काठमाडौं (संवाददाता)– एमालेको दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि ललितपुरको गोदावरीमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा अोलीले गर्ने कार्यक्रम छ ।
तीन दिनसम्म चल्ने अधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजक ३ सय १५ गरी २ हजार ३ सय ४१ जनाको सहभागिता रहने बताइएको छ । अधिवेशनमा एमाले अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणसहित मुख्य चुनौती, पार्टीको कार्यदिशा र कार्यभार स्पष्ट गर्ने बताइएको छ । उपाध्यक्ष पौडेलको प्रस्तुतिमा विधान संशोधन प्रस्तावसहित ७० वर्षे उमेर हदका विषयमा छलफल हुनेछ । साथसाथै २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीमध्ये एक तिहाइ पोलिटब्यूरो र १५ जना केन्द्रीय पदाधिकारीको स्थायी कमिटी रहने नयाँ व्यवस्था प्रस्तावित गरिने भएको छ ।
पार्टीको केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना विषयका प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
विधान महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षले चारवटा विषयमा फरक मत राखेका छन् । भण्डारी निकट एमाले स्थायी समिति सदस्य कर्ण थापाले बिहीबार एमाले केन्द्रीय कार्यालयमा फरक मत दर्ता गराएका हुन् । पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकाल भन्दा बढी अध्यक्ष हुन नहुने विषयलाई भण्डारी पक्षले उठाएको हो ।
एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता नवीकरण नगरी राजनीतिमा आउन रोक्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको सो निर्णयविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीले फरक मत र अभिव्यक्ति दिएका छन् ।