झापा, १९ भदौ - बायोग्यास प्लान्टको व्यवस्थापन समितिले स्थानीयबासीलाई झुक्याएको छ । झापामा ठूलो बायोग्यास प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइए पनि त्यसको सेवा पाउन नसक्दा स्थानीय निराश छन् ।
प्लान्ट निर्माणपछि स्थानीयलाई व्यावसायिकरूपमा पाइपलाइनबाट ग्यास वितरण गर्ने घोषणा प्रवर्धक कम्पनी कन्काई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले गरेको थियो । उत्पादित ग्यास ठूला होटलहरूमा आपूर्ति गर्ने गरेकाले स्थानीयबासीले सेवा पाउन नसकेको गुनासो गरेका छन् ।
प्लान्ट जिल्लाका कन्काई, बिर्तामोड, र अर्जुनधारा गरी तीन नगरपालिकाको साझेदारीमा निर्माण गरिएको हो । प्लान्ट सञ्चालनमा आएको ८ वर्ष भइसकेको छ । कम्पनीले अन्तै ग्यास दिइरहेकाले घोषणा र योजनाअनुरुप नगरबासीका घरघरमा पाइपबाट पुर्याउन चासो नदिएको स्थानीयको आरोप छ । निर्माणअघि फोहोरबाट ग्यास उत्पादन गरी पाइपलाइनमार्फत घर–घरमा पु¥याउने महत्वाकांक्षी योजना सार्वजनिक गरिएको थियो ।
कम्पनीले घर–घरमा ग्यास वितरण गर्न चासो नदिएको कन्काई–२ की विष्णुमाया श्रेष्ठले बताइन । ‘सरकारको अनुदान सहयोग र स्थानीय लगानीमा ठूलो बायोग्यास प्लान्ट निर्माण गर्दा घरघरमा पाइपबाट ग्यास वितरण गर्ने भनी प्रचार गरिएको थियो,’ उनले भनिन्, ‘तर, ८ वर्ष बितिसक्दा पनि कहिलेबाट वितरण सुरु हुने अत्तोपत्तो छैन ।’
कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले संयुक्तरूपमा अगाडि सारेको व्यावसायिक बायोग्यास आयोजना तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले शिलान्यास गरेका थिए । २०७५ सालमा निकै तामझाम गरेर काम सुरु गर्दा यो आयोजनालाई झापाको मात्र नभई प्रदेशस्तरमै नमूना बनाउने दाबी गरिएको थियो ।
नगरपालिकाबाट निस्कने फोहोर व्यवस्थित गर्दै नागरिकलाई स्वच्छ ऊर्जाको पहुँच दिने तथा आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने लक्ष्यसहित बायोग्यास प्लान्ट निर्माण थालिएको थियो । जिल्लाका ३ वटै नगरपालिकामा घरघरमा पाइपलाइनबाट ग्यास पु¥याउने घोषणाले सर्वसाधारण उत्साहित भएका थिए । तर, प्रवर्धक कम्पनीले घोषणा अनुसारको काम नगरेको श्रेष्ठले गुनासो गरिन् ।
बायोग्यास प्लान्ट आयोजना बनाउन कूल लगानीको ६० प्रतिशत सरकारले दिएको थियो भने ४० प्रतिशत लगानी स्थानीय स्तरबाट उठाइएको थियो । आफुहरूले पनि त्यसमा लगानी गरेको उनले बताइन् ।
‘बनाउन थाल्दा फोहोरलाई मोहोर बनाउने भनेर प्रचार गरियो । बनेपछि कहिले दिने भन्ने कम्पनीले चासो दिएको छैन,’ उनले भनिन् ।
स्थानीयका अनुसार प्लान्टमा सर्वसाधारणले आफ्नो क्षमताअनुसार न्यूनतम ५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म लगानी गरेका छन् । घरघरबाट लगानी उठाएर आयोजना बनाउँदा पनि सेवा पाउन नसकेको कन्काई–२ की सीतादेवी ढकालले बताइन् । प्लान्टबाट निस्कने ग्यास पाइपबाट नगरबासीको घर–घरमा जोड्ने घोषणा भएपछि आफ्नो छोराले पनि ५० हजार रुपैयाँ दिएको उनले सुनाइन् ।
‘फोहोरबाट निस्कने ग्यास पाइपबाट घर–घरमा पुर्याउने भनियो तर, अहिले ठूला–ठूला सिलिन्डरमा भरेर होटल होटलमा पु¥याएर बेचिरहेको छ । हामीले पाउनु त सपनै भयो,’ उनले भनिन् ।
करिब एक हजार घरधुरीले पाइपलाइनमार्फत ग्यास उपभोग गर्न सक्ने क्षमताको प्लान्ट निर्माण गर्न थाल्दा स्थानीय खुसी भएका थिए । कन्काई–२ स्थित स्थानीय सन्का खोलाको बाँधमा रहेको कन्काई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन आयोजनामा अहिलेसम्म १६ करोड रुपैयाँ बढी लगानी भइसकेको छ । योजनामा कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाले समान २ करोड ५४ लाख रुपैयाँ लगानी गरेका छन् ।
जनसहभागितासहित करोडौंको लगानीमा सञ्चालन भएका योजना सञ्चालनमा ढिलासुस्ती हुनु प्राविधिक कमजोरी, लगानीको पारदर्शितामा देखिएका प्रश्न र नेतृत्व तहबीचको समन्वय अभाव रहेको जानकारहरू बताउँछन् ।
प्रवर्धक कम्पनीले भने काम निरन्तर भइरहेको बताउँदै छिटै लक्ष्यअनुरूप सेवा दिने दाबी गरेको छ । अहिले कुल क्षमताको ३० प्रतिशत मात्रै प्लान्टले बायोग्यास उत्पादन गरिरहेकाले तत्काललाई नगरबासीमा वितरण गर्न सम्भव नभएको कम्पनीका प्रमुख कार्यकारी अधिकृतरूपक कार्कीले बताए ।
‘अहिले क्षमताभन्दा कम ग्यास उत्पादन भइरहेको छ,’ उनले भने, ‘प्राविधिक कारणले केही ढिलो हुन गएको हो । अहिले नै निराश हुनुपर्ने अवस्था छैन ।’ उनले घोषणाअनुरूप नै नगरबासीलाई पाइपलाइनबाट ग्यास वितरणको योजनामा काम गरिरहेको पनि दाबी गरे ।