नेभिगेशन
साहित्य
स्मरण

जाऊ, संसार बदल

म एउटा सानो सरकारी कर्मचारीको सबैभन्दा कान्छो छोरो थिएँ । हामी पाँच दाजुभाइ थियौं । मेरो बाल्यकालको सबैभन्दा पहिलो सम्झना मेरो बुबाको छ । त्यो बेला उहाँ भारतको उडिशा राज्यको कोरापुट जिल्लामा रोजगार अधिकृत हुनुहुन्थ्यो । कोरापुट त्यतिबेला निकै पिछडिएको क्षेत्र थियो । त्यहाँ न बिजुली थियो, न नजिकै कुनै विद्यालय, न त धारामा पानी नै आउँथ्यो । यही कारणले गर्दा म आठ वर्षको उमेरसम्म विद्यालय गइनँ र घरमै पढें । 
मेरो बुबाको हरेक वर्ष सरुवा हुन्थ्यो । हाम्रा सबै सामान एउटा जिपमा अटाउँथे । हरेक नयाँ ठाउँमा मेरी आमाले तुरुन्तै सबै कुरा मिलाएर घरजम बसाल्नुहुन्थ्यो । उहाँ एक विधवा आमाकी छोरी हुनुहुन्थ्यो, जो बंगलादेश (त्यतिबेलाको पूर्वी बंगाल)बाट भारतमा शरणार्थी भएर आउनुभएको थियो । बुबासँग उहाँको विवाह हुँदा उहाँ मेट्रिक (प्रवेशिका) पास हुनुहुन्थ्यो ।
मेरो आमाबुबाले नै मेरो जीवनको जग बसाल्नुभयो र उहाँहरूबाटै मैले ती मूल्यमान्यताहरू सिकें, जुन आज पनि मेरा लागि सफलताको वास्तविक परिभाषा हुन् ।
बुबासँग सरकारी जिप हुँदा पनि उहाँ दिनहुँ पैदल नै कार्यालय जानुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘यो जिप मेरो होइन, सरकारको सम्पत्ति हो र यसको प्रयोग आवश्यकताका बेला गाउँ भ्रमणका लागि मात्र हुनुपर्छ ।’ हामीलाई पनि त्यो जिप रोकिएको अवस्थामा बाहेक कहिल्यै त्यसमा बस्न दिइँदैनथ्यो ।
यो मेरो जीवनको पहिलो पाठ थियो – इमानदारी र जिम्मेवारी ।
हाम्रो घरमा जिपका चालकले पनि कार्यालयका अन्य कर्मचारीसरह नै सम्मान पाउँथे । हामीले उहाँलाई नामले होइन, ‘दादा’ (दाइ) भनेर बोलाउन सिकाइएको थियो । जब मेरो क्षमता पनि ड्राइभर राख्ने भयो, त्यो बेला मेरा छोरीहरूले पनि उहाँलाई ‘राजु अंकल’ भने – ‘हाम्रो ड्राइभर’ भनेनन् ।
यो पनि एउटा पाठ थियो – अरूसँग, विशेष गरी आफूभन्दा साना र कमजोर मानिससँग पनि त्यति नै सम्मानका साथ प्रस्तुत होऊ, जति ठूला मानिससँग भइन्छ ।
हाम्रो बिहानी आमाले बनाउनुभएको चुल्होको छेउमा बसेर सुरु हुन्थ्यो । त्यहीँ चिया बन्थ्यो र बुबाले हामीलाई ’द स्टेट्सम्यान’ अखबारको सम्पादकीय पाना पढ्न लगाउनुहुन्थ्यो । यो अखबार एक दिन ढिलो गरी आउँथ्यो । हामीले कुराहरू कमै बुझ्थ्यौं तर यसबाट हामीलाई कोरापुटभन्दा बाहिर पनि एउटा संसार छ भन्ने बुझ्न सहयोगी साबित भयो । त्यही अभ्यासले मलाई आज अंग्रेजी बोल्न सिकायो जबकि मैले ओडिया माध्यमको विद्यालयमा पढेको थिएँ ।
बुबा भन्नुहुन्थ्यो – ‘अखबार र शौचालयलाई त्यस्तै अवस्थामा छोड, जस्तो अवस्थामा तिमी त्यसलाई पाउन चाहन्छौ ।’ यो अरूका लागि सोच्ने पाठ थियो ।
जब हामी रेडियो किन्न माग गथ्र्यौं, बुबा भन्नुहुन्थ्यो, ‘हामीसँग पाँचवटा रेडियो छन् ।’ अर्थात् हामी पाँच भाइ छोराहरू । जब हामी घरको माग गथ्र्यौं, त्यो बेला जवाफ आउँथ्यो, ‘हामीसँग पाँचवटा घर छन् ।’ यस्ता कुरा त्यतिबेला बुझिँदैनथ्यो, तर आज बुझिन्छ । बुबाले हामीलाई त्यो बेला सिकाउँदै हुनुहुन्थ्यो कि वास्तवमा सफलता भौतिक चिजहरूमा होइन, सोचमा हुन्छ ।
आमाले हरेक सरुवा भएको ठाउँमा चुल्होको खरानी प्रयोग गरेर बगैंचा बनाउनुहुन्थ्यो र जब फूलहरू फुल्ने बेला हुन्थ्यो त्यसपछि बुबाको सरुवा भइहाल्थ्यो । बगैंचा बनाउन गरेको मिहिनेत देखेर छिमेकीहरू भन्थे, ‘आखिर गइहाल्नुहुन्छ, यति धेरै मिहिनेत किन गर्नुहुन्छ ?’
आमा भन्नुहुन्थ्यो, ‘हरेक ठाउँलाई पहिलेभन्दा राम्रो बनाएर छोड्नुपर्छ । यसो गर्दा दिल प्रशन्न हुन्छ ।’
यही मेरो पहिलो पाठ थियो – सफलता आफ्ना लागि केही बनाउनुमा मात्र होइन, बरु पछाडि केही राम्रो कुरा छोडेर जानुमा छ ।
जब आमालाई मोतियाबिन्दु भयो, उहाँ मेरो ठूलो दाइसँग भुवनेश्वरमा बस्न थाल्नुभयो र म पनि उहाँहरूसँगै गएँ । त्यहाँ मैले पहिलो पटक बिजुली र धारा देखें । सन् १९६५ मा भारत–पाक युद्ध चलिरहेको थियो । आमा ओडिया भाषा पढ्न सक्नुहुन्नथ्यो, त्यसैले म उहाँलाई पूरा अखबार पढेर सुनाउँथें । त्यहीँबाट मैले संसारसँगको जुड़ाव महसुस गरें ।
युद्धका समाचारहरू पढ्दापढ्दै म पनि त्यसमा सामेल छु भन्ने लाग्यो । म विश्वविद्यालयको पानी ट्यांकी नजिकै बसेर जासुस पक्रिएको सपना देख्थें । यो मेरो कल्पनाको उडान थियो । र, मैले सिकें – कल्पना नै सबथोक हो । यदि हामी कुनै भविष्यको कल्पना गर्न सक्छौं भने त्यसलाई साकार पार्न पनि सक्छौं ।
आमा पछि पूर्ण रूपमा दृष्टिविहीन हुनुभयो तर कहिल्यै गुनासो गर्नुभएन । एक पटक मैले सोधें, ‘के तपाईंलाई अँध्यारो बाहेक केही देखिँदैन ?’ उहाँले भन्नुभयो – ‘होइन, म उज्यालो देख्छु, आँखा चिम्लँदा पनि !’ उहाँले ८० वर्षको उमेरसम्म योग गर्नुभयो, आफ्नो कोठा आफैं बढार्नुभयो र आफ्ना लुगा आफैं धुनुभयो । यसबाट मैले सिकें – सफलता भनेको आत्मनिर्भरता हो । यो संसार हेर्ने कुरा मात्र होइन, भित्री उज्यालो महसुस गर्ने कुरा हो ।
म ठूलो भएपछि जागिर खाएँ, सूचना प्रविधि (आईटी) उद्योगमा लागेँ र संसार घुमेँ । सन् १९९२ मा, जब म अमेरिकामा थिएँ, त्यो बेला बुबा आगोले पोलिएर दिल्लीको सफदरजंग अस्पतालमा हुनुहुन्छ भन्ने थाहा पाएँ । त्यो अस्पताल निकै दयनीय अवस्थामा थियो । त्यहाँ एक थकित नर्समाथि मैले आक्रोश पोख्दा बुबाले उल्टै उनीसँग सोध्नुभयो, ‘तिमी अहिलेसम्म घर किन नगएको ?’
यो सुनेर म स्तब्ध भएँ – मृत्युको मुखमा पुगेको एउटा मानिस, अरूको चिन्ता गरिरहेको थियो । यहीँ मैले सिकें – मानवताको कुनै सीमा हुँदैन । बुबाको भोलिपल्टै देहान्त भयो । उहाँ एक साधारण, इमानदार र सच्चा मानिस हुनुहुन्थ्यो । सफलता भौतिक कुराहरू जम्मा गर्नुमा होइन, आफ्ना मूल्यमान्यताहरू अनुसार बाँच्नुमा छ भन्ने उहाँ जाँदाजाँदै सिकाउनुभयो ।
बुबा ब्रिटिस शासनमा विश्वास राख्नुहुन्थ्यो र स्वतन्त्रतापछिको राजनीतिबाट निराश हुनुहुन्थ्यो । आमा भने यसको विपरीत, स्वतन्त्रता सेनानी हुनुहुन्थ्यो । उहाँले नेताजी सुभाषचन्द्र बोसलाई माला लगाइदिनुभएको थियो र खादी बुन्न सिक्नुभएको थियो । हाम्रो घरमा दुवैको सोच फरक थियो – तर आपसी सम्मानका साथ । मैले जीवनमा यही कुरा सिकें कि वास्तवमा विचारहरूमा मतभेद हुन सक्छ तर सँगै मिलेर बस्नु जरुरी छ ।
दुई वर्षअघि आमालाई पक्षघात (प्यारालाइसिस) भयो । म अमेरिकाबाट आएँ र उहाँसँग दुई हप्ता अस्पतालमा बसेँ । फर्किने बेलामा मैले उहाँको गालमा म्वाइँ खाएँ । उहाँले त्यो यस्तो कुरा भन्नुभयो कि मेरो दिमाग नै सन्न भयो । उहाँले भन्नुभयो, ‘मलाई होइन, संसारलाई म्वाइँ खाऊ (गो, किस द वल्र्ड !) ।’
एक दृष्टिविहीन, वृद्धा, विधवा, साधारण महिला – जसले कहिल्यै केही मागिनन्, तर सबै कुरा दिएर गइन् – मेरा लागि यही नै वास्तविक सफलता हो । सफलताको अर्थ होः अप्ठ्याराहरूमा पनि अगाडि बढ्नु, कल्पना गर्नु, साना र कमजोर मानिसहरूका प्रति संवेदनशील रहनु, अरूलाई सँगै लिएर हिँड्नु र यो संसारलाई आफूले पाउँदाको भन्दा अझ बढी सुन्दर र राम्रो बनाएर जानु ।
अब तिम्रो पालो हो – जाऊ, संसारलाई अँगालो हाल ।
(बागचीका ‘द हाई पर्फमेन्स इन्ट्रपे्रनर’, ‘द प्रोफेसनलः डिफाइनिङ द न्यु स्ट्यान्डर्ड अफ एक्सलेन्स एट वर्क’, ‘द डे चेरिअट मुभ्डः हाउ इन्डिया ग्रोज एट द ग्रासरुट’, ‘गो किस द वल्र्ड,’ ‘द एलिफेन्ट क्याचर्स’लगायतका पुस्तकहरू प्रकाशित छन् । यो आलेख ‘गो किस द वल्र्ड’ पुस्तकको प्राक्कथनबाट लिइएको हो ।)
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
ईश्वरको मृत्यु

ईश्वरको मृत्यु