विश्वभर करिब एक करोडभन्दा बढी नेपाली अध्ययन, रोजगारी, व्यवसाय तथा स्थायी बसोबासका लागि विभिन्न देशमा रहेका छन् । उहाँहरूको अवस्था देशअनुसार फरक भए पनि धेरै चुनौतीहरू साझा छन् ।
आज पनि गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, लगानीसम्बन्धी कानुनी अस्पष्टता, सम्पत्ति अधिकार, बैंकिङ सेवा, उत्तराधिकार, व्यवसाय सञ्चालन तथा प्रशासनिक प्रक्रियामा देखिने जटिलताहरू प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
यसका साथै, विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले भिसा नीति, रोजगारी, आर्थिक दबाब, मानसिक स्वास्थ्य तथा आपतकालीन अवस्थाका विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् । विद्यार्थीहरूलाई सुरक्षित र व्यवस्थित वातावरण उपलब्ध गराउन सम्बन्धित निकायहरूसँग थप समन्वय आवश्यक देखिन्छ ।
अर्कोतर्फ, वैदेशिक रोजगारीका चुनौतीहरूको स्वरूप पनि परिवर्तन हुँदै गएको छ । पहिले मध्यपूर्वका मुलुकहरूमा श्रमिकका समस्या बढी केन्द्रित थिए भने अहिले युरोपका केही देशहरूमा पनि श्रम शोषण, सम्झौताअनुसार काम नपाउने, सामाजिक सुरक्षा, कानुनी सहायता तथा उद्धारसम्बन्धी समस्या बढ्दै गएका छन् । त्यसैले एनआरएनएले आफ्नो ध्यान कुनै एक क्षेत्रमा मात्र होइन, विश्वभर रहेका नेपाली श्रमिकहरूको हिततर्फ केन्द्रित गरेको छ ।
त्यसैगरी, दोस्रो तथा तेस्रो पुस्तालाई नेपाली भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडिराख्नु पनि आजको महत्वपूर्ण चुनौती हो ।
एनआरएनएको दृष्टिकोण स्पष्ट छ हामी केवल समस्या उठाउने संस्था होइनौं, समाधान खोज्ने संस्था हौं । सरकार, नेपाली दूतावास, राष्ट्रिय समन्वय परिषद् तथा विश्वभरका नेपाली समुदायसँग सहकार्य गर्दै गैरआवासीय नेपालीहरूको अधिकार, सुरक्षा, सम्मान र अवसर सुनिश्चित गर्न निरन्तर काम गरिरहेका छौं ।
२००३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएदेखि नै विश्वभर रहेका नेपालीहरूको हक, हित, सुरक्षा र कल्याणका लागि निरन्तर काम हुँदै आएको छ । विभिन्न समयमा प्राकृतिक विपद्, महामारी, युद्ध, श्रमिक उद्धार, कानुनी सहायता, शिक्षा, स्वास्थ्य, नागरिकता तथा सामाजिक सेवाका क्षेत्रमा एनआरएनएले महत्वपूर्ण भूमिका निर्वाह गरेको इतिहास छ । हामीले विगतका नेतृत्वले निर्माण गरेको यही बलियो आधारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडि बढाइरहेका छौं ।
यस कार्यकालमा कल्याण विभागलाई अझ परिणाममुखी र संस्थागत बनाउन हामीले चारवटा विशेष समिति गठन गरेका छौं, जसले आ–आफ्नो कार्यक्षेत्रमा सक्रिय रूपमा काम गरिरहेका छन् ।
पहिलो, सिटिजनसिज कन्टिन्युटी कमिटी हो, जसको संयोजकको जिम्मेवारी पनि मैले सम्हालिरहेको छु । हाम्रो समितिको मूल भावना ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने सिद्धान्तमा आधारित छ । हामी विश्वास गर्छौं कि विदेशको नागरिकता प्राप्त गरे पनि नेपालीको जन्मभूमिसँगको सम्बन्ध, पहिचान र जिम्मेवारी कहिल्यै समाप्त हुँदैन । यही सोचका साथ हामीले नागरिकता निरन्तरतासम्बन्धी व्यापक अध्ययन, विश्वभरका गैरआवासीय नेपाली, राष्ट्रिय समन्वय परिषद् , कानुनविद् तथा सरोकारवालासँग परामर्श गरी तीन चरणमा काम सम्पन्न गरेका छौं । पहिलो चरणमा सुझाव संकलन, दोस्रो चरणमा एनआरएन ऐन संशोधनको मस्यौदा तयार गर्ने र तेस्रो चरणमा उक्त प्रस्ताव नेपाल सरकारसमक्ष पेश गर्ने कार्य सम्पन्न भएको छ । साथै, दीर्घकालीन समाधानका लागि आवश्यक संवैधानिक संशोधनसम्बन्धी प्रस्ताव पनि सम्बन्धित निकायसमक्ष बुझाइएको छ ।
दोस्रो, गुर्खा वेलफेयर कमिटीले विश्वभर रहेका भूतपूर्व तथा सेवारत गुरखा सैनिक र उहाँहरूका परिवारको कल्याण, सम्मान तथा अधिकारसँग सम्बन्धित विषयमा काम गरिरहेको छ । गुरखाहरू नेपालको गौरव र अन्तर्राष्ट्रिय पहिचानका प्रतीक भएकाले उहाँहरूको योगदानको सम्मान गर्दै आवश्यक समन्वय र सहयोग गर्नु हाम्रो दायित्व हो ।
तेस्रो, पिपल अफ नेपाल ओरिजिन अर्गनाइजेसन कमिटी ( पीएनओ) मार्फत विश्वभर रहेका नेपाली मूलका संस्थाहरूसँग सहकार्य र समन्वयलाई सुदृढ बनाउने काम भइरहेको छ । विभिन्न देशमा सक्रिय पिएनओ संस्थाहरू नेपाली समुदायका महत्वपूर्ण साझेदार हुन् । उहाँहरूको अनुभव, क्षमता र विश्वव्यापी सञ्जाललाई एनआरएनएसँग जोडेर नेपाली समुदायबीच एकता, सहकार्य र साझा उद्देश्यलाई अझ बलियो बनाउने हाम्रो लक्ष्य हो ।
चौथो, लिगल एन्ड एडमिनिस्ट्रेटिभ एडभाइजरी कमिटीमा विभिन्न देशका अनुभवी कानुनविद्, प्रशासनिक विज्ञ तथा पेशाकर्मीहरू आबद्ध हुनुहुन्छ । यस समितिले गैरआवासीय नेपालीहरूले भोगिरहेका कानुनी, प्रशासनिक तथा नीतिगत समस्याको अध्ययन गरी व्यावहारिक समाधानका लागि सुझाव दिने तथा एनआरएनए र नेपाल सरकारलाई आवश्यक परामर्श उपलब्ध गराउने काम गरिरहेको छ ।
यी चारवटा समितिमार्फत हामी विदेशमा रहेका श्रमिक, विद्यार्थी, व्यवसायी, पेशाकर्मी, महिला, युवा तथा संकटमा परेका नेपालीहरूको हित संरक्षणलाई प्राथमिकताका साथ अघि बढाइरहेका छौं । पछिल्लो समय मध्यपूर्वका साथै युरोपका विभिन्न देशहरूमा पनि नेपाली श्रमिकहरूले नयाँ चुनौतीहरू सामना गरिरहेका छन् । त्यस्तै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भिसा, रोजगारी, मानसिक स्वास्थ्य तथा आपतकालीन अवस्थासम्बन्धी समस्याहरू भोगिरहेका छन् । हामी यस्ता विषयमा सम्बन्धित राष्ट्रिय समन्वय परिषद्, नेपाली दूतावास तथा नेपाल सरकारसँग निरन्तर समन्वय गर्दै समाधान खोजिरहेका छौं ।
हाम्रो लक्ष्य तत्काल समस्या समाधानमा मात्र सीमित छैन । हामी विश्वभर रहेका नेपालीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्दै दिगो नीतिगत सुधार, प्रभावकारी संस्थागत संयन्त्र र नेपाल तथा विश्वभरका नेपाली समुदायबीच अझ बलियो सम्बन्ध निर्माण गर्न प्रतिबद्ध छौं । एनआरएनए प्रत्येक गैरआवासीय नेपालीको साझा संस्था हो, र जहाँ बसे पनि प्रत्येक नेपालीले ‘एनआरएनए हाम्रो साथमा छ’ भन्ने अनुभूति गर्न सकून् भन्ने हाम्रो प्रयास रहनेछ ।
गैरआवासीय नेपाली नागरिकताको व्यवस्था नेपालको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि हो । यसले विश्वभर रहेका नेपालीप्रति नेपालको सकारात्मक सोचलाई संस्थागत रूपमा स्वीकार गरेको छ । तर मेरो दृष्टिमा गैरआवासीय नेपाली नागरिकता अन्तिम लक्ष्य होइन, यो एउटा महत्वपूर्ण पहिलो कदम मात्र हो ।
हाम्रो दीर्घकालीन सोच ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने सिद्धान्तमा आधारित छ । विदेशको नागरिकता लिनुपरे पनि नेपालीको जन्मभूमिसँगको सम्बन्ध, पहिचान र जिम्मेवारी समाप्त हुँदैन । त्यसैले हाम्रो लक्ष्य वंशज नेपालीको नागरिकता निरन्तरताको अवधारणालाई दीर्घकालीन रूपमा संस्थागत गर्नु हो ।
व्यवहारमा भने अझै केही चुनौतीहरू छन् । विभिन्न जिल्ला प्रशासन कार्यालयमा कार्यान्वयनमा एकरूपता छैन । सम्पत्ति, बैंकिङ, व्यवसाय, उत्तराधिकार तथा अन्य प्रशासनिक विषयमा अझै स्पष्ट कार्यविधिको आवश्यकता छ ।
यही उद्देश्यका साथ सिटिजनसिप कन्टिन्यूटी कमिटीमार्फत हामीले व्यापक अध्ययन, कानुनी परामर्श तथा विश्वभरका गैरआवासीय नेपालीसँग छलफल गरी आवश्यक ऐन संशोधन र नीतिगत सुधारका लागि सरकारसँग निरन्तर सहकार्य गरिरहेका छौं ।
नागरिकता निरन्तरता समितिको मूल उद्देश्य संविधान र कानुनले गैरआवासीय नेपालीलाई प्रदान गरेका अधिकारहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु हो ।
हामीले यस विषयमा तीन चरणमा काम गरेका छौं । पहिलो चरणमा विश्वभर रहेका गैरआवासीय नेपाली, राष्ट्रिय समन्वय परिषद्, कानुनविद् तथा विज्ञहरूसँग व्यापक परामर्श गरियो । दोस्रो चरणमा प्राप्त सुझावका आधारमा गैरआवासीय नेपालीसँग सम्बन्धित ऐन संशोधनको मस्यौदा तयार गरियो । तेस्रो चरणमा उक्त मस्यौदा नेपाल सरकारसमक्ष औपचारिक रूपमा पेश गरिसकिएको छ । साथै, दीर्घकालीन समाधानका लागि आवश्यक संवैधानिक संशोधनसम्बन्धी प्रस्ताव पनि सम्बन्धित निकायमा बुझाइएको छ ।
अहिले समाधान गर्नुपर्ने प्रमुख विषयहरूमा नेपाल प्रवेश गर्दा नेपाली मूलका व्यक्तिले भिसा प्रक्रियामा भोग्नुपर्ने जटिलता, सम्पत्ति अधिकार, बैंकिङ सेवा, व्यवसाय दर्ता, लगानी, उत्तराधिकार तथा विभिन्न सरकारी सेवामा देखिने अस्पष्टता प्रमुख छन् ।
हाम्रो धारणा स्पष्ट छ, विदेशको नागरिकता लिए पनि नेपाली मूलका व्यक्तिहरू आफ्नै जन्मभूमिसँग जोडिएका हुन्छन् । त्यसैले कानुन र प्रशासनिक प्रक्रियाले पनि यही भावनालाई सम्मान गर्नुपर्छ ।
हामी कुनै नयाँ विशेष अधिकारको माग गरिरहेका छैनौं । हाम्रो प्रयास संविधानले दिएको अधिकारलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गराउने र एकपटकको नेपाली, सधैंको नेपाली भन्ने भावनालाई संस्थागत रूपमा स्थापित गर्ने हो ।
दोस्रो तथा तेस्रो पुस्ताका गैरआवासीय नेपालीहरू हाम्रो भविष्य हुन् । यदि हामीले आज उनीहरूलाई नेपालसँग जोड्न सकेनौं भने भविष्यमा विश्वभरको नेपाली समुदाय र मातृभूमिबीचको सम्बन्ध कमजोर हुन सक्छ । त्यसैले यो विषय एनआरएनएको प्रमुख प्राथमिकतामध्ये एक हो ।
हामीले उनीहरूलाई केवल भाषा र संस्कृतिसँग मात्र होइन, नेपालको विकाससँग पनि जोड्नुपर्छ । आज विश्वभरका नेपाली मूलका युवाहरू विज्ञान, प्रविधि, चिकित्सा, अनुसन्धान, वित्त, उद्यमशीलता, कृत्रिम बौद्धिकता (एआइ) लगायतका क्षेत्रमा उत्कृष्ट योगदान दिइरहेका छन् । उहाँहरूको ज्ञान, सीप र एर्राष्ट्रिय अनुभव नेपालका लागि ठूलो सम्पत्ति हो ।
यस कार्यकालमा एनआरएनएले पहिलो पटक सेकेनड जेनेरेसन कोर्डिनेटर नियुक्त गरेको छ । यो केवल एउटा पद सिर्जना गर्नु मात्र होइन, दोस्रो तथा तेस्रो पुस्तालाई एनआरएनएको नेतृत्व, नीति निर्माण र कार्यक्रमहरूमा प्रत्यक्ष सहभागी गराउने हाम्रो प्रतिबद्धताको प्रतीक हो ।
त्यसैगरी, ग्लोबल नलेज कन्भेन्सनमार्फत विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, चिकित्सक, इन्जिनियर, प्राध्यापक, अनुसन्धानकर्ता तथा युवा नवप्रवर्तकहरूलाई नेपालको विकाससँग जोड्ने प्रयास गरिरहेका छौं ।
हाम्रो विश्वास छ कि दोस्रो र तेस्रो पुस्ताको योगदानलाई उनीहरू नेपाल स्थायी रूपमा फर्किए कि फर्किएनन् भन्ने आधारमा होइन, नेपालको विकासमा कति प्रभावकारी योगदान गर्न सके भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्छ ।
आज विश्वभर रहेका गैरआवासीय नेपालीहरू नेपालमा लगानी गर्न इच्छुक छन् । चुनौती लगानी गर्ने इच्छा नभएको होइन, विश्वासको वातावरण निर्माण गर्नु हो ।
व्यवहारमा हेर्दा प्रशासनिक प्रक्रिया लामो हुनु, विभिन्न निकायबीच समन्वयको अभाव, कानुनी अस्पष्टता, नीति परिवर्तनको अनिश्चितता, बैंकिङ प्रक्रिया, सम्पत्ति अधिकार तथा लगानीसँग सम्बन्धित कार्यविधिको जटिलता प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
त्यसैले हामीले सरकारसँग वान स्टप सर्भिसभ प्रणाली, स्पष्ट कानुनी व्यवस्था, लगानीकर्तामैत्री प्रशासन, डिजिटल सेवा तथा स्थिर नीतिगत वातावरण निर्माण गर्न आग्रह गर्दै आएका छौं ।
विदेशमा रहेका नेपालीले केवल पूँजी मात्र होइन, ज्ञान, सीप, प्रविधि र अन्तर्राष्ट्रिय अनुभव पनि नेपालमा ल्याउन चाहनुहुन्छ । यदि सरकारले पारदर्शी र विश्वासयोग्य वातावरण निर्माण गर्न सक्यो भने गैरआवासीय नेपाली नेपालको आर्थिक विकासका महत्वपूर्ण साझेदार बन्न सक्नुहुन्छ ।
एनआरएनए र नेपाल सरकारबीचको सम्बन्ध साझेदारीको सम्बन्ध हो । हाम्रो उद्देश्य सरकारको आलोचना गर्नु होइन, समाधानका लागि सहकार्य गर्नु हो ।
गैरआवासीय नेपालीसँग सम्बन्धित विषयहरू धेरै मन्त्रालयसँग जोडिएका छन् । गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय लगायतका निकायबीच प्रभावकारी समन्वय आवश्यक छ ।
हामीले नियमित संस्थागत संवाद, संयुक्त कार्यदल, स्पष्ट कार्ययोजना तथा समयबद्ध कार्यान्वयन प्रणालीलाई प्राथमिकता दिनुपर्छ भन्ने धारणा राखेका छौं ।
गैरआवासीय नेपाली नागरिकता, लगानी, श्रमिक कल्याण, विद्यार्थी, महिला, दोस्रो पुस्ता तथा ज्ञान हस्तान्तरणजस्ता विषयमा सरकार र एनआरएनए बीच निरन्तर सहकार्य भएमा अझ प्रभावकारी परिणाम प्राप्त गर्न सकिन्छ ।
एनआरएनए विश्वभर रहेका नेपालीहरूको अनुभव, ज्ञान र अपेक्षाको साझा मञ्च हो । त्यसैले नीति निर्माण र कार्यान्वयनमा एनआरएनएलाई रचनात्मक साझेदारका रूपमा उपयोग गर्न सकियो भने त्यसबाट नेपालले ठूलो लाभ लिन सक्छ ।
मेरो दृष्टिमा नेपालको भविष्य केवल रेमिट्यान्समा सीमित छैन । नेपालको भविष्य विश्वभर रहेका नेपालीहरूको ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन, अन्तर्राष्ट्रिय अनुभव, लगानी र विश्वव्यापी सञ्जालसँग जोडिएको छ ।
हामीले विदेशमा रहेका नेपालीलाई केवल आर्थिक स्रोतका रूपमा होइन, नेपालको विकासका रणनीतिक साझेदारका रूपमा हेर्नुपर्छ । त्यसका लागि नागरिकता, लगानी, शिक्षा, अनुसन्धान, प्रविधि, स्वास्थ्य, पर्यटन तथा उद्यमशीलताका क्षेत्रमा दीर्घकालीन सहकार्य आवश्यक छ ।
नागरिकता निरन्तरताको सन्दर्भमा हाम्रो मूल भावना स्पष्ट छ, ‘एकपटकको नेपाली, सधैंको नेपाली ।’ गैरआवासीय नेपाली नागरिकता महत्वपूर्ण उपलब्धि हो, तर यो हाम्रो यात्राको अन्तिम गन्तव्य होइन, एउटा महत्वपूर्ण पहिलो चरण हो । अब यसको प्रभावकारी कार्यान्वयन, आवश्यक कानुनी सुधार र दीर्घकालीन रूपमा वंशज नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्ने विषयमा रचनात्मक संवादलाई निरन्तर अघि बढाउनुपर्छ ।
त्यसैगरी, दोस्रो तथा तेस्रो पुस्तालाई नेतृत्वमा ल्याउने, ग्लोबल नलेज कन्भेन्सनजस्ता कार्यक्रममार्फत विश्वभरका नेपाली विज्ञहरूको ज्ञान नेपालसँग जोड्ने, महिला सशक्तीकरण, श्रमिक कल्याण तथा लगानीमैत्री वातावरण निर्माण गर्ने कार्यलाई पनि समान प्राथमिकतामा राख्नुपर्छ ।
विश्वको जुनसुकै कुनामा बसे पनि नेपालीको मन नेपालसँग जोडिएको हुन्छ । हाम्रो दायित्व त्यो सम्बन्धलाई अझ बलियो बनाउनु हो । यदि नेपालले विश्वभर रहेका नेपालीको ज्ञान, सीप, अनुभव र विश्वासलाई सही रूपमा उपयोग गर्न सक्यो भने, गैरआवासीय नेपालीहरू नेपालको समृद्धिका सबैभन्दा बलिया साझेदार बन्न सक्छन् । यही नै हाम्रो दीर्घकालीन दृष्टिकोण र प्रतिबद्धता हो ।
(लेखिका गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक पनि हुन् )