नेभिगेशन
साहित्य
युवाको आन्दोलनमा दमन

चलचित्रकर्मी स्तब्ध, सामाजिक सञ्जालमा पोखियो आक्रोश

जेनजीको प्रदर्शन रक्तरञ्जित बनेपछि पहिलेदेखि नै पक्षधर रहँदै आएका चलचित्रकर्मीहरूको आक्रोश सामाजिक सञ्जालमा पोखिएको छ । चलचित्रकर्मीहरूले कडा शब्दमा हत्या र दमनको विरोध गरेका छन् ।

फिल्म निर्देशक केपी पाठकले पहिलेदेखि नै जेन जीको आन्दोलनको पक्ष देखाइरहेका थिए । उनले आन्दोलन हुनुअघि नै ‘जेन जीको आन्दोलनमा बुढाहरू किन जाने ? राजनीति गर्न ? जेन जीलाई दूषित नबनाऊ ! समर्थन नै हो भने पनि त्यहीं जानु किन जरुरी ? बाहिरैबाट एक्यबद्धता जनाउन सकिँदैन’ भनी लेखेका थिए ।

सोमबार दिउँसो प्रहरीको गोली लागी जेन जीहरूको हताहतीको खबर आउन थालेपछि चलचित्रकर्मीहरू थप आक्रोशित भएको देख्न सकिन्थ्यो । निर्देशक पाठक लेख्छन्, ‘गणतान्त्रिक सरकारले एकै दिनमा २०६२–६३ सालमा भएको आन्दोलनमा राजतन्त्रले भन्दा बढी १९ जना यो देशको भविष्यनिर्माता युवाहरूको हत्या गरेर इतिहासमा कालो अक्षरले नाम लेखाएको छ ।’

उनले सम्पूर्ण घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्नेदेखि उचित क्षतिपूर्तिको व्यवस्थासँगै हत्याकाण्डको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याइयोस् भन्ने माग गरेका छन् । चलचित्रकर्मी अशोक शर्मा फेसबुकमा आक्रोश पोख्दै भन्छन्, ‘बालबालिका मार्न पनि पछि परेन हत्यारा सरकार ! धिक्कार छ, वज्रस्वाँठहरू !’ त्यस्तै उनले अर्को पोस्टमा लेखेका छन्, ‘राजीनामा गरेर कलिला बालबालिकाको हत्यारा सरकारले उन्मुक्ति पाउनुहुँदैन ।’

यसैगरी लोकप्रिय कलाकार विजय बरालले जेन जीको र्‍याली हुँदै गर्दा समर्थनमा लेखेका थिए, ‘जेन जी विल बिकम चेन्ज जी !’ फिल्म निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले हत्यारा सरकार मूर्दाबाद भन्दै लेखेका छन्, ‘यत्रो ज्यानको बलिदान खेर जानु हुन्न ।’ उनी थप्छन्, ‘यत्रो ज्यानको बलिदान खेर जानु हुन्न । सरी जेन जी, अब यो तपाईंहरूको मात्र आन्दोलन रहेन ।’

उनले आक्रोश पोख्दै लेखेका छन्, ‘फेसबुकमा मात्र बिलौना गर्ने, घरभित्रबाट बाहिर ननिस्कने, नकारात्मक विचार मात्र ओकल्ने, आशाका किरणलाई सान्त्वनासमेत नदिएर मार्न खोज्नेहरू देशका घातक हुन् । सावधान बनौं !’

टेलिभिजनकर्मी भूषण दाहाल लेख्छन्, ‘जनसंहार ! भविष्य पटक्कै नभएकाहरूले गरेको नेपाली भविष्यको जनसंहार । अक्षम्य !’ चलचित्रको पटकथा तथा संवाद लेखक शिवम् अधिकारी लेख्छन्, ‘आज जे भयो, क्रान्तिको बिगुल फुकियो । सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।'

यी भ्रष्ट नेताहरूलाई देशबाट नलखेटेसम्म यो क्रान्ति रोकिनुहुन्न । यसका लागि सर्वस्वीकार्य नेतृत्व चाहिन्छ । त्यो मात्र तिमी हुन सक्छौ, बालेन । नेतृत्व लिने हिम्मत गर । देशले अब खोजिसक्यो । होइन भने आज जस्तै स्वार्थी समूहको घुसपैठ हुन्छ । आन्दोलन फेरि तुहिन्छ ।’

यसैगरी फिल्म निर्देशक ऋषि लामिछानेले लेखेका छन्, ‘जब सरकार जनताको आवाजलाई चुप पार्न दमनको बाटो रोज्छ, त्यसै क्षणदेखि नै उसको पतन सुरु भइसकेको हुन्छ । जनताको रगत, पसिना र आँसुले बनेको यो देश कुनै शासकको निजी सम्पत्ति होइन । सत्ता तिनको हो, जो जनताको सेवा गर्छन्, जनतालाई दबाउनेको सत्ता हुन सक्तैन । आज सडकमा उर्लिएको भीड क्रोध मात्र होइन, यो न्यायको माग हो । सत्यलाई दबाउने हरेक प्रयास, जनताको आवाजलाई चुप पार्ने हरेक दमन अन्ततः विफल हुन्छ ।’

उनले भनेका छन्, ‘आज सरकारको दमनभन्दा ठूलो शक्ति जनताको प्रतिरोध हो - आक्रोश र विद्रोहको आगो, जसलाई कहिल्यै निभाउन सकिँदैन । यो आवाज जनताको हो । इतिहासले सधैं जनताको पक्षमा निर्णय गर्छ ।’ 

यसैगरी चलचित्रकर्मी विजय अधिकारी लेख्छन्, ‘यो आशाको दिन थियो, नयाँ परिभाषाको दिन थियो तर सडकमा निहत्था उभिएका साना नानीहरूलाई चेतावनीसम्म नदिई सिधै टाउकोमा गोली हान्नुले मेरो देश कालो भएको छ । रक्तरञ्जित कालो !’

उनले थपेका छन्, ‘भ्रष्टाचारबाट दुव्र्यवहारसम्म आइपुग्यो यो सरकार र सँगै सरकारका झोले प्रशासकहरू । १३–१४ वर्षको विद्यालयको पोशाक लाएको बच्चालाई सडकमा मार्नु कुनै पनि मानवाधिकारको दायराले दिँदैन ।’ उनको आक्रोश छ, ‘तिमीहरूको भ्रष्टाचारले तिमहिरूलाई राजीनामा गर्न दिँदैन भने पनि तिमीहरूले गरेको सार्वजनिक आवाजको दमनले तिमीहरूलाई राजीनामा गर्न दिँदैन भने पनि– यो हत्याको आरोप बोकेर सत्ता छोड । यो देश नै छोड ।’

उनले भनेका छन्, ‘हत्यारालाई अझ बालक–हत्याको आरोपी अब सत्तामा बस्दैन । यो देशमा अट्दैन । गेट् लस्ट !’ उता अभिनेत्री मनीषा कोइराला फेसबुकमा लेख्छिन्, ‘जनताको प्रतिनिधि बचाउन जनतामाथि गोली चलाउन पाइँदैन । शान्तिपूर्ण संवाद र मेलमिलापमार्फत मात्र समाधान खोजिनुपर्छ ।’ यसैगरी अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालाले आफ्नो क्रोध कवितामार्फत पोखेका छन् ।

उनले लेखेका छन् -

बरु खुट्टामै
ताकेको भए हुने
या रबरको हानेको भए हुने निधारमै सोझ्याउँदा
त्यो अनुहार, त्यो उमेर–
भाइ–बहिनी सम्झाएन ?
छोराछोरीको याद गराएन ?
तिमीले आफैं देखेनौ ?
अपराधी देख्यौ तिनीहरूलाई ?
कति क्रूर !
कति निर्दयी !
किन चलायौ गोली ?
किन मार्‍यौ त्यत्रा युवाहरू?
मान्छे मार्ने आदेश कसले दियो ?
किन दियो ?
दिनै पथ्र्यो ?
के रोकियो अब ?
सपना देख्ने युवाहरू मारेर के
पायौ ?
बरु खुट्टामै
ताकेको भए हुने !
या रबरले हानेको भए हुने !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्