मेरो कम्प्युटरमा एउटा वृद्धले किताबको चाङ बोकेको यो तस्बिर पिलिक्क बलेर आइपुग्यो । क्याप्सन तानेर पढेँ, बूढा मलाई रोचक लागे । शायद तपाईंलाई पनि मन पर्न सक्छन् । उनका बारेमा खोज्दै जाँदा त उनी मलाई अद्भुतै लागे ।
लाग्यो, साहित्यको इतिहासमा यस्ता लेखक विरलै भेटिन्छन् । उनले पुस्तक मात्र लेखेनन्, आफ्नै एउटा पृथक् साहित्यिक ब्रह्माण्ड पनि निर्माण गरेका रहेछन् । फ्रान्सका यी लेखकको नाम हो, एन्टोनी भोलोदिन र उनी निकै दुर्लभ स्रष्टामध्ये एक रहेछन् । उनले उपन्यास, कथा र साहित्यिक घोषणापत्र मात्र लेखेनन्, बरु “पोस्ट–एक्जोटिसिज्म” नामको एउटा वैकल्पिक साहित्यिक संसार नै निर्माण गरे । उनको संसारमा पराजित क्रान्तिकारीहरू, जेलका कैदीहरू, निर्वासित आत्माहरू, मृतक पात्रहरू र सपनाजस्तै विचित्र दृश्यहरू एकअर्कासँग संवाद गरिरहेका हुन्छन् ।
सन् २०२६ मा उनी फेरि विश्व साहित्यको केन्द्रमा छन् । कारण, उनले आफ्नो चार दशक लामो साहित्यिक यात्राको समापन एक असाधारण परियोजनामार्फत गर्ने घोषणा गरेका छन् । आगामी अगस्टमा उनका ११ वटा पुस्तक एकैपटक ११ फरक प्रकाशकबाट प्रकाशित हुनेछन् र ती सबै पुस्तक “इन्फर्नस योहान्नेस” नामक सामूहिक लेखकको नाममा निस्कनेछन् । साहित्यिक संसारमा यस्तो घटना लगभग अभूतपूर्व मानिएको छ ।
एन्टोनी भोलोदीन वास्तवमा उनको वास्तविक नाम होइन । उनको वास्तविक नाम त जीन देस्विन हो । सन् १९५० मा जन्मिएका उनी रूसी भाषा र साहित्यका गहिरा अध्येता पनि हुन् । उनले धेरै रूसी साहित्यकारका कृतिहरू फ्रान्सेली भाषामा अनुवाद गरेका छन् । तर विश्व साहित्यमा उनको पहिचान अनुवादकको भन्दा पनि प्रयोगधर्मी कथाकारका रूपमा स्थापित भएको छ ।
उनको लेखन परम्परागत फ्रान्सेली यथार्थवादभन्दा निकै फरक छ । उनी विज्ञानकथा लेखक पनि होइनन्, शुद्ध राजनीतिक उपन्यासकार पनि होइनन्, न त दार्शनिक लेखक नै! बरु उनी यी सबै तत्त्वलाई मिसाएर एउटा नयाँ शैली निर्माण गरेका छन्, जसलाई उनी आफैँले “पोस्ट–एक्जोटिसिज्म” नाम दिएका छन् ।
पोस्ट–एक्जोटिसिज्म के हो ?
साहित्यिक आलोचकहरूले भोलोदीनलाई वर्गीकरण गर्न सधैं कठिन मान्दै आएका छन् । त्यसैले उनले आफैंले आफ्नो साहित्यिक आन्दोलनको नामकरण गरे—पोस्ट–एक्जोटिसिज्म ।
यो साहित्यिक संसारमा कथा प्रायः कुनै प्रलयपछिको युगमा घट्छ । त्यहाँ असफल क्रान्तिहरूका अवशेष छन्, सर्वसत्तावादी शासनका घाउहरू छन्, जेलका कोठाहरू छन् र ती कोठाभित्र बसिरहेका लेखकहरू छन्, जसले मृत्युको प्रतीक्षा गर्दै कथाहरू सुनाइरहेका हुन्छन् । सपना, स्मृति, राजनीति, मिथक र मृत्यु एकै ठाउँमा मिसिएका हुन्छन् ।
भोलोदीनका अनुसार यो “कहींबाट आएको, कहींतिर जाने र कतैको साहित्य” हो । यसमा बीसौं शताब्दीका युद्ध, नरसंहार, क्रान्ति र राजनीतिक हिंसाका स्मृतिहरू गहिरोसँग गाँसिएका छन् ।
उनका पात्रहरू प्रायः विजेता हुँदैनन् । उनीहरू इतिहासका पराजित पात्र हुन्छन् । उनीहरू सत्ता जित्न असफल भएका क्रान्तिकारीहरू हुन् । उनीहरू जेलभित्र थुनिएका लेखकहरू हुन् । उनीहरू मृत्युपछि पनि बोलिरहने आत्मा हुन् । यही कारण उनका उपन्यासहरू पढ्दा पाठकले सपना र दुःस्वप्नको बीचमा यात्रा गरिरहेको अनुभूति हुन्छ भन्ने विश्लेषकहरूको भनाइ छ ।
एउटै लेखक, धेरै लेखक
भोलोदीनको साहित्यिक परियोजनाको अर्को रोचक पक्ष भनेको उनका विभिन्न छद्म–लेखकहरू हुन् ।
उनले एन्टोनी भोलोदीनका नाममा मात्र लेखेनन् । उनले लुट्स बास्मान , मानुएला ड्रेगर, एली क्रोनाउअर र इन्फर्नस योहान्नेसजस्ता काल्पनिक लेखकहरू पनि सिर्जना गरे । यी नामहरू केवल छद्मनाम मात्र होइनन्; प्रत्येकको आफ्नै शैली, आवाज र साहित्यिक व्यक्तित्व छ ।
यही कारणले कतिपय समीक्षकहरूले उनलाई पोर्चुगाली साहित्यकार फर्नेन्डो पेसोआसँग तुलना गर्छन् । पेसोआले जस्तै भोलोदीनले पनि धेरै काल्पनिक लेखकहरू निर्माण गरेर एउटा सामूहिक साहित्यिक चेतना सिर्जना गरेका छन् ।
पुरस्कार जित्ने विद्रोही
भोलोदीन मुख्यधाराका साहित्यिक पुरस्कारबाट टाढा रहने लेखक होइनन् । उनको साहित्यिक प्रयोगधर्मिताले आलोचक र पाठक दुवैलाई आकर्षित गरेको छ ।
उनले सन् १९८७ मा ग्रान्ड प्री द ल’इमाजिनेयर, १९९९ मा प्री वेप्लर, २००० मा प्री दु लिभ्र इन्टर र २०१४ मा प्रतिष्ठित प्री मेडिसिस पुरस्कार प्राप्त गरेका थिए । विशेषतः रेडियन्ट टर्मिनसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा अझ चर्चित बनायो ।
उनका चर्चित कृतिहरूमा माइनर एन्जेल्स, बार्डो अर नट बार्डो, राइटर्स, नेमिङ द जंगल र पोस्ट‑एक्सोटिसिज्म इन टेन लेसन्स, लेसन्स इलेभेन विशेष रूपमा उल्लेखनीय छन् ।
११ पुस्तकको घोषणा किन महत्वपूर्ण ?
सन् २०२४ मै भोलोदीनले आफूले एन्टोनी भोलोदीन नाममा नयाँ पुस्तक नलेख्ने संकेत दिएका थिए । उनले आफ्नो सम्पूर्ण साहित्यिक परियोजना ४९ कृतिमा सीमित रहने बताएका थिए ।
त्यसपछि २०२६ मा उनले साहित्यिक संसारलाई चकित पार्दै रिटूर अउ गोड्रन नामक विशाल समापन परियोजनाको घोषणा गरे । यो परियोजना ११ खण्डमा प्रकाशित हुँदैछ । प्रत्येक खण्ड फरक प्रकाशकले निकाल्नेछन् तर सबैमा एउटै सामूहिक लेखक इन्फर्नस योहान्नेसको नाम हुने बताइएको छ ।
यसलाई धेरैले प्रकाशन योजना मात्र नभई, साहित्यिक प्रदर्शन (लिटररी पर्फमेन्स) का रूपमा पनि हेरेका छन् । एक जना लेखकले ४० वर्षसम्म बनाएको काल्पनिक संसारलाई सामूहिक लेखकको नाममा अन्त्य गर्नु आफैंमा एउटा शक्तिशाली साहित्यिक वक्तव्य हो भन्ने केहीको धारणा छ ।
किन पढिन्छन् भोलोदीन ?
आजको बजारमुखी साहित्यमा द्रूत मनोरञ्जनको खोजी नै बढी हुने गरेको छ । भोलोदीन भने त्यसको ठीक विपरीत दिशामा उभिएका लेखक हुन् । उनका पुस्तकहरू सजिलै पढिने खालका छैनन् । उनका किताबले पाठकसँग धैर्य, कल्पनाशक्ति र बौद्धिक संलग्नता माग्छन् ।
तर जो उनको संसारमा प्रवेश गर्छ, उसले सामान्य उपन्यासभन्दा फरक अनुभव पाउँछ । त्यहाँ इतिहासका पराजित पात्रहरूको आवाज सुनिन्छ । त्यहाँ सपनाहरू राजनीतिक हुन्छन् र राजनीति स्वप्निल । त्यहाँ मृत्यु अन्त्य होइन, अर्को कथाको सुरुआत हुन्छ ।
सायद यही कारणले एन्टोनी भोलोदीनलाई समकालीन फ्रान्सेली साहित्यका सबैभन्दा मौलिक र महŒवपूर्ण लेखकहरूमध्ये एक मानिन्छ । जब धेरै लेखकहरूले पुस्तक लेखिरहेका छन्, भोलोदीनले भने सम्पूर्ण साहित्यिक सभ्यता निर्माण गरिरहेका छन् । चार दशकपछि पनि उनी त्यही सभ्यताको अन्तिम अध्याय लेखिरहेका छन्—११ पुस्तकको अद्भुत समापनसँगै ।