डा. रामकृष्ण तिमल्सेनाको नयाँ कृति ‘प्रश्न पुराना उत्तर नयाँः मानव चेतना र सभ्यताको यात्रा’ प्रकाशमा आएको छ । यस कृतिले दर्शन, प्रज्ञा, मनोविज्ञान र समकालीन विश्व–चिन्तनका अनेक पाटालाई एउटै डालोमा हालेर पस्कने निकै महŒवाकांक्षी प्रयास गरेको छ । १० खण्डमा विभक्त ८० शीर्षकहरूमा फैलिएको पुस्तकमा विषयवस्तुका पाठले ५६६ पृष्ठ ढाकेको छ । एक हिसाबले हेर्दा यो पुस्तक विद्युतीय संसारमा रहेका विश्वज्ञानलाई दोहन गरी कागजी रूपमा निबद्ध गरिएको विश्वज्ञान–संहिता भन्दा हुने खालको छ । विषयसूचीले नै के संकेत गर्छ भने लेखकले परम्परागत रूपमा कागजमा मुद्रित ग्रन्थका अतिरिक्त व्यापक रूपमा विद्युतीय सामग्री, डिजिटल संग्रह, र अनलाइनलाई अध्ययनको स्रोत बनाउँदै संकलित सूचनाको प्राज्ञिक प्रशोधन गरेर नयाँ बान्कीमा ज्ञानमाला तयार गरेका छन् ।
यस पुस्तकले समेटेका विषयवस्तुले पौरस्त्य र पाश्चात्य दुवै गोलार्धका मानवचेतनासिर्जित संस्कार, कला, संस्कृति, खोज र नवप्रवर्तनको प्रतिविम्ब दिन्छ ? यस प्रश्नमा टेकिएर हेर्ने हो भने तिनको समग्रतालाई यसले प्रतिनिधित्व गर्दैन तर छिपछिपे विश्वबोध भने गराउँछ । यस पुस्तकका मूलभूत विशेषतालाई निम्नानुसार संकेत गर्न सकिन्छः–
बहुविषयक संकथनः विषयसूचीबाटै लेखकले गहन प्राज्ञिक शोधका लागि भौतिक पुस्तकालय धाउने परम्परागत परिधिलाई फुत्तै नाघेर ‘यन्त्रमेधा प्रज्ञाका रूपमा रहेको अभौतिकीकृत विद्युतीय पुस्तकालयको उपयोग गरेर यो कृति तयार गरेको अनुभव हुन्छ । यसो भए पनि लेखकले मानिसलाई सूचना वा जानकारी मात्र नपस्केर गहिरो जिज्ञासाबाट लेखन सुरु गरेर आत्मिक र बौद्धिक ’बोध’को तहसम्म पुग्न पाठकलाई प्रेरित गरेका छन् । यो प्रक्रियाले लेखककले पाठकको चेतनालाई सतही हुनबाट जोगाएर गम्भीर र परिपक्व बन्न प्रेरित गरेको देखिन्छ । यसले गर्दा लेखकले कुनै एक क्षेत्र वा विषयलाई होइन बहुविषयक परिचर्चाको गम्भीर संकथनका रूपमा पुस्तकलाई पस्कन चाहेका छन् भन्ने स्पष्टै देखिन्छ ।
पश्चिमी आदर्श– विघटनको संकेतः पश्चिमी जगत्ले दिएका ठूला–ठूला ‘वाद’हरू (जस्तैः चरम आधुनिकता, उत्तर–आधुनिकता, नव–उदारवाद) आज कसरी असफल र दिशाहीन भइरहेका छन् भन्ने कुरालाई लेखकले ‘सिद्धान्तको शवयात्रा’का रूपमा चित्रण गरेका छन् । पुस्तकमा जिग्मुन्ट बाउम्यानको तरल आधुनिकताले प्रक्षेपण गरेको पुराना ठोस संरचना र सिद्धान्तहरू पग्लिएर नष्ट भइसके तर त्यसको ठाउँमा कुनै बलियो विकल्प आउन सकेको छैन भन्ने सन्देशलाई लेखकले पश्चिमी दर्शनमा बढ्दो रिक्तता वा असफलताका रूपमा चित्रित गरेका छन् । पुँजीवादले मानिसलाई उपभोक्तावादी मेसिन बनायो र समाजवादले व्यक्तिगत स्वतन्त्रतामाथि अंकुश लगायो । पुस्तकले यी दुवै व्यवस्थाका कमजोरीहरू देखाउँदै पूर्वीय चिन्तन (वैदिक वा उपनिषद् प्रज्ञा) र वैश्विक मानवीय मूल्यहरू मिसिएको एउटा नयाँ मानवीय विकल्पको खोजी प्रस्ताव गरेका छन् । यसले मानवसभ्यतालाई चरम भौतिकवाद वा चरम निराशाबाट माथि उठाएर नयाँ बाटो देखाउन खोज्छ । तर यो सन्देशसँगै लेखककले पश्चिमी चिन्तन यथार्थबाट अनुवर्धनतिर धकेलिन थालेको संकेत गरेजस्तो देखिन्छ ।
मौलिक ज्ञान, प्रज्ञा र मूल्यहरूको विमर्श पुस्तकको आधाभन्दा बढी हिस्सा पूर्वीय वाङ्मय र हिमवत खण्डका मौलिक प्रज्ञाको पुनव्र्याख्यामा समर्पित छ । खण्ड २, ३, ४, ५ र ६ सम्म फैलिएको पूर्वीय ज्ञानको यो पाटो पुस्तकको सबैभन्दा वजनदार पक्ष हो । यसले पौरस्त्य मानवसभ्यताका निम्न पाटालाई बिल्कुलै नयाँ आलोकबाट पस्कने जमर्को गरेको छः–
वैदिक प्रज्ञा र विज्ञानको सन्तुलनः लेखकले वेद, उपनिषद् र पुराणका परम्परागत कर्मकाण्डीय पाटोलाई पन्छाएर तिनको दार्शनिक र वैज्ञानिक मर्मलाई उजागर गर्ने प्रयास गरेका छन् । ‘ऋग्वेद ः दर्शन र विज्ञान’ तथा ‘ॐकार र आधुनिक विज्ञान’ जस्ता अध्यायहरूले पूर्वीय ज्ञानविज्ञानलाई वास्तविक विज्ञानका कसीमा राखेर हेरेका छन् । पौरस्त्य ज्ञानपरम्परा अन्धविश्वासको पोको हो भन्ने भ्रमबाट पुस्तकले पाठकलाई मुक्त बनाउँछ । लेखकले वैदिक प्रतिमानहरूलाई विज्ञानकै रूपमा चिनाउने जमर्को गरेका छन् । आधुनिक चाहनालाई सम्बोधन गर्छन् ।
महाभारत – व्यावहारिक व्यवस्थापन र राजनीतिविज्ञानको दृष्टिविन्दु ः खण्ड ३ मा महाभारतका पात्रहरू (विशेष गरी श्रीकृष्ण र भीष्म) लाई ‘आधुनिक नेतृत्व’ र ‘नैतिक शासन’ को लेन्सबाट हेरिएको छ । यो पूर्वीय आख्यानलाई ‘नेतृत्वको नयाँ भाष्य’ मा ढाल्ने एउटा सुन्दर प्राज्ञिक जमर्को हो भन्दा फरक पर्दैन । प्राचीन ग्रन्थहरू आजका राजनीतिक र सामाजिक विकृति बुझ्न कति सान्दर्भिक छन् भन्ने देखाउन लेखकले ‘धृतराष्ट्र सिन्ड्रोम’ जस्ता नयाँ विम्ब टक मारेका छन् र विमर्श–मञ्चमा पस्केका छन् ।
सूक्ष्म मनोविज्ञान र मानवस्वभावको चिरफारः खण्ड ४ र ५ मा पूर्वीय चक्र विज्ञान, पञ्चकोश सिद्धान्त, र पञ्चक्लेशलाई आधुनिक मनोविज्ञानको चेतन÷अवचेतन अवधारणासँग जोडेर हेर्ने प्रयास लेखकको छ । काम, क्रोध, लोभजस्ता ‘षड्विकार’ र ’ईष्र्या’ को चर्चा गरेर लेखकले पूर्वीय दर्शनलाई परलोक सुधार्ने माध्यम मात्रका रूपमा अथ्र्याउने विषय होइन भन्दै सांसारिक वा लौकिक जीवनमै यसको गम्भीर उपादेयता दर्साउन चाहेका छन् । लेखकले पौरस्त्य चिन्तनपद्धति व्यवहार सञ्चालन गर्ने सूक्ष्म व्यवहारविज्ञान हो भन्ने पुष्टि गर्न खोजेका छन् ।
अवधारणागत स्पष्टता र बोधगम्यताः यस पुस्तकले समेटेका विषयमा चासो राख्ने कसैले पनि आधारभूत अवधारणा बुझ्न सक्छन् त ? यस प्रश्नको उत्तर भने पुस्तकबाट निर्विवाद नमिलेर ‘द्वन्द्वात्मक’ रूपको मिल्छ । यसका सबल र दुर्बल पक्षहरूलाई यसरी केलाउन सकिन्छः डिजिटल ज्ञानको लोकोपलब्धता र ‘पप–फिलोसफी’ः दर्शनशास्त्र, उपनिषद् र पाश्चात्य वादका जटिल सिद्धान्तहरू सर्वसाधारणका लागि दुरूह हुन्छन् । डा. तिमल्सेनाले इन्टरनेट र डिजिटल माध्यममा छरिएर रहेका ज्ञानलाई एकीकृत गरी नेपाली भाषामा प्रस्तुत गरेर दर्शनलाई ‘पप–फिलोसफी’ का रूपमा आम पाठकका लागि सुगम बनाइदिएका छन् । यसले निःसन्देह रूपमा सरल पहुँच र सेतुको रूपमा काम गर्ने माध्यमका रूपमा किताब उपलब्ध गराएर लोकलाई लेखककले ठुलो गुन लगाएको अर्थमा लिन सकिन्छ । अनि, हरारीलाई उपनिषद्सँग जोड्ने वा नित्सेको दर्शनलाई नेपाली सन्दर्भमा प्रस्तुत गर्नेजस्ता लेखकको अभिमुखीकरणले के देखाउँछ भने लेखक आफू डिजिटल स्रोतको उपयोग गर्दै पुराना विषयलाई नयाँ आँखाबाट हेर्न पाठकलाई उत्प्रेरित गर्न चाहन्छन् । यसले नयाँ पुस्ताका पाठकलाई ’क्लिक’ गर्न विषयको आधारभूत मर्म सजिलै ठम्याउन मद्दत गर्न खोजेको देखाउँछ ।
पाँच सय ६६ पृष्ठका पुस्तकमा ८० वटा गहनतम विषयहरू (माक्र्सवाद, नित्से, वेद, म्याग्नाकार्टा, चक्र विज्ञान, शून्यवाद आदि) सबै समेटिएका छन् । एउटै पुस्तकमा ब्रह्माण्ड मात्र होइन, पूरै अन्तरिक्ष अटाउन खोजेजसरी सबै जटिल दर्शनहरू अटाउन खोज्दा ती विषयहरूको ’अतिसरलीकरण’ले गर्दा पाठकले विषयहरूलाई फितला कुरा मान्ने जोखिम धेरै छ । ज्ञानको अति–सरलीकरणले दुस्सूचनाको महामारी फैलाउन साधनका रूपमा पुस्तकलाई बुझिने खतरा छ । चोम्स्की वा नित्सेको दर्शनलाई ४–५ पानामा बुझाउन खोज्दा पाठकले ‘सतही जानकारी’ ठान्न सक्छन् ।
डिजिटल स्रोतहरू (विशेष गरी युट्युब वा ब्लगहरू) मा विज्ञान र अध्यात्मलाई जोड्ने नाममा कतिपय छद्म–विज्ञानका सामग्रीहरू पनि छताछुल्ल पारिएका हुन्छन् । ‘गायत्री मन्त्र र अन्तरिक्षीय चेतना’ वा ‘ज्योतिषीय दृष्टिमा आधुनिक राज्य’ जस्ता अध्यायहरूमा कुनकुन वस्तुपरक प्राज्ञिक र वैज्ञानिक कसीको प्रयोग गरेर ती निष्कर्षहरू पस्किएका हुन् भन्ने खुल्दैन । यसले पाठकहरू स्पष्ट हुनुका साटो भ्रमित हुने वा मिथकीय अभिव्यक्तिलाई नै विज्ञान मान्ने जोखिम बढ्ने देखिन्छ ।
पुस्तकका लागि लेखकले आफ्नो निजात्मक शैलीलाई ‘उपोत्घात’ र ‘कृतज्ञता’ मा सीमित गरेर बाँकी सबै पाठ स्रोतसापेक्ष वर्णनात्मक शैलीमा प्रस्तुत गरेका छन् । पुस्तकको भार सूचनासंकलनले लिएको छ र मौलिक विश्लेषणको भार कम छ । डिजिटल सामग्रीबाट ‘संकलन र नेपालीकरण’ जस्तो देखिन्छ । यसले पाठकलाई विषयहरूको परिचय त सरल ढंगले गराउँछ तर लेखककै मौलिक दार्शनिक निचोडचाहिँ के हो भनेर अलमलिन सक्छन् ।
निष्कर्षतः डा. रामकृष्ण तिमल्सेनाको ‘प्रश्न पुराना उत्तर नयाँ’ पुस्तक प्राज्ञिक जिज्ञासाहरूको तम्तयार डिजिटल युगीन उत्तरहरूको चाखलाग्दो सम्झौता हो । यो पुस्तकलाई कसैले डिजिटल महासागरमा गोता लगाएर निकालिएको ज्ञानको ‘क्युरेटेड क्याटलग’ भन्यो भने पनि अन्यथा मान्न पर्दैन । चोम्स्की, नित्से, हरारी, वेद, उपनिषद् र महाभारतका मनोवैज्ञानिक पक्षहरूका विषयमा प्रारम्भिक र सामान्य रूपले परिचित हुन चाहनेका लागि यो पुस्तक उत्कृष्ट ’प्रवेशद्वार’ हो । यस अर्थमा यस पुस्तकबाट आमपाठकले धेरै विषयका आधारभूत धरातल सहजै बुझेर राम्रो लाभ लिन सक्छन् । यसैलाई आधार बनाएर ‘अवधारणागत स्पष्टता’ को दाबी गर्ने हैसियतमा पाठक पुग्नु चाहिँ हुँदैन ।
परिणामतः यसले खोलेका जिज्ञासाका ढोकाबाट भित्र पसेर तŒवबोधकारी ज्ञानका लागि पाठक आफैंले अरू प्राथमिक स्रोतहरूको अध्ययन गर्नुपर्ने हुन्छ । यो पुस्तक ज्ञानको पराकाष्ठाका लागि होइन, डिजिटल संसारमा निर्भर हुँदै गएकाहरूका लागि दार्शनिक धार तय गर्नका प्रारम्भिक आश्रय लिन मिल्ने सामग्री हो । यसले जटिल दर्शन र उपनिषद्लाई आमपाठकका सरल रूपमा सुगम बनाएको छ र पाठकलाई नयाँ कुरा सिक्ने र सोच्ने राम्रै प्रस्तावना दिन्छ । यति हुँदा हुँदै पनि विषयगत गहिराइ चाहिने कतिपय कुरामा पुस्तकले सतही जानकारी मात्र पस्केको हुनाले छद्मविज्ञान मिश्रित विषयमा भने पाठक जोखिएर अगाडि बढ्नुपर्छ । चेतनाको ‘उद्वर्धन’का लागि पुस्तकलाई प्रारम्भिक खुड्किलो मानेर अगाडि बढे यसले पाठकलाई मात्र होइन सिंगो सभ्यतालाई फाइदा पु¥याउँछ ।