नेभिगेशन
साहित्य

छिन्नलता पुरस्कारबाट मदनकृष्ण पुरस्कृत

काठमाडौं । वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को सम्मानमा स्थापना गरिएको ‘छिन्नलता गीत पुरस्कार’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई प्रदान गरिएको छ ।
 
    छिन्नलता गीत पुरस्कार गुठीद्वारा आज आयोजित ‘४४औं छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा सभामुख डोलप्रसाद अर्यालले सो पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा २०८२ सालको ‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक श्रेष्ठलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु एक लाख रहेको छ ।
 
    यसैगरी, गीत रचनातर्फ वरिष्ठ गीतकार डा. नवराज लम्साल, संगीत सिर्जनातर्फ संगीतकार किरण कँडेल, गायनतर्फ गायिका विमला राईलाई जनही रु एक लाख राशिको ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरियो । गायिका सारिका घिमिरेलाई ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’ प्रदान गरियो । सो पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
 
    पुरस्कृत व्यक्तित्व डा. लम्सालले गीत सभ्यता र गीतकार त्यही सभ्यताको बीज भएको उल्लेख गर्दै सुप्त अवस्थामा रहेका आफ्ना गीतलाई संगीत र स्वरले ब्युँझाइदिएर अहिलेको अवस्थामा पु¥याइदिने संगीतकार तथा गायक÷गायिकाप्रति आभार प्रकट गरे ।
 
गुठीका सचिव एवं साहित्यका दिनेश अधिकारीले नेपाली गीतसंगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका गीतकार, संगीतकार र गायक÷गायिकालाई २०३९ सालदेखि गुठीले सम्मान गर्दै आइरहेको जानकारी दिए ।
 
    हालसम्म ४० जना गीतकार, ३९ जना संगीतकार, ४१ जना गायक÷गायिका र ४१ जना युवा प्रतिभालाई सो पुरस्कार समर्पण गरिएको गुठीले जनाएको छ । वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’को १०४औं जन्मजयन्तीका अवसरमा ती पुरस्कार प्रदान गरिएको हो ।
 
    कार्यक्रममा गुठीका उत्तराधिकारी आदिदेवदत्त सिंहले कविता तथा पुरस्कृत व्यक्तित्व विमला राई र सारिका घिमिरेले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । सो पुरस्कारबाट गायक नारायणगोपाल गुरुवाचार्य, नातिकाजी श्रेष्ठ, तारादेवी, अम्बर गुरुङ, कोइलीदेवी माथेमा, गोपाल योञ्जन, दीप श्रेष्ठ, भक्तराज आचार्य, गीतकार कृष्णहरि बराल, दिनेश अधिकारी, वसन्त चौधरीलगायत सम्मानित भइसकेका छन् ।

सो अवसरमा सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन, विकास तथा पुस्तान्तरणलाई कानुनी आधार प्रदान गर्ने बताए । 
 
        छिन्नतला गीत पुरस्कार गुठीद्वारा आज आयोजित ‘४४औं छिन्नलता गीत पुरस्कार’ समर्पण समारोहमा उहाँले विधेयकमार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सीप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्धन हुने विश्वास व्यक्त गरे ।
 
        ‘विधेयकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचीकरण, समुदायको सहभागिता, संघ, प्रदेश, स्थानीय तहबीच समन्वय, अनुसन्धान, ‘डिजिटल’ अभिलेख तथा संरक्षण कार्यक्रम सञ्चालनका प्रावधान समावेश छन्,’ सभामुख अर्यालले भने ।
 
        संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफलका क्रममा रहेको विधेयकमा सांस्कृतिक सम्पदाको व्यावसायिक प्रयोग गर्दा सम्बन्धित समुदायको हित संरक्षण, उल्लंघनमा कानुनी कारबाही र दण्ड जरिवानाको व्यवस्था गरिएको स्पष्ट पारे ।
 
‘विधेयकले लोपोन्मुख सम्पदाको संरक्षण, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको सुदृढीकरण, युनेस्कोको सूचीकरणको आधार निर्माण तथा सांस्कृतिक पर्यटन सिर्जनाको उद्योग र रोजगारी प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ,’ सभामुखको भनाइ थियो ।

        छिन्नलता गीत पुरस्कार गुठी नेपाली गीतकार तथा स्रष्टा रमोलादेवी शाह ‘छिन्नलता’ को सिर्जनात्मक योगदान र स्मृतिसँग जोडिएको उल्लेख गर्दै उनले छिन्नलता गीत पुरस्कारले नेपाली गीत संगीत क्षेत्रमा निरन्तरता, उच्चस्तर र सिर्जनशीलतालाई प्रोत्साहन गर्दै आएको धारणा राखे । 
 
        सभामुख अर्यालले कलाकार र स्रष्टाको योगदानलाई सम्मान गर्ने वातावरण निर्माण गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको बताए ।
 
‘नयाँ पुस्तामा नेपाली भाषा, मौलिक संस्कृति, संगीत र सिर्जनाप्रति रुचि जगाउनु आजको आवश्यकता हो,’ उनले भने, ‘नेपाली कला, साहित्य र संस्कृतिको संरक्षण, प्रवर्धन र विकासका लागि आवश्यक नीतिगत तथा कानुनी वातावरण निर्माण गर्न प्रतिबद्ध हुनुपर्दछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कथाहरू

कथाहरू

जाऊ, संसार बदल

जाऊ, संसार बदल