नेभिगेशन
सूचना प्रविधि
संज्ञानात्मक आत्मसमर्पणको खतरा

व्यवस्थापकले कतिसम्म एआईलाई सोच्न दिने ?

क्याल्कुलेटरले सबैलाई गणितमा अज्ञानी बनायो भन्ने होइन । जीपीएस प्रणालीले गाडी चलाउन सजिलो बनायो । कृत्रिम बुद्धिमत्ताको संज्ञानात्मक प्रभावबारे हुने कुनै पनि छलफलमा यी दुई प्रविधि प्रायः उदाहरणका रूपमा आउँछन् । यी दुवैले दुई ठूला प्रश्न उठाएका छन्, वास्तवमा एआईले मानिसको सोच्ने तरिका कसरी बदल्छ ? निर्णायक तहमा पुगेकाहरूले यसबारे के गर्नुपर्छ ?
क्याल्कुलेटर र जीपीएस प्रयोग ‘संज्ञानात्मक जिम्मा हस्तान्तरण’ अर्थात् ‘कग्निटिभ अफलोडिङ’का उदाहरण हुन् । यसमा मानिसले सोच्ने कामको केही भाग प्रविधिलाई सुम्पिन्छ । धेरै अवस्थामा यो उपयोगी पनि हुन्छ । क्याल्कुलेटरले विद्यार्थीको गणितीय क्षमता सुधार्छ, समस्या समाधान गर्ने कौशल र आत्मविश्वास बढाउँछ । जीपीएसले चालकलाई नक्शा हेरेर झञ्झटिलो अवस्थाबाट मुक्त गर्छ । यसले बाटो हराउने सम्भावना घट्नुका साथै ट्राफिक जाम टार्न सजिलो हुन्छ ।  
तर यस्ता कुराको पनि मूल्य निकै महँगो हुन्छ । सन् २०१९ मा लुइजियानाको विश्वविद्यालयका मार्क लाकुर र उनका सहकर्मीहरूले जानाजानी गलत उत्तर दिने क्याल्कुलेटर प्रयोग गराए । नतिजा के देखियो भने विद्यार्थीहरूले गलत उत्तरलाई पनि सहजै स्वीकारे । जीपीएस प्रयोगले मानिसको स्थानिक स्मरणशक्ति कमजोर बनाएको अध्ययनले देखायो । मोबाइल नक्सा प्रयोग गर्ने पैदल यात्रुहरू भौतिक नक्शा प्रयोगकर्ताभन्दा बढी समय लिन्छन् र बढी रोक्छन् । कतिपय अवस्थामा त, डिजिटल नक्सा र जीपीएसको भर पर्दा नराम्रो दुर्घटनाबाट पीडित हुनुपरेको छ ।
इन्टरनेट खोजमा पनि यस्तै ढाँचा देखिन्छ । ‘गूगल इफेक्ट’अनुसार मानिसले अनलाइन सजिलै भेटिने जानकारीलाई लामो समय सम्झन सक्दैन । एआईले यी सबै प्रभावलाई अझ तीव्र बनाउँछ । एआई धेरै काममा मानिसभन्दा उत्कृष्ट भए पनि यसको आत्मविश्वासी शैलीले मानिसलाई सोच्नै छोड्ने खतरा बढाउँछ । यही अवस्था ‘संज्ञानात्मक आत्मसमर्पण’ हो । यो शब्द वार्टन स्कूलका स्टीभन शा र गिडियन नेभले इजाद (बनाएका) गरेका हुन् ।  
उनीहरूले गरेको अध्ययनमा, एआईले सही उत्तर दिएको बेला प्रयोगकर्ताले राम्रो प्रदर्शन गरे । तर जब एआईले गलत उत्तर दियो, प्रयोगकर्ताको प्रदर्शन नियन्त्रण समूहभन्दा निकै कमजोर भयो । अर्थात् मानिसले आफ्नै सोच प्रयोग गर्न छोडे । 
‘अचेल निर्णायक तहका व्यवस्थापकहरूले कर्मचारीलाई एआई प्रयोग गर्न प्रोत्साहित गर्न थालेका छन् । तर आलोचनात्मक सोच निकै मूल्यवान् छ भन्ने बिर्सनु हुन्न । एआईले गल्ती गर्न सक्छ र नयाँ परिस्थितिमा मान्छेले गर्ने निर्णय आवश्यक हुन्छ । त्यसैले निर्णायकहरूले संज्ञानात्मक प्रतिरोध बढाउने उपाय खोज्नुपर्छ,’ अध्येताहरूको भनाइ छ ।
स्टीभन शा भन्छन्, ‘सोच्न रुचाउने मानिसहरूमा आत्मसमर्पणको जोखिम केही कम हुन्छ । सही उत्तरका लागि पुरस्कार र प्रतिक्रिया दिने प्रणालीले पनि सोच्ने प्रवृत्ति बलियो बनाउँछ ।’ चेस क्लबका विद्यार्थीमाथि गरिएको अर्को एउटा अध्ययनले के देखायो भने एआई सल्लाह सीमित क्षणमा मात्र पाउने समूहले बढी प्रगति ग¥यो । त्यस्तै जुनसुकै बेला एआईको सहयोग लिन सक्ने समूहमा उनीहरूको प्रगति आधा मात्र सुधार देखियो ।
प्रविधिलाई धेरै कुरा जिम्मा दिनु ठीक छ तर सोच्न छोड्नु भनेको आत्मसमर्पण हो । यस्तो आत्मसमर्पण मान्छेका लागि घातक बन्न सक्छ । (द इकोनमिस्ट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्