नेभिगेशन
साहित्य
यात्रा

कुन्ताको न्यानोपन र वर्षाको परीक्षा

मर्निङ वाकबाट फर्केर घरभित्र मात्र पसेको थिएँ, मोबाइल फोन बज्यो । फोन महेन्द्र चालिसे दाइको रहेछ । सामान्यतः धेरै फोन नगर्ने दाइको फोन देखेपछि हतार–हतार उठाएँ । मनमा लाग्यो, अवश्य पनि कुनै विशेष काम परेकै हुनुपर्छ ।
‘हेलो’ मात्र भनेको थिएँ, उताबाट दाइको स्वर आयो, ‘कुमार, भोलि तिमी, म र प्रतीक एकपटक कुन्ता जाऔं है । त्यहाँ एउटा स्कुलले मेरो किताब विमोचन कार्यक्रम गर्दैछ । त्यसका लागि मिटिङ गर्नुपर्छ । तिमी १० बजेतिर चोकमा आइराख, म गाडी लिएर आउँछु ।’
‘हुन्छ दाइ,’ मैले छोटो जवाफ दिएँ ।
तर भोलिपल्ट बिहानै दाइको सन्देश आयो, ‘कुमार, प्रतीक जान नमिल्ने भयो रे ! दुई जना मात्रै जाने भएपछि के गाडी लग्नु ? तिम्रो मोटरसाइकलमै जाऔं न ! धेरै भयो, मैले मोटरसाइकलमा लामो यात्रा नगरेको ।’
यसरी २०८३ साल जेठ २६ गते, मंगलबार, हामी दुई भाइ मोटरसाइकलमा कुन्तातर्फ लाग्यौं । जोरपाटीबाट सुरु भएको यात्रा साँखु, कात्तिके, नगरकोट, चैनपुर र धाइटार हुँदै अगाडि बढ्यो । गर्मी मौसमको बिहान थियो । मोटरसाइकलको पछाडि दाइ र अगाडि म । पहाडका घुम्ती सडकहरू पार गर्दै जाँदा शरीरमा ठोक्किने चिसो हावाले यात्रालाई अझ रोमाञ्चक बनाइरहेको थियो । कतै हरिया डाँडाकाँडा, कतै खेतबारीका मनमोहक दृश्य, त कतै टाढासम्म फैलिएका गाउँबस्तीहरू—सबैले यात्रालाई अविस्मरणीय बनाइरहेका थिए ।
नगरकोट आसपास पुग्दा बादलका टुक्राहरू पहाडका टुप्पामा खेलिरहेका देखिन्थे । घाम र हावाको सुन्दर संगमले मोटरसाइकल यात्राको आनन्दलाई दोब्बर बनाएको थियो । सडकका मोडहरू पार गर्दै जाँदा प्रकृतिको सुन्दरताले मन बारम्बार लोभ्याइरहेको थियो ।
अन्ततः हामी पूर्वनिर्धारित कार्यक्रमअनुसार नव प्रतिभा इङ्ग्लिस स्कुल, कुन्ता पुग्यौं । त्यहाँ पुग्नेबित्तिकै विद्यालयका प्रिन्सिपल महेन्द्र नेपालले आत्मीय स्वागत गर्नुभयो । उहाँले हामीलाई विद्यालयका सञ्चालक तथा निर्देशक होमप्रसाद चौलागाईंजीको कार्यकक्षमा लैजानुभयो । त्यहाँ पनि अत्यन्तै न्यानो र हार्दिक स्वागत पाइयो ।    
चियापानसँगै दाइको पुस्तक लोकार्पण कार्यक्रमबारे विस्तृत छलफल भयो । कुराकानीका क्रममा एउटा रोचक तथ्य थाहा भयो । दाइ नै यस विद्यालयका संस्थापक रहनुभएको रहेछ । मण्डनको माझीगाउँमा माझी समुदायका बालबालिकालाई आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले उहाँले आजभन्दा करिब २४ वर्षअघि विद्यालय स्थापना गर्नुभएको रहेछ । लगभग १७ वर्षसम्म विद्यालय सञ्चालन गरेपछि आर्थिक तथा व्यवस्थापकीय चुनौतीका कारण विद्यालयलाई दिगो रूपमा सञ्चालन गर्न कठिन भएको रहेछ । त्यसपछि विद्यालय होमप्रसाद चौलागाईंजीलाई हस्तान्तरण गरिएको रहेछ । उहाँहरूले विद्यालयलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न माझीगाउँबाट अलि सहरी क्षेत्रमा स्थानान्तरण गर्नुभएको रहेछ ।
हामी पुगेको अवसरलाई विद्यालयले विशेष महत्व दिएको थियो । तत्काल विद्यालय प्राङ्गणमा सबै विद्यार्थीहरूलाई जम्मा गरेर एउटा परिचयात्मक कार्यक्रम आयोजना गरियो । विद्यार्थी, शिक्षक तथा व्यवस्थापन समितिका सदस्यहरूको उपस्थितिमा हाम्रो औपचारिक स्वागत गरियो । विद्यार्थीहरूको उत्साह, शिक्षकहरूको सम्मानभाव र विद्यालय परिवारको आत्मीयताले हामी निकै प्रभावित भयौं ।
तर मौसमले भने अर्कै संकेत गरिरहेको थियो । आकाशमा बाक्ला बादल मडारिन थालेका थिए । मौसम बिग्रँदै गएको देखेर विद्यालय परिवारले प्रेमपूर्वक तयार पारेको खाजा पनि खान नपाई हामी हतार–हतार फर्कने निर्णयमा पुग्यौं । उनीहरूको आतिथ्य स्वीकार गर्न नपाएकोमा मन कताकता खिन्न थियो ।
सायद प्रकृतिले त्यही अस्वीकार गरिएको सत्कारको मूल्य असुल गर्न खोजेझैँ ग¥यो । धाईटार पुग्नासाथ एक्कासी मुसलधारे वर्षा सुरु भयो । केही क्षणअघिसम्म रमाइलो लागिरहेको यात्रा अचानक चुनौतीपूर्ण बन्यो । हामी मोटरसाइकल रोकेर ओत लाग्न बाध्य भयौं । झरी यति तीव्र थियो कि सडक नै पानीको भेलमा परिणत भएको देखिन्थ्यो । करिब ४५ मिनेटसम्म हामी वर्षा रोकिएला भनेर प्रतीक्षा गर्दै बस्यौं ।
वर्षा केही कम भएपछि पुनः यात्रा सुरु ग¥यौं । भिजेको मौसम, चिसो हावा र लामो प्रतीक्षाले भोक पनि लागिसकेको थियो । बाटोमै एउटा पसलमा रोकेर हल्का खाजा खायौं । त्यसपछि फेरि मोटरसाइकल हुइँक्याउँदै घरतर्फ लाग्यौं ।
दिनको करिब ३ बजेतिर हामी सुरक्षित रूपमा घर आइपुग्यौं । छोटो भए पनि त्यो यात्रा अनेक अनुभूति बोकेको थियो । गर्मी मौसममा मोटरसाइकल कुदाउँदाको रोमाञ्च, पुराना सम्झनाले भरिएको विद्यालय भ्रमण, आत्मीय स्वागत, सफल छलफल र अन्त्यमा मुसलधारे वर्षाले दिएको अप्रत्याशित परीषा ।
अहिले पनि त्यो यात्रा सम्झँदा नगरकोटका डाँडाहरू, मोटरसाइकलसँग दौडिएको हावा, नव प्रतिभा इंगलिस स्कुलको आत्मीय वातावरण र धाईटारको वर्षाले भिजाएको समय सबै एकसाथ मानसपटलमा ताजै भएर आउँछन् । साँच्चै, केही यात्राहरू दूरीले होइन, अनुभूतिले लामो र स्मरणीय बन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
ईश्वरको मृत्यु

ईश्वरको मृत्यु

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

निएन्डरथलले पनि चित्र बनाएका थिए

निएन्डरथलले पनि चित्र बनाएका थिए