नेभिगेशन
विश्व

क्यानडाले ३० वर्षकै ठूलो सैन्य भर्ती बढाउँदै

ओन्टारियो, (बीबीसी) । दशकौँसम्म क्यानडालाई रक्षा खर्चमा कमजोर देशका रूपमा हेरिन्थ्यो । दुई वर्षअघि त भर्ती अवस्था यति खराब थियो कि तत्कालीन रक्षा मन्त्रीले क्यानडाली सशस्त्र बल ‘विनाशको चक्र’मा फसेको चेतावनी दिएका थिए ।
तर अहिले क्यानडाली सेना दशकौँयताकै तीव्र गतिमा विस्तार भइरहेको छ । भर्ती संख्या ३० वर्षयताकै उच्च तहमा पुगेको छ र यसले लामो समयदेखि सैन्य क्षेत्रमा देखिएको जनशक्ति अभाव उल्ट्याउन सक्ने संकेत देखिएको छ ।
पछिल्ला दुई वर्षमा देखिएको यो वृद्धि विश्वव्यापी युद्ध र भूराजनीतिक अनिश्चितताबीच आएको हो । साथै, क्यानडाले लामो समयदेखि पूरा गर्न नसकेको नेटोको रक्षा खर्च लक्ष्य पूरा गर्न अर्बौँ डलर थप लगानी गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
यो परिवर्तन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ‘अमेरिकाको ५१औँ राज्य’ भनेपछि बढेको राष्ट्रवादी भावनासँग पनि जोडिएको छ । धेरै क्यानडालीले ट्रम्पको उक्त अभिव्यक्तिलाई आफ्नो सार्वभौमिकतामाथिको खतरा मानेका थिए ।
क्यानेडियन ग्लोबल अफेयर्स इन्टिच्यूटकी अनुसन्धानकर्ता चार्लोट डुभाल–लान्टोइनका अनुसार हालको भर्ती वृद्धिमा ‘ट्रम्प प्रभाव’ केही हदसम्म हुन सक्छ । तर सन् २०२२ मा रूस र युक्रेनमाथि आक्रमण गरेपछि नै भर्ती आवेदन बढ्न थालेको थियो ।
‘जब मानिसहरूले संसार सुरक्षित छैन र आफ्नो देश जोखिममा पर्न सक्छ भन्ने महसुस गर्छन्, त्यतिबेला धेरै मानिस सेना प्रवेश गर्न चाहन्छन्,’ उनले भनिन् ।
उनका अनुसार विश्वव्यापी युद्धमात्र यसको कारण होइन । क्यानडामा युवाको बेरोजगारी दर मार्चमा झन्डै १४ प्रतिशत पुगेको थियो । त्यससँगै रोजगारीको सुरक्षा र प्रधानमन्त्री मार्क कार्नीले एक पुस्तायता कै ठूलो सैन्य तलब वृद्धि घोषणा गरेपछि भर्ती आकर्षण बढेको हो ।
गत वर्ष पदभार सम्हालेपछि कार्नीले सेनालाई सरकारको प्राथमिकतामा राखेका छन् । उनले क्यानडाली सशस्त्र बललाई तीव्र रूपमा आधुनिकीकरण र विस्तार गर्ने ‘महŒवाकांक्षी’ योजना अघि सारेका छन् ।
मार्चमा उनले क्यानडाले सन् १९८० दशकको अन्त्यपछि पहिलोपटक आफ्नो कुल गार्हस्थ उत्पादनको २ प्रतिशत रक्षा क्षेत्रमा खर्च गर्ने नाटो लक्ष्य पूरा गरेको घोषणा गरेका थिए । यो एक वर्षमा ६३ अर्ब क्यानडाली डलरभन्दा बढी खर्च हो । साथै उनले सन् २०३५ सम्म रक्षा खर्च जीडीपीको ५ प्रतिशत पु¥याउने नाटो प्रतिबद्धतामा पनि समर्थन जनाएका छन् ।
क्यानडाले सैनिकको तलब वृद्धि, नयाँ उपकरण खरिद, सैन्य अड्डा स्तरोन्नति तथा आर्कटिक क्षेत्रमा नयाँ पूर्वाधार निर्माण गरेर उक्त लक्ष्य हासिल गरेको हो ।
यद्यपि नयाँ भर्ती भए पनि विश्लेषकहरूका अनुसार क्यानडाको सेना अझै आफ्ना सहयोगी राष्ट्रभन्दा धेरै पछाडि छ । उनीहरूका अनुसार हालको लगानीको प्रभाव देखिन अझै पाँचदेखि दस वर्ष लाग्न सक्छ ।
म्याकडोनाल्ड लरियर इन्स्टिच्यूटका वरिष्ठ अनुसन्धानकर्ता रिचर्ड शिमुकाका अनुसार क्यानडाली सेनासँग अहिले एकपटकमा केही हजार सैनिक र सीमित संख्याका लडाकु विमान मात्र परिचालन गर्ने क्षमता छ । तुलना गर्दा बेलायतले आवश्यक परे १० हजार सैनिक पठाउन सक्छ ।
‘क्यानडाली सशस्त्र बल अहिले निकै कमजोर अवस्थामा छ,’ उनले भने, ‘वास्तविक सुधार देखिन पाँच वा दस वर्ष लाग्न सक्छ ।’
शिमुकाका अनुसार यसको ठूलो कारण सुरक्षा मामिलामा अमेरिकामाथिको ऐतिहासिक निर्भरता हो । अमेरिका क्यानडाको छिमेकी र विश्वकै सबैभन्दा ठूलो सैन्य शक्ति हो ।
लगातार अमेरिकी राष्ट्रपति र अधिकारीहरूले क्यानडालाई रक्षा खर्च बढाउन दबाब दिँदै आएका छन् । आलोचकहरूले क्यानडालाई सैन्य ‘फ्रिलोडर’ अर्थात् अरूमाथि निर्भर देशसमेत भनेका छन् । सन् २०२४ मा अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले क्यानडाले ‘अमेरिकाको भरमा सवारी गरिरहेको’ आरोप लगाएका थिए ।
गत वर्ष ट्रम्पले पनि क्यानडालाई नाटोको ‘कम खर्च गर्ने‘ सदस्य भन्दै आलोचना गरेका थिए । ‘क्यानडाले भन्छ— अमेरिका निःशुल्क सुरक्षा दिन्छ भने हामी किन पैसा तिर्ने ?’ उनले भनेका थिए ।
२ प्रतिशत लक्ष्य पूरा गरेपछि पनि क्यानडा अझै नाटोका सबैभन्दा कम खर्च गर्ने सदस्यहरूमध्ये एक रहेको गठबन्धनको प्रतिवेदनले देखाएको छ । अमेरिका, बेलायत र फ्रान्स अझै धेरै अगाडि छन् ।
कम झन्झट र विदेशी नागरिकलाई अवसर
अधिक भर्ती लिन सक्नु क्यानडाको अवस्था विस्तारै सुधार हुँदै गएको संकेत मानिएको छ । क्यानडाका रक्षा मन्त्री डेभिड म्याकगिन्टीले भर्ती लक्ष्य अपेक्षाभन्दा छिटो पूरा हुन सक्ने बताएका छन् ।
सेना छाड्नेहरूको संख्या पनि केही घटेको छ । पूर्व रक्षा मन्त्री बिल ब्लेयरले यस अवस्थालाई सन् २०२४ मा ‘विनाशको चक्र’ भनेका थिए ।
हाल सेवा गरिरहेका सैनिकहरूले उत्तरी क्षेत्र नुनाभुटमा सञ्चालित आर्कटिक सुरक्षा अभियानका क्रममा बीबीसीसँग कुरा गर्दै नयाँ लगानी ढिलै भए पनि स्वागतयोग्य भएको बताएका छन् ।
रायल क्यानडियन एयर फोर्सका अधिकारी एल्डेन क्याम्पबेलले भने, ‘हामी केही दशक पछाडि छौँ, तर कम्तीमा अहिले केही गर्न थालेका त छौँ ।’
उनका अनुसार नयाँ तलब संरचना र उपकरण स्तरोन्नतिको योजनाले सैनिकको मनोबल बढाएको छ । ‘सायद मेरो करियरकै समयमा यी सुधारको लाभ लिन पाउनेछु,’ उनले भने ।
अप्रिलको अन्त्यमा क्यानडाली सेनाले गत आर्थिक वर्षमा ७ हजारभन्दा बढी नयाँ सदस्य भर्ती गरेको घोषणा गरेको थियो । यो तीन दशकयताकै उच्च संख्या हो ।
यो संख्या सेना प्रवेश गर्न चासो देखाउने कुल मानिसको सानो हिस्सा मात्र हो । क्यानडाको रक्षा मन्त्रालयका अनुसार फेब्रुअरीसम्म सेनामा आवेदन दिनेहरूको संख्या एक वर्षमै झन्डै दोब्बर भएर २१ हजार ७ सयबाट ४० हजार १ सय १६ पुगेको थियो ।
आवेदनकर्तामध्ये आवश्यक कागजात बुझाएर योग्यता प्रमाणित गर्नेहरू मात्र यी हुन् । गत वर्ष कुल आवेदन संख्या झन्डै एक लाख पुगेको थियो ।
यो सन् २०१९–२० को करिब ३६ हजार आवेदनको तुलनामा ठूलो वृद्धि हो ।
क्यानडाली सेनाका लेफ्टिनेन्ट कर्णेल ट्राभिस हेन्सका अनुसार भर्ती बढ्नुको मुख्य कारण सेनाले प्रशासनिक झन्झट घटाउनु हो ।
लामो समयदेखि आवेदन प्रक्रिया ढिलो र जटिल भएको आलोचना खेपिरहेको क्यानडाली सेनाले हाल केही प्रक्रिया डिजिटल बनाएको छ । अब आवश्यक कागजात अनलाइनमार्फत बुझाउन सकिन्छ ।
‘चासो त सधैँ थियो,’ हेन्सले भने, ‘तर प्रणाली पार गर्न कठिन थियो ।’
हालैका वर्षमा गरिएको अर्को महŒवपूर्ण परिवर्तन भनेको स्थायी बसोबास अनुमति पाएका विदेशी नागरिकलाई पनि आवेदन दिन दिने निर्णय हो । यो व्यवस्था सन् २०२२ देखि लागू भएको हो । गत वर्ष भर्ती भएका नयाँ सैनिकमध्ये करिब २० प्रतिशत विदेशी मूलका थिए ।
क्यानडाले अब सेना ठूलो स्तरमा विस्तार गर्ने योजना अघि सारेको छ । नियमित सैनिक संख्या ८५ हजार ५ सय पु¥याउने र ३ लाखसम्म रिजर्भ बल तयार गर्ने लक्ष्य राखिएको छ ।
डुभाल–लान्टोइनका अनुसार क्यानडाले सन् २००४ पछि यति ठूलो स्तरको सैन्य परिचालन योजना अघि बढाएको थिएन । उनका अनुसार यो युक्रेन युद्धबाट सिकिएको पाठको परिणाम हो ।
‘क्यानडा र उसका युरोपेली सहयोगीहरूले अहिलेको युद्ध विश्लेषण गरेर भविष्यका युद्धका लागि तयारी गरिरहेका छन्,’ उनले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्