नेभिगेशन
दृष्टिकोण

सुनका मूर्ति, महल र ‘ईश्वर’ बन्ने सपना

ट्रम्पदेखि टेक अर्बपतिसम्म बढ्दै छ तानाशाही शैलीको प्रदर्शन

‘म स्पष्ट पार्न चाहन्छु,’ फ्लोरिडामा गत साता राष्ट्रपति डोनाल्ड ट्रम्पको २२ फिट अग्लो सुनौलो मूर्ति सार्वजनिक गर्दै पास्टर मार्क बन्र्सले भने, ‘यो सुनको बाछो होइन ।’ विडम्बना के भने, क्रोधित मोजेससामु सिनाइ पर्वतको फेदीमा उभिएका मूर्तिपूजक इस्राएलीहरूले पनि शायद यस्तै असहज रक्षात्मक शैलीमा आफूलाई बचाउन खोजेका थिए होलान् । किनकि त्यो वस्तु निकै हदसम्म सुनको बाछोजस्तै देखिन्थ्यो । साँचो कुरा के हो भने ट्रम्पका लागि त्यो सुनौलो मूर्ति (‘सहनशीलता, स्वतन्त्रता, देशभक्ति र शक्तिको प्रतीक’) एउटा सानो तमासा मात्र हो । उनले यसको उद्घाटनमा स्पिकरफोनमार्फत केहीबेर मात्रै उपस्थिति जनाए । किनकि उनको ध्यान अझ विशाल र विचित्र योजनातर्फ छ ।
त्यहाँ विशाल नयाँ ह्वाइट हाउस बलरुम बनाउने योजना छ । ‘आर्क द ट्रम्प’ नाम दिइएको संगमरमरको विजयद्वार बनाउने योजना पनि छ, जुन बनेमा छिमेकी लिंकन स्मारकभन्दा दोब्बर अग्लो हुनेछ । सबैभन्दा ठूलो योजना भने ४७ तले ट्रम्प राष्ट्रपति ‘पुस्तकालय’ हो । त्यहाँ स्वाभाविक रूपमा पुस्तक भने हुने छैनन्, तर ट्रम्पको अर्को विशाल सुनौलो मूर्ति र एउटा पूरै विमान राखिनेछ । ट्रम्पका यी भव्य परियोजना संसारभर बढ्दै गएको वास्तुकलात्मक अहंकारको केवल एउटा लक्षण मात्र हो ।
जेफ बेजोस टेक्सासको पहाडभित्र ५०० फिट अग्लो भूमिगत घडी निर्माण गरिरहेका छन्, जसले १० हजार वर्षको ‘गहिरो समय’ मापन गर्नेछ । त्यो घडी वर्षमा एकपटक मात्र टिक–टिक गर्नेछ र प्रत्येक हजार वर्षमा एकपटक ‘कुकु’ आवाज निकाल्नेछ । पिटर थिलले लामो समयदेखि समुद्रमाथि तैरिने सहर बनाउने सपना देख्दै आएका छन् । यो परियोजनालाई ‘सीस्टेडिङ’ भनिन्छ । इलन मस्कले टेक्सासमा ‘स्टारबेस’ नामको सहर निर्माण गरिरहेका छन् । यी सबै कुरामाथि नजर राख्न आवश्यक छ । किनकि लोकतन्त्रको स्वास्थ्य प्रेस स्वतन्त्रता वा भ्रष्टाचार सूचकांकजस्ता पारम्परिक मापनबाट मात्र होइन, सांस्कृतिक वातावरणबाट पनि मापन गर्न सकिन्छ । इतिहासभर तानाशाही समाजहरूको एउटा साझा विशेषता दृश्य प्रदर्शनप्रतिको लत हो । विशाल शक्ति प्रदर्शन, भव्यता र मूर्तिपूजाको मोह ।
उदाहरणका लागि फ्रान्सका राजा लुई चौधौँलाई सम्झन सकिन्छ । उनी आफ्नै प्रशंसामा बनेका चित्र र मूर्तिले भरिएको विशाल भर्साय दरबारमा बस्थे । पछि सोभियत संघमा ट्यांक परेड, लामबद्ध खानी मजदुर र स्टालिन–लेनिनका विशाल ब्यानरहरू त्यही मानसिकताको अर्को रूप थिए । तर लोकतन्त्रमा शक्ति तर्क र सहमतिबाट आउनुपर्छ भन्ने मान्यता हुन्छ, चकाचौंधपूर्ण प्रदर्शनबाट होइन । लोकतन्त्रको समानतामूलक भावनाले अत्यधिक प्रदर्शन र एक व्यक्तिलाई अरूभन्दा धेरै माथि उठाउने प्रवृत्तिलाई मन पराउँदैन ।
सायद यही कारण लोकतान्त्रिक समाज सौन्दर्यका हिसाबले प्रायः साधारण देखिन्छन् । लोकतन्त्रलाई परेड र सुनौलो रथ मन पर्दैन । कुनै लोकतन्त्रले भर्सायजस्तो दरबार वा सेन्ट पिटर्सबर्गजस्तो स्मारकीय सहर बनाएको छैन ।
बेलायतको युद्धपछिको कल्याणकारी राज्य निर्माणकालमा बनेका कठोर कंक्रिट संरचनाहरू त झन् जानाजानी कुरूप बनाइएका जस्ता देखिन्छन्, मानौं दर्शकलाई प्रभावित पार्ने वा डराउने प्रयास नै नगर्ने शैली ।
भर्सायको भव्यताले मानिसलाई आकर्षित गर्छ । तर सायद हामी त्यस्तो समाजमा होइन, बरु साधारण र नागरिकमैत्री रोयल फेस्टिभल हल बनाउने समाजमा बस्न चाहन्छौं ।
लोकतन्त्रको अर्को विशेषता भनेको व्यक्तिपूजाप्रति शंका हो । यही कारण बेलायतका धेरै सार्वजनिक मूर्तिहरू असहज र कमजोर देखिन्छन् । संसद् चौकमा रहेका नेल्सन मन्डेला र डेभिड लोयड जर्जका मूर्तिले त्यो स्पष्ट देखाउँछन् । हाम्रा बेलायती पुर्खाले एडमिरल र जनरलहरूको मूर्ति ढुंगाका अग्ला चबुतरामा राखेको देख्दा कहिलेकाहीँ हामीलाई गौरव महसुस हुन सक्छ । तर स्वतन्त्र प्रेस भएको समाजमा अनियन्त्रित नायकपूजा सम्भव हुँदैन, किनकि प्रेसले सत्ताधारीका अपराध, भ्रष्टाचार र कमजोरी उजागर गरिरहन्छ । यस हिसाबले दृश्य तमासाका लागि नराम्रो कुरा लोकतन्त्रका लागि राम्रो हुन सक्छ ।
तर अहिले सिलिकन भ्यालीमा भइरहेका केही योजनाहरू भने निकै विचित्रका छन् । बिटक्वाइन लगानीकर्ता रोस क्याल्भिनले सान फ्रान्सिस्को खाडी क्षेत्रमा ४५० फिट अग्लो प्रोमेथियसको मूर्ति बनाउन अभियान चलाइरहेका छन् । स्टारबेस सहरको बाहिरपट्टि एलन मस्कको विशाल कांस्य टाउको राखिएको छ, जुन कुनै पुरानो सोभियतकालीन मध्य एसियाली तानाशाहको मूर्तिजस्तो देखिन्छ । मार्क जकरबर्ग र जेफ बेजोस दुवैले आफ्नी पत्नीका विशाल मूर्ति बनाउन लगाएका छन् । ट्रम्पले प्रस्ताव गरेको ‘नेसनल गार्डेन अफ अमेरिकन हिरोज’ नामक मूर्ति पार्क पनि यही अति–आत्मविश्वासको अर्को उदाहरण हो । त्यहाँ कुन अमेरिकी ‘नायक’ सबैभन्दा प्रमुख रूपमा राखिनेछ भन्ने अनुमान गर्न गाह्रो छैन ।
यो अवस्था २०औं शताब्दीको उत्तरार्धको तुलनामा निकै फरक छ । त्यस बेला अर्बपतिहरूमाथि आफ्नो धन र वास्तुकलात्मक महŒवाकांक्षा सार्वजनिक हितमा प्रयोग गर्न सामाजिक दबाब थियो । लस एन्जलसको विशाल गेटी सङ्ग्रहालय र एन्ड्रयु कार्नेगीले बनाएका हजारौं सार्वजनिक पुस्तकालय त्यसका उदाहरण हुन् । कला दीर्घा र अस्पतालका भवनमा दाताको नाम राख्ने परम्पराले पनि व्यक्तिगत अहंकार र लोकतान्त्रिक संस्कृतिबीच सन्तुलन कायम गरेको थियो ।
केही समयअघिसम्म आफ्नो महिमाका लागि मूर्ति, दरबार र विजयद्वार बनाउने व्यक्तिलाई संसारले हाँसो र तिरस्कारको पात्र बनाउँथ्यो । तर आजका यी ‘ओजिमान्डियास’ (प्राचीन मिश्रका सम्राट जसले आफ्ना भव्य मूर्तिहरु बनाउन लगाएका थिए) हरूलाई त्यस्तो डर छैन । यो लोकतान्त्रिक संस्कृतिको कमजोर बन्दै गएको चिन्ताजनक संकेत हो । यस्तो संस्कृति, जसलाई अनियन्त्रित शक्तिको प्रदर्शन सजिलै प्रभावित पार्न थालेको छ । राजनीति अन्ततः संस्कृतिबाट प्रभावित हुन्छ । त्यसैले लोकतन्त्रको स्वास्थ्य मापन गर्ने भ्रष्टाचार सूचकांक र प्रेस स्वतन्त्रता सूचकसँगै अब ‘भव्य मूर्ति सूचकांक’ पनि थप्नुपर्नेबेला आएको छ । र, त्यो मापन प्रयोग गर्ने हो भने अवस्था खासै आश्वस्त देखिँदैन ।

(द टाइम्स अखबारबाट साभार)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्