नेभिगेशन
साहित्य

लेखनको इतिहासको पुनर्लेखन

हराएको एउटा प्राचीन लिपिले मानिसले पहिलोपटक आफ्ना बोलेका शब्दलाई कसरी लिखित रूपमा उतारेको थियो भन्ने चिनाउन सक्छ ।

प्रारम्भिक लेखनको इतिहास दुई लिपिको कथाजस्तो सुनाइन्छ । मिस्रका चित्रलिपि (हाइरोग्लिफ) र मेसोपोटामियाको क्युनिफर्म करिब ५३०० वर्षअघि स्वतन्त्र रूपमा विकसित भएका थिए । त्यसपछि प्राचीन मिस्र र मेसोपोटामियाका राजनीतिक शक्तिहरू फस्टाए, किनकि लेखनले राज्यलाई सामानको प्रवाह नियन्त्रण गर्न र सत्ता सुदृढ गर्न मद्दत ग¥यो । भनिन्छ, कलम (वा प्राचीन स्टाइलस) तरबारभन्दा शक्तिशाली थियो ।
तर यस्ता परम्परागत कथामा एउटा ठूलो अभाव छ । लेखनको सुरुवाती चरणमा दुई होइन, तीन लिपि थिए । तेस्रो रहस्यमय लिपि ‘प्रोटो–एलामाइट’ थियो । यो लिपि प्राचीन इरानमा विकसित भएको थियो । त्यही समयमा ‘क्युनिफर्म’ र ‘चित्रलिपि’ दुवै आफ्नो प्रारम्भिक अवस्थामा थिए । तर १२५ वर्षअघि यसको खोज भएयता मुट्ठीभर विद्वानबाहेक अरूले यसलाई लगभग बेवास्ता गरे ।
अब त्यो अवस्था बदलिन थालेको छ र यसका प्रभाव निकै दूरगामी हुन सक्छन् । प्रोटो–एलामाइट अझै धेरै हदसम्म अपठित भए पनि, यस्तो आकर्षक प्रमाण भेटिएको छ कि करिब ५००० वर्षअघि यही लिपि तीनमध्ये सबैभन्दा उन्नत थियो । यसको इतिहासबारे अहिले थाहा भएका तथ्य यति आश्चर्यजनक र परम्पराविपरीत छन् कि हामीले लेखनको प्रारम्भिक इतिहास नै फेरि लेख्नुपर्ने हुन सक्छ ।
अचम्मको कुरा त के छ भने, यो अस्पष्ट लेखन प्रणालीले बोलेको भाषालाई लिखित रूपमा उतार्ने प्रक्रियामा ठूलो फड्को मारेको हुन सक्छ । बोलिने भाषा सम्भवतः १७ लाख वर्ष पुरानो हो तर प्रोटो–एलामाइटसम्म आइपुग्दा मात्र मानिसले आफूले बोलेको कुरा ठीक त्यही रूपमा लेख्न थालेको हुन सक्छ । तर यदि यो यति अद्भुत थियो भने, किन यो लिपि आविष्कार भएको केही समयमै हरायो त ? वैज्ञानिकहरुलाई यो कुराले आश्चर्यमा पारिरहेको छ ।
‘प्रोटो–एलामाइट’को खोज
सन् १८९९ देखि इरानी पठारका पुराताŒिवक स्थलहरूमा प्रोटो–एलामाइट लेखिएका माटाका ट्याब्लेट भेटिन थाले । अधिकांश ट्याब्लेट प्राचीन सहर सुसामा फेला परेका थिए । यो करिब ४५०० वर्षअघि विकसित भएको एलाम सभ्यतासँग सम्बन्धित छ । तर यी ट्याब्लेट एलाम सभ्यताको उदयभन्दा अघिका भएकाले यस लेखन प्रणालीलाई ‘प्रोटो–एलामाइट’ नाम दिइयो ।
हालको अनुमानअनुसार सबैभन्दा पुराना ट्याब्लेट करिब ५२०० वर्ष पुराना छन् । यसले यी मिस्र (इजिप्ट)का ‘चित्रलिपि’ वा प्रारम्भिक ‘क्युनिफर्म’भन्दा केही पछि बनेका हुन सक्छन् ।
अक्सफोर्ड विश्वविद्यालयका जेकब डालका अनुसार ‘प्रोटो–एलामाइट’ सम्भवतः ‘प्रोटो–क्युनिफर्म’बाट प्रभावित थियो । सुसा र प्राचीन मेसोपोटामियाको उरुक सहरबीच केही सय किलोमिटरको दूरी मात्र भएकाले यो अस्वाभाविक होइन । प्रोटो–क्युनिफर्म लेखनको मुख्य केन्द्र उरुक नै थियो ।
मेसोपोटामियाली लिपिजस्तै, प्रोटो–एलामाइट पनि भिजेको माटोमा स्टाइलस प्रयोग गरेर लेखिन्थ्यो । केही चिह्न त लगभग उस्तै थिए । जस्तै ‘भेडा’ जनाउने घेराभित्रको क्रस चिह्न लेखिन्थ्यो । यी प्राचीन लिपिहरू मुख्यतः आर्थिक अभिलेख राख्न प्रयोग हुन्थे ।
तर केही विद्वानहरूको फरक मत भने छ । पुराना माटाका ट्याब्लेटको सही मिति निर्धारण गर्न गाह्रो हुन्छ, विशेष गरी तीमध्ये धेरै एक शताब्दीअघि निकै अव्यवस्थित उत्खननबाट निकालिएका थिए । त्यसैले केही अनुसन्धानकर्ताहरूको विचारमा ‘प्रोटो–एलामाइट’ पनि अन्य दुई लिपिजत्तिकै पुरानो हुन सक्छ र तीनवटै स्वतन्त्र रूपमा विकसित भएका हुन सक्छन् ।
आधुनिकजस्तो देखिने लिपि
प्रोटो–एलामाइट, प्रोटो–क्युनिफर्मभन्दा धेरै रहस्यमय र अस्पष्ट छ । आजसम्म पनि यसलाई पूर्ण रूपमा पढ्न सकिएको छैन । संख्याहरू कसरी लेखिन्थे भन्ने त बुझिएको छ तर अधिकांश गैर–संख्यात्मक चिह्नको अर्थ अझै अज्ञात छ ।
यसको एउटा कारण प्राचीन इरानी लेखकहरूले बनाएको डिजाइन हो । प्रोटो–क्युनिफर्मका धेरै चिह्न चित्रात्मक थिए, जस्तै ‘दिनु’ जनाउन हातको चित्र, वा ‘जौ’ जनाउन काँडेदार डाँठ । तर प्रोटो–एलामाइटका चिह्नहरू बढी अमूर्त थिए । यसले तिनको अर्थ बुझ्न कठिन बनाउँछ ।
यद्यपि यही विशेषताले यसलाई आश्चर्यजनक रूपमा आधुनिक देखाउँछ । आजका अधिकांश लेखन प्रणालीका अक्षर र चिह्नहरू पनि अमूर्त नै छन् । अझ, प्राचीन इरानी लेखकहरूले पंक्तिमा लेख्थे र दायाँबाट बायाँ पढिन्थ्यो । यसको विपरीत, मेसोपोटामियाली लेखन बाकस–जस्तो संरचनामा हुन्थ्यो, जसले आधुनिक स्प्रेडसिटको झल्को दिन्थ्यो ।
डिजिटल अध्ययन र रहस्य
पछिल्ला २५ वर्षमा डालको कामले प्रोटो–एलामाइटबारे हाम्रो बुझाइ परिवर्तन गरेको छ । उनले आफ्ना गुरु रोबर्ट एन्ग्लुन्डसँग मिलेर १७०० ज्ञात प्रोटो–एलामाइट पाठलाई डिजिटाइज गरी निःशुल्क अनलाइन उपलब्ध गराए । उनले गैर–संख्यात्मक चिह्नहरूको सूची पनि तयार गरे । अहिलेको अनुमानमा यस्ता चिह्न सयौंदेखि केही हजारसम्म थिए । अनुसन्धानकर्ताहरू के आशा गर्छन् भने, यी चिह्नहरू कसरी प्रयोग भएका छन् भन्ने ढाँचा अध्ययन गरेर एक प्रकारको ‘प्रोटो–एलामाइट शब्दकोश’ तयार गर्न सकिनेछ ।
उदाहरणका लागि, ‘गाई’ जनाउने चिह्न पहिचान गर्ने प्रयास भइरहेको छ । रोचक कुरा के छ भने, सम्भावित ‘गाई’ चिह्न कहिल्यै ‘हल’ जनाउने चिह्नसँग एउटै ट्याब्लेटमा देखिएको छैन । सुरुमा यसले पहिचान गलत हुन सक्ने संकेत दियो । तर स्विडेनको उप्साला विश्वविद्यालयकी क्याथ्रिन केली र अन्य अनुसन्धानकर्ताहरूले कम्प्युटर विश्लेषणमार्फत ‘हल’ र ‘गाई’ चिह्नबीच गहिरो सम्बन्ध रहेको देखाए । ती सँगै नदेखिए पनि, खेतीपातीसँग सम्बन्धित एउटै ठूलो समूहका चिह्नभित्र पर्थे ।
उसो भए के यो संसारकै पहिलो वास्तविक लेखन थियो ?
अनुसन्धानकर्ताहरूको एउटा महŒवपूर्ण निष्कर्ष छ, ५००० वर्षअघि प्रोटो–एलामाइट सम्भवतः सबैभन्दा उन्नत लेखन प्रणाली थियो । त्यतिबेलाको लेखन अत्यन्त साधारण थियो । चिह्नहरूले वस्तु वा अवधारणा मात्र जनाउँथे । उदाहरणका लागि, ‘मानिस’, ‘बाख्रा’ र ‘५०’ चिह्नले ‘कसैसँग ५० वटा बाख्रा छन्’ भन्ने सूचना दिन्थ्यो । तर प्रोटो–एलामाइटले सम्भवतः यो सीमाभन्दा बाहिर निस्किएको थियो । यसले बोलेको भाषालाई नै संकेत गर्न थालेको हुन सक्ने प्रमाणले देखाएको छ ।
यो मानव इतिहासको ठूलो मोड थियो । बोलीको जटिलता लेखनमा आएपछि लेखनले मानिसलाई मनाउन, खुसी बनाउन वा रिस उठाउन सक्ने शक्ति पायो । अनुसन्धानकर्ताहरूका अनुसार, कुनै प्रणालीले बोलेको भाषा संकेत गर्न सक्यो भने मात्रै त्यसलाई ‘वास्तविक लेखन’ भन्न मिल्छ । यदि यो सही हो भने, प्रोटो–एलामाइट संसारको पहिलो वास्तविक लेखन प्रणाली हुन सक्छ ।
एलामाइट ‘रोसेटा स्टोन’
बेल्जियमका फ्राँस्वा डेसेटले अर्को प्राचीन इरानी लिपि ‘लिनियर एलामाइट’माथि अनुसन्धान गर्दै सन् २०२० मा यसलाई पढ्न सफल भएको घोषणा गरे । उनले चाँदीका प्यालामा लेखिएका प्रार्थनाहरू अर्को ज्ञात लिपिसँग तुलना गरेर यसलाई बुझ्न सके । यो प्रक्रिया मिस्री चित्रलिपि ‘रोसेटा स्टोन’ प्रयोग गरेर पढिएझैं थियो ।
डेसेटका अनुसार लिनियर एलामाइट र प्रोटो–एलामाइट एउटै परम्पराको दुई चरण हुन सक्छन् । तर डाल यसमा सहमत छैनन् । उनका अनुसार प्रोटो–एलामाइट केही समयपछि पूर्ण रूपमा परित्याग गरियो ।
लेखनको अस्वीकार
डालको विचारमा प्राचीन इरानीहरूले लेखनलाई नियन्त्रण र दमनको उपकरण माने । ‘प्रोटो–एलामाइट सामानको हिसाब राख्ने र मानिसलाई नियन्त्रण गर्ने प्रणाली थियो,’ उनी भन्छन्, ‘शासकहरूले सर्वसाधारणलाई तिमीहरुले पर्याप्त सामान ल्याएनौ भन्न सक्थे ।’ उनका अनुसार यही कारणले लेखन लोकप्रिय हुन सकेन । पुराताŒिवक अभिलेखमा ४९०० देखि ४१०० वर्षअघिसम्म लेखनको लगभग ८०० वर्ष लामो खाली अवधि देखिन्छ ।
यो धारणा अहिले मानव इतिहासबारे भइरहेका नयाँ पुनर्मूल्यांकनसँग मेल खान्छ । इतिहास सधैँ सीधा रेखामा अघि बढ्दैन । केही समाजले खेती अपनाए, फेरि छोडे । त्यसैगरी, केही समाजले लेखन पनि अस्वीकार गर्न सक्छन् ।
रोचक कुरा त के छ भने, लेखनप्रति उदासीन भए पनि प्राचीन इरान शक्तिशाली बन्यो । करिब ३८०० वर्षअघि मेसोपोटामियालीहरूले एलामलाई आफूभन्दा ‘धनी र शक्तिशाली’ ठान्थे । उनीहरूले एलामका राजालाई ‘हाम्रा पिता’ भनेर सम्बोधन गर्थे । तर त्यो एलामका राजा स्वयं लेखनप्रति खासै उत्साहित थिएनन् । उनले र उनका प्रजाले सायद बुझेका थिए कि सफल हुन लेखन अनिवार्य छैन । (न्यु साइन्टिष्ट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्