बारको उज्यालो कहिल्यै पूर्ण उज्यालो हुँदैन । शायद मानिसहरूले आफ्ना थकान, असफलता, अधुरा सम्बन्ध र दिनभर दबाएका भावनाहरू सजिलै लुकाउन सकून् भनेर होला त्यहाँ सधैँ अलिकति अँध्यारो मिसिएको हुन्छ । म पनि कहिलेकाहीँ त्यही मधुरो बत्तीमुनि बसेर समय बिताउँछु, जहाँ सङ्गीत ठूलो हुन्छ तर त्यो भन्दा बढी मानिसहरूको मौनता हुन्छ ।
बारमा मैले पिउँदै गरेको देखिने मानिसहरूको स्वभाव, हाउभाउ, डर, चाहना र एक्लोपन पनि पढ्न थालेँ । विशेषगरी महिलाहरू मेरो बढी चासो र रुचिका विषय हुन् । शुरूवाती दिनमा मलाई लाग्थ्यो महिलाहरू केवल हल्का र रङ्गीन पेय मन पराउँछन् । तर बिस्तारै बुझ्दै गएँ, त्यो उनीहरूको जीवनसँग गाँसिएको मनोविज्ञान रहेछ ।
बारमा आएका अधबैंसे महिलाहरू कडा रक्सीभन्दा वाइन, ककटेल वा हल्का पेय रोज्थे । शायद उनीहरू होस गुमाउनभन्दा मन मात्रै हल्का बनाउन चाहन्थे । कडा मदिराले शरीर तताउँछ, तर हल्का पेयले वातावरणलाई नरम बनाउँछ । अमेरिकामा वाइन प्रायः हतारमा लिने नशा नभएर फुर्सदमा अलि अलि गर्दै मन खोल्ने र संवाद गर्ने बहाना हो । उनीहरूको हातमा रहेको रङ्गीन गिलास कहिलेकाहीँ दिनभरको थकानबाट चोरिएको सानो विश्रामजस्तो पनि लाग्थ्यो ।
कफी सपहरूमा जाँदा मलाई याद छ धेरै महिलाहरू कडा क्याफिन भन्दा क्याफिनफ्रि वा ग्रीन टी वा हर्बल टी रोज्थे । शुरूमा मलाई लाग्थ्यो, महिलाहरू स्वास्थ्य प्रति बहुत सचेत रहेछन् । तर बिस्तारै बुझ्दै जाँदा थाहा भयो, उनीहरूले वास्तविक जीवनमानै धेरै कडाभन्दा कडा स्वादहरू झेलिसकेका हुँदा रहेछन् ।
उनीहरूलाई कफी सपमा पुगेर दिमाग र शरीर झस्काउने क्याफिनभन्दा पनि मनलाई अलिकति शान्त बनाउने स्वाद चाहिएको हुँदो रहेछ । ग्रीन टी वा हर्बल टी केवल पेय पदार्थ मात्रै होइन रहेछ यो त आफूले आफैँलाई बिस्तारै जोगाउने र जीवन्त राख्ने एउटा सानो अभ्यास रहेछ भनेर कफी सप धाउँदा थाहा पाएकी थिएँ ।
कतिपय महिलाहरू घण्टौँसम्म साथीहरूसँग, अपरिचितहरूसँग, कहिलेकाहीँ बारटेन्डरसँग पनि कुरा गरिरहन्थे । पुरुषहरू हरेक कुराको समाधान खोज्दै बोल्थे भने महिलाहरू आफूलाई सुन्ने कान र बुझ्ने मन खोज्दै हरेक बार र कफी पसल चाहार्थे । उनीहरूलाई जवाफ वा उत्तरभन्दा बढी आफ्नो कुरा बीचमै नतोडीकन वा नकाटीकन ध्यान दिएर सुनिदिने मानिस चाहिएको महसूस मैले गर्थें । शायद त्यसैले पनि होला हामी महिलाहरू लामो संवाद गर्न मन पराउँछौँ । किनकि समाजले महिलाको भावनालाई ‘अति भावुक’ भनेर छोट्याइदिएको छ । तर बारको भीडभित्र पसेपछि महिलाहरुपनि नडराई आफ्ना थकानहरू मनका कुराहरू शब्दमा बदलिरहेका हुन्छन् ।
बारमा मैले देखेको अर्को कुरा धेरै महिलाहरू कुरा त गर्छन् तर पुरुषहरू जस्तो क्षणिक आकर्षणमा भुलिँदैनन् । बरु कुनै उपहार वा आर्थिक स्थिरताबाट बढी प्रभावित हुन्छन् । यो बानीलाई धेरैले सतही अर्थमा बुझ्छन् र टिप्पणी पनि गर्ने गर्छन् । तर गहिराइमा गएर हेर्दा महिलाहरू प्रेमलाई पनि शब्दभन्दा व्यवहारमा नाप्छन् । एउटा सानो गिफ्टले कहिलेकाहीँ ‘तिमीलाई सम्झिएँ’ भन्ने प्रमाणको रूपमा उनीहरू बुझ्दा रहेछन् । आर्थिक सुरक्षा विलासिता होइन, भोलिको भविष्यको डर कम हुने अनुभूति रहेछ भनेर बारमा धाउने महिलाहरूबाट थाहा पाएँ । शायद त्यसैले पनि होला महिलाहरू क्षणिक स्पर्शभन्दा विश्वासिलो उपस्थितिलाई बढी महŒव दिन्छन् ।
पुरुषहरूमा भने धेरै पटक ‘बलियो’ देखिनुपर्ने अदृश्य दबाब हुने रहेछ । पानी नहालेको कडा रक्सी, ठूलो स्वर, धेरै धुवाँ फैलाएर थकान स्वीकार गर्नु कमजोरी मान्ने प्रवृत्ति हुँदो रहेछ । तर महिलाहरूको हल्का रङ्गीन पेयमा बरु एक प्रकारको इमानदार थकान देखिन्छ । उनीहरू आफूलाई नसामा हराउन होइन, केही बेर सम्हाल्न चाहन्छन् । बारले मलाई दिएको अर्को अनौठो शिक्षा चाहिँ यो थियो कि मानिसहरूले जे पिउँछन्, वा जे जे रोज्छन्, त्यसमा केवल स्वाद मात्रै नभएर उनीहरूको जीवनको प्रतिबिम्ब पनि लुकेको हुने रहेछ । कसैले स्वादमा मिठास खोजिरहेका हुन्छन्, कसैले छिटो नशा, कसैलाई लामो संवाद चाहिएको हुन्छ, कसैलाई केही समयका लागि शरीरलाई शान्त पार्नुपर्छ, र धेरैजसोलाई वास्तवमै मनलाई शान्त पार्नुपरेको हुन्छ ।
बिस्तारै मैले के बुझ्न थालेँ भने बारमा सबै मानिस रक्सी पिउन वा नशा गर्न मात्र आउँदैनन् । हातमा गिलास पनि सबैको उस्तै देखिन्छन् तर प्रत्येकको कारण फरक हुन्छ । कोही दिनभरको थकान बोकेर आउँछन्, कोही एक्लोपन, असफल सम्बन्ध, वा मनभित्र थिचिएका कुरा लिएर आउने रहेछन् । त्यसपछि मलाई लाग्न थाल्यो मानिसहरूले आफ्नो अवस्थासँग मेल खाने पेय पदार्थ रोजिरहेका हुँदा रहेछन् ।
रातको अन्त्यतिर जब बत्तीहरू अलि तेज पारिन्थे, धेरै गिलासहरू आधा भरिएका नै छोडिन्थे । त्यस बेला मलाई लाग्थ्यो मानिसहरू बारमा मात्र आउँदैनन् । उनीहरू केही घण्टाका लागि आफ्नो जीवनको बोझ टेबलमाथि राख्न आउँछन् । र त्यो भीडभित्र धेरै महिलाहरू वास्तवमा एउटै कुरा खोजिरहेका हुन्छन् जहाँ उनीहरूलाई केवल कसैका नजरले हेरिने होइन, बुझ्ने प्रयास गरियोस् । गरिरहन्थे ।
अमेरिकाको पछिल्लो तथ्याङ्कले पनि देखाउँछ, अहिले पुरुष र महिलाको ‘रक्सी सेवन’ गर्ने प्रतिशत लगभग बराबरीतिर नै पुगेको छ । करीब ६२.७ प्रतिशत पुरुष र ६१.४ प्रतिशत महिलाले वर्षमा कम्तीमा एक पटक रक्सी पिएको बताएका छन् । तर त्यो समानता सङ्ख्यामा रहे पनि पिउने शैली, मात्रा र उद्देश्यमा भने अझै फरक देखिन्छ ।अमेरिकामा गरिएको धेरै अध्ययन अनुसार पनि पुरुषहरूले महिलाभन्दा बढी र छिटो छिटो पिएर गिलास रित्याउँदा रहेछन् । महिलाहरू गिलास चाँडै खाली गर्दैनन् र कहिले कहिले रक्सीले मातेका पनि हुन्छन् । एउटा वाइन, एउटा ककटेलको गिलाससँगै धेरै संवाद गरेर समय बिताउँछन् ।
पुरुषहरू धेरै पटक नशालाई शक्ति जस्तो पिउँथे, महिलाहरू भने वातावरण जस्तो । एउटै टेबुलमा बसेका महिला र पुरुषमा एउटाले भित्रको आवाज दबाउन खोज्ने र अर्काले भित्रको थकान हल्का बनाउने माहोल रहेछ भनेर मैले पनि बुझे ।
बारमा मैले देखेको अर्को रोचक कुरा के थियो भने महिलाहरू प्रायः धेरै मातेको अवस्थामा एक्लै बाहिर निस्कन चाहँदैनथे । उनीहरू समूहमा आउँछन् र समूहमै फर्किन खोज्थे । रातको अन्त्यतिर ग्दभच बोलाउने, साथी पर्खिने, फोन चेक गर्ने, घर पुगेपछि म्यासेज गर है भन्ने संवादहरू धेरै सुनिन्थे । शायद महिलाहरूका लागि रात केवल रमाइलो होइन, सुरक्षासँग जोडिएको अनुभव पनि हो । पुरुषहरू धेरै पटक बार छोडेर अर्को बारतिर जान्थे, महिलाहरू भने सुरक्षित रूपमा घर पुग्ने योजनासँगै पिउँथे ।
अमेरिकामा रक्सी उद्योग आफैँ विशाल संसार हो । हरेक वर्ष सयौँ अर्ब डलर बराबरको रक्सी बिक्री हुन्छ । र त्यसमा महिलाहरूको सहभागिता अहिले तीव्र रूपमा बढेको छ । विशेष गरी वाइन, सेल्ट्जर, लो–अल्कोहोल ककटेल र प्रिमियमपेयमा महिलाहरूको बजार प्रभाव निकै ठूलो मानिन्छ ।
पहिले रक्सी किन्ने मुख्य ग्राहक पुरुष मानिन्थे । अहिले धेरै बार, वाइन ब्रान्ड र पेय कम्पनीहरूले आफ्नो डिजाइन, स्वाद र विज्ञापन महिलामै केन्द्रित गर्न थालेका छन् । महिलाको मनोविज्ञान बुझेर नै गुलाबी रङका क्यान, फलफूलको स्वाद, कम क्यालोरी र वेलनेसको भाषा जस्ता यी सबै कुरा आधुनिक बजारले बनाएका सङ्केत हुन् ।
तर मैले बारमा देखेको महिलाहरूको संसार विज्ञापनले देखाएजस्तो सधैँ चम्किलो चाहिँ थिएन । प्रायः महिलाहरू दिनभरको कामपछि थाकेर, कतिपय सम्बन्धको चोट बोकेर त कतिपय केवल केही घण्टा आमा, श्रीमती, कर्मचारी वा म कुनै जिम्मेवार व्यक्ति हुँ भन्ने भूमिकाबाट बाहिर निस्किएर केही बेर आफ्नो काँधको भार बिसाउन चाहान्थे तर पूर्ण रूपमा आफूलाई पूर्ण रूपमा हराउन चाहिँ चाहँदैनथे । त्यसैले उनीहरूको गिलासमा धेरै पटक रंग बढी तर रक्सीको कडापन कम हुन्थ्यो ।
समाजले पुरुषहरूलाई अझै ‘बलियो’ देखिन सिकाउँछ । त्यसैले बार संस्कृतिमा कडा रक्सी, ठूलो स्वर र धुवाँ पुरुषत्वसँग जोडिन्छ । पुरुषहरू धेरै पटक आफ्नो कमजोरी नदेखाउन पिउँछन् । महिलाहरू भने कहिलेकाहीँ आफ्ना कमजोरीहरू सुरक्षित ठाउँमा राख्न पनि पिउँछन् ।
रातको अन्त्यतिर मैले एउटै दृश्य बारम्बार देख्थेँ टेबलमा आधा भरिएको वाइन ग्लास, फोनको स्क्रिनमा ‘घर पुग्यौ?’ भन्ने म्यासेज र ढोकाबाट बाहिर निस्कँदा एक अर्कालाई अँगालो हालिरहेका मानिसहरू । त्यस बेला लाग्थ्यो, बारमा बेचिने कुरा केवल रक्सी होइन रहेछ । त्यहाँ त मानिसहरूले केही घण्टाका लागि थकान, एक्लोपन र जीवनको भार पनि किनिरहेका हुँदा रहेछन् । कहिलेकाहीँ त लाग्थ्यो, गिलासभित्र रक्सीभन्दा बढी मानिसका नबोलिएका कथा घुलिएका हुँदा रहेछन् । त्यसैले आज पनि बार सम्झँदा मलाई रक्सीको स्वादभन्दा बढी मानिसहरूको जीवनको स्वादको याद आउँछ । गिलासहरू खाली हुन्थे तर त्यहाँ छोडिएका कथाहरू कहिल्यै खाली हुँदैनथे ।
(न्युयोर्क, अमेरिकाकी बासिन्दा भट्टराईको ‘मार्केट अफ स्वीटहार्ट’ नामक कथासङ्ग्रह प्रकाशित छ ।)