लेखक डा. मुकुन्दराज पथिक वाग्लेको पुस्तक हो– नेपाली कर्खाको अध्ययन । वाग्लेले पुस्तकमा गन्धर्वहरूले घटनाहरूलाई कर्खा भाकाबाट कसरी सबैसामु पस्किन्छन् ? यसको सुरुवात कसरी भयो भन्नेबारे अध्ययन गरी यो पुस्तक तयार पारेका छन् । ‘नेपाली कर्खाको अध्ययन’मा लेखक डा. मुकुन्दराज पथिकले एक वर्षको अवधिमा विभिन्न ठाउँमा स्थलगत अध्ययन भ्रमण गरी भेटिएसम्मका ऐतिहासिक नेपाली कर्खाहरूलाई संकलन गर्ने कार्य गरेका छन् । अध्ययन अनुसन्धान सुरु गर्दादेखि पुस्तक तयार पार्दासम्म नेपालका धेरै जिल्लाका सम्बन्धित व्यक्तिहरू र कर्खाका गायकहरूको सहयोगले पुस्तक ओजपूर्ण बनेको छ ।
हामी सबैलाई थाहै छ, नेपाली लोकगीतहरू हाम्रो संस्कृति, इतिहास र सामाजिक जीवनका अमूल्य धरोहर हुन् । यी गीतहरू पुस्तौंदेखि मौखिक परम्पराका रूपमा हस्तान्तरण हुँदै आएका छन्, जसले समाजका विश्वास, मूल्य, परम्परा र जीवनशैलीलाई जोगाइरहेका छन् । लोकगीत केवल मनोरञ्जनका साधन मात्र नभई जनजीवनका भावनात्मक अभिव्यक्ति पनि हुन् ।
नेपाली लोकगीतहरूको सबैभन्दा महŒवपूर्ण पक्ष भनेको इतिहास संरक्षणमा यसको भूमिका हो । विशेषगरी गन्धर्व (गाइने) समुदायले रामायण, महाभारतजस्ता धार्मिक कथाहरू, युद्धका कथाहरू र राजाहरूको जीवनलाई गीतमार्फत जनतामाझ पु¥याएका छन् । लेखन प्रणालीको पहुँच नपुगेका समुदायहरूमा यिनै गीतहरूले ज्ञान र इतिहासको काम गरेका छन् ।
यसैगरी, लोकगीतहरूले नेपाली समाजको वास्तविक चित्र प्रस्तुत गर्छन् । परदेशिएका ‘लाहुरे’ को पीडा, गरिबी, पारिवारिक सम्बन्ध र सामाजिक अवस्थालाई गीतमार्फत अत्यन्त प्रभावकारी रूपमा व्यक्त गरिएको पाइन्छ । यस्ता गीतहरूले समाजका यथार्थ पक्षलाई उजागर गर्ने भएकाले ती सामाजिक ऐनाजस्तै हुन् ।
लोकगीतहरूले सिमान्तकृत समुदायहरूको आवाज उठाउने माध्यमको रूपमा पनि काम गरेका छन् । गन्धर्व समुदायले भोगेका दुःख, पीडा र सामाजिक विभेदलाई गीतमार्फत प्रस्तुत गर्दै समाजमा चेतना फैलाएका छन् । यसले लोकगीतलाई केवल कला मात्र नभई सामाजिक सन्देश बोकेको शक्तिशाली माध्यम बनाएको छ ।
त्यस्तै, लोकगीतहरूले राष्ट्रिय पहिचान र एकताको भावना बलियो बनाउँछन् । यिनले मानिसहरूलाई आफ्नो संस्कृति र जरोसँग जोडेर राष्ट्रिय गौरवको भावना जगाउँछन् । ऐतिहासिक रूपमा पनि यस्ता गीतहरूले देशप्रेम र राष्ट्रिय चेतना विकास गर्न योगदान दिएका छन् । तर, आधुनिकता र विश्वव्यापीकरणको प्रभावले नेपाली लोकगीतहरू संकटमा परिरहेका छन् । आधुनिक संगीत र प्रविधिको प्रभावले मौलिक लोकगीतहरू विस्थापित हुँदै गएका छन् र धेरै कलाकारहरूले आफ्नो परम्परागत पेसा छोड्न बाध्य भएका छन् । यसले हाम्रो सांस्कृतिक सम्पदामाथि गम्भीर खतरा उत्पन्न गरेको छ ।
नेपाली लोकसाहित्यको महŒवपूर्ण विधामध्ये कर्खा विशेष स्थान ओगटेको सांस्कृतिक अभिव्यक्ति हो । कर्खा मूलतः वीरगाथात्मक, ऐतिहासिक तथा सामाजिक घटनाहरूलाई लयात्मक शैलीमा प्रस्तुत गर्ने मौखिक परम्परा हो, जसले नेपाली समाजको सामूहिक स्मृति, इतिहास र सांस्कृतिक चेतनालाई जोगाइराखेको छ । विशेषतः गन्धर्व (गाइने) समुदायद्वारा गाइने कर्खाहरूले युद्ध, वीरता, राष्ट्रप्रेम, शोक र सामाजिक यथार्थलाई सशक्त रूपमा अभिव्यक्त गर्ने गरेका छन् ।
कर्खाको महŒवलाई प्राज्ञिक दृष्टिले विश्लेषण गर्दा, यसले इतिहासको वैकल्पिक स्रोतका रूपमा कार्य गर्ने देखिन्छ । लिखित इतिहासमा समेटिन नसकेका धेरै घटनाहरू कर्खामार्फत पुस्तौंसम्म हस्तान्तरण भएका छन् । उदाहरणका रूपमा नालापानी युद्ध, विभिन्न राजाहरूको जीवन, तथा सामाजिक परिवर्तनका कथाहरू कर्खामा जीवन्त रूपमा अभिव्यक्त पाइन्छन् । यसले कर्खालाई केवल कलात्मक प्रस्तुति मात्र नभई ऐतिहासिक अभिलेखको रूपमा समेत स्थापित गर्दछ ।
डा. मुकुन्दराज पथिक वाग्लेले आफ्नो अध्ययनमा नेपाली लोकसाहित्य, विशेषतः कर्खा परम्परालाई सांस्कृतिक अध्ययनको महŒवपूर्ण विषयका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार कर्खा केवल गीत होइन, यो समाजको चेतना, मूल्य प्रणाली र शक्ति संरचनाको दर्पण हो । उनले कर्खामा अभिव्यक्त हुने विषयवस्तुहरू जस्तै वर्ग, जाति, लिंग र शक्ति सम्बन्धलाई विश्लेषण गर्दै यसलाई समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययनको समृद्ध क्षेत्रका रूपमा प्रस्तुत गरेका छन् । वाग्लेको अध्ययनले कर्खालाई जीवित सांस्कृतिक पाठका रूपमा बुझ्न मद्दत पु¥याउँछ ।
त्यसैगरी, कर्खाले राष्ट्रिय पहिचान र सांस्कृतिक निरन्तरतामा महŒवपूर्ण भूमिका खेल्छ । यसले समुदायबीच एकता र सामूहिक भावना विकास गर्न सहयोग पु¥याउँछ । तर आधुनिकता, बजारमुखी संगीत र प्रविधिको प्रभावले कर्खा परम्परा संकटमा परेको छ । नेपाली कर्खाको संरक्षण, दस्तावेजीकरण र प्रवर्धन अत्यावश्यक छ । यसले मात्र हाम्रो मौलिक इतिहास, संस्कृति र पहिचानलाई दीर्घकालीन रूपमा जोगाइराख्न सम्भव हुनेछ ।
कर्खा गन्धर्वहरूले गाउँघरमा गएर सारंगी बजाउँदै गाउने गर्दछन् । विशेष गरेर किसानहरूले हिउँदे बाली र वर्षे बाली भित्र्याउने बेला गन्धर्वहरू घरघरमा गएर बाली माग्ने क्रममा यो कर्खा गाउने गरेको पाइन्छ । पुत्रपुत्री वियोगमा परेका आमाबुबा तथा अन्य दाजुभाइदिदीबहिनीहरूको अनुरोधमा गन्धर्वहरूले लय हालेर यो कर्खा गाउने गर्दछन् । बाह्रै महिना कुनै पनि समयमा गाउन सकिने यो कर्खा गन्धर्वहरूले गाउँदा गाउँदै बिचबिचमा रोकिएर घटनाक्रमको अर्थ लगाउँदै र कतिपय अधुरा घटनालाई गद्यमा व्याख्या गरेर पनि प्रभावपूर्ण रूपमा सुनाउँछन् । यो कर्खा रोपाइँ गोडाइँका समयमा नारीहरूले पनि गाउने गरेको पाइन्छ । पुस्तकलाई शब्दमिडिया प्रा.लि. साहित्यपोस्टले प्रकाशन गरेको हो । चार सय ७१ पृष्ठको पुस्तकको मूल्य पाँच सय ५० रुपियाँ रहेको छ ।