नेभिगेशन
उपत्यका

काठमाडौंमा प्राकृतिक जलस्रोत जोगाउन विज्ञको जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको घट्दो भूमिगत पानीको सतह जोगाउन र दीर्घकालीन खानेपानी सुरक्षाका लागि ‘आकाशे पानी संकलन’ र ‘जमिनमा पानी पुनर्भरण’ प्रणालीलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । विज्ञहरूले बाहिरबाट ल्याइने खानेपानी वितरण प्रणालीमा मात्र निर्भर रहनु जोखिमपूर्ण हुने भएकाले प्राकृतिक जलस्रोत संरक्षणलाई अब नगर योजनाको मुख्य आधार बनाउनुपर्ने सुझाव दिएका छन् ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आयोजना गरेको परामर्श बैठकमा वातावरण तथा जलप्रणाली विज्ञ, सहरी योजना आयोगका पदाधिकारी तथा विभिन्न विभागका प्रमुखहरूले काठमाडौंको ब्लु ल्याण्डस्केप संरक्षण, भूमिगत पानीको पुनर्भरण र प्राकृतिक जलस्रोतको दिगो व्यवस्थापनका उपायबारे छलफल गरेका हुन् ।
बैठकमा कार्यवाहक प्रमुख डंगोलले काठमाडौंमा घट्दै गएको भूमिगत पानीको सतहलाई पहिले स्थिर बनाउन र त्यसपछि क्रमशः बढाउने लक्ष्यसहित सबै विभागले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड दिइन् । उनले जल प्रणाली संरक्षण कार्यालयको मात्र नभई सरकार, नागरिक र नागरिक समाज सबैको साझा दायित्व भएको उल्लेख गर्दै नतिजामुखी कार्ययोजना बनाउन निर्देशन दिइन् ।
सहरी योजना आयोग र सम्बन्धित विभागबीच निकट समन्वय संयन्त्र निर्माण गरी जलस्रोत संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनले बताइन् । यसअघि भएका अध्ययनका निष्कर्षको विश्लेषण गर्दै आवश्यक परे थप अध्ययन गरिने जानकारी पनि दिइन् ।
बैठकमा हिति विज्ञ पद्मसुन्दर जोशीले काठमाडौंको भूगर्भीय बनावट जलभण्डारणका लागि अत्यन्त अनुकूल रहेको बताए । उनका अनुसार जमिनमुनिको कालो माटोले प्राकृतिक रूपमा पानी सञ्चय गर्न सहयोग गर्ने भएकाले यसको अधिकतम उपयोग गर्नुपर्छ ।
मेलम्चीबाट करिब २७ किलोमिटर लामो सुरुङमार्फत ल्याइने पानी कुनै कारणले अवरुद्ध भए काठमाडौंमा गम्भीर खानेपानी संकट आउन सक्ने चेतावनी उनले दिए । जलवायु परिवर्तनका कारण यस्ता जोखिम अझ बढ्न सक्ने भएकाले आकाशे पानी संकलन र जमिनमा पानी पुनर्भरणलाई दीर्घकालीन समाधानका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
जोशीले पानीको उपलब्धतासँगै गुणस्तरीयतामा पनि ध्यान दिनुपर्ने बताउँदै डिप बोरिङ निषेध गर्ने निर्णयमा महानगरले ढिलाइ गर्न नहुने धारणा राखे । उनका अनुसार डिप बोरिङ नियन्त्रण गर्न सके मात्र पनि भूमिगत जलभण्डार संरक्षणमा ठूलो योगदान पुग्नेछ ।
विज्ञहरूले पुनर्भरण प्रणाली सञ्चालन गर्दा सडकबाट बग्ने पानी सिधै जमिनमुनि पठाउँदा रसायन तथा प्रदूषक मिसिने जोखिम हुने भएकाले वैज्ञानिक विधिबाट मात्र पुनर्भरण गर्नुपर्ने सुझाव दिएका छन् ।
बैठकमा सहरी योजना आयोगका सदस्य बाबुराम भट्टराई, जल संरक्षण विज्ञ इञ्जिनियर विश्वप्रकाश अमात्य, जलविज्ञ सुदर्शन राजभण्डारी, सहरी योजनाकार जोशी तथा विभागीय प्रमुखहरूले पुनर्भरणका लागि आवश्यक संरचना, प्राविधिक क्षमता, नागरिक सहभागिता, नियमन, अनुगमन तथा मूल्यांकन प्रणालीबारे सुझाव दिएका थिए ।
छलफलमा पानीसँग सम्बन्धित डुबान, खानेपानी अभाव, तरल फोहोर व्यवस्थापन तथा त्यसका आर्थिक, सामाजिक र वातावरणीय प्रभावसमेत समेटिएका थिए । सहभागीले विगतका अध्ययन, अनुभव र सिकाइलाई आधार बनाएर काठमाडौंको प्राकृतिक जल प्रणाली संरक्षणका लागि एकीकृत र दीर्घकालीन नीति तथा कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्