नेपालमा केही प्राकृतिक र मानव निर्मित अप्रत्याशित र अकल्पनीय घटना भएका छन् । यस्ता घटनाले परिवर्तनको दिशा नै परिवर्तन गरिदिएका छन् । प्रायः नेपालमा प्राकृतिक प्रकोपको मार बढी पर्ने गरेको छ ।
पहिरो, चट्याङ, भूकम्प र महामारीहरू हामीलाई दुःख दिने पक्ष हुन् । यी प्राकृतिक प्रकोपहरूबाट हुने जनधनको क्षति र यी विषयमा गरिएका टिप्पणीहरू केही समयसम्म सुनिन्छन् । कहिलेकाही विपद् व्यवस्थापनको बारेमा शिक्षित गर्ने प्रयास गरिन्छ । यद्यपि, केही प्राकृतिक प्रकोपहरू हाम्रो नियन्त्रणभन्दा बाहिरका हुन्छन् ।
यहाँ केही मानवीय घटनाहरूका बारेमा चर्चा गर्ने अनुमति चाहन्छु । नेपालको इतिहासमा धेरै घटना र पर्व भएका छन् । राणा वा शाह वंशको कालखण्डमा भएका घटनाहरू प्रायः षड्यन्त्रपूर्ण थिए । केही घटनाहरू अप्रत्याशित र अकल्पनीय थिए । उदाहरणका लागि २०५८ सालको दरबार हत्याकाण्ड ।
अहिले आएर जेनजी आन्दोलनले परिवर्तनको नयाँ चरणको लागि आधार तयार पारेको छ । घटनाका पछाडि जस्तोसुकै ठूला वा साना कारण होउन् तिनलाई शासकहरूले बेवास्ता गरेको देखियो ।
भत्काउनु र भत्किनु त कुनै पनि कोणबाट राम्रो मान्न सकिने कुरा होइन । तर यसले नवनिर्माणलाई मार्गप्रसस्त गर्छ । सबै कुरा भत्काउनु आवश्यक हुँदैन भने केही कुरा त जोगाउनै पर्ने हुन्छ । जलेका केहीको क्षतिपूर्ति हुन सक्छ भने केहीको क्षतिपूर्ति पनि नहुन सक्छ । अर्कोतर्फ केही चीज नष्ट नगरी नयाँ निर्माण पनि गर्न नसकिने अवस्था हुन्छ । हरेक कुराको एउटा समय हुन्छ भन्ने गरिन्छ ।
केही कुरा स्वाभाविक रूपमा हुन्छन् भने केही अप्राकृतिक रूपमा हुन पुग्छन् । राजनीतिमा पनि यस्ता परिस्थितिहरू देखिएका छन्, जसको आकलन गर्न सकिन्छ तर निश्चित रूपमा यसै हुन्छ भन्न सकिन्न । राजनीतिक इतिहासले हामीलाई सम्झाएको छ, राजनीति सधैं सोझो बाटोमा हिँड्दैन ।
भ्रष्टाचार विरुद्धको जेनजीको विरोध प्रदर्शन र सामाजिक सञ्जाल बन्दले देशलाई एक महत्वपूर्ण मोडमा ल्याइपुर्याएको छ । यो अवस्थामा हामीलाई कानुनी र राजनीतिक दुवै चुनौतीका साथै केही अवसर पनि प्राप्त भएको छ । जेनजीको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर निर्दोष बालबालिका र युवाहरू मारिए । धेरै घाइते भए र भौतिक पूर्वाधार नष्ट हुनु दुःखद छ ।
सबैको आशा छ, वर्तमान परिस्थितिलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सकिन्छ र देशमा शान्ति र सुरक्षा कायम हुन्छ । अब कसरी अगाडि बढ्ने र सही समाधान के होला भनेर बहस भइरहेको छ ।
यस सम्बन्धमा सबैभन्दा पहिले, शान्ति सुरक्षा कायम राख्नुपर्छ । मृतकहरूलाई शहीद घोषणा गर्नुपर्छ । घाइतेहरूको उपचार सुनिश्चित गर्नुपर्छ । भौतिक पूर्वाधारको पुनर्निर्माण पनि आवश्यक छ । अन्तरिम सरकार कस्तो हुनुपर्छ, कसरी गठन हुनुपर्छ र कसले गठन गर्नुपर्छ भन्ने बारेमा धेरै कुरा हुन सक्छन् । अन्तरिम सरकारमा कस्तो प्रतिनिधित्व हुन्छ भन्ने बारेमा हामी सचेत हुनुपर्छ । विदेशी हस्तक्षेपको बारेमा हामी सचेत हुनुपर्छ ।
तर पनि लोकतन्त्रलाई कुनै पनि हालतमा कायम राख्नुपर्छ । नेपाली जनताले लामो त्याग र संघर्षबाट प्राप्त गरेको लोकतन्त्र कतैबाट पनि खोसिनु हुँदैन । अभिव्यक्ति स्वतन्त्रता वा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउनु हुँदैन । यो पनि जेनजीले उठाएको माग थियो ।
संविधान पुनर्लेखन वा संशोधन गर्दा राज्य संरचना, सुशासन र न्याय प्रणाली कस्तो हुनेछ भन्ने कुरा स्पष्ट हुनुपर्छ । त्यसका लागि वैधानिक बाटो नअपनाउने हो भने फेरि पनि असन्तुष्ट बढ्न सक्छ । विगतमा संविधान अपूर्ण छ र संशोधन गर्न आवश्यक छ भन्ने धेरै छलफलहरू भए । अब, चुनौती र अवसर दुवै हाम्रो अगाडि छन् । फेरि एक पटक हाम्रो जस्तो बहुलवादी समाजमा सहभागितामूलक ढंगले अगाडि बढ्नु आवश्यक छ ।
न्यायिक प्रणालीमा व्यापक सुधारको आवश्यकता छ । धेरै कानून र नियमहरू परिवर्तन गर्न आवश्यक छ, साथै प्रशासनिक प्रक्रिया र न्यायिक प्रक्रियाको शैली पनि परिवर्तन गर्न आवश्यक छ । कुनै पनि प्रणालीको सफलता वा असफलता राजनीतिक नेतृत्वका साथै कर्मचारीतन्त्र र न्याय प्रणालीले निर्धारण गर्ने हुँदा पनि यसबारेमा सुझबुझ पूर्ण समझको आवश्यकता छ ।
अहम् कुरा के हो भने जेनजी पुस्ताका माग वा एजेन्डा व्यवस्था परिवर्तन थिएन । अचानक आएको परिस्थितिले यसलाई एउटा मोडमा पुर्याएको छ । तर अब नेपालको संविधान अक्षुण्ण रहे पनि अन्तरिम सरकार गठन गर्न जतिसक्दो चाँडो समझदार कदम चाल्नु आवश्यक देखिन्छ । जेनजीको धक्काबाट सुध्रिएर छिटो निकास दिनुपर्छ ।