नेभिगेशन
उपत्यका

भाटभटेनीमा लुटपाट र तोडफोड रोकिएन

काठमाडौं (संवाददाता) – प्रदर्शनकारीहरूले बुधबार पनि केही स्थानमा तोडफोड, आगजनी र लुटपाट जारी राखेका छन् । नेपाली सेनाको सुरक्षा घेरालाई तोडदै बुधबार दिउँसो काठमाडौंको कलंकीस्थित भाटभटेनीमा तोडफोड, आगजनी र लुटपाट गरे ।

लुटेराहरूले सामान बाहिर ल्याएर तोडफोड गर्नुका साथै केही लुटेर लगेका छन् । यसैगरी भाटभटेनीभित्रै रहेको हिमालयन र एनआईसी एशिया बैंकको एटीएम तोडफोड गरेका छन् । मंगलबारदेखि शुरु भएको प्रदर्शनका क्रममा भाटभटेनीको कोटेश्वर, महाराजगञ्ज र बौद्धमा रहेका भाटभटेनीमा लुटपाट र आगजनी मच्चाएका थिए । ति सुपरस्टोरहरू पूर्ण रुपमा खरानी भइसकेका छन् । एउटा वेयर हाउस पनि नष्ट पारेका छन् ।

लुटपाट र आगजनी गर्नेहरू पक्राउ

नेपाली सेनाले काठमाडौं लगायत देशका प्रमुख सहरहरूमा लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङ्खल गतिविधिमा संलग्न ३० भन्दा बढीलाई पक्राउ गरेको छ । उनीहरूसित हतियार, गोलीगठ्ठा र नगद बरामद गरेको सेनाले जनाएको छ । सेनाले काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ नगद बरामद गरिएको जनाएको छ । 

यस्तै, काठमाडौँको विभिन्न स्थानहरूबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार ३२ नाल तथा म्यागजिन एवं गोलीगठ्ठाहरू बरामद गरेको छ । सेनाले महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेको जानकारी दिएको छ ।

यस्तै डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छोडेर भागेको २ लाख ३२ हजार पाँचसय नेपाली रुपैयाँ र २५ सय डलर बरामद गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्