नेभिगेशन
साहित्य

चीन चाहन्छ, पढून्

चीनको सबैभन्दा सुन्दर पुस्तकालय भनेर चिनिने बिनहाई पुस्तकालय साँच्चै नै हैरान पार्ने र सासै रोक्ने खालको छ । पुस्तकका घुमाउरा र्याकहरू गुरुत्वाकर्षणलाई चुनौती दिएझैं माथिसम्म उक्लिएका छन् । उज्यालो छरिएको विशाल हल कुनै आधुनिक ज्ञान–मन्दिरजस्तो देखिन्छ । त्यसैले त पूर्वी चीनको सहर तियानजिनमा रहेको यो पुस्तकालय सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने युवाहरूको प्रिय स्थल बनेको छ । तर पुस्तकालयभित्र केही समय बिताएपछि बुझिन्छ, पुस्तकालय जति भव्य छ र यसका बारेमा जति पोस्ट देखिन्छन्, सञ्जालमा त्यो देखिएजस्तो वास्तविकता छैन ।
धेरैजसो ‘पुस्तक’ वास्तवमा पुस्तकको बाहिरी भागको तस्वीर मात्रै हुन्, जुन भित्तामा टाँसिएका छन् र अधिकांश आगन्तुक पुस्तक पल्टाइरहेका हुँदैनन्, आफ्नै मोबाइलमा टाँस्सिएका हुन्छन् । यो ठाउँ फोटो खिच्नका लागि मात्र उपयुक्त पृष्ठभूमि मात्र होइन, चीनको नयाँ सरकारी चिन्ताको प्रतीक पनि हो । मानिसलाई अझ धेरै पढ्न र अझ गहिरो रूपमा पढ्न कसरी प्रेरित गर्ने भन्ने चिन्ताको प्रतीक पनि हो ।
सन् १९२१ मा स्थापना भएदेखि नै चीनको कम्युनिष्ट पार्टीले साक्षरतालाई प्रमुख उद्देश्यका रूपमा हेरेको छ । क्रान्तिकारी बन्नुअघि केही समय पुस्तकालयमा काम गरेका माओ जेदोङको प्रेरणा साहित्यिकभन्दा राजनीतिक थियो । उनी सामन्ती शासकलाई उखेलेर फाल्न सक्ने चेतनशील सर्वहारा वर्ग निर्माण गर्न चाहन्थे । माओले १९४९ मा २० प्रतिशतभन्दा कम रहेको चीनको साक्षरता दरलाई १९७६ मा उनको मृत्यु हुँदासम्म करिब ६० प्रतिशत पु¥याउन मद्दत गरे । अहिले त्यो दर लगभग ९९ प्रतिशत पुगेको छ । त्यसका पछाडि माओले सर्वसाधारणलाई पढ्न प्रेरित गरेका कारण पनि हो ।
अहिले चीनमा साक्षरता दर त बढेको छ तर पठन संस्कृति खस्कँदै गएको चिन्ता पनि बढेको छ । सी जिनपिङले अहिले पठन संस्कृति बढाउने अभियानलाई नयाँ मोड दिएका छन् । गएको फेब्रुअरीमा पठन प्रवर्धन गर्ने उद्देश्यसहित नयाँ नियम लागू गरिएको छ । अप्रिल २६ मा चीनले आफ्नो इतिहासमै पहिलो ‘राष्ट्रिय पठन सप्ताह’ सम्पन्न ग¥यो । सरकारी सञ्चारमाध्यमहरू मानिसलाई मोबाइल छोडेर पुस्तक समाउन कसरी लगाउने भन्ने छलफलले भरिए र सी जिनपिङले यस अभियानलाई आफैं अग्रसर भएर प्रेरित गरिरहेका छन् ।
पार्टीको प्रमुख सैद्धान्तिक पत्रिका ‘क्विशी’को नयाँ अंकमा उनले पढाइको महŒवबारे टिप्पणी गर्दै माओलाई श्रेय दिइएको एउटा भनाइ उद्धृत गरे, ‘मानिस एक दिन खाना नखाई बस्न सक्छ, एक दिन नसुती बस्न सक्छ, तर एक दिन पनि नपढी बस्न सक्दैन ।’
यसको केही हिस्सा विश्वभर देखिने साझा समस्याको चिनियाँ संस्करण हो । राष्ट्रिय सर्वेक्षणअनुसार चिनियाँ वयस्कहरूले औसतमा वर्षमा ४.८ वटा छापिएका पुस्तक पढ्छन् । यस्तै सर्वेक्षणले अमेरिकी वयस्कहरूले वर्षमा करिब १३ वटा पुस्तक पढ्ने देखाएको छ । त्यो अमेरिकी आँकडामाथि शंका गर्न सकिए पनि चीनमा छापिएका पुस्तक पढ्ने बानी घटिरहेको स्पष्ट छ ।
रेल, जहाज र मेट्रोमा कागजी पुस्तक बोकेको मानिस भेट्न दुर्लभ हुन्छ । मानिसहरू अझै पढिरहेका हुन्छन्, तर अधिकांश मोबाइलमै । चाइना पब्लिशर्स एशोसिएसनका वू शुलिन भन्छन्, ‘अनलाइन पढाइ ‘ज्ञान निर्माण’ भन्दा ‘समय बिताउने’ माध्यम बढी बनेको छ । यस्तो गुनासो संसारभरका शिक्षक र अभिभावकको पनि हो । चीनको पठन संस्कृति अभियानका रूपमा अघि बढाउनुका पछाडिका कारण सी जिनपिङका दुई प्रमुख चिन्ता हुन् ।
पहिलो हो– ‘प्रविधि–राष्ट्रवाद र चीनको भविष्य भोलिका उद्योगमा प्रभुत्व कायम गर्न सक्ने क्षमतामा निर्भर छ भन्ने विश्वास ।’ चिनियाँ प्रेस तथा प्रकाशन एकेडेमीकी कुई हाईजियाओले लेखेको एउटा लेख हालै ज्यादै भाइरल बन्न पुगेको थियो । त्यसमा उनले गहिरो पढाइले नवप्रवर्तन जन्माउने तर्क गरेकी छन् । सी जिनपिङ स्वयंले पनि ‘किन चीजहरू यस्ता छन्’ भन्ने बुझ्न क्लासिक साहित्य पढ्न आह्वान गरेका छन् । अधिकांश चिनियाँ सांस्कृतिक अभियन्ताहरूले अन्तर्राष्ट्रिय साहित्यलाई पनि प्रोत्साहन गर्ने गरेका छन् । तीमध्ये ताङ कवितादेखि मार्क ट्वेन र लियो टोल्सटोयसम्म छन् ।
दोस्रो चिन्ता हो, चिनियाँ परम्पराप्रतिको सम्मान । चिनियाँ परम्परामा पढाइलाई ‘चिनियाँ हुनु’सँग जोडेर हेर्ने गहिरो इतिहास छ । हजार वर्षअघिका एक सम्राटलाई श्रेय दिइएको प्रसिद्ध कवितामा भनिएको छः ‘पुस्तकभित्र सुनका घरहरू हुन्छन् ।’ सी जिनपिङ चीनलाई सन् २०३५ सम्म ‘सांस्कृतिक महाशक्ति’ बनाउन चाहन्छन् र पढाइको पुनर्जागरण त्यसका मुख्य आधारमध्ये एक हो । तर प्रश्न उठ्छ— यो कसरी सम्भव हुन्छ ?
यही ठाउँमा राम्रो उद्देश्य व्यावहारिक सीमासँग ठोक्किन्छ । पार्टीलाई थाहा छ, मानिसलाई जबर्जस्ती पुस्तक पढाउन सकिँदैन । नयाँ नियम मुख्यतः पढाइलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा केन्द्रित छ । उदाहरणका लागि, यसले राम्रो सार्वजनिक पठनस्थल निर्माण गर्न अधिकारीहरूलाई आग्रह गर्छ । अधिकारीहरूले भवन त बनाउँछन्, पछि वास्ता गर्दैनन् । बिन्हाइ पुस्तकालय यसको उदाहरण हो । त्यहाँको पत्रिका कक्षमा अत्यन्त थोरै सामग्री थियो र दिन  ढल्दासम्म त्यहाँ त्यसै दिनको पत्रिकाहरू समेत देखिएका थिएनन् ।
यस्ता नियम बनाइँदा भौतिक पुस्तक पसललाई सहयोग गर्ने संकेत त देखिन्छ तर ठोस उपाय भने प्रतीत हुँदैन । एक पसलधनीले जापानको ‘स्थिर मूल्य प्रणाली’जस्तो व्यवस्था नहुँदा गुनासो गरे, जसले अनलाइन अत्यधिक छुट दिन रोक्छ ।
पढाइबारे कुनै पनि बहस गर्दा अर्को प्रश्न पनि आउँछ— चीनमा के पढ्न पाइन्छ ? नयाँ नियमले अझ धेरै ‘राम्रो’ पुस्तक पढ्न आग्रह गर्छ । हालै तियानजिनमा आयोजित पुस्तक मेलामा धेरै स्टल पुस्तकभन्दा बढी चिनियाँ औषधि, बालबालिकाका ग्याजेट र हस्तकलाले भरिएका थिए । एक स्टल व्यवस्थापकले भने, ‘इन्टरनेटमा यति धेरै कुरा निःशुल्क पाइन्छ कि मानिसहरू पैसा तिरेर पढ्न चाहँदैनन् ।’
वास्तवमा पछिल्ला दशकमा चीनका केही सबैभन्दा मौलिक साहित्य अनलाइनमै जन्मिएका छन् । बाहिरका मानिसहरूले यसलाई राजनीतिक सेन्सरसिपको परिणाम ठान्न सक्छन् । निश्चय पनि, पार्टीको आलोचना गर्ने वा इतिहासबारे आधिकारिक धारणाभन्दा फरक विचार भएका पुस्तकहरू छापिन दिइँदैनन् । यस्ता सामग्री पढ्दा केही अधिकारीहरूले व्यक्तिगत रूपमा पनि मूल्य चुकाएका छन् । पछिल्ला वर्षहरूमा भएका विभिन्न ‘सफा अभियान’मा ‘गम्भीर राजनीतिक समस्या’ भएका साहित्य पढेको आरोप लगाइएको थियो ।
तर अझ धेरै पाठकहरू लोकप्रिय तर अनधिकृत विधामाथिको नियन्त्रणबाट प्रभावित भएका छन्, विशेष गरी ‘दानमेइ’ साहित्य । यसमा ‘गे’ साहित्य अर्थात् पुरुष–पुरुषका प्रेमकथा चित्रण गरिन्छ र अन्य अलौकिक कथाहरू लेखिन्छन् । ‘तपाईं छापिएको पुस्तक निकाल्न चाहनुहुन्छ भने धेरै कुरा काट्न वा बदल्नुपर्छ,’ एक पुस्तक व्यापारीले भने । अर्को प्रवृत्ति भनेको चीनबाहिर स्वतन्त्र चिनियाँ पुस्तक पसलहरूको वृद्धि हो । जिफेङ बूकस्टोर नामक उदारवादी पुस्तक पसल सन् २०१८ मा शांघाईमा बन्द हुन बाध्य भयो र सन् २०२४ मा वासिङ्टन डीसीमा खुल्यो । राजनीतिक रूपमा संवेदनशील पुस्तक बेच्न परिचित कजवे बे बुक्सले आफ्ना पाँच कर्मचारी पक्राउ परेपछि सन् २०२० मा हङकङ छोडेर ताइपेई सरेको थियो । मुख्यभूमि चीनका बुद्धिजीवीहरूले पनि टोकियो, चियाङ माई, एम्स्टर्डम र अन्य सहरहरूमा साना स्वतन्त्र पुस्तक पसल खोलेका छन् । त्यसैले ठूलो दृष्टिले हेर्दा चिनियाँ साहित्यिक संसार अझै राम्रो अवस्थामै छ, यद्यपि त्यसको ठूलो हिस्सा अहिले अनलाइन वा विदेशमा प्रकाशित भइरहेको छ । तर नयाँ सरकारी अभियानमा एउटा महŒवपूर्ण कुरा हराएको छ, खुला प्रकाशन, विविध स्वरूप र बौद्धिक जोखिम उठाउने स्वतन्त्रता ।
(द इकोनमिस्टमा प्रकाशित ‘पूट डाउन योर फोन’ आलेखमा आधारित ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्