नेभिगेशन
प्रदेश

सोरुका वडा ११, वडासचिव ५ जनामात्रै

मुगु । जन्म, मृत्यु, विवाह, बसाइँसराइ आदि व्यक्तिगत घटना दर्तालाई सरकारले अनिवार्य गरेको छ । बालबालिकालाई विद्यालय भर्ना गर्दा होस् वा नागरिकताको प्रमाणपत्र बनाउँदा, जन्मदर्ता गरेकै हुनुपर्छ । नागरिकताका लागि वडाको सिफारिस चाहिन्छ । व्यक्तिगत घटना दर्ताको सेवा पनि वडा तहबाट दिने गरिएको छ । हिमाली जिल्ला मुगुको सोरु गाउँपालिकामा वडाबाट सिफारिस लिन पाउनेहरू भाग्यमानीमा पर्छ । किनभने ११ वटा वडा छन्, वडासचिव भने ५ वटामा मात्रै छन् । 
वडासचिव नभएका वडाबाट स्थानीयबासीले सिफरिस लिन गाउँपालिकाको कार्यालय नै पुग्नुपर्छ । यसले जनतालाई निकै सास्ती छ । संघीयतापछि स्थानीय तह गाभिएर आका ठूलो भएको छ । पहिलेको गाविस एउटा वडामा सीमित हुँदा वडाको सेवा लिन एक दिन पैदन दूरी हिँडेर गाउँपालिकाको केन्द्र पुग्नु परिरहेको छ । 
‘वडासचिव नहुँदा सोरुबासीलाई साह्रै सास्ती छ,’ सोरु–१० का कर्णप्रसाद आचार्यले भने, ‘पोहोर एक पटक पशुसेवा कार्यालयका कर्मचारी आएर राष्ट्रिय परिचयपत्र बनाइदिने काम भयो, त्यसपछि वडासचिव हामीले देख्न पाएनौ । वडामा हुने कामका लागि एक दिन दुरीको गाउँपालिकाको अफिस नै पुग्नुपरेको छ ।’ वडाध्यक्षबाट कर्मचारी ल्याउन प्रयास भइरहेको भन्ने सुन्दा सुन्दा दिक्क लागेको उनले बताए । 
सोरु–५ का वडासदस्य कृति सिंह शाही सरकारले कर्मचारी नपठाएपछि आफूहरू जवाफविहीन रहेको बताउँछन् । ‘चुनाव जितेर आएको यतिका वर्ष भयो, वडासदस्य पद जान लागिसक्यो वडासचिव वडा कार्यालयले देखेको छन्,’ उनले भने । 
गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही आफूहरूले कर्मचारी पदपूर्ति गर्न नमिल्ने, लोक सेवासँग माग गर्नुपर्ने प्रावधानअनुसार माग गर्दा पनि दरबन्दीअनुसार पदपूर्ति नभएको दुखेसो गर्छन् । ‘कर्मचारी पर्याप्त नहुँदा एक जनाले दुई–तीनवटा वडाको सेवा दिइरहेको अवस्था छ,’ उनले भने, ‘राज्यको नीति जनतालाई घरदैलोमै सेवा दिने भन्ने हो तर, सेवा दिनका लागि जनशक्ति नभएपछि के गर्ने ?’ अहिले पालिकामा एकीकृत सेवा दिएर पनि नागरिकको काम गाउँपालिका कार्यालयले गरिहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्