नेभिगेशन
साहित्य
पठन संस्कृति

किशोरकिशोरीहरू पठनतर्फ फर्किए

तनाव र चिन्ता कम गर्न अनि सामाजिक सञ्जालबाट केही समय टाढा रहनका लागि किशोरकिशोरीहरूले पुस्तकलाई एक ‘कल्याणकारी माध्यम’का रूपमा अपनाउन थालेका छन् । यसैकारण उनीहरू पुनः पुस्तक पढ्ने बानीतर्फ फर्किएका छन् ।
लामो समयसम्म पढ्ने बानीमा ह्रास आएपछि, बेलायतका १ लाख २५ हजार बालबालिकामाझ गरिएको एउटा सर्वेक्षणले ८ देखि १८ वर्ष उमेर समूहका सबै केटाकेटीमा आत्मसन्तुष्टिका लागि पढ्ने बानी बढेको देखाएको छ । विगत एक दशकमा पहिलो पटक सबै समूहका बालबालिकामा एकै वर्ष यसरी पढ्ने रुचि बढेको पाइएको हो ।
सन् २००५ मा ‘नेसनल लिट्रेसी ट्रस्ट’ ले यो सर्वेक्षण सुरु गरेयता किशोरकिशोरीमा पढ्ने आनन्दको यो वार्षिक वृद्धि अहिलेसम्मकै ठूलो हो । ट्रस्टको अनुसन्धान अनुसार, सन् २०२५ मा ३३ प्रतिशत बालबालिकाले फुर्सदको समयमा पढ्न रुचाउने गरेकोमा अहिले त्यो बढेर ३६ प्रतिशत पुगेको छ । विशेष गरी १६ देखि १८ वर्षका किशोरकिशोरीमा यो वृद्धि बढी देखिएको छ, जहाँ यो संख्या ४१ प्रतिशतबाट बढेर ४९ प्रतिशत पुगेको छ ।
हरेक उमेर समूहमा दैनिक रूपमा पढ्ने बानी पनि बढेको छ । सबैभन्दा ठूलो सुधार १६ देखि १८ वर्षका किशोरकिशोरीमा देखिएको छ, जहाँ दैनिक पढ्नेहरूको संख्या गत वर्षको १८ प्रतिशतबाट बढेर अहिले २१ प्रतिशत पुगेको छ ।
उक्त संस्थाका अनुसार ११ देखि १६ वर्षका बालिकाहरूले मनलाई शान्त बनाउन, नयाँ शब्दहरू सिक्न र एउटा छुट्टै संसारमा हराउनका लागि पुस्तक पढ्ने गरेको बताएका छन् । अर्कातर्फ, केटाहरूले भने नयाँ कुराहरू सिक्न, नयाँ शब्दहरू थाहा पाउन र मनोरञ्जनका लागि पढ्ने गरेको उल्लेख गरे ।
नेसनल लिट्रेसी ट्रस्टका मुख्य कार्यकारी जोनाथन डगलस भन्छन्, ‘अहिलेका युवाहरूमा चिन्ता कम गर्ने र मानसिक स्वास्थ्यलाई कसरी राम्रो बनाउने भन्नेबारे निकै ठूलो चेतना छ । उनीहरूले पढाइलाई स्वस्थ रहने र आत्म–अनुशासन कायम राख्ने राम्रो माध्यमका रूपमा बुझ्न थालेका छन् । अनलाइनमा बिताउने समय र आफ्नो मानसिक स्वास्थ्यलाई कसरी सन्तुलनमा राख्ने भन्ने कुरामा पनि उनीहरू उत्तिकै सचेत छन् ।’
गत महिना ‘अफकम’ले सार्वजनिक गरेको एउटा प्रतिवेदन अनुसार, इन्टरनेट चलाउने १३ देखि १७ वर्षका दुई तिहाइ (६५ प्रतिशत) किशोरकिशोरीले अनलाइनमा बिताउने समय व्यवस्थापन गर्न विभिन्न उपायहरू अपनाएका छन् । यसमा स्क्रिनभन्दा टाढा रहने समय तोक्ने (२८ प्रतिशत), ओछ्यानमा मोबाइल वा अन्य उपकरण नलैजाने (२१ प्रतिशत) र सामाजिक सञ्जालबाट केही समय विश्राम लिने (२१ प्रतिशत) रहेका छन् ।
युवाहरू भेला भएर आफ्ना फोनहरू बन्द गरी किताब पढ्ने सामुदायिक भेटघाटहरू पनि निकै लोकप्रिय बन्दै गएका छन् । ब्रिस्टलको ‘द अफलाइन क्लब’मा अपरिचित मानिसहरू पब वा क्याफेमा भेट्छन् र एक घण्टाका लागि आफ्ना फोनहरू एउटा सुरक्षित बक्समा थन्क्याउँछन् । क्लबका सञ्चालकहरूमध्येका एक बेन हेनरीका अनुसार त्यहाँ आउने सबैभन्दा कम उमेरका सदस्य २० वर्षका छन् र विद्यार्थीहरूमाझ यो क्लब निकै लोकप्रिय हुँदै गइरहेको छ ।
उनले भने, ‘धेरै मानिसका लागि अरूको वरपर बसेर शान्त वातावरणमा पढ्दा मानसिक स्वास्थ्य राम्रो हुनुका साथै एउटा सुन्दर सामुदायिक भावनाको पनि विकास हुन्छ ।’
‘इन्टरनेट म्याटर्स’ नामक सामाजिक संस्थाका अनुसार बालबालिकाहरूले हप्तामा औसत २३ घण्टा अनलाइनमा बिताउने गर्छन् । तर, डगलसका अनुसार किताब र सामाजिक सञ्जाल एकअर्काका विरोधी मात्र भने होइनन् । एउटा सर्वेक्षणले १६ देखि २५ वर्षका ५१ प्रतिशत युवाहरूले टिकटक एपमार्फत नयाँ पुस्तकहरू फेला पार्ने गरेको देखाएको छ । अहिले टिकटक युवा पाठकहरूका लागि नयाँ पुस्तक खोज्ने सबैभन्दा ठूलो माध्यम बनेको छ र यो सरकारको ‘राष्ट्रिय पठन वर्ष’को एक साझेदार पनि हो ।
गत अक्टोबरमा ‘द सन्डे टाइम्स’ले सबै उमेरका मानिसमा पढ्ने रुचिलाई जगाउनका लागि ‘ग्रेट ब्रिटेन रिडिङ’ अभियान सुरु गरेको थियो ।
ज्याकलिन विल्सन, जेके रोलिङ र इयान ¥यांकिनजस्ता चर्चित लेखकहरूको समर्थन रहेको यस अभियानले ‘बुकबैंक्स’ नामक संस्थाका लागि ५० हजार पाउन्ड चन्दा संकलन गरिसकेको छ । साथै, ५०० जना स्वयंसेवकहरूले युवाहरूमा पढ्ने बानीको विकास गर्ने उद्देश्य बोकेको ‘कोराम बीनस्टक’ नामक संस्थालाई आफ्नो समय दिने प्रतिबद्धता जनाएका छन् ।
डगलसका अनुसार यस अभियान र राष्ट्रिय पठन वर्षको ‘गो अल इन’ कार्यक्रमले आनन्द र सन्तुष्टिका लागि पढ्नुका फाइदाहरूबारे व्यापक जनचेतना जगाएको छ ।
सन् २००९ मा ससेक्स विश्वविद्यालयले गरेको एउटा अध्ययनले मात्र ६ मिनेट पुस्तक पढ्दा पनि तनाव ६८ प्रतिशतसम्म कम हुने देखाएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार संगीत सुन्नु, चिया वा कफी पिउनु वा सयरका लागि निस्कनुभन्दा पुस्तक पढ्नु तनाव कम गर्न बढी प्रभावकारी पाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
ईश्वरको मृत्यु

ईश्वरको मृत्यु

निएन्डरथलले पनि चित्र बनाएका थिए

निएन्डरथलले पनि चित्र बनाएका थिए