नेभिगेशन
साहित्य
पठन-संस्कृति

समाज लोभ्याउने फिनल्याण्डका पुस्तकालय

फिनल्यान्डमा पुस्तकालयको मूल्यांकन अब उनीहरूले कति पुस्तक उधारो दिन्छन् भन्ने आधारमा मात्र होइन, समाजलाई कसरी चलायमान र समावेशी बनाउँछन् भन्ने आधारमा पनि हुन थालेको छ । हेलसिन्कीको चिसो जनवरी बिहान । सहरको केन्द्रीय पुस्तकालय ऊडीबाहिर करिब २० जना मानिस ढोका खुल्ने प्रतीक्षामा उभिएका छन् ।

‘बिहान ८ बजे ढोका खुल्नेबित्तिकै मानिसहरू आफ्नो मनपर्ने ठाउँतर्फ लगभग दौडिँदै भित्र छिर्छन् । त्यो देख्दा मेरा आँखामा आँसु आउँछ,’ हेलसिन्कीको पुस्तकालय सेवा प्रमुख कात्री भान्ट्टिनेन भन्छिन्, ‘यसले पुस्तकालय साँच्चिकै जनताको भएको अनुभूति दिन्छ ।’

दिउँसोसम्म भवन यति भरिभराउ हुन्छ कि आगन्तुकहरू खाली सिट खोज्दै तलमाथि घुमिरहेका हुन्छन् । विशाल झ्यालछेउमा विद्यार्थीहरू ल्यापटपमा काम गरिरहेका छन् । आमाबाबुहरू साना बालबालिकासँग पुस्तक पढिरहेका छन् । कतै मानिसहरू गोलाकार बसेर ऊनी मोजा बुन्दै छन्, अनुभवीहरूले नयाँ सिक्नेहरूलाई सिकाइरहेका छन् । एउटा संगीत कक्षमा मध्यम उमेरका व्यक्ति आफ्नो पहिलो स्याक्सोफोन धुन रेकर्ड गर्दैछन् । क्याफेमा एक वृद्ध महिलाले दुई विदेशी किशोरीलाई फिनिस भाषा सिकाइरहेकी छन् । प्रवेशद्वार नजिकै एक किशोरले पुस्तकालयबाट उधारो लिएको बास्केटबल उठाएर साथीहरूसँग खेल्न निस्कन्छ ।

सन् २०१९ मा विश्वकै उत्कृष्ट नयाँ पुस्तकालय घोषित ऊडी आज फस्टाइरहेको छ । यो दृश्य विश्वका धेरै देशहरूमा सार्वजनिक पुस्तकालयहरू विस्तारै बन्द भइरहेका अवस्थाको ठीक विपरीत हो । सन् २००८ देखि २०१९ सम्म अमेरिकामा ७६६ सार्वजनिक पुस्तकालय बन्द भए । बेलायतमा २०१६ देखि २०२३ बीच १८० भन्दा बढी पुस्तकालय बन्द भए वा स्वयंसेवी समूहलाई हस्तान्तरण गरिए । तर फिनल्यान्डले भने पुस्तकालयहरू विस्तार गरिरहेको छ र तिनलाई सार्वजनिक सेवाका बहुआयामिक केन्द्रमा रूपान्तरण गरिरहेको छ ।

पुस्तकभन्दा धेरै कुरा
५६ लाख जनसंख्या भएको फिनल्यान्डमा ७०० भन्दा बढी पुस्तकालय छन् । यहाँ पुस्तक मात्र होइन, पोडकास्ट स्टुडियो, थ्रीडी प्रिन्टर, टेनिस र्याकेट, पौडी पोखरी पास लगायतका सामग्री पनि उपलब्ध छन् । भान्ट्टिनेनका अनुसार हेलसिन्कीका पुस्तकालयमा पुस्तकपछि सबैभन्दा धेरै प्रयोग हुने वस्तु भनेको स्थान (ठाउँ) हो । मानिसहरूले निःशुल्क रूपमा बैठक, अध्ययन, राजनीतिक छलफल वा संगीत अभ्यासका लागि कोठा बुक गर्न सक्छन् । चलायमान सामग्रीमध्ये बोर्ड गेम र भिडियो गेम सबैभन्दा लोकप्रिय छन् । उनका अनुसार यो साझा प्रयोगको संस्कृति फिनल्यान्डको ग्रामीण इतिहासबाट आएको हो, जहाँ किसानहरूले खेतीपातीका उपकरणहरू साझा गर्थे ।

‘सहरमा धेरै मानिस साना घरमा बस्छन् । कसैलाई वर्षमा एकपटक मात्र सिलाइ मेसिन चाहिन सक्छ,’ उनी भन्छिन्, ‘त्यसो हुँदा किन किन्ने? करबाट सञ्चालित सेवामार्फत निःशुल्क प्रयोग गर्न पाइन्छ भने मानिसहरू पैसा खर्च गर्न चाहँदैनन् ।’

हेलसिन्कीबाट ६०० किलोमिटर उत्तरमा रहेको औलु सहरको सारी पुस्तकालयमा पनि यस्तै दृश्य देखिन्छ । त्यहाँ एक अवकाशप्राप्त शिक्षक गायन समूहका लागि संगीत पाना छापिरहेका छन् । एक युवक आफ्नो जिन्स छोट्याउन सिलाइ मेसिन प्रयोग गर्न आएको छ । नजिकै एक छात्राले साथीको जन्मदिनका लागि डिजाइन गरेको टी–सर्ट तयार गरिरहेकी छिन् । अर्को कुनामा थ्रीडी प्रिन्टर चलिरहेको छ । सरकारी तथ्यांकअनुसार ५५ प्रतिशत फिनिस नागरिक कम्तीमा महिनामा एकपटक पुस्तकालय जान्छन् । औसतमा एक फिनिस नागरिकले वर्षमा ९.१ पटक पुस्तकालय प्रयोग गर्छ । तुलना गर्दा बेलायतमा यो संख्या २.५, अमेरिकामा २.४ र युरोपेली संघको औसत ३.५ पटक मात्र छ ।

प्रयोग घट्यो भन्दैमा सेवा काट्नुहुँदैन
औलु विश्वविद्यालयकी सूचना अध्ययन प्राध्यापक नूरा हिर्भोनेनका अनुसार कम प्रयोग भएको बहानामा सेवा कटौती गर्दा समस्या झन् बढ्न सक्छ ।

‘पहिले पुस्तकालय खुला रहने समय घटाइन्छ । त्यसपछि आगन्तुक कम हुन्छन् । अनि कम आगन्तुक भएको कारण देखाएर थप कटौती वा बन्द गरिन्छ,’ उनी भन्छिन् । उनका अनुसार संस्थाहरूले ‘किन प्रयोग कम भयो?’ भन्ने प्रश्न सोध्नुपर्छ । सेवा उपयोगी नभएको हो, पहुँच नभएको हो, वा मानिसहरूलाई जानकारी नभएको हो?

‘सेवाको मूल्य प्रयोगको संख्याले मात्र निर्धारण गर्दैन । त्यसमा उपलब्धता र दृश्यता पनि महत्त्वपूर्ण हुन्छ,’ हिर्भोनेन भन्छिन् ।

लोकतन्त्रका आधारस्तम्भ
फिनल्यान्डमा पुस्तकालयको महत्व उपकरण वा बैठक कोठाभन्दा धेरै ठूलो छ । प्राध्यापक, बेरोजगार, धनी, गरिब वा घरबारविहीन—सबैले एउटै स्थान प्रयोग गर्छन् । यसैले पुस्तकालयलाई फिनल्यान्डको लोकतान्त्रिक पूर्वाधारको महŒवपूर्ण हिस्सा मानिन्छ ।

‘यहाँ आय वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि सबैले ज्ञानमा पहुँच पाउँछन्, अरूसँग भेटघाट गर्न सक्छन् र सार्वजनिक बहसमा सहभागी हुन सक्छन्,’ हिर्भोनेन भन्छिन् । फिनल्यान्डको पुस्तकालय ऐनअनुसार सार्वजनिक पुस्तकालयले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र सक्रिय नागरिकता प्रवर्धन गर्नुपर्छ ।

यो प्रतिबद्धताको प्रमाण बजेटमा पनि देखिन्छ । सन् २०२५ मा फिनल्यान्डले सार्वजनिक पुस्तकालयमा ३७१ मिलियन युरो खर्च ग¥यो, अर्थात् प्रति व्यक्ति ६५.७८ युरो । बेलायतमा प्रति व्यक्ति करिब १० पाउन्ड मात्र खर्च हुन्छ भने अमेरिकामा प्रति व्यक्ति करिब ४५ डलर खर्च हुन्छ ।

डिजिटल युगका सहायक
फिनल्यान्डका धेरै पुस्तकालयहरू राष्ट्रिय डिजिटल सहायता कार्यक्रमका साझेदार हुन् । यहाँ पुस्तकालयकर्मीहरूले नागरिकलाई कर बुझाउने, बैंक खाता चलाउने, पेन्सन आवेदन गर्ने, डिजिटल स्वास्थ्य अभिलेख हेर्ने, बायोडाटा (सीभी) बनाउने र रोजगारी आवेदन दिने काममा समेत सहयोग गर्छन् । औलु क्षेत्रीय पुस्तकालय सेवाकी प्रबन्धक मेर्भी भारा भन्छिन्, ‘यसले समावेशिता बढाउँछ । पुस्तकालय सबैका लागि साझा बैठक कोठाजस्तै हो ।’

विश्वभर गरिएका ३८ वटा अध्ययनको विश्लेषणले सार्वजनिक पुस्तकालयमा लगानी गरिएको प्रत्येक एक डलरले तीनदेखि पाँच डलरसम्मको सामाजिक तथा आर्थिक प्रतिफल दिने देखाएको छ । यसले प्रत्यक्ष लाभ—जस्तै वस्तु किन्नु नपर्ने बचत र रोजगारी खोज्न सहयोग—मात्र होइन, साक्षरता, डिजिटल सीप, रोजगारी क्षमता र सामुदायिक कल्याणमा पनि योगदान पु¥याउँछ ।

विश्वासको केन्द्र
फिनल्यान्डका वार्षिक मूल्यांकनमा पुस्तकालयहरू निरन्तर सबैभन्दा सम्मानित सार्वजनिक सेवामध्ये पर्छन् । सन् २०२३ को प्रतिवेदनमा फिनिस नागरिकहरूले पुस्तकालयलाई भरपर्दो सूचना स्रोतका रूपमा वर्णन गरेका थिए । टेक्सास विश्वविद्यालयका पुस्तकालय विज्ञ आर. डेभिड ल्यान्केस भन्छन्, ‘सरकारी संस्थाप्रतिको विश्वास धेरै देशमा घट्दै गएको छ । तर पुस्तकालय र पुस्तकालयकर्मीप्रतिको विश्वास अझै अत्यन्त उच्च छ ।’

उनका अनुसार पुस्तकालय यस्ता दुर्लभ सार्वजनिक स्थान हुन् जहाँ मानिसहरूलाई केही किन्ने वा खर्च गर्ने अपेक्षा गरिँदैन । ‘तपाईं नगरपालिकामा गएर बसिरहन सक्नुहुन्न । प्रहरी कार्यालयमा गएर समय बिताउन सक्नुहुन्न । तर पुस्तकालयमा गएर बस्न सक्नुहुन्छ,’ उनी भन्छन् ।

एउटा कार्डले दिएको अपनत्व
फिनल्यान्डकी सांसद नासिमा राजम्यार आठ वर्षको उमेरमा अफगानिस्तानबाट शरणार्थीका रूपमा फिनल्यान्ड पुगेकी थिइन् । उनी अझै आफ्नो पहिलो पुस्तकालय कार्ड पाएको दिन सम्झन्छिन् । ‘त्यो फिनल्यान्डमा मेरो नाममा भएको पहिलो वस्तु थियो,’ उनी भन्छिन्, ‘मैले आफ्नो नाम लेखेर कार्ड पाएपछि अचानक मलाई यो देश मेरो पनि हो भन्ने महसुस भयो ।’

बाल्यकालमा उनी विद्यालयपछि स्थानीय पुस्तकालयमा पढ्थिन् । उनका अभिभावकले फिनिस भाषा बोल्न सक्दैनथे, त्यसैले पुस्तकालयकर्मीहरूले गृहकार्यमा सहयोग गर्थे । ‘त्यो स्थानीय पुस्तकालय समानताको प्रतीक थियो,’ उनी सम्झन्छिन्, ‘एउटै भवनभित्र समेटिएको सम्पूर्ण फिनिस कल्याणकारी प्रणाली ।’

आज उनी आफ्ना साना छोराछोरीले पुस्तकालयबाट पुस्तक छनोट गरिरहेको दृश्य हेर्दै भन्छिन्, ‘यसले बच्चाहरूलाई यहाँ उनीहरूको पनि स्थान छ भन्ने अनुभूति दिन्छ । त्यो अत्यन्त महत्त्वपूर्ण कुरा हो ।’ फिनल्यान्डको अनुभवले देखाउँछ—पुस्तकालय केवल पुस्तक राख्ने ठाउँ होइन, समाजलाई जोड्ने, अवसर विस्तार गर्ने र लोकतन्त्रलाई जीवन्त बनाउने सार्वजनिक संस्था पनि हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
जाऊ, संसार बदल

जाऊ, संसार बदल

ईश्वरको मृत्यु

ईश्वरको मृत्यु