नेभिगेशन
उपत्यका

आन्दोलनले क्षति पुर्‍यायो, तर सम्हालिनुको विकल्प छैन

काठमाडौं, २८ भदौ - निजी क्षेत्रले जेनजी आन्दोलनबाट पुगेको क्षतिको अवस्थाबाट माथि उठेर थप लगानी र रोजगारी सिर्जनामा लाग्नुपर्ने बताएको छ । उद्योगी व्यवसायीहरूले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै भ्रष्टाचार र बेथितिको विरुद्धमा भएको आन्दोलनबाट उद्योग व्यवसायमा ठूलो क्षति पुगे पनि त्यसलाई सम्हाल्दै अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी पुस्ताको आन्दोलनका कारण निजी क्षेत्रलाई ठूलो क्षति पुगेको बताउँदै, सम्हालिएर पुनर्निर्माणमा लाग्न सबैलाई आह्वान गरेका छन् । सुशासन र भ्रष्टाचारविरुद्धको प्रदर्शनका क्रममा देशभर धेरै उद्योग, व्यवसाय र निजी आवासमाथि भएको तोडफोड, लुटपाट र आगजनीबाट ठूलो नोक्सानी पुगेको उल्लेख गर्दै ढकालले सम्हालिएर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् । हजारौंको रोजगारी संकटमा परेको, अर्बौंको संरचना खरानी भएको र लगानी धरापमा परेको उनले उल्लेख गरेका छन् ।

‘दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी खेपेर बल्लतल्ल उठेका हामी हालैको आर्थिक मन्दीबाट तंग्रिने प्रयासमा थियौं, अस्तिको प्रदर्शनका क्रममा धेरै सार्वजनिक तथा निजी सम्पत्तिको क्षति भएको छ । तथापि, फेरि सम्हालिएर अघि बढ्नुबाहेक हामीसँग अर्काे विकल्प छैन’ उनले भनेका छन् ।

‘साथीहरू, हामी नआत्तिऔं, नथाकौं, आजैबाट क्षतिग्रस्त उद्योग व्यवसायको पुनर्निर्माणमा होमिऔं । थप लगानी गरी रोजगारी सिर्जनामा लागौं । हरेक पटक आउने यस्ता चुनौतीहरूलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरका रूपमा लिऔं र अघि बढौं’ उनले भनेका छन् ।

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इञ्जिन हो, उद्यमशीलता भनेको रोजगारी हो, राज्यले प्राप्त गर्ने राजस्वको स्रोत हो र समृद्धिको वाहक हो भन्ने कुरा नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको पनि आफ्नो पोस्टमा उल्लेख गरेका छन् ।

मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशतभन्दा धेरै योगदान रहेको र ८६ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्रबिना मुलुकको समृद्धि सम्भव नभएको पनि ढकालले उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘निजी क्षेत्र पनि मुलुक बनाउने अभियानमा सक्रिय छ र निजी क्षेत्रसँग होस्टेमा हैसे नगरी हामीले अपेक्षा गरेको विकास, समृद्धि र नयाँ नेपाल निर्माण गर्न सकिँदैन ।’

‘उद्यमी व्यवसायी साथीहरू, अहिलेको कठिन परिस्थितिमा मनोबल कमजोर पार्ने, थाक्ने वा हार्ने सुविधा हामीलाई उपलब्ध छैन । जब मुलुकको समृद्धि नै हाम्रो हात र कर्ममा छ भने हामीले नै बनाउनु छ । देश र जेनजीहरूमा पनि आशा हामीले नै भर्नु छ,’ उनले भने, ‘भावी पुस्ताले रोजगारी खोज्दै खाडी र मलेसियाको यात्रा तय गर्न नपरोस्, उनीहरूको जीवनमा यस्तो कठिन समयको महसुस आगामी दिनमा कहिल्यै नहोस् ।’

आगोले इँटा र काठ जलाए पनि तपाईं हामीभित्रको हौसला र आत्मबल बाँकी रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले उद्योगी व्यवसायीहरूको मन मस्तिष्क, श्रमको मूल्य र आत्मबल कहिल्यै नजल्ने बताएका छन् । उनले निजी क्षेत्रबिना समृद्ध नेपाल सम्भव नभएको भन्दै जेनजी पुस्ताको साहसले नयाँ र उज्यालो बिहानी ल्याउने विश्वास पनि व्यक्त गरेका छन् ।

‘विचलित भएका छैनौं’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगी शेखर गोल्छाले जेनजी समूहद्वारा प्रदर्शनका क्रममा केही व्यवसायीमाथि विभत्स आक्रमण भएको र त्यसबाट आफ्नो परिवार पनि प्रभावित भए पनि आफू निराश र विचलित नभएको बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै गोल्छाले भने, ‘केही व्यवसायी माथि भएको विभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो, तर म र मेरो परिवार निरास र विचलित भएको छैन ।’

उनले देशमा भएका सरकारात्मक परिवर्तनहरू र नयाँ पुस्ताले देखेको नेपालको सपना पुरा होस् भन्ने मेरो कामना पनि गरेका छन् । उनले आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढ्ने र लोकतन्त्र अझै सुदृढ हुनेमाविश्वस्त रहेको पनि बताएका छन् । 

उद्योगी गोल्छाले अहिले जे जस्तो क्षति भएपछि लोकतन्त्र अझै सुदृढ हुने कामनासहित आफूहरू अझै सशक्त रुपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले अन्धकार पछि आउने उज्यालोले हामी सबैलाई सद्भाव र एकता कायम गर्न थप बल पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

गोल्छाले यो वक्तव्यमार्फत आफ्नो दृढ निष्ठा र भविष्यप्रति सकारात्मक दृष्टिकोण राख्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास पनि व्यक्त गरेका छन् । ‘अझ बलियो भएर उदाउनेछौं’ चौधरी समूह (सीजी)का प्रबन्ध निर्देशक निर्वाण चौधरीले जेनजी प्रदर्शन आफूहरूका लागि इतिहासमै सबैभन्दा पीडादायी भएको बताएका छन् । समाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै उनले युवाहरूले जवाफदेहिता र परिवर्तनको माग अघि सारेर सुरु गरेको आन्दोलन बाह्य शक्ति र अराजक समूहले हिंसा र तोडमोडतर्फ मोडिदिएको उल्लेख गरेका छन् ।

उनले शान्तिपूर्ण रूपमा देशका लागि उठेको आवाज हिंसा, लुटपाट र विनाशमा परिणत भएको बताउँदै आफूहरूले अकल्पनीय क्रुृरता देखेको बताए । उनले लेखेका छन्, ‘व्यक्तिगतरूपमा लक्षित गरियो, घरमा आगजनी भयो, कारखाना तथा कार्यालयमा क्षति पुर्‍याइयो र शोरूमहरू लुटिए । दशकौंको परिश्रम, त्याग र प्रतिबद्धता केही घण्टामै खरानीमा परिणत भएको पीडा हामीले भोग्यौं ।’

आगो र अराजकताबीच पनि आफ्नो नेतृत्ववर्ग, प्रबन्धक र कर्मचारीले आफ्नै सुरक्षाको प्रवाह नगरी सम्पत्तिहरू जोगाउन, ग्राहकलाई प्रतिबद्धता पूरा गर्न लागेको बताए । उनले लेखेका छन्, ‘आगो सल्कँदा पनि हाम्रो टोली पराजित भएन, तपाईंहरू नै कारण हो, जसले गर्दा विनाशपछि पनि ग्राहकलाई निराश बनाइएन, तपाईंहरूकै कारण आशा बाँकी छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्