोबार गर्दै उत्कृष्ट १० भित्र स्थान सुरक्षित गरे ।
तथ्याङ्कअनुसार केही चलचित्रको व्यापार भने निकै कमजोर देखिएको छ । ‘हेलो काशीराम’ ले वर्षकै सबैभन्दा कम ३४ हजार २०० रुपैयाँ मात्र संकलन ग¥यो । यस्तै न्यून व्यापार गर्ने चलचित्रहरूमा ५६ हजार ४०० रुपैयाँसहित ‘वैद्य बा’, ३ लाख ८७ हजारसहित ‘ताराहरू’, ५ लाख १२ हजारसहित ‘रियल रिङ्गिट’ र ९ लाख २५ हजार रुपैयाँसहित ‘यो मन त मेरो नेपाली हो’ रहेका छन् ।
समग्रमा यस वर्ष कूल १ अर्ब ८ करोड ४० लाख रुपैयाँको ग्रस कलेक्सन भए तापनि प्रदर्शक, वितरक र करको हिस्सा कटाउँदा निर्माताहरूको हातमा पुग्ने वास्तविक रकम भने तुलनात्मक रूपमा कम देखिन्छ । २०८२ सालमा रिलिज भएका ५६ मध्ये केवल १९ चलचित्रले मात्र १ करोड भन्दा बढीको व्यापार गर्न सफल भएका छन् । ठूलो बजेटका र सुरुवाती समयमा निकै चर्चा बटुलेका ‘नृसिंह अवतार’, ‘कोशेढुङ्गा’ र ‘गोबर गणेश’जस्ता चलचित्रहरूले बक्स अफिसमा अपेक्षा गरेअनुसारको नतिजा निकाल्न सकेनन् ।
निर्माण संख्या बढ्दै
नेपालमा चलचित्र निर्माणको दायरा र स्वरूपबारे महŒवपूर्ण संकेत दिने नयाँ तथ्यांक सार्वजनिक भएको छ । गत वर्ष निर्माणका लागि इजाजत लिएका २३० वटा फिल्महरूको अनुमानित बजेट जोड्दा कुल लगानी करिब ३१२ करोड ६४ लाख ९३ हजार ५०० रुपैयाँ पुगेको देखिएको छ । औसत हिसाबले हेर्दा प्रत्येक फिल्ममा झण्डै १ करोड ३६ लाख रुपैयाँ लगानी भएको अनुमान छ, जसले नेपाली फिल्म उद्योग मध्यम बजेटतर्फ केन्द्रित रहेको स्पष्ट संकेत दिन्छ ।
उपलब्ध तथ्यांकअनुसार सबैभन्दा धेरै फिल्महरू १ करोडदेखि २ करोड रुपैयाँ बजेटको दायरामा छन् । यस्तो बजेट भएका फिल्महरूको संख्या १०१ पुगेको छ, जुन कुलको करिब ४४ प्रतिशत हो । त्यस्तै १ करोडभन्दा कम बजेटमा बन्ने फिल्महरूको संख्या ८६ रहेको छ, जसले करिब ३७ प्रतिशत हिस्सा ओगटेको छ । २ करोडदेखि ३ करोडबीचका फिल्महरू ३० वटा छन् भने ३ करोडभन्दा माथिको उच्च बजेटका फिल्महरू जम्मा १३ वटा मात्रै रहेका छन् ।
यो वितरणले नेपाली फिल्म उद्योगको लगानी संरचना निकै स्पष्ट रूपमा देखाउँछ । अधिकांश निर्माता तथा लगानीकर्ता अत्यधिक जोखिम लिनुभन्दा मध्यम दायराको बजेटमा फिल्म निर्माण गर्न रुचाएको देखिएको छ । १ देखि २ करोडको बजेटलाई सुरक्षित मानिने कारण, यस्तो फिल्मले लागत उठाउने सम्भावना तुलनात्मक रूपमा बढी हुने विश्वास हो । एकातिर हलमा सीमित दर्शक, अर्कोतर्फ डिजिटल प्लेटफर्मबाट आउने आम्दानीलाई जोडेर हेर्दा यस्तो बजेट व्यवहारिक मानिएको देखिन्छ ।
एक करोडभन्दा कम बजेटका फिल्महरूको उल्लेखनीय संख्या अर्को महŒवपूर्ण ट्रेन्ड देखिएको छ । यस्तो वर्गमा पर्ने फिल्महरू प्रायः नयाँ निर्देशक, साना ब्यानर वा प्रयोगात्मक कथावस्तुमा आधारित हुने देखिएको छ । डिजिटल प्रविधिको सहज पहुँच, कम लागतमा छायांकन सम्भव हुनु र नयाँ प्रतिभाले अवसर पाउनु यसका प्रमुख कारण हुन् । तर यस्ता फिल्महरूका लागि चुनौती नै प्रदर्शन र प्रचारप्रसार हो । धेरैजसो कम बजेटका फिल्महरू राम्रो सामग्री भए पनि दर्शकसम्म पुग्न संघर्ष गरिरहेका छन् ।
दुईदेखि तीन करोडको बजेट भएका फिल्महरू तुलनात्मक रूपमा कम देखिनु र ३ करोडभन्दा माथिका फिल्महरू निकै न्यून हुनु नेपाली फिल्म उद्योगको अर्को यथार्थ हो । उच्च बजेटका फिल्महरू बनाउन अझै पनि लगानीकर्ताहरू हिच्किचाउने गरेको देखिन्छ । यसको प्रमुख कारण बजारको आकार सानो हुनु, लगानी सुरक्षित हुने ग्यारेन्टी नहुनु र अन्तर्राष्ट्रिय फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने दबाब हो । यद्यपि केही फिल्महरूको बजेट ४ देखि १० करोडसम्म देखिनु उद्योग विस्तारतर्फ बिस्तारै अघि बढिरहेको संकेत पनि देखिएको छ ।
यो तथ्यांकले समग्रमा नेपाली फिल्म उद्योग २०८३ सालमा ‘मध्यम बजेट’को चरणमा रहेको देखाउँछ । अत्यधिक महँगो फिल्मभन्दा मध्यम लागतका, कथामा आधारित र सीमित जोखिम भएका प्रोजेक्टहरू निर्माण हुने प्रवृत्ति देखिएको छ । यसले उद्योगलाई स्थिर बनाउने सम्भावना राखे पनि ठूला स्तरका, अन्तर्राष्ट्रिय बजार लक्षित फिल्महरूको अभाव भने देखिन्छ ।
ट्रेन्डको दृष्टिले हेर्दा, आगामी दिनमा पनि १–२ करोड बजेटका फिल्महरूको लहर जारी रहने संकेत देखिन्छ । यस्तो बजेटले निर्माता, वितरक र प्रदर्शकबीच सन्तुलन कायम गर्न सहयोग गर्छ । साथै, डिजिटल प्लेटफर्म (ओटीटी) को विस्तारसँगै कम बजेटका फिल्महरूको संख्या अझ बढ्ने सम्भावना पनि छ, किनकि यस्ता प्लेटफर्महरूले साना फिल्मलाई पनि दर्शकसम्म पुग्ने अवसर दिन थालेका छन् ।
तर दीर्घकालीन रूपमा हेर्दा, नेपाली फिल्म उद्योगलाई नयाँ उचाइमा पु¥याउन उच्च बजेटका, प्राविधिक रूपमा सशक्त र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने फिल्महरूको आवश्यकता देखिन्छ । त्यसका लागि लगानी वातावरण सुधार, वितरण प्रणाली सुदृढीकरण र पारदर्शी बक्स अफिस प्रणाली अपरिहार्य हुने देखिन्छ ।
पछिल्लो तथ्यांकले नेपाली फिल्म उद्योग विस्तारको चरणमा भए पनि अझै सुरक्षित खेल खेलिरहेको स्पष्ट संकेत दिएको छ । जोखिम कम गर्ने रणनीतिबीच सिर्जनात्मकता र व्यवसायिकता सन्तुलन गर्ने चुनौती उद्योगसामु यथावत् देखिन्छ ।
२०८२ भरि ९४ वटा फिल्मले सेन्सर पासको स्वीकृति पाएका छन् । यस हिसाबले २०८३ भरि हरेक साता नेपाली फिल्महरुबीच भिडन्त हुने देखिएको छ ।
महँगा फिल्मतर्फ जोखिम मोल्दै निर्माता
नेपाली चलचित्र उद्योगमा पछिल्लो समय लगानीको आकार ह्वात्तै बढेको छ । चलचित्र विकास बोर्डमा आर्थिक वर्ष २०८२÷८३ को चैत महिनासम्म दर्ता भएका चलचित्रहरूको विवरण हेर्दा नेपाली निर्माता र निर्देशकहरू महँगो बजेटका फिल्ममा ठूलो जोखिम मोल्न तयार देखिएका छन् ।
बोर्डको तथ्याङ्क अनुसार यो वर्ष १० करोड रुपैयाँसम्मको लगानीमा चलचित्र निर्माणका लागि इजाजत लिइएको छ । विशेष गरी स्थापित ब्यानर र अनुभवी निर्देशकहरूले ठूला परियोजनामा हात हालेका छन् । यो वर्ष सबैभन्दा बढी लगानी हुने चलचित्रमा ‘माइती’ देखिएको छ, जसलाई रौनकविक्रम कँडेलले १० करोडको लागतमा निर्माण गर्दैछन् भने यसको निर्देशन सुयोग गुरुङले गर्ने भएका छन् ।
त्यसैगरी, पाँच करोड ४० लाखको लगानीमा ‘परिवेश’ चलचित्र निर्माण हुन लागेको छ । यसका निर्माताहरू रवीन्द्र बराल र जीवन सिंह ठकुरी हुन् भने निर्देशन केदारनाथ दवाडीले गर्दैछन् । चार करोड वा सोभन्दा बढी लगानी गर्नेहरूको सूची पनि लामो छ । कृषा चौलागाईंले ‘पारस (आइ एम जितबहादुर)’ चार करोड ८० लाखमा निर्माण र निर्देशन गर्दैछिन् । सरोज न्यौपानेको निर्माण र सुरज सुनुवारको निर्देशन रहेको ‘घोस्टेल’ ४ करोडको लगानीमा तयार हुँदैछ । मिलन तामाङले ४ करोडकै लागतमा ‘कहाँ भेटिएला’ निर्माण गर्दैछन् भने शंकर घिमिरेले पनि ‘नरदेवी’ चलचित्रका लागि ४ करोड खर्चिने गरी इजाजत लिएका छन् ।
तीन करोड वा सोभन्दा बढी लगानी भएका चलचित्रहरूमा ‘मुना मदनको ब्रेकअप’ (३ करोड ५० लाख) , ‘बैरीप्रिया’ (३ करोड ५० लाख) , ‘पारि बुटोल’ (३ करोड) , ‘जहाजैमा’ (३ करोड) , ‘कोलाहल’ (३ करोड) र ‘कटक’ (३ करोड) रहेका छन् । यी चलचित्रहरूमा क्रमशः रुपेश तामाङ, दीपक भट्ट त्यागमूर्ति, गणेश देव पाण्डे, कृषा चौलागाईं, हेमराज बि.सी. र सुवर्ण कुमार थापाको निर्देशन रहनेछ ।
थारु संस्कृतिमा आधारित भनिएको ‘राइफल थारु’लाई पनि तीन करोडकै लागतमा निर्माण गर्न लागिएको छ, जसको निर्देशन अनिल खड्काले गर्नेछन् । लगानीको यो ग्राफले नेपाली चलचित्रले आफ्नो प्राविधिक र रचनात्मक पक्षलाई विश्वस्तरको बनाउन ठूलो पुँजी परिचालन गरिरहेको संकेत गर्दछ ।