नेभिगेशन
दृष्टिकोण
सन्दर्भः भानु जयन्ती

नेपाली मनहरूको भाषिक सेतुः भानुभक्तीय रामायण

आधुनिक नेपालको निर्माण र संवर्धनमा दुईवटा विशिष्ट ऐतिहासिक खम्बाहरू छन् । एउटा जसले यो धर्तीलाई राजनीतिक र प्रशासनिक आकार दियो र अर्को जसले यो धर्तीमा बस्ने बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय मनहरूलाई एउटै संवेगात्मक लयमा गाभ्यो ।
इतिहासका पाना पल्टाउँदा हामी गर्वका साथ स्वीकार गर्छौं कि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यमा छरिएका थुम्काहरूलाई तरबारको धार, सैन्य रणनीति र अद्वितीय कूटनीतिक कौशलले एउटै देशको नक्साभित्र गाँसेर भौगोलिक एकीकरणको जग बसाले । यो इतिहासको एउटा महान्, युगीन र अनिवार्य प्रस्थानबिन्दु थियो । संसारको इतिहास साक्षी छ, कैयौं साम्राज्यहरू भूगोलका आधारमा विशाल बने । रोमन साम्राज्यदेखि सोभियत संघसम्मका विशाल संरचनाहरू खडा भए । भूगोलले राष्ट्रलाई शरीर दिन्छ, तर त्यस शरीरमा प्राणवायु भर्ने र चेतनाको सञ्चार गराउने काम त भाषाले मात्र गर्छ ।
नेपालको इतिहासमा दुईवटा भूगोलको योगदान यति विशिष्ट र अनन्य छ कि यसलाई छुट्याएर आधुनिक नेपालको कल्पना नै गर्न सकिँदैन । ती हुन् गोर्खा र तनहुँ । गोर्खा शक्ति, शौर्य, साहस र सामरिक दूरदर्शिताको प्रतीक बन्यो भने तनहुँ सिर्जना, माधुर्य, अध्यात्म र भाषिक चेतनाको मुहान बन्यो । गोर्खाका राजा पृथ्वीनारायण शाहले विखण्डित अवस्थामा रहेका, आपसमा लडिरहेका साना–साना राज्यहरूलाई एकीकृत गरेर एउटा बलियो राजनीतिक किल्ला खडा गरे । यदि गोर्खाले त्यो कदम नचालेको भए दक्षिणमा बलियो बन्दै गएको ब्रिटिस साम्राज्यले यो सुन्दर भूमिलाई आफ्नो उपनिवेश बनाउने निश्चित थियो । गोर्खाले नेपालीहरूलाई एउटा साझा छाना दियो । एउटा साझा पहिचान र सार्वभौमसत्ता दियो । तर, गोर्खाले दिएको त्यो भूगोललाई आन्तरिक रूपमा जोड्न अर्को एकीकरणको खाँचो थियो । त्यो खाँचोलाई तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्त आचार्यले पूरा गरे । गोर्खाले तरबार चलाएर सीमा स्तम्भहरू गाड्यो । तनहुँले कलम चलाएर नेपाली मुटुहरूमा प्रीतको ढुकढुकी गाड्यो । गोर्खाले राज्य जित्यो । तनहुँले मन जित्यो । गोर्खाले मानिसहरूलाई एउटै कानुन र राजाको छत्रछायामा ल्यायो । तनहुँले मानिसहरूलाई एउटै भाषा र लयको छहारीमा सजायो । त्यसैले, नेपालको इतिहासमा गोर्खा र तनहुँ एकअर्काका पूरक हुन् । गोर्खाको शौर्य र तनहुँको माधुर्यको संगम नै आजको नेपाल हो ।
भानुभक्त आचार्यले नेपाली भाषालाई जनस्तरमा स्थापित गरेर र यसलाई काव्यिक उचाइ दिएर पृथ्वीनारायण शाहको भूगोललाई भावनात्मक रूपमा सधैंका लागि अमर र अक्षुण्ण बनाइदिए । तनहुँको माटोमा जन्मिएका भानुभक्त आचार्यले एउटा सामान्य, विपन्न घाँसीको कीर्ति केही राखूँ भन्ने हितोपदेश र जीवनदर्शनबाट जागृत भई नेपाली वाङ्मयमा महाक्रान्ति गरे । उनले संस्कृतको क्लिष्ट, कठिन र पहुँचबाहिर रहेको ‘अध्यात्म रामायणलाई अत्यन्तै सरल, सरस, सुमधुर र संगीतमय नेपाली भाषा र श्लोकमा रूपान्तरण गरे । भानुभक्तका श्लोकहरू केवल साहित्यिक काव्यका हरफहरू मात्र थिएनन्, ती त नेपाली मनहरूलाई जोड्ने अदृश्य संवेगात्मक तरंगहरू थिए । 
भानुभक्तले नेपाली भाषालाई पण्डितहरूको संकुचित घेरा र दरबारको बन्द कोठाबाट निकालेर हलो जोत्ने किसान, मेलापात गर्ने खेताला र वनजंगल चाहर्ने गोठालाको ओठसम्म पु¥याए । यो नै भाषाको वास्तविक लोकतान्त्रिकीकरण, जनबोलीको प्रतिष्ठापन र एकात्मक क्रान्ति थियो । यसरी भानुभक्त भाषिक एकीकरणका निर्विवाद वादशाहका रूपमा स्थापित भए ।
प्रत्येक वर्षको असार २९ गते जब हामी आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउँछौं, तब यो केवल एउटा कर्मकाण्डी उत्सव, कविको साधारण सम्झनामात्र हुनुहुँदैन । यो त नेपालको अस्तित्व, यसको ऐतिहासिक भाषिक जग र राष्ट्रिय अखण्डताको गम्भीर, निर्मम र वस्तुनिष्ठ समीक्षा गर्ने दिन हो । भानु जयन्ती मनाइरहँदा यदि हामीले भानुभक्तको भाषिक एकीकरणको दर्शनलाई उचित, न्यायोचित र भावनात्मक रूपमा उच्च मूल्यांकन गर्न सकेनौं भने, त्यो हाम्रा पुर्खाहरू, हाम्रो इतिहास र यो पवित्र माटोप्रतिको सबैभन्दा ठूलो अन्याय हुनेछ ।
भानुभक्तले नेपाली भाषाको जुन विशाल सांस्कृतिक साम्राज्य खडा गरे, त्यसैको बलियो जगमा आज हामी विश्वको जुनसुकै कुनामा उभिएर पनि गर्वका साथ आफूलाई ‘नेपाली’ भन्न पाइरहेका छौं । तर, इतिहासको यो विराट सत्यलाई भुलेर जब हामी आधुनिकताको नाममा वा संकुचित राजनीतिक स्वार्थको नाममा भाषिक संकीर्णतामा फस्छौं, तब राष्ट्रियताको जग हल्लिन थाल्छ । असार २९ ले प्रत्येक नेपालीको मनमा यो चेतना भर्नैपर्छ । हाम्रो सिमानाको रक्षा केवल सिमानामा तैनाथ सेना र हतियारले मात्र होइन, हाम्रो भाषा, साहित्य र संस्कृतिप्रतिको अगाध प्रेम र रक्षाले पनि गर्छ ।
तर आज भानुभक्तको योगदान र नेपाली भाषाको महŒवलाई संकुचित, पूर्वाग्रही र संकीर्ण चश्माले हेर्ने दुष्प्रयास भइरहेको छ । कतिपय अतिवादी र विखण्डनकारी चिन्तनहरूले नेपाली भाषालाई अन्य रैथाने मातृभाषाहरूको शोषक वा प्रभुत्ववादी भाषाका रूपमा गलत ढंगले चित्रित गर्ने कुचेष्टा गरिरहेका छन् । यो अत्यन्तै घातक, आत्मघाती र भ्रामक दृष्टिकोण हो । हामीले वस्तुनिष्ठ भएर बुझ्नैपर्छ, भानुभक्तले कुनै राजकीय शक्ति, सेनाको डर, शासकको आदेश वा सरकारी बजेटको बलमा नेपाली भाषा फैलाएका थिएनन् । यदि आज हामीले भानुभक्तको भाषिक एकीकरणको यो गौरवमय जगलाई कमजोर बनायौं र यसको ऐतिहासिक अवमूल्यन ग¥यौं भने हाम्रो राष्ट्रियता र भौगोलिक अक्षुण्णता गम्भीर संकटको चक्रव्यूहमा फस्ने निश्चित छ । 
यदि भाषाकै कारण मनहरू विभाजित भएर एक क्षेत्रको नेपालीले अर्को क्षेत्रको नेपालीको भाषा बुझ्न छाड्यो भने भूगोलको सिमानालाई मात्र कृत्रिम रूपमा अक्षुण्ण राख्न असम्भव प्रायः हुन्छ । आज नेपाली भाषाको स्थानमा अंग्रेजी र अन्य विदेशी भाषाहरूको जुन अन्धाधुन्ध, गैरजिम्मेवार र फेसनदार आक्रमण भइरहेको छ, त्यसले हाम्रो मौलिक चिन्तन, मौलिक दर्शन र संस्कृतिलाई भित्रभित्रै खाँदैछ । भौगोलिक सीमानाको रक्षा र भाषिक अक्षुण्णता एकअर्कासँग अभिन्न रूपमा जोडिएका छन् । एउटाको बलियो जगबिना अर्को सुरक्षित हुन सक्दैन ।
नेपालमा बोलिने मैथिली, भोजपुरी, नेवारी, तामाङ, गुरुङ, लिम्बू, राई, थारु, शेर्पालगायतका सम्पूर्ण मातृभाषाहरू हाम्रा अमूल्य राष्ट्रिय सम्पत्ति हुन् । जसको संरक्षण र संवर्धन राज्यको दायित्व हो । तर, भानुभक्तको भाषिक एकीकरणको दर्शनले यी स्थानीय भाषाहरूलाई मास्ने वा थिच्ने कुरा कहिल्यै गरेन, बरु यी सबै विविधताका बीचमा संवाद गराउने एउटा बलियो, साझा र सुमधुर सम्पर्क सेतुको निर्माण ग¥यो ।
नेपाली भाषाले नेपालका सबै जातजाति र भाषाभाषीलाई एउटै मालामा गाँस्ने बलियो धागोको काम गरेको छ । यदि धागो नै चुँडियो भने फूलहरू जतिसुकै सुन्दर र सुगन्धित भए पनि मालाको अस्तित्व समाप्त हुन्छ । अमेरिका, युरोप, खाडी मुलुक वा अस्ट्रेलियामा बस्ने नेपालीहरू जब आपसमा भेट्छन्, उनीहरू भानुभक्तकै भाषामा ‘नमस्ते’ भन्दै सुख–दुःख साट्छन् र अपनत्वको महसुस गर्छन् । यो भाषिक सामथ्र्य नै हाम्रो वैश्विक पहिचान र अस्तित्वको संवाहक हो ।
तर, विडम्बना ! आज हाम्रा आधुनिक विद्यालयहरूमा, हाम्रा सम्भ्रान्त भनिने घरहरूमा र हाम्रा नयाँ युवापुस्तामा नेपाली भाषा बोल्न हिचकिचाउने, आफ्नै व्याकरण बिगार्ने तर विदेशी भाषा बोल्दा ठूलो पल्टिने आत्महीनताको मानसिक रोग सल्किएको छ । यो आत्मघाती प्रवृत्तिले हाम्रो राष्ट्रिय पहिचानलाई भित्रभित्रै धमिराले जस्तै खोक्रो बनाउँदैछ । 
भानुभक्तले नेपाली भाषालाई जुन माधुर्य, सरलता र ओज दिए, त्यसले नेपालीहरूको स्वभावलाई पनि कोमल, सहिष्णु, शान्त र सहअस्तित्ववादी बनाउन ठूलो मद्दत ग¥यो । रामायणको लयमा नेपालीहरूले इतिहासका कठिनतम कालखण्डहरू पार गरेका छन् । भाषाले भूगोलको भौतिक दूरीलाई निमेषभरमै मेटाइदिन्छ । दार्चुलाको कुनामा बसेको नेपाली र ताप्लेजुङको ओलाङचुङगोलामा बसेको नेपाली जब एउटै भाषामा देशको राजनीतिक र सामाजिक गफ गर्छन्, तब राष्ट्रियताको भूगोल स्वतः बलियो, अजेय र जीवन्त बन्दै जान्छ । भाषाले मानिसहरूलाई अलग–अलग टापु हुनबाट बचायो र एउटा विशाल भावनात्मक महासागरको हिस्सा बनायो ।
भाषिक एकीकरणका महान् बादशाह, शब्दका अलौकिक रचयिता, लोकबोलीका संवाहक र नेपाली मनका शाश्वत सारथि आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको यस पावन, ऐतिहासिक र चेतनादायी सन्दर्भमा, नेपालका यी अमर वरदपुत्रप्रति कोटी–कोटी नमन, भावपूर्ण श्रद्धासुमन र हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
भानुभक्तले सुम्पिएको यो भाषिक नासो र समृद्ध सांस्कृतिक सम्पदालाई अक्षुण्ण राख्दै, नेपालमा बोलिने सम्पूर्ण रैथाने मातृभाषाहरूको समान आदर र संरक्षण गर्दै, साझा सम्पर्क भाषा नेपालीलाई अझ बढी परिष्कृत, आधुनिक र समृद्ध बनाउने संकल्प लिनु नै आजको सच्चा मूल्यबोध र भानुप्रतिको सच्चा सम्मान हो । माटो र भाषाको यो पवित्र, ऐतिहासिक र भावनात्मक सङ्गम सधैं अक्षुण्ण रहोस् । नेपाली मनहरू संसारको जुनसुकै कुनामा रहे पनि एउटै लय र एउटै ढुकढुकीमा धड्किरहून् । यही नै अमर भानुप्रतिको सच्चा श्रद्धाञ्जली र अक्षुण्ण नेपालको महामन्त्र हो । 
(लेखक ढकाल नेपालकै पहिलो प्राकृतिक चिकित्सा विज्ञान कलेज रजहरका प्राचार्य हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्