नेभिगेशन
प्रदेश

तस्करको नयाँ धन्दा ‘मेलन सिड’

सर्लाही । खुला सिमाना र खुकुलो भन्सार नीतिको फाइदा उठाउँदै तस्करलेहरूले तेस्रो मुलुकबाट अर्बौंको खरबुजाको बीउ (मेलन सिड) आयात गरी भारततर्फ अवैध रूपमा निकासी गर्ने नयाँ धन्दा चलाएका छन् । विगतमा सुपारी, केराउ, मरिच र छोकडाको तस्करीमा सक्रिय रहेका समूहहरूले अहिले रातारात करोडौं कमाउन खरबुजा–तरबुजाको बिउलाई रोजेका हुन् । 
सीमावर्ती क्षेत्रमा लगातार भइरहेका ठूला बरामदी र सशस्त्र प्रहरीको सक्रियताले नेपाल अहिले भारततर्फ मेलन सिड तस्करीको ‘ट्रान्जिट’ बनेको तथ्य बाहिर आएको हो । पछिल्लो समय सीमा नाकामा सुरक्षा निकायले लगातार छापा मारी ठूलो परिमाणमा बिउ बरामद गरिरहेका छन् । 
पछिल्लोपटक बुधबार राति सर्लाहीको बलरा नगरपालिका–२ स्थित हतिवल बाँध नजिकैको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको संयुक्त टोलीले भारततर्फ तस्करी हुन लागेको करिब एक करोड नौ लाख रुपैयाँ बराबरको दुई सय बोरा खरबुजाको बीउ नियन्त्रणमा लिएको छ । नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको उक्त बिउ चार वटा भारतीय नम्बर प्लेटका बोलेरो पिकअप र एउटा नेपाली नम्बरको आइचर ट्रकमा लोड गरिएको अवस्थामा फेला परेको थियो । सशस्त्र प्रहरी पुगेको थाहा पाए लगत्तै तस्करहरू गाडी र सामान छाडेर फरार भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीका अनुसार सीमा क्षेत्रका विभिन्न नाकाबाट दैनिक उपभोग्य सामग्री, कपडा र चिनी नेपाल भित्रिने र नेपालबाट मदिरा, फलफूल तथा बीउजन्य वस्तु भारततर्फ तस्करी हुने क्रम बढ्दो छ । 
मेलन सिड बरामदको यो एक्लो घटना होइन । पछिल्ला महिनाहरूमा मधेस र लुम्बिनी प्रदेशका सीमावर्ती जिल्लाहरूमा खरबुजाको बिउ बरामद हुने क्रम बढेको छ । गत आइतबार बारा प्रहरीले सिम्रौनगढबाट रौतहटतर्फ जाँदै गरेको ट्रकबाट करिब २३ लाख रुपैयाँ बराबरको १२ हजार ५६० किलोग्राम बीउ नियन्त्रणमा लिएको थियो, जसको भन्सार बिल शंकास्पद पाइएको थियो । त्यस्तै, अघिल्लो बिहीबार नवलपरासीको प्रतापपुरबाट १४ लाख रुपैयाँभन्दा बढी मूल्यको ११८ बोरा र रुपन्देहीको भैरहवास्थित एक गोदामबाट २३ लाख रुपैयाँ बराबरको ३५ बोरा बिउ बरामद गरिएको थियो ।
गत जेठ २७ मा रौतहटको बौधीमाई नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा तस्करीको ठूलो खेप नियन्त्रणमा लिने क्रममा त स्थानीयबासी र प्रहरीबीच झडप नै भएको थियो । त्रिपालले छोपेर लुकाइएको ९० लाख १६ हजार रुपैयाँ मूल्य बराबरको १२ हजार ८८० किलो बीउ नियन्त्रणमा लिन खोज्दा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको थियो, जसमा तीन स्थानीय र तीन प्रहरी कर्मचारी घाइते भएका थिए । बरामद गरिएको उक्त वस्तु सुरुमा फर्सीको बियाँ भनिए पनि पछि तरबुजाकै बोक्रा छोडाएको बियाँ रहेको पुष्टि भएको थियो ।

भारतको प्रतिबन्ध र नेपालमा आयातको अस्वाभाविक छलाङ
नेपालमा यो बीउको अस्वाभाविक आयात बढ्नुको सीधा सम्बन्ध भारतीय बजारको नीति र मागसँग जोडिएको छ । भारतीय बजारमा मिठाई, बेकरी, तारे होटलका भान्सा र ड्राइफ्रुट्सका रूपमा खरबुजाको बीउ (मगज) को अत्यधिक माग छ । भारतमा वार्षिक करिब ६५ हजार टन यस्तो बीउ खपत हुने गरे पनि आन्तरिक उत्पादन भने ४० हजार टन मात्रै छ । अपुग बीउ तेस्रो मुलुकबाट सस्तोमा आउन थालेपछि त्यहाँका स्थानीय किसान मारमा परेका थिए । सोही कारण भारतको कृषि तथा किसान कल्याण विभागको सिफारिसमा विदेश व्यापार महानिर्देशनालयले यसको आयातलाई ‘प्रतिबन्धित’ सूचीमा राखिदियो ।
भारत सरकारले सन् २०२४ जुलाई १ देखि उद्योगीहरूका लागि समेत यसको आयातमा रोक लगाएको छ । नयाँ नियमअनुसार आफ्नै प्रशोधन उद्योग र विशिष्ट लाइसेन्स भएकाहरूले मात्रै तोकिएको कडा कोटाभित्र रहेर आयात गर्न पाउँछन् । भारतका समुद्री बन्दरगाहहरूमा निगरानी र जाँच कडा पारिएपछि तस्करहरूले नेपालको बाटो रोजेका हुन् । भारतमा यसको तस्करी कुन हदसम्म सञ्जालबद्ध छ भन्ने गत वैशाख दोस्रो साता मुम्बईको न्हावा शेवा बन्दरगाहमा राजस्व गुप्तचर निर्देशनालयले गरेको अपरेसनबाट पनि देखिन्छ, जहाँ अफ्रिकाबाट रहरको दाल भनेर झुक्याई ल्याइएको १ अर्ब ३९ करोड भारु बराबरको तरबुजाको बिउ बरामद गरिएको थियो ।  १३२ वटब कन्टेनर जाँच गर्दा अफ्रिकी मुलुक तान्जानिया र सुडानबाट आयात गरिएको २,७१० मेट्रिक टन खरबुजाको बिउ बरामद भएको थियो । प्रतिबन्धित कृषि सामग्री भन्सार छलेर भिœयाउने संगठित तस्करी सञ्जालका मुख्य नाइके आरोपित आयातकर्ता फर्म आरडी इन्टरनेसनलका सञ्चालक गुजरातका व्यापारी परेशकुमार रायथाथालाई डीआरआईले पक्राउ गरेको थियो । भारतमा सिधै लैजान नसकेपछि तस्करहरूका लागि नेपालको खुला सिमाना र खुकुलो प्रणाली सबैभन्दा सहज माध्यम बन्न पुगेको छ ।

११ महिनामै तीन अर्बको आयात र फेरिएको रुट
नेपालमा व्यावसायिक रूपमा तरबुजाको खेती निकै सीमित क्षेत्रमा मात्र हुन्छ । राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका अनुसार नेपालमा करिब २५ सय हेक्टरमा मात्र यसको खेती हुन्छ, जसका लागि थोरै बीउ मात्र आवश्यक पर्दछ । रोप्नका लागि मात्र नभई खानकै लागि पनि नेपालमा अर्बौंको बिउ खपत हुने कुनै सम्भावना छैन । तर, भन्सार विभागको तथ्यांकले अनौठो र डरलाग्दो चित्र देखाउँछ । चालु आर्थिक वर्षको ११ महिनामै ‘मेलन सिड’को नाममा ३ अर्ब ६ करोड ५३ लाख रुपैयाँभन्दा बढीको करिब १८ हजार ८१३ टन खरबुजाको बिउ आयात भएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा जम्मा १४ करोड ३ लाख रुपैयाँ बराबरको ५९५ टन मात्र आयात भएको थियो । परिमाणका आधारमा यो वृद्धि ३१.६ गुणा र मूल्यका आधारमा २१.८ गुणा बढी हो ।
पछिल्ला चार वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७८÷७९ मा जम्मा ९९ टन र २०७९÷८० मा १२७ टन आयात भएको यो वस्तु गत आर्थिक वर्ष २०८१÷८२ मा बढेर १ हजार २८६ टन पुगेको थियो । तर यो वर्ष त आयातले सबै सीमा नाघेको छ । यस वर्ष आयातको रुट र गन्तव्य पनि पूर्ण रूपमा फेरिएका छन् । विगतमा भारत, इरान र पाकिस्तानबाट आउने गरेकोमा यो वर्ष ती देशबाट आयात करिब शून्य छ । बरु, नेपाल कहिल्यै सिधा व्यापारिक सम्बन्धमा ठूलो हिस्सा नरहेका अफ्रिकी देशहरूको नयाँ गन्तव्य बनेको छ ।
यो वर्ष अफगानिस्तानबाट मात्रै १ अर्ब ७ करोड रुपैयाँको ६४ लाख किलो बिउ भित्रिएको छ । त्यस्तै, यूएईबाट ४१ करोड ६२ लाख रुपैयाँको २५ लाख किलोभन्दा बढी बिउ ल्याइएको छ । अचम्मलाग्दो त के छ भने गत वर्ष शून्य आयात रहेका नाइजेरिया र सुडान यस वर्ष नेपालका लागि दोस्रो र तेस्रो ठूलो आयातकर्ता देश बनेका छन् । चालु आर्थिक वर्षमा नाइजेरियाबाट ९३ करोड १७ लाख रुपैयाँको ५८ लाख किलो र सुडानबाट ५२ करोड ४३ लाख रुपैयाँको ३४ लाख किलोभन्दा बढी बिउ भित्रिएको छ । टर्की, चीन र उज्वेकिस्तानबाट पनि लाखौं किलो बिउ नेपाल आइपुगेको छ ।

‘कृषि उपजको बीउ’ को नाममा भन्सार छली 
यसरी अर्बौंको तरबुजाको बीउ भित्रिनुको पछाडि भन्सार छली र नीतिगत कमजोरीको ठूलो खेल रहेको सरकारी अधिकारीहरू नै स्वीकार गर्छन् । व्यापारीहरूले तारे होटल, बेकरी र मिठाईमा प्रयोग हुने बोक्रा छोडाएको महँगो दाना (मगज)लाई भन्सार कार्यालयहरूमा ‘कृषि बीउ’ को नाममा घोषणा गरेर सहजै जाँचपास गराउने गरेका छन् । कृषि प्रयोजनको बिउ भन्दै भन्सार महसुल र राजस्वमा भारी छुट पाइने हुनाले तस्करहरूलाई दुईतर्फी फाइदा पुगेको छ । एकातिर नेपालमा न्यून राजस्व तिरेर सामान भिœयाउन पाइने र अर्कोतिर खुला सिमानाको फाइदा उठाई भारत पु¥याउँदा रातारात दोब्बर नाफा कमाउन सकिने भएकाले बिचौलियाहरूको सेटिङ यसमा बलियो बनेको देखिन्छ ।
देशको आन्तरिक आवश्यकता र खपत क्षमताभन्दा हजारौं गुणा बढी परिमाणमा बिउ भित्रिँदा र सीमामा दैनिकजसो करोडौंका सामान बरामद हुँदा पनि नियमनकारी निकायहरू भने कानुनी छिद्र देखाउँदै पन्छिने गरेका छन् । आयातकर्ताले वैध रूपमा एलसी (प्रतितपत्र) खोलेर, भन्सार तिरेर सामान ल्याएको दाबी गर्ने हुनाले भन्सार विन्दुमा यसलाई रोक्न गाह्रो हुने अधिकारीहरूको तर्क छ । तर, भन्सारबाट निस्किएपछि ती सामान नेपाली बजारमा खपत हुनुको साटो सिधै सीमावर्ती जिल्लाका गोदाममा थुप्रिनु र त्यहाँबाट रातको समयमा भारतीय गाडीमा लोड भएर सीमा पार गराइनुले यो संगठित तस्करी हो भन्नेमा कुनै शंका छैन । यो अवैध धन्दाले नेपालको भन्सार नीति र सीमा सुरक्षा प्रणालीलाई चुनौती दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्