नेभिगेशन
प्रदेश

मुहान सुक्दा सोरुमा संकट

मुगु । पानीका मुहानहरु सुक्दै जान थालेपछि मुगुको सोरु गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाका वडा नम्बर १, २, ३ र ६ का बस्तीमा खानेपानीको संकट गहिरिँदै गएको हो । दुई दर्जन हाराहारी बस्तीका पानीका मुहान कतै सुकिसकेका छन् भने कतै पानीको मात्रा घट्दै गएको छ ।
पर्याप्त पानी नपाउँदा स्थानीय बासिन्दासँगै पशुचौपायालाईसमेत समस्या भएको छ । लामो समयदेखि पानी नपरेका कारण मुहान सुक्दै गएको स्थानीयको भनाइ छ । मनसुन चक्र प्रभावित हुनु, लामो खडेरी, जलवायु परिवर्तनको असर, अव्यवस्थित ग्रामीण सडक निर्माण र तीव्र वन फँडानीका कारण प्राकृतिक पानीका स्रोतहरू सुक्दै गएको स्थानीय बताउँछन् ।
मुहान सुक्दै गएपछि खेतबारीमा सिँचाइ गर्न त परै जाओस्, दैनिक आवश्यक पर्ने खानेपानीसमेत जुटाउन मुस्किल भएको छ । सोरु गाउँपालिका–३ भिईमा रहेका आठ बस्तीका ३ सय १५ भन्दा बढी घरपरिवार, वडा २ र ३ का एक दर्जनभन्दा बढी बस्तीका सयौं परिवार अहिले खानेपानीको अभाव झेलिरहेका छन् ।
खानेपानी लिन गाउँले बस्तीबाट करिब आधा घण्टा टाढाको नाउलाको धमिलो पानी लिन रातभर लाइन बस्न बाध्य हुन थालेका छन् । विशेषगरी महिला, बालबालिका र वृद्धवृद्धाहरू बिहानदेखि बेलुकासम्म र कतिपय अवस्थामा रातभर लाइन बसेर एक–एक भाँडो पानी भर्न तँछाड मछाड गरेको देखिन थालेको छ । आठ गाउँका साना पानीका मुहान सुक्दै गएपछि एक गाग्री पानी भर्नसमेत नाउलामा दिनरात पालो कुर्नुपर्ने अवस्था आएको हो । घरको एक जना सदस्यको अधिकांश समय पानी ल्याउने काममै बित्ने गरेको स्थानीय बताउँछन् ।
स्थानीयका अनुसार मानिसलाई पिउने पानीकै अभाव छ भने सरसफाइ र पशुचौपायालाई पानी खुवाउने कुरा झनै कठिन बनेको छ । दुई वर्षयता खडेरीका कारण पानीका मुहान सुक्दा खेतबारीमा लगाइएका अन्नबालीसमेत उम्रन नपाउँदै सुक्ने गरेका छन् । असार महिनामा सामान्यतया हरियाली देखिनुपर्ने ठाउँहरू अहिले पनि उजाड र सुक्खा देखिएका छन् ।
खेतबारीमा उब्जनी नहुँदा भोकमरीको अवस्था आउन सक्ने चिन्ता बनेको छ । चुनावका बेला नेताहरूले खानेपानी समस्या समाधान गर्ने आश्वासन दिए पनि जितेपछि गाउँ नफर्किएको स्थानीय डल्ली धामीले गुनासो गरिन् ।
२० लिटर पानी लिनका लागि तीनदेखि चार घण्टा पालो कुर्नुपर्ने अवस्था रहेको उनले सुनाइन् । 
साना बालबालिकालाई पानी लिन पठाउँदा खाली हात फर्किनुपर्ने अवस्था छ । पालोअनुसार पानी भर्नुपर्ने भएकाले घरको आवश्यकता पूरा गर्नसमेत गाह्रो भएको छ । पशुचौपायालाई पानी पुग्न नसकेपछि मुगु कर्णाली नदी आसपासमा चराउनका लागि छोड्ने गरिएको छ । नुहाउने र सरसफाइ गर्ने कुरा त परै जाओस्, एक महिनासम्म पुग्ने गरी पानी जम्मा गर्न पनि कठिन भएको सोरु–३ भिईकी सरदेवी धामीले बताइन् ।
मुहानको वितरण व्यस्थित बनाउन चौकीदार राखिएको थियो । तर खडेरीले  मुहान नै सुक्न थालेपछि दैनिक पाँच लिटर पानी पनि सबै घरपरिवारलाई पु¥याउन समस्या भएको खानेपानी चौकीदार धनवीर बुमीले बताए ।

उनको घरबाट करिब एक घण्टा टाढा कर्णाली नदीका दुई भंगाला छन्, माथिल्लो क्षेत्रमा भने पानीको अभाव छ । जंगलभित्र रहेका सम्भावित मुहान खोज्दा समेत धेरैजसो सुकेको पाइएको उनले बताए । 
सोरु–३ का वडाध्यक्ष सिंहबहादुर धामीले खानेपानीको मुख्य समस्या नै स्थायी मुहानको अभाव रहेको बताए । ‘प्रदेश र संघबाट बजेट ल्याएर मात्र समस्या समाधान हुँदैन । पुराना खानेपानी आयोजना बिग्रिएका ठाउँमा मर्मत गरेर तत्कालका लागि समस्या टार्ने काम भइरहेको छ,’ उनले भने । सानातिना योजनाले दीर्घकालीन समाधान गर्न नसक्ने भएकाले मुगु र हुम्ला कर्णालीबाट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन तथा सिँचाइका लागि पहल भइरहेको र त्यसका लागि डीपीआरको काम भइरहेको वडाध्यक्ष धामीले बताए ।
खानेपानी संकट समाधानका लागि संघीय सरकारको सहयोगमा बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको गाउँपालिकाको कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले निर्माणाधीन खानेपानी आयोजनालाई छिटो सम्पन्न गर्न ठेकेदार पक्षसँग पहल भइरहेको बताए । विशेषगरी वडा नम्बर ३ भिईका आठ बस्तीको खानेपानी र सिँचाइ समस्या समाधानका लागि लिफ्टिङ खानेपानी आयोजना अघि बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्