नेभिगेशन
साहित्य
कथा

तीस वर्षे अवकाश

असार महिना गर्मी धेरै नै बढेको थियो । पानी परुञ्जेल मात्र शीतल हुन्थ्यो । दिउँसो घाम नलागेर आकाशभरि बादल भए पनि गर्मी झन् बढेको थियो । कार्यालयबाट फर्किएको दिवस, रातिको खाना खाइबरी सुत्न आफ्नो खाटमा पल्टियो । गर्मीले निद्रा आउन नसकेर ओछ्यानमा ओल्टन पल्टन थाल्यो । पुराना कुरा मानसपटलमा आउन थाल्यो । सानैमा बाबु बितेपछि पाएको हन्डर सम्झिन थाल्यो । 
           त्यस बखतको एसएलसी परीक्षा पास गरेपछिका केही वर्षमा नै सरकारी जागिरमा लोकसेवा लडेर अठारै वर्षमा जागिरको सुरुवात गरेको थियो । जागिर खाँदै पढेर उसले उच्च शिक्षा हासिल गयो । बिहान कलेज पढ्ने, दिउँसो जागिर खाने गरी घरव्यवहार गर्दै, मानसिक र व्यवहारिक रुपले ऊ बलियो बन्दै गयो । मिलनसार र कर्तव्यनिष्ट भएका कारण कर्मचारीबीच पनि दिवस मन पराइएको पात्र थियो । 
           बिहानी सत्रको कलेजमा पढ्दापढ्दै दिवसको आफ्नै सहपाठी मालतीसँग उठबस बढ्न थाल्यो । उठबसकै क्रममा मायाको डोरी पनि बटारिन थाल्यो । साथीबाट सुरु भएको चिनापर्ची प्रेमिप्रमिकामा बदलियो । मालती र दिवसको आर्थिक अवस्थामा ठुलो भिन्नता थियो । मालती धनी परिवारकी छोरी, दिवस भने गरिब परिवारको । यही कारणले कहिलेकहीँ दिवस डराउँथ्यो र मालतीलाई तिम्रो परिवारले हामीलाई विछोड पो गराउँछन् कि भनेर शङ्का व्यक्त गथ्र्यो । मालती उसको कुरालाई शङ्का निवारण गरेर ढुक्क बनाउने गर्थिन् । 
           समय बित्न केहिबेर लाग्दैनथ्यो । यता मालतीसँगको प्रेम झाँगिदै थियो, भने उता दिवसको जागिरमा कामको बोझ पनि बढ्दै गएको थियो । दिवस कति समयसम्म त कलेज जान पनि भ्याउँदैन थियो । तनमन जागिरमा लगाएर देशको सेवा गर्न ऊ कहिले पछि परेन । यसरी कलेज जान नपाउँदा मालती र ऊ स्वयंलाई एकदम न्यास्रो लाग्थ्यो । तैपनि प्रेमिकाभन्दा उसले देशलाई शिरमा राखी अघि बढ्दै गयो ।
           अझै ऊ पुराना कुरा सम्झदै थियो । निदाउन भने कत्ति सकेको थिएन । सरकारी जागिर खाएको पनि तीस वर्ष बितिसकेको थियो । निजामती सेवा नियमावलीमा संशोधन आउँदा तीस वर्ष जागिरेलाई सरकारले बिदा दिने हल्ला पत्रपत्रिका जताततै फैलिएको थियो । अठार वर्षमै जागिर खाएको ऊ यदि तीस वर्षे लगाउने हो भने त केवल अठचालीस वर्षमै दिवसले अवकाश पाउने भयो भनेर उसलाई निद्रा नलागेर अनेकथरि कल्पनामा ऊ रुमलिरहेको थियो । सँगै सुतिरहेकी उसकी श्रीमती मालती उसलाई निद्रा नपरेको र यताउति ओल्टेकोल्टे फर्किएर बारम्बार बाथरुम गइरहेको आफ्नो श्रीमान्लाई आज के भयो होला भनेर विचारमा मग्न थिइन् । उनलाई पनि आज निद्रा लाग्न सकेको थिएन । दिवसलाई गाह्रो अप्ठ्यारो परेको बखत प्रायः उनको मनमा पनि शान्ति हुँदैनथ्यो । मालतीलाई पनि पुराना कुराले सताउन थाल्यो । आफ्ना प्रेम प्रसङ्गहरू उनी सम्झन थालिन् ।
            उनको दिवससँग विवाह हुन धेरै गाह्रो भएको थियो । उनको बाबुआमाले उनको यो विवाह नगरिदिनका लागि धेरै प्रपञ्च रचेका थिए ।  झण्डैले उनको बिहे अर्कै केटासँग भैसकेको थियो । पारिवारिक खिचलोले गर्दा धेरै वर्ष उनको बिहे भएन । त्यसैले उनको विवाह ढिलै भएको थियो । जीवन र मालती एउटै उमेरका थिए । उनीहरूको विवाह आखिरमा पैँतीस वर्षको उमेरमा मात्र भएर उनीहरूको प्रेम सफल भएको थियो । उनी कल्पनाको भुमरीमा परिरहेको बखत दिवसले लामो सुस्केरा हाल्यो । त्यसपछि त मालतीलाई पनि मुटुमा गाँठो परेर आयो । उनले दिवसलाई सोध्न थालिन्, “आज हजुरलाई के भयो ? निद्रा पनि परेको छैन,” 
           दिवसः केही भएको छैन ।
            मालतीः पक्कै पनि केही त भएको छ ।  अफिसमा केही भयो कि ? 
            दिबसः छैन केही पनि भएको । गर्मीले निद्रा पर्न गाह्रो भएको मात्र हो ।
            मालतीः गर्मी त हिजो अस्ति पनि त थियो ! 
            दिवसः तिमी पनि किन नसुतेको ? सुत रात धेरै नै छिप्पिसक्यो । म पनि अब सुतिहाल्छु । मलाई पनि निद्रा आइसक्यो ।
           दिवसको भनाइ बनावटी थियो । मालतीले दिवसलाई गाह्रो भएको बखत प्रत्येकपल्ट थाहा पाइहाल्थिन् । त्यसैले उनलाई के भएको छ भनेर खो¥याउन थालिन् । अन्त्यमा दिवसले आफ्नो मनको कुरा सबै भन्न थाल्यो । मालतीलाई पनि चिन्ता लाग्न थाल्यो । विवाह भएको चार वर्षपछि मात्र पहिलो सन्तान उनीहरूको जन्मिएको थियो । विवाह ढिलो भएकाले अहिले छोरी नौ वर्षकी र छोरा छ वर्षको मात्र भएको थियो । यिनीहरूलाई पढाउन र बाटो लगाउन पनि धनको खाँचो पर्दथ्यो । यसरी नै रोगी सासूको औषधि खर्च पनि धान्नु नै पथ्र्यो । 
            इमान्दार कर्मचारीले सुख्खा तलबले के नै बचत गर्न सकेको थियो र ! मालतीले प्राइभेट कम्पनीमा जागिर खाएकी त थिइन् तर घर परिवारलाई समय दिन नसकेर उनले जागिर यही साल मात्र छोडेकी थिइन् । बिहान आठ बजेदेखि बेलुकी सात बजेसम्मको डिउटी धान्न उनलाई साह्रै असजिलो भएको थियो । घर फर्कंदा कहिले त रातिको नौ बज्थ्यो । छोराछोरीको बिजोग भएकाले नै उनले जागिरबाट हात धुनु परेको थियो । अब श्रीमान् यो उमेर विदेश गएर नै के हुन्थ्यो र ! त्यसमाथि छुट्टिएर बस्न पनि त कहाँ सहज थियो र ! यस्तै कल्पनाले उनी पनि निदाउन सकिनन् । यो रात श्रीमान्–श्रीमती गफ रबरजस्तै तन्किदै गयो । त्यही बखत मेघ गर्जियो । आकाशमा बिजुली चम्केर गड्याङगुडुङ गर्न थाल्यो । पानी बेस्सरी प¥यो । अलिअलि गरेर विस्तारै शीतल हुँदै गयो ।  
            यही बखत दिवसले कोठाको बिजुली बत्ती बाल्यो र अवकाश भए भने कति निवृत्तिभरण आउँछ भनेर हिसाब गर्न थाल्यो । केही हजार मासिक आउने रहेछ भनेर उसले अनुमान लगायो । यति पैसाले पाँच जनाको परिवारको खर्च धान्नु पर्ने, कोठाभाडा पनि तिर्नु पर्ने ! उसको मन भरङ्ग भयो । अरु आम्दानीको बाटो केही थिएन । 
            दुवै जना यही कुरामा छलफल गर्दै निदाउन सकिरहेका थिएनन् । त्यसैबखत चट्याङ प¥यो । उनीहरू एक्कासि झसङ्ग भए । प्रकृतिले मात्र चट्याङ हानेको थिएन । जीवन पनि त्यस्तै अवस्थामा पुग्न लागेको दुवैको मनले यस्तै एउटै कुरा सोच्न थाले । 
            रात छर्लङ्ग बितिसकेको थियो । बिहानको चार बजिसकेको थियो । कखुरा बास्न थाल्यो । काग र चराचुरुङ्गीको आवाज पनि सुनिन थाल्यो । अझै दुई घण्टा भए पनि निदाउन सकिन्छ कि भनेर उनीहरू निदाउन कोसिस गर्न थाले । उनीहरू अर्धनिद्रामा पर्न गए । 
            बिहान दुवै ओछ्यानबाट उठे । श्रीमान् बजारतिर गए । श्रीमती घरधन्दामा व्यस्त रहिन् । विस्तारै खोक्दै दिवसकी आमा पनि उठिन् । त्यसरी नै दुवै छोराछोरी पनि उठेर आ–आफ्नै धुनमा व्यस्त रहे । चारैतिर हल्लीखल्ली बढ्न थाल्यो । नजिक रहेका छिमेकीका घरबाट प्रेसर कुकरका सिटी बज्न थाल्यो । केहीबेरपछि भान्छामा मालतीले खाना तयार गरिन् । 
            दिवस बजारबाट झोलामा तरकारी ल्याएर भान्छाकोठामा छिर्दै भन्न थाल्यो, “बजार भाउ के विधि बढेको, खानै नसक्ने भैसकियो !” फेरि यो कुरा सुनेर मालतीको मनमा तीस वर्षे अवकाश सम्झँदै बादल मडारिन थाल्यो । 
            बिहानको खान सबैले सँगै खाए । छोराछोरी स्कूल जाने तरखर गर्न थाले । दिवस पनि लुगा लगाएर कार्यालय जान तयार भयो । कार्यालय जाने बखतमा सधँै आमा र मालतीसँग “म गएँ है !” भन्ने बानी थियो, दिवसको । आज पनि उसले जाने बखतमा यही वाक्य दोहो¥यायो । आमाले “राम्ररी जाऊ बाबु” भन्थिन् भने, मालतीले भने “चाँढो आउनुस् है” भन्ने गर्थिन् । आज पनि त्यही वाक्यहरू फेरि दोहोरियो । 
            विश्वकप फुटबल चलिरहेको समय थियो । त्यसैले आज दिवस कार्यालय जाने बखतमा छ वर्षे छोराले मलाई वल्र्डकपमा अर्जेन्टिनाले लगाउने जर्सी ल्याइदिनुस् है भन्यो । छोरीले पनि मलाई पनि है बुबा भनिन् । आमाले बाबु मेरो औषधि पनि सकिएको छ है बाबु भनिन् । ऊ भने सबैलाई हुन्छ भन्दै आफ्नो बाटो लाग्यो । उसको मनमा भने कत्ति पनि चैन थिएन । केवल मनमा तीस वर्षे अवकाशले तर्साइरहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्