हेटौंडा । केही वर्षअघिसम्म हेटौंडा–१२ घलेगाउँकी ३८ वर्षीया श्रेया गुरुङको दैनिकी अधिकांश ग्रामीण नेपाली महिलाको जस्तै थियो । सबेरैदेखि घरधन्दा, परिवारको हेरचाह, पशुपालन र खेतबारीको काममै दिन बित्थ्यो । दिनभरि निरन्तर श्रम गरे पनि आफ्नै नाममा नगद आम्दानी थिएन । घरखर्च चलाउन श्रीमानको खेतीकिसानीबाट हुने आयमै निर्भरताको अवस्था थियो । एउटी छोरीको भविष्य, बढ्दो घरायसी खर्च र आर्थिक असुरक्षाले उनलाई चिन्तित बनाइरहन्थ्यो । गाउँमै केही गरेर आत्मनिर्भर बन्ने चाहना भए पनि त्यसलाई व्यवहारमा उतार्ने अवसर र आधार दुवैको अभाव थियो ।
‘आफ्नो कमाइको एक रुपैयाँ पनि थिएन,’ विगत सम्झँदै उनी भन्छिन्, ‘भविष्यको चिन्ता त धेरै थियो, तर सम्भावना भने केही थिएन । गाउँमै केही गरौं भन्ने सोच थियो, तर कसरी सुरु गर्ने भन्ने आधार थिएन ।’
त्यतिबेला गुन्द्रुक उनका लागि हरेक नेपाली गाउँघरमा झैं हिउँदका लागि साग जोगाएर राख्ने परम्परागत परिकार मात्र थियो । यसलाई व्यवसायको रूपमा हेर्ने सोच गाउँमा कसैको पनि थिएन । त्यसैले यही गुन्द्रुकले जीवनको दिशा बदल्न सक्छ भन्ने कल्पना उनले कहिल्यै गरेकी थिइनन् ।
‘हामीलाई त गुन्द्रुक बेचेर पनि उद्यमी बन्न सकिन्छ भन्ने लागेको नै थिएन,’ उनी भन्छिन्, ‘यो सपना देखाउने काम ग्रीन फाउन्डेसन नेपाल भन्ने संस्थाले ग¥यो र त्यो सपनालाई व्यवहारमा उतार्ने वातावरण हेटौंडा उपमहानगरपालिकाले बनाइदियो ।’
त्यसपछि उनको जीवनले नयाँ मोड लियो । ग्रीन फाउन्डेसनले तालिम, आवश्यक सामग्री र उद्यम सञ्चालनको आधार तयार गरिदियो भने उपमहानगरपालिकाले सीपमूलक तालिम, प्रारम्भिक आर्थिक सहयोग र व्यवसाय सञ्चालनसम्बन्धी परामर्श उपलब्ध गरायो । यही सहयोगले श्रेयाको सोच मात्रै बदलिएन, आत्मविश्वास पनि बढ्यो । त्यसपछि उनले गाउँका अन्य महिलासँग मिलेर कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योग स्थापना गरिन् ।
सुरुआत भने निकै सामान्य थियो । समूहमा आबद्ध महिलाले वार्षिक प्रति कट्ठा १५ सय रुपैयाँका दरले १५ कट्ठा जग्गा भाडामा लिए । आफ्नै पसिनाले रायोको साग खेती गरे र त्यसबाट अर्गानिक गुन्द्रुक उत्पादन सुरु भयो । तर उत्पादन गर्नुभन्दा कठिन चुनौती बजारसम्म पुग्नु थियो ।
पहिलो वर्ष उत्पादन उत्साहजनक भयो । खेतमा गरेको मेहनतले राम्रो प्रतिफल दियो, तर बजारले साथ दिएन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सरकारी अनुज्ञापत्र नहुँदा उत्पादन बिक्रीका लागि पठाउन सकिएन । लाखौं रुपैयाँ बराबरको गुन्द्रुक गोदाममै थन्कियो । लगानी डुब्ने चिन्ता र भविष्यको अन्योलले धेरै रात उनीहरूको निद्रा हरायो ।
‘कति दुःख गरेर उत्पादन ग¥यौं,’ उनी सम्झन्छिन्, ‘तर बेच्न नपाउँदा मन नै खिन्न हुन्थ्यो । मेहनत खेर जाने हो कि भन्ने डर लाग्थ्यो । तर हामीले हार मानेनौं ।’
समूहले धैर्य गुमाएन । आवश्यक प्रक्रिया पूरा गर्न निरन्तर प्रयास गरिरह्यो । अन्ततः उपमहानगरपालिकाको सहजीकरणमा उत्पादनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्र प्राप्त ग¥यो । सरकारी मान्यता प्राप्त भएपछि उत्पादनप्रति उपभोक्ता र व्यवसायीको विश्वास बढ्दै गयो । व्यापारी आफैं सम्पर्कमा आउन थाले । अर्डर बढ्न थाल्यो र गुन्द्रुकले बजारमा आफ्नो स्थान बनाउन सफल भयो ।
‘पहिले बिक्री नहोला कि भन्ने डर थियो,’ श्रेया मुस्कुराउँदै सुनाउँछिन्, ‘अहिले त मागअनुसार उत्पादन नपुग्ला कि भन्ने चिन्ता छ ।’ अहिले समूहलाई यस वर्षको मात्र होइन, आगामी वर्षका लागि प्राप्त मागसमेत पूरा गर्न हम्मेहम्मे परेको छ ।
सुरुमा ११ जना महिलाबाट सुरु भएको समूह अहिले २० सदस्यीय बनेको छ । खेती विस्तार भएर ३० कट्ठामा पुगिसकेको छ भने निकट भविष्यमा ५० कट्ठासम्म बढाउने योजना बनेको छ । उत्पादन बढेसँगै आगामी दिनमा ५० जनाभन्दा बढी स्थानीय महिलालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य पनि समूहले लिएको छ । अहिले उत्पादित अग्र्यानिक गुन्द्रुक मकवानपुर, सिन्धुली र काठमाडौंसम्म पुग्ने गरेको छ ।
व्यवसायलाई वर्षभरि निरन्तर सञ्चालन गर्न समूहले उत्पादनमा विविधीकरण पनि गरेको छ । वर्षको करिब ६ महिना अर्गानिक गुन्द्रुक उत्पादन गरिन्छ भने बाँकी समयमा विभिन्न प्रकारका अचार उत्पादन गरिन्छ । अर्को एक संस्थाको प्राविधिक सहयोगमा अचार प्रशोधन, प्याकेजिङ र बजारीकरणको काम भइरहेको छ ।
हालसम्म समूहले करिब ३०० किलोग्राम अचार उत्पादन गरिसकेको छ । प्रतिकिलोग्राम एक हजार रुपैयाँका दरले बिक्री हुने अचारबाट एक उत्पादन चक्रमै करिब तीन लाख रुपैयाँ बराबरको कारोबार हुने गरेको छ । अर्कातर्फ, अर्गानिक गुन्द्रुक प्रति किलोग्राम ८०० रुपैयाँमा बिक्री भइरहेको छ । स्थानीय बजारसँगै अन्य जिल्लाबाट पनि यसको माग निरन्तर बढिरहेको छ ।
अग्र्यानिक गुन्द्रुक नेपाली भान्साको परम्परागत स्वाद मात्र नभई पोषणयुक्त खाद्य पदार्थका रूपमा पनि परिचित छ । यसमा फाइबर, आइरन र क्याल्सियम पाइने भएकाले पाचन प्रणालीलाई सहज बनाउन, आन्द्राको स्वास्थ्य सुधार गर्न तथा शरीरलाई आवश्यक पोषक तŒव उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिन्छ ।
पछिल्ला वर्षमा रसायनमुक्त तथा अग्र्यानिक खाद्य पदार्थप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा परम्परागत उत्पादनले नयाँ बजार पाउन थालेको छ । यसले ग्रामीण महिलाको श्रमलाई प्रत्यक्ष आम्दानीसँग जोड्नुका साथै स्थानीय कृषि उत्पादनको मूल्यसमेत बढाएको छ ।
श्रेयाको जीवनमा आएको परिवर्तन आर्थिक उन्नतिमा मात्र सीमित छैन । उनको आत्मविश्वास, सामाजिक पहिचान र निर्णय गर्ने क्षमता पनि उल्लेखनीय रूपमा बढेको छ । पहिले घरखर्चका लागि श्रीमानको आम्दानीमा निर्भर रहने उनी अहिले आफ्नै कमाइबाट परिवार चलाउन, छोरीको शिक्षामा लगानी गर्न र समूहका अन्य महिलालाई नेतृत्व गर्न सक्षम भएकी छन् ।
‘घरमै बसेर केही हुँदैन भन्ने सोच बदलिएको छ,’ उनी भन्छिन्, ‘अवसर, सीप र बजार पाए गाउँका महिलाले पनि धेरै गर्न सक्छन् भन्ने प्रमाण हामीले दिएका छौं ।’
हेटौंडा उपमहानगरपालिकाको करिब एक लाख रुपैयाँ र सहकारीको ८० हजार रुपैयाँ प्रारम्भिक लगानीबाट सुरु भएको यो उद्यम आज ग्रामीण महिलाको आर्थिक रूपान्तरणको उदाहरण बनेको छ । परम्परागत रूपमा घरभित्र सीमित रहेको गुन्द्रुकलाई व्यवसायमा रूपान्तरण गर्दै महिलाले आफ्नै गाउँमा रोजगारी सिर्जना गरेका छन् । यसले स्थानीय स्रोत, सीप र परम्परागत ज्ञानलाई आर्थिक मूल्यसँग जोड्ने कामसमेत गरेको छ ।
हेटौंडामा अहिले श्रेयाजस्ता धेरै गृहिणी साना तथा घरेलु उद्यम सञ्चालन गरेर आत्मनिर्भर बन्ने बाटोमा छन् । कसैले गुन्द्रुक बनाइरहेका छन् भने कसैले अचार, धूप, दलमोठ, हस्तकला, बेसार तथा अन्य स्थानीय उत्पादनलाई व्यवसायमा रूपान्तरण गरेका छन् । रासस