नेभिगेशन
उपत्यका

कारभित्रै जलेको अवस्थामा महिलाको शव

काठमाडौँ । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
रिजाल शुक्रबार कार्यालय जान्छु भनी घरबाट हिँडेको र कार्यालय नपुगी बेपत्ता भएको भन्दै परिवारका सदस्यले हिजै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।
निजको खोजी गर्दै जाँदा शनिबार कारको पछाडिको सिटमा जलेको अवस्थामा रिजालको शव फेला परेको उनले जानकारी दिए । कारको भित्री भाग अधिकांश जलेको र निस्सासिएर निजको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ र थप जानकारी आउन बाँकी रहेको जनाइएको छ ।
रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा कम्प्लायन्स अफिसर तथा प्रवक्ताका रूपमा कार्यरत थिइन् । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय शेयर बजारमा आएको मन्दीपछि उनी तनाव र निराशामा थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्