नेभिगेशन
सूचना प्रविधि

एआईले फेला पा¥यो ‘हराएको’ शुक्रकीट, सन्तानको आशा फेरि जाग्यो

एआई (मेसिन बुद्धिमत्ता) मा आधारित नयाँ प्रविधिले पहिले ‘शुक्रकीट नै छैन’ भनिएका पुरुषहरूको वीर्यमा पनि शुक्रकीट फेला पार्न थालेको छ । यसले वर्षौँदेखि सन्तानका लागि संघर्ष गरिरहेका दम्पतीलाई फेरि अभिभावक बन्ने आशा दिएको छ ।
सन् २०२५ को नोभेम्बरको सुरुआती समय थियो । अमेरिकाको न्यू जर्सीमा काम सकेर घर फर्किँदै गरेकी पेनेलोपलाई फोन आयो । फोन गर्ने उनका चिकित्सक थिए । उनले लामो समयदेखि प्रतीक्षा गरेको खबर सुनाए— पेनेलोप गर्भवती भएकी थिइन् ।
सामुएललाई ‘क्लाइनफेल्टर सिन्ड्रोम’ नामक आनुवंशिक समस्या छ । यो अतिरिक्त ‘एक्स’ क्रोमोसोमका कारण पुरुषमा देखिने अवस्था हो । यो प्रायः वयस्क भएपछि मात्र पत्ता लाग्छ । यस्तो अवस्थामा धेरै पुरुषको वीर्यमा शुक्रकीट अत्यन्त कम वा शून्य हुन्छ । यस अवस्थालाई ‘एजोस्पर्मिया’ भनिन्छ । बाँझोपन भएका करिब १० प्रतिशत पुरुषमा यस्तो समस्या हुन्छ ।
उनीहरूको गर्भधारण सम्भव भयो ‘स्टार’ (स्पर्म ट्र्याक एन्ड रिकभरी) नामक नयाँ प्रविधिका कारण । यो प्रणाली अमेरिकाको कोलम्बिया युनिभर्सिटीले विकास गरेको हो । यसले एआई प्रयोग गरेर एजोस्पर्मिया भएका पुरुषको वीर्यमा लुकेका दुर्लभ शुक्रकीट पत्ता लगाउँछ ।
‘म धेरै डराएको थिएँ,’ सामुएल भन्छन्, ‘मलाई लाग्थ्यो कि म कहिल्यै आफ्नै जैविक सन्तानको बुबा बन्न सक्दिनँ । त्यो मेरो जीवनको ठूलो सपना थियो ।’
विश्वभर लाखौँ मानिस बाँझोपनको समस्याबाट प्रभावित छन् । प्रजनन उमेरका प्रत्येक ६ जनामध्ये १ जनाले कम्तीमा एकपटक गर्भधारणसम्बन्धी कठिनाइ भोग्ने गर्छन् । यस्ता समस्यामा पुरुषको योगदान करिब ५० प्रतिशतसम्म हुन्छ । विश्वका करिब १ प्रतिशत पुरुष एजोस्पर्मियाबाट पीडित छन् ।
यसको अर्थ लाखौँ पुरुषमा शुक्रकीट यति कम हुन्छ कि सामान्य परीक्षणबाट भेटिँदैन । एआईले यस्ता ‘लुकेका’ शुक्रकीट पत्ता लगाउन सकेपछि अब उनीहरूका लागि पनि सन्तानको सम्भावना खुल्न थालेको छ ।
पाँच वर्षको अनुसन्धानपछि गत वर्ष स्टार प्रणाली प्रयोग गरेर पहिलो बच्चा जन्मिएको थियो । झण्डै दुई दशकदेखि बाँझोपनसँग संघर्ष गरिरहेको दम्पतीले त्यसपछि पहिलोपटक सन्तान पाए ।
जेभ विलियम्स भन्छन्, ‘त्यो क्षणमा सबै खुशीले उफ्रिरहेका थिए । यति धेरै मेहनतपछि एउटा बच्चा जन्मनु जस्तो सुन्दर उपलब्धि अरू के हुन सक्छ र ? अहिले एउटा छोरी जन्मिइसकेकी छ, र आशा छ—अब अझ धेरै जन्मिनेछन् ।’
पहिलो बच्चा जन्मिएपछि स्टार प्रणाली नियमित रूपमा प्रयोग हुन थालेको छ । अहिले विश्वभरबाट सयौँ दम्पती प्रतीक्षासूचीमा छन् । विलियम्सका अनुसार पछिल्ला १७५ बिरामीमध्ये करिब ३० प्रतिशतमा शुक्रकीट फेला परेको छ । यी त्यस्ता पुरुष थिए, जसलाई पहिले ‘तपाईंको आफ्नै शुक्रकीटबाट बच्चा सम्भव छैन’ भनिएको थियो ।
उनका अनुसार स्टार प्रणालीले दक्ष प्राविधिकले गर्ने म्यानुअल खोजभन्दा ४० गुणा बढी शुक्रकीट पत्ता लगाउन सफल भएको छ ।
सामान्यतया एक मिलिलिटर वीर्यमा करोडौँ शुक्रकीट हुन्छन् । तर एजोस्पर्मियामा कहिलेकाहीँ पूरै नमूनाभर एउटा मात्रै शुक्रकीट हुन सक्छ । त्यसलाई परम्परागत रूपमा खोज्नु लगभग असम्भवजस्तै हुन्छ ।
विलियम्सलाई सन् २०२० मा एआई प्रयोग गरेर नयाँ ताराहरू खोज्ने प्रविधिबारे पढ्दा यो विचार आएको थियो ।
आधुनिक दूरबिनहरूले आकाशका यति धेरै तस्बिर लिन्छन् कि मानिसले ती सबै विश्लेषण गर्न वर्षौँ लाग्न सक्छ । तर मेसिन लर्निङ एल्गोरिद्मले केही मिनेटमै नयाँ तारा पहिचान गर्न सक्छ ।
‘हामीले वीर्य नमुनामा देख्ने दृश्य पनि ताराले भरिएको आकाशजस्तै लाग्यो,’ विलियम्स भन्छन्, ‘हामी विशाल अवशेष र कोषिकाबीच एउटा दुर्लभ शुक्रकीट खोजिरहेका हुन्छौँ ।’
स्टार प्रणालीमा ‘माइक्रोफ्लुइडिक चिप’ प्रयोग गरिन्छ । मानव कपालजत्तिकै पातला च्यानल भएको काँच वा पोलिमरको चिपमार्फत वीर्य नमूना बगाइन्छ । त्यसलाई उच्च क्षमताको इमेजिङ प्रणालीले स्क्यान गर्छ ।
एआई एल्गोरिद्मले प्रतिक्षण सयौँ तस्बिर विश्लेषण गर्दै शुक्रकीट पहिचान गर्छ । त्यसपछि रोबोटिक प्रणालीले केही मिलिसेकेन्डमै त्यो शुक्रकीट अलग गर्छ ।
‘हामी प्रतिक्षण ३०० तस्बिर खिचिरहेका हुन्छौँ,’ विलियम्स भन्छन्, ‘तर धेरैजसो तस्बिरमा फोहोर र कोषिकाका टुक्रा मात्रै हुन्छन् । ती सबैबीच एउटा दुर्लभ शुक्रकीट खोज्नु चुनौतीपूर्ण काम हो ।’
उनका अनुसार स्टार प्रणालीको संवेदनशीलता १०० प्रतिशतसम्म पुगेको छ । अर्थात् नमूनामा एउटा मात्रै शुक्रकीट भए पनि यसले भेट्टाउन सक्छ । सामुएलको अवस्थामा थप चुनौती थियो । क्लाइनफेल्टर सिन्ड्रोम भएकाले उनको वीर्यमा शुक्रकीट थिएन । त्यसैले चिकित्सकहरूले सिधै अण्डकोषबाट नमूना निकाल्नुप¥यो । नौ महिनाको हर्मोन उपचारपछि शल्यक्रियाबाट नमूना निकालियो र कोलम्बिया विश्वविद्यालय पठाइयो ।
त्यही समयमा पेनेलोपको शरीरबाट अण्डा निकाल्ने प्रक्रिया पनि चलिरहेको थियो । स्टार प्रणालीले सामुएलको नमुनाबाट आठ वटा शुक्रकीट अलग गर्न सफल भयो । तीमध्ये एकले भ्रूणको विकसित अवस्था ‘ब्लास्टोसिस्ट’ बनाउन सफल भयो ।
अब उनीहरूको छोरा जुलाई अन्त्यतिर जन्मिने अपेक्षा गरिएको छ ।
‘अब यो सबै वास्तविक लाग्न थालेको छ,’ पेनेलोप भन्छिन्, ‘म बच्चाको चलायमान महसुस गर्न थालेकी छु । परीक्षणहरू पनि सबै राम्रो आएका छन् ।’
प्रजनन उपचारमा एआईको प्रयोग यत्तिमै सीमित छैन । आईभीएफ प्रक्रियामा अण्डाशयलाई सक्रिय बनाउन प्रयोग हुने हर्मोनको मात्रा निर्धारण गर्न पनि मेसिन लर्निङ प्रयोग हुन थालेको छ । भ्रूण र युग्मक छनोटमा पनि डीप लर्निङले सहायता गरिरहेको छ ।
तर विज्ञहरू भन्छन्, ‘दीर्घकालीन प्रभाव बुझ्न अझ ठूलो स्तरका क्लिनिकल परीक्षण आवश्यक छन् । साथै संवेदनशील स्वास्थ्य डेटा, गोपनीयता र जिम्मेवारीसम्बन्धी प्रश्नहरू पनि समाधान गर्नुपर्नेछ ।’
सियोभनन क्वेनबाई भन्छिन्, ‘सन्तानका लागि लामो संघर्ष गरेका दम्पती धेरै संवेदनशील अवस्थामा हुन्छन् । प्रमाणित नभएका महँगा उपचार बेचिने जोखिम पनि हुन्छ ।’ उनका अनुसार एआई, इमेजिङ र इन्जिनियरिङको संयोजनले गम्भीर पुरुष बाँझोपनको समाधान खोज्नु उत्साहजनक भए पनि यसको प्रभावकारिता प्रमाणित गर्न थप अनुसन्धान आवश्यक छ । तर सामुएलका लागि भने यो प्रविधिले भविष्यप्रति नयाँ आशा दिएको छ ।
‘अब त हामी अर्को बच्चाको सपना पनि देख्न थालेका छौँ,’ उनी भन्छन्, ‘पहिले जहाँ कुनै आशा थिएन, अहिले कम्तीमा आशा त छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि