खाडीमा अझै गतिरोध
अमेरिका र इरान वर्षौँदेखि दुवै पक्ष कूटनीतिक गतिरोधमा फसेका छन् । युद्ध पनि नभएको र शान्ति पनि नभएको ‘धुम्म क्षेत्र’मा अहिलेको द्वन्द्व अड्किएको छ । युद्धविराम दोस्रो महिनामा प्रवेश गरिसकेको छ र छिटफुट हिंसा भए पनि यो युद्धभन्दा झन्डै लामो टिकेको छ । अमेरिका वा इरान कुनै पनि पक्ष सम्झौताका लागि तयार देखिँदैनन्, तर फेरि युद्ध सुरु गर्न पनि चाहँदैनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँगको युद्धविराम ‘गम्भीर जीवनरक्षक अवस्थामा’ रहेको चेतावनी दिएका छन् । उनले युद्ध अन्त्यसम्बन्धी इरानको प्रस्ताव अस्वीकार गर्दै त्यसलाई ‘फोहोर कागज’ भने । इरानलाई आफ्नो आणविक कार्यक्रम त्याग्न बाध्य पार्ने लक्ष्यबाट पछि नहट्ने उनको भनाइ थियो । ट्रम्पका अनुसार इरानले आफू युद्धबाट थाक्ने, दिक्क हुने वा बढ्दो ऊर्जा मूल्यका कारण दबाबमा पर्ने ठानेको छ । ‘तर कुनै दबाब छैन,’ ट्रम्पले भने, ‘हामी पूर्ण विजय हासिल गर्नेछौँ ।’
इरानले भने आफूलाई युद्धको विजेता भनेर प्रस्तुत गर्न जारी राखेको छ । शासन संरचना कायम रहेको, क्षेप्यास्त्र र आणविक कार्यक्रम अझै खतरा रहेको उसको दाबी छ । इरानका उच्च अधिकारी मोहम्मद बाघेर गालिबाफले सोमबार एक्समा लेख्दै अमेरिकाविरुद्ध चेतावनी दिएका छन् । ‘हाम्रा सशस्त्र बल कुनै पनि आक्रमणको उचित जवाफ दिन तयार छन्,’ उनले भने ।
तर युद्धको सट्टा दुवै पक्षले एकअर्काविरुद्ध नाकाबन्दी कडा बनाएका छन्, जसलाई कुनै एक पक्ष पछि नहटी अन्त्य गर्न कठिन देखिन्छ । ट्रम्प प्रशासनले इरानी बन्दरगाह र जहाजमाथिको अमेरिकी प्रतिबन्ध थप कडा बनाएको छ भने इरानले ऊर्जा आपूर्तिको महŒवपूर्ण समुद्री मार्ग हर्मुज जलडमरूमाथि आफ्नो नियन्त्रण कायम राखेको छ ।
मध्यपूर्व नीति विशेषज्ञ तथा अहिले एटलान्टिक काउन्सिलमा कार्यरत एलिसन माइनरका अनुसार अहिले ‘खराब विकल्पहरूको मात्र स्थिति’ बाँकी छ । उनका अनुसार यदि ट्रम्प प्रशासनले छिट्टै गतिरोध अन्त्य गर्न चाहेमा उसले आफ्ना केही प्रमुख लक्ष्य नरम बनाउनुपर्ने दबाब सामना गर्न सक्छ ।
केही साताअघि कूटनीतिक वार्तामा आशावाद देखिएको थियो । अमेरिकी अधिकारी तथा वार्तामा संलग्न अन्य व्यक्तिहरूले दुवै पक्ष दीर्घकालीन शान्तिको आधार बन्न सक्ने रूपरेखा सम्झौतामा नजिक पुगेको बताएका थिए । तर त्यो आशा अहिले केही कमजोर भएको छ ।
वार्तासँग निकट व्यक्तिहरूका अनुसार हर्मुज जलडमरूको भविष्य व्यवस्थापन, इरानले स्वीकार्ने आणविक सीमाबारे अमेरिका र इरानबीच अझै ठूलो मतभेद छ । ब्रूकिङ्स इन्टिच्यूटकी विदेश नीति कार्यक्रम निर्देशक सुजाने मलोनीका अनुसार अमेरिकाले इरानलाई आणविक कार्यक्रममा ठूलो छूट दिन राजी गराउन सक्छ कि सक्दैन भन्ने स्पष्ट छैन ।
इरानी शासनभित्र युद्धले घरेलु अर्थतन्त्रमा पार्ने क्षतिबारे मतभेद देखिए पनि इरानको पछिल्लो प्रस्तावले ट्रम्पको थप युद्धको धम्की खोक्रो रहेको र लामो गतिरोध झेल्ने धैर्य इरानसँग ह्वाइट हाउसभन्दा बढी रहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।
विश्लेषकहरूका अनुसार उक्त प्रस्तावमा वासिङ्टनले मागेझैँ इरानले लामो समयसम्म आफ्नो आणविक कार्यक्रम बन्द गर्ने संकेत खासै थिएन । इरानले युद्ध अन्त्यका अन्य सर्त टुंगिएपछि मात्र आणविक मुद्दामा छलफल गर्ने चाहना राखेको छ । साथै उसले प्रारम्भिक चरणमै ठूलो मात्रामा प्रतिबन्ध फुकुवा चाहेको छ ।
इरानी अधिकारीहरूले हर्मुज जलडमरू हुँदै जहाज आवतजावतका नयाँ नियम इरान र क्षेत्रीय पक्षहरूको सहभागितामा बनाइनुपर्ने माग पनि गरेका छन् । ती नियममा टोल वा युद्ध क्षतिपूर्ति असुल्ने संयन्त्र समावेश हुन सक्ने इरानको संकेत छ ।
यसैबीच, ट्रम्प प्रशासनका अधिकारीहरूले युद्ध अन्त्यको कुरा गर्न थालेपछि र अमेरिकाले बल प्रयोग गरेर जलडमरू खुलाउन असफल भएपछि शान्ति सम्झौता आफ्नो पक्षमा मोड्न सकिने इरानी विश्वास बढेको इजरायलस्थित इन्स्टिच्यूट फर नेशनल सेक्युरिटी स्टडिजका इरान अनुसन्धान कार्यक्रम निर्देशक राज जिम्मटले बताएका छन् ।
‘इरान युद्धअघिको अवस्थामा फर्किन तयार छैन,’ जिम्मटले भने, ‘युद्ध फेरि नदोहरिने र आर्थिक लाभ लिन सकिने दीर्घकालीन आर्थिक तथा सुरक्षा प्रत्याभूति उसले मागिरहेको छ ।’
ट्रम्प यसै साता चीन भ्रमणमा जाँदैछन् । त्यहाँ उनले बेइजिङलाई इरानसँगको अवरुद्ध कूटनीतिक वार्ताबाट निकास खोज्न सहयोग गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ । इरानी ऊर्जा खरिद गर्ने मुख्य देश चीनसँग तेहरानमाथि प्रभाव छ, तर त्यस सहयोगको मूल्य पनि हुन सक्ने बताइएको छ ।
उता, ट्रम्पमाथि घरेलु दबाब पनि बढिरहेको छ । रिपब्लिकन सांसदहरूले व्यापारिक जहाजलाई हर्मुज हुँदै सुरक्षा दिने ‘प्रोजेक्ट फ्रिडम’ पुनः सुरु गर्न वा फेरि युद्ध थाल्न आग्रह गरेका छन् । अर्कोतर्फ, विदेशी हस्तक्षेपप्रति सशंकित रिपब्लिकनहरूले कमजोर जनमत र अर्थतन्त्रप्रतिको चिन्ताबीच युद्ध छिट्टै अन्त्य गर्न दबाब दिएका छन् ।
युद्धका कारण पेट्रोलियम मूल्य बढेपछि ट्रम्पले सोमबार इन्धन कर स्थगित गर्न सहमत भएका छन् । मिसौरीका रिपब्लिकन सिनेटर जोश हाउलीले त्यससम्बन्धी विधेयक ल्याउने बताएका छन् ।
मध्यपूर्वमा लामो अनुभव भएका अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्प प्रशासनले इरानको नेतृत्व, रक्षा उद्योग र नौसेनामा ठूलो क्षति पु¥याएर सामरिक सफलता पाए पनि आफ्नो मुख्य रणनीतिक लक्ष्य हासिल गर्न सकेको छैन । ती लक्ष्यमा इरानलाई पूर्ण रूपमा आणविक हतियार तथा ब्यालेस्टिक मिसाइल कार्यक्रम त्याग्न र क्षेत्रीय सशस्त्र समूहलाई समर्थन रोक्न बाध्य पार्नु समावेश थियो ।
ह्वाइट हाउसले इरानी बन्दरगाह र व्यापारमाथिको नाकाबन्दीले अमेरिकालाई दबाब सिर्जना गर्ने शक्ति दिएको बताएको छ । प्रशासनका वरिष्ठ अधिकारीहरूले इरान युद्धका कारण आर्थिक संकटको डिलमा पुगेको र निकास खोज्न आतुर रहेको दाबी गरेका छन् ।
यद्यपि, विश्लेषक मलोनीका अनुसार अहिले सबैभन्दा सम्भावित अवस्था भनेको यही अनिश्चितता लम्बिरहनु हो । ‘वासिङ्टन र तेहरान दुवै युद्धमा हासिल गर्न नसकेका अधिकतम लक्ष्य वार्तामार्फत हासिल गर्न खोजिरहेका छन्,’ उनले भनिन् ।
इरानमाथि जाइलाग्दै यूएई
युनाइटेड अरब इमिरेट्स (युएई)ले इरानमाथि सैन्य आक्रमण गरेको दाबीका समाचारहरू आइरहेका छन् । यससँगै खाडीको यो राजतन्त्र युद्धमा प्रत्यक्ष संलग्न पक्ष बनेको देखिएको छ । यसअघि इरानले युएईलाई प्रमुख लक्ष्य बनाएको थियो ।
पश्चिमी देशबाट खरिद गरिएका लडाकु विमान र निगरानी सञ्जालले सुसज्जित यूएई आफ्नो आर्थिक शक्ति र मध्यपूर्वमा प्रभाव जोगाउन सैन्य शक्ति प्रयोग गर्न अझ बढी इच्छुक देखिएको छ ।

यूएईले सार्वजनिक रूपमा स्वीकार नगरेका ती आक्रमणमध्ये एक इरानको लावान टापुस्थित प्रशोधन केन्द्रमा गरिएको हमला पनि रहेको स्रोतहरूको भनाइ छ । उक्त आक्रमण अप्रिलको सुरुतिर भएको थियो । त्योबेला राष्ट्रपति ट्रम्पले पाँच साताको हवाई अभियानपछि युद्धविराम घोषणा गरिरहेका थिए । त्यस आक्रमणपछि ठूलो आगलागी भएको र प्रशोधन केन्द्रको धेरै क्षमता महिनौँका लागि बन्द भएको बताइएको छ ।
इरानले त्यतिबेला उक्त प्रशोधन केन्द्र शत्रुको आक्रमणमा परेको जनाएको थियो र त्यसको प्रत्युत्तरमा यूएई तथा कुवेतविरुद्ध क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो ।
स्रोतहरूका अनुसार युद्धविराम स्थिर नभइसकेको अवस्थामा अमेरिका उक्त आक्रमणप्रति असन्तुष्ट थिएन । साथै यूएई वा अन्य खाडी राष्ट्र युद्धमा सहभागी हुन चाहे अमेरिकाले त्यसलाई स्वागत गरेको थियो ।
यूएईको विदेश मन्त्रालयले आक्रमणबारे टिप्पणी गर्न अस्वीकार गरे पनि आफूले शत्रुतापूर्ण गतिविधिको जवाफ सैन्य रूपमा समेत दिन सक्ने अधिकार रहेको अघिल्ला वक्तव्यहरूतर्फ संकेत गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पनि टिप्पणी गर्न अस्वीकार गरेको छ ।
मध्यपूर्व विश्लेषक तथा यूएईको उदयबारे पुस्तक लेखेकी दीना इस्फन्दियारीका अनुसार कुनै खाडी अरब राष्ट्रले प्रत्यक्ष रूपमा इरानमाथि आक्रमण गर्नु ‘महत्त्वपूर्ण‘ घटना हो । उनका अनुसार अब तेहरानले यूएई र युद्ध अन्त्य गराउन प्रयासरत अन्य खाडी राष्ट्रबीच फाटो ल्याउने प्रयास गर्नेछ ।
युद्धअघि खाडी राष्ट्रहरूले आफ्नो आकाश वा सैन्य अड्डा आक्रमणका लागि प्रयोग गर्न नदिने बताएका थिए । तर युद्ध सुरु भएपछि इरानले खाडी क्षेत्रका जनघनत्व भएका सहर, ऊर्जा पूर्वाधार र विमानस्थलहरूमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको थियो । यसको उद्देश्य आर्थिक तथा राजनीतिक लागत बढाएर अमेरिका र इजरायललाई आक्रमण जारी राख्न कठिन बनाउनु रहेको बताइएको छ ।
इरानले सबैभन्दा धेरै आक्रमण यूएईमाथि केन्द्रित गरेको थियो । उसले यूएईतर्फ २ हजार ८ सयभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो, जुन इजरायलसहित अन्य कुनै देशभन्दा बढी थियो ।
ती आक्रमणले यूएईको हवाई सेवा, पर्यटन र घरजग्गा बजारमा ठूलो असर पारेको तथा ठूलो मात्रामा कर्मचारी बिदा र जागिर कटौती भएको बताइएको छ । खाडी अधिकारीहरूका अनुसार त्यसले यूएईको रणनीतिक दृष्टिकोण नै परिवर्तन गरिदिएको छ र अहिले उसले इरानलाई आफ्नो आर्थिक तथा सामाजिक संरचनालाई कमजोर पार्न खोज्ने ‘अराजक शक्ति’का रूपमा हेर्न थालेको छ ।
त्यसपछि यूएई खाडी क्षेत्रमा सबैभन्दा खुला रूपमा इरानविरुद्ध उभिने देश बनेको छ र युद्धभर अमेरिकासँग बलियो सैन्य सहकार्य कायम राखेको छ ।
लन्डनस्थित रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्यूटका वरिष्ठ फेलो एच.ए. हेलियरका अनुसार यूएईले सुरुमा युद्ध नचाहेको स्पष्ट पारेको थियो । ‘तर यूएईमाथि पहिलो इरानी आक्रमण भएपछि अबुधाबीले क्षेत्रीय अवस्था नाटकीय रूपमा बदलिएको ठानेको स्पष्ट देखिन्छ,’ उनले भने ।
मार्चको मध्यतिर इजरायल वा अमेरिकाको नभएको जस्तो देखिने लडाकु विमान इरानमाथि उडिरहेको भिडियो सार्वजनिक भएपछि यूएईको भूमिकाबारे अड्कलबाजी सुरु भएको थियो । खुला स्रोत सूचनाको निगरानी गर्ने अनुसन्धानकर्ताहरूले यूएईले प्रयोग गर्ने फ्रान्सेली मिराज लडाकु विमान र चिनियाँ विंग लुङ ड्रोन इरानमा प्रयोग भएको दाबी गरेका छन् ।
सैन्य रूपमा यूएई अमेरिकाभन्दा निकै सानो भए पनि उससँग मिराज र अत्याधुनिक एफ–१६ लडाकु विमान, इन्धन भर्ने विमान, निगरानी प्रणाली तथा ड्रोनसहित सक्षम वायुसेना रहेको बताइएको छ ।
अमेरिकी वायुसेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल डेभ डेप्टुलाका अनुसार यूएईसँग ‘अत्यन्त उन्नत’ हवाई क्षमता छ । ‘यदि यति सक्षम वायुसेना छ भने इरानका आक्रमण चुपचाप सहेर किन बस्ने ?’ उनले प्रश्न गरे ।
यूएईका राष्ट्रपति सल्लाहकार अनवर गर्गाशका अनुसार खाडीका सबै राष्ट्र बढ्दो सुरक्षा जोखिम र अमेरिकी सुरक्षामाथिको निर्भरताबारे सोचिरहेका भए पनि यूएईले अमेरिकासँगको सम्बन्ध झन् बलियो बनाइरहेको छ ।
सैन्य आक्रमणबाहेक यूएईले संयुक्त राष्ट्रसंघमा इरानको हर्मुज जलडमरूमाथिको नियन्त्रण हटाउन आवश्यक परे बल प्रयोग गर्न सकिने प्रस्तावको मस्यौदालाई पनि समर्थन गरेको बताइएको छ ।