नेभिगेशन
दृष्टिकोण

विश्वासको अन्तिम शरणस्थल बन्दैछ छापा पत्रकारिता

दुई दशकअघि विश्वभर एउटा बहस निकै चर्चित थियो । इन्टरनेटको तीव्र विस्तारसँगै अब समाचारपत्रको अस्तित्व समाप्त हुन्छ । त्यसयता सामाजिक सञ्जाल आयो, स्मार्टफोन सर्वसुलभ भए, भिडियो प्लेटफर्महरूले सूचना प्रवाहको शैली नै परिवर्तन गरिदिए र अहिले कृत्रिम बौद्धिकताले समाचार उत्पादनदेखि सम्पादनसम्मका धेरै काम गर्न थालेको छ । यस्तो परिवर्तनले फेरि प्रश्न उठाएको छ, के अब छापा पत्रकारिताको युग सकिँदैछ?
पहिलो दृष्टिमा यो प्रश्नको उत्तर ‘हो’ जस्तो लाग्न सक्छ । किनभने विश्वभर छापिएका प्रतिको संख्या घटेको छ, विज्ञापनको ठूलो हिस्सा डिजिटल प्लेटफर्ममा सरेको छ, युवा पुस्ताले बिहान चिया पिउँदै समाचारपत्र पल्टाउनेभन्दा मोबाइलको स्क्रिन स्क्रोल गर्न रुचाउन थालेको छ । तर पत्रकारिताको इतिहास, लोकतन्त्रको विकासक्रम र विश्वका अग्रणी समाचार संस्थाहरूको अनुभवले भने फरक निष्कर्ष दिन्छ । माध्यम परिवर्तन भएको छ, पत्रकारिताको मूल्य होइन । अझ भनौं, डिजिटल युगले छापा पत्रकारिताको उपादेयतालाई समाप्त गरेको छैन; बरु यसको वास्तविक महत्वलाई अझ स्पष्ट बनाएको छ ।
कुनै समय रेडियोको आगमनले अखबारको मृत्यु हुने भविष्यवाणी गरियो । त्यसपछि टेलिभिजन आयो, फेरि भनियो, अब मानिसले अखबार पढ्दैनन् । इन्टरनेट र सामाजिक सञ्जालको विस्तारसँगै त छापा पत्रकारिताको अन्त्य भइसकेको निष्कर्ष निकाल्न पनि हतार गरियो । अहिले कृत्रिम बौद्धिकता –एआई), एल्गोरिदम, सामाजिक सञ्जाल र छोटा भिडियोको युगमा फेरि त्यही प्रश्न दोहोरिएको छ, के अब छापा पत्रकारिता इतिहास बन्नेछ?
आज सामाजिक सञ्जाल खोल्नेबित्तिकै सयौँ समाचार, भिडियो, टिप्पणी, दाबी र अफवाह एकैसाथ देखिन्छन् । एउटै घटनाका दर्जनौँ संस्करण भेटिन्छन् । कसले सही लेख्यो, कसले अनुमान ग¥यो र कसले नियतवश भ्रम फैलायो भन्ने छुट्याउन सामान्य नागरिकका लागि कठिन हुँदै गएको छ । कृत्रिम तस्बिर र स्वचालित रूपमा तयार गरिएका समाचारले यो चुनौतीलाई अझ गम्भीर बनाएका छन् ।
यही कारण आजको पत्रकारिताको मूल प्रश्न ‘पहिले कसले समाचार दियो?’ भन्ने होइन, ‘कसको समाचार पत्याउने?’ भन्ने बनेको छ ।
विश्वसनीयता नै पत्रकारिताको सबैभन्दा ठूलो सम्पत्ति हो । यही सम्पत्ति छापा पत्रकारिताले एक शताब्दीभन्दा बढी समयदेखि निर्माण गरेको छ । एउटा जिम्मेवार समाचारपत्रमा समाचार प्रकाशित हुनुअघि रिपोर्टरको तथ्य संकलन, सम्पादकको समीक्षा, स्रोतको प्रमाणीकरण, कानुनी जोखिमको परीक्षण र भाषिक सम्पादनजस्ता अनेक चरण पार गर्नुपर्छ । यसले समाचारलाई केवल छापिएको सामग्री होइन, सम्पादकीय जिम्मेवारीसहितको सार्वजनिक अभिलेख बनाउँछ ।
यही कारणले अमेरिकी पत्रकारिता जगतका महान् व्यक्तित्व जोसेफ पुलिट्जरले प्रेसलाई लोकतन्त्रको मेरुदण्ड मानेका थिए । पुलिट्जरको विश्वास थियो कि स्वतन्त्र, जिम्मेवार र निर्भीक समाचारपत्रबिना लोकतन्त्र दीर्घकालीन रूपमा बलियो रहन सक्दैन । उनले पत्रकारितालाई व्यापारभन्दा बढी सार्वजनिक उत्तरदायित्वका रूपमा बुझे । आज सामाजिक सञ्जालको भीडमा यही मूल्य अझ सान्दर्भिक बनेको छ ।
प्रविधिले समाचारको गति बढाएको छ । तर गति र गुणस्तर सधैँ एउटै कुरा हुँदैन । केही मिनेटमै सार्वजनिक हुने समाचारले प्रायः ‘के भयो?’ भन्ने प्रश्नको उत्तर दिन्छ । तर ‘किन भयो?’, ‘यसले कसलाई असर गर्छ?’, ‘पृष्ठभूमि के हो?’ र ‘अब के हुन्छ?’ भन्ने प्रश्नको उत्तर खोज्ने जिम्मेवारी गहिरो पत्रकारिताको हो । यही ठाउँमा छापा पत्रकारिता आज पनि अग्रस्थानमा छ ।

जर्मन दार्शनिक जार्गन हाबर्मासले लोकतन्त्रको आधार सार्वजनिक वृत्त अर्थात् सार्वजनिक बहसको गुणस्तरलाई मानेका छन् । नागरिकले तथ्यमा आधारित बहस गर्न सक्ने वातावरण नहुँदा लोकतन्त्र कमजोर हुन्छ । यदि सार्वजनिक बहस केवल सामाजिक सञ्जालको एल्गोरिदम, भावनात्मक उत्तेजना वा अपुष्ट सूचनाले सञ्चालन गर्न थाल्यो भने समाज ध्रुवीकृत हुन्छ । पत्रकारिताको जिम्मेवारी त्यस्तो बहसलाई तथ्य र तर्कको आधारमा अघि बढाउनु हो । छापा पत्रकारिताले दशकौँदेखि यही भूमिका निर्वाह गर्दै आएको छ ।
पत्रकारिता केवल सूचना उद्योग होइन; यो समाजको संस्थागत स्मृति पनि हो । कुनै देशको राजनीतिक इतिहास, आर्थिक परिवर्तन, सामाजिक आन्दोलन, कानुनी सुधार वा सांस्कृतिक विकास बुझ्न इतिहासकारले आज पनि पुराना समाचारपत्र पल्टाउँछन् । किनकि समाचारपत्रमा प्रकाशित सामग्री तत्कालीन समयको प्रमाणित अभिलेख हुन्छ । सामाजिक सञ्जालको पोस्ट केही घण्टामै हराउन सक्छ, एल्गोरिदमले त्यसलाई अदृश्य बनाउन सक्छ वा सजिलै सम्पादन गर्न सकिन्छ । तर छापिएको समाचार परिवर्तन हुँदैन । त्यसैले छापा पत्रकारिता समयको साक्षी पनि हो ।
ब्रेकिङ समाचार वेबसाइट र मोबाइल एपमा जान्छ, तर गहिरो विश्लेषण, अनुसन्धान, विचार, तथ्य परीक्षण, डेटा पत्रकारिता र सप्ताहान्त विशेष सामग्री अझै छापा संस्करणको मुख्य शक्ति बनेको छ ।
जापान यसको उत्कृष्ट उदाहरण हो । विश्वकै उच्च साक्षरता, अनुशासित वितरण प्रणाली र समाचारपत्रप्रतिको सामाजिक विश्वासका कारण जापानमा आज पनि लाखौँ परिवारले दैनिक छापा समाचारपत्र घरमै मगाउँछन् । डिजिटल विस्तारले त्यहाँको समाचारपत्र उद्योगलाई परिवर्तन अवश्य गरेको छ, तर समाप्त गरेको छैन । बरु छापा संस्करणलाई विश्लेषणात्मक, व्याख्यात्मक र सार्वजनिक विश्वासको माध्यमका रूपमा थप सुदृढ बनाइएको छ ।
जर्मनीमा क्षेत्रीय समाचारपत्रहरू स्थानीय लोकतन्त्रका बलिया स्तम्भ हुन् । स्थानीय सरकारका निर्णय, नगरपालिकाको बजेट, विद्यालय, स्वास्थ्य सेवा, वातावरण र सामुदायिक मुद्दामा क्षेत्रीय दैनिकहरूले निर्वाह गर्ने भूमिका कुनै सामाजिक सञ्जालले पूरा गर्न सकेको छैन । स्थानीय पत्रकारिताले समुदाय र नागरिकबीच उत्तरदायित्वको सम्बन्ध निर्माण गरेको छ ।
नर्वे, स्विडेन, फिनल्यान्ड र डेनमार्क अर्को रोचक उदाहरण छन् । डिजिटल सदस्यता विश्वमै सबैभन्दा सफल भएका देशहरूमा यी मुलुक पर्छन् । तर त्यहाँ छापा पत्रकारितालाई कमजोर पारिएको छैन । अनुसन्धान पत्रकारिता, सम्पादकीय स्वतन्त्रता र सार्वजनिक हितका समाचारलाई प्राथमिकता दिने परम्पराले समाचार संस्थाहरूलाई डिजिटल र छापाबीच स्वस्थ सन्तुलन कायम गर्न सहयोग गरेको छ । त्यहाँको मूल मन्त्र छ, पहिले गुणस्तरीय पत्रकारिता, त्यसपछि प्लेटफर्म ।
भारतले त झन् फरक पाठ सिकाएको छ । संसारका धेरै देशमा छापा वितरण घटिरहेका बेला भारतमा भाषिक समाचारपत्रहरू अझै विस्तार भइरहेका छन् । हिन्दी, मलयालम, तेलुगु, मराठी, गुजराती, तमिल र बंगाली भाषाका दैनिकहरूले स्थानीय समुदायसँगको गहिरो सम्बन्धका कारण आफ्नो प्रभाव कायम राखेका छन् । यसले एउटा महत्वपूर्ण सत्य देखाउँछ, समाचारपत्रको भविष्य केवल प्रविधिले निर्धारण गर्दैन; भाषा, संस्कृति, समुदाय र विश्वासले पनि निर्धारण गर्छ ।
यही अन्तर्राष्ट्रिय अनुभवले नेपालका लागि पनि महत्वपूर्ण सन्देश दिन्छ । नेपालमा पनि डिजिटल पत्रकारिता तीव्र गतिमा विस्तार भइरहेको छ । अधिकांश पाठकले मोबाइलबाट समाचार पढ्न थालेका छन् । तर यसको अर्थ छापा पत्रकारिताको आवश्यकता समाप्त भएको होइन । बरु समाचारको भीडमा विश्वसनीय, सन्तुलित र विश्लेषणात्मक सामग्रीको आवश्यकता झन् बढेको छ । लोकतन्त्रमा हतारभन्दा विश्वासको मूल्य ठूलो हुन्छ, र यही मूल्य छापा पत्रकारिताको सबैभन्दा ठूलो पूँजी हो । विश्वसनीयताको यही प्रश्नले पत्रकारिताको भविष्यलाई नयाँ दिशातर्फ डो¥याइरहेको छ । आज विश्वका अधिकांश प्रतिष्ठित समाचार संस्थाहरूले एउटा महत्वपूर्ण निष्कर्ष निकालेका छन्, डिजिटल भविष्यको अनिवार्य माध्यम हो, तर विश्वसनीय पत्रकारिता भविष्यको अपरिहार्य आधार हो । यही कारण डिजिटल रूपान्तरणलाई आत्मसात् गर्ने क्रममा पनि उनीहरूले छापा पत्रकारिताको मूल्यलाई परित्याग गरेका छैनन् ।
नेपालमा सामाजिक सञ्जाल धेरै नागरिकका लागि पहिलो समाचार स्रोत बनेको छ । युट्युब र फेसबुकमार्फत समाचार उपभोग गर्ने प्रवृत्ति तीव्र रूपमा बढेको छ । तर यससँगै अपुष्ट सूचना, क्लिकबेट शीर्षक, आधा–अधुरा समाचार, स्रोतविहीन सामग्री र भ्रामक प्रचार पनि बढेको छ । यस्तो अवस्थामा नागरिकले पुनः प्रश्न गर्न थालेका छन्, कसलाई विश्वास गर्ने?
यही प्रश्नको जवाफ हो छापा पत्रकारिताले दिन सक्छ ।
भविष्य छापा र डिजिटलबीचको प्रतिस्पर्धामा छैन । दुवै माध्यमले आ–आफ्नो शक्ति प्रयोग गर्दै समाजलाई सूचित गर्नुपर्छ । डिजिटलले सूचना छिटो पु¥याओस्, छापाले त्यसलाई तथ्य, सन्दर्भ र विश्लेषणसहित विश्वसनीय बनाओस् । यही सहकार्यले पत्रकारितालाई अझ सशक्त बनाउँछ ।
अन्ततः पत्रकारिताको भविष्य कागज वा स्क्रिनले होइन, सत्य, विश्वसनीयता र सार्वजनिक उत्तरदायित्वले निर्धारण गर्नेछ । जबसम्म समाजलाई सत्यमा आधारित सूचना, निष्पक्ष विश्लेषण र लोकतन्त्रको निगरानी गर्ने स्वतन्त्र पत्रकारिताको आवश्यकता रहन्छ, तबसम्म छापा पत्रकारिता केवल अतीतको विरासत होइन, भविष्यको पनि अपरिहार्य संस्था रहनेछ । त्यसैले भन्न सकिन्छ, डिजिटलले भ्रम छर्न सक्छ, तर विश्वास जोगाउने जिम्मेवारी अझै पनि छापा पत्रकारिताकै काँधमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण