नेपालको अर्थतन्त्रलाई दीर्घकालीन रूपमा बलियो बनाउने क्षेत्र कुन हो भन्ने बहस लामो समयदेखि चल्दै आएको छ । कृषि, जलविद्युत्, उद्योग र सूचना प्रविधिसँगै पर्यटनलाई पनि मुलुकको समृद्धिको प्रमुख आधारका रूपमा हेरिँदै आएको छ । प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, धार्मिक आस्था र साहसिक पर्यटनका दृष्टिले नेपाल विश्वकै आकर्षक गन्तव्यमध्ये एक हो । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि बुद्ध जन्मस्थल लुम्बिनीसम्म, हिमालदेखि तराईसम्म फैलिएको भौगोलिक विविधता, बहुजातीय संस्कृति, मौलिक जीवनशैली र अतिथिप्रतिको आत्मीय व्यवहारले नेपाललाई विशिष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गरेको छ । यही सम्भावनालाई आधार मानेर निजी क्षेत्रले निरन्तर लगानी बढाइरहेको छ भने सरकारले पनि पर्यटनलाई आर्थिक विकासको प्रमुख क्षेत्रका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।
भूकम्प र त्यसपछिको कोभिड–१९ महामारीले नेपालको पर्यटन उद्योगलाई गम्भीर संकटमा पु¥याएको थियो । होटलहरू लामो समयसम्म बन्द भए, अन्तर्राष्ट्रिय उडान ठप्प भए, लाखौँ मानिसको रोजगारी प्रभावित भयो र पर्यटन व्यवसाय अस्तित्व जोगाउने संघर्षमा पुग्यो । तर, पछिल्ला वर्षहरूमा परिस्थिति क्रमशः बदलिँदै गएको छ । पर्यटन क्षेत्र पुनः चलायमान हुँदै गएको छ । व्यवसायीहरूका अनुसार उद्योग पूर्ण रूपमा महामारीअघिकै अवस्थामा फर्किसकेको त छैन, तर पुनरुत्थानको गति उत्साहजनक छ । वार्षिक रूपमा विदेशी पर्यटकको संख्या बढ्दै जानु, भारतीय पर्यटकको उल्लेखनीय आगमन हुनु तथा होटल क्षेत्रमा नयाँ लगानी थपिँदै जानुले पर्यटन क्षेत्रको भविष्यप्रति आशा जगाएको छ ।
पर्यटन उद्योगमा अहिले देखिएको सबैभन्दा सकारात्मक पक्ष भनेको पर्यटक आगमनको निरन्तर वृद्धि हो । अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही मुलुकबाट आउने पर्यटकमा सामान्य कमी देखिए पनि भारतीय पर्यटकको आगमनले त्यसको प्रभावलाई धेरै हदसम्म सन्तुलन गरेको छ । विशेष गरी स्थलमार्ग हुँदै नेपाल आउने भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढिरहेको छ । भारतीय नागरिकलाई नेपाल आउन पासपोर्ट आवश्यक नपर्ने, छोटो समयमै भ्रमण गर्न सकिने र आफ्नै सवारी साधन लिएर सहज रूपमा नेपाल प्रवेश गर्न सकिने भएकाले यो बजार आगामी दिनमा अझ विस्तार हुने विश्वास गरिएको छ ।
पर्यटक आगमन बढ्नुको अर्को महत्वपूर्ण कारण पूर्वाधारमा आएको सुधार पनि हो । पछिल्ला वर्षहरूमा राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति, सडक विस्तार तथा प्रमुख पर्यटकीय गन्तव्यसम्मको पहुँच सहज बन्दै गएको छ । बुटवल–भैरहवा–काठमाडौं सडक, मुग्लिन–चितवन सडकलगायतका मार्गमा भइरहेको सुधारले आन्तरिक यात्रालाई सहज बनाएको छ । सडक सञ्जाल व्यवस्थित हुँदै जाँदा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको अनुभव पनि सकारात्मक बन्दै गएको छ । व्यवसायीहरूको बुझाइमा राम्रो सडक र सहज यातायात पर्यटन विकासका आधारभूत पूर्वाधार हुन् ।
तर, पूर्वाधार विकासको गति अझ तीव्र बनाउनुपर्ने आवश्यकता अझै बाँकी छ । पर्यटकको संख्या बढ्दै जाँदा सडक, सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापनलाई पनि समान रूपमा सुधार गर्नुपर्छ । विशेष गरी काठमाडौं उपत्यकाको बढ्दो ट्राफिक जामले पर्यटकको अनुभवमा नकारात्मक असर पार्न सक्ने भएकाले दीर्घकालीन समाधान आवश्यक देखिन्छ । पर्यटकलाई सहज आवागमनको वातावरण उपलब्ध गराउन सकिए मात्र पर्यटन उद्योगले अपेक्षित गति लिन सक्छ भन्ने व्यवसायीहरूको धारणा छ ।
पर्यटन विकासको अर्को महत्वपूर्ण आधार हवाई सम्पर्क विस्तार हो । अन्तर्राष्ट्रिय उडानको संख्या बढाउनु, नयाँ गन्तव्यसँग नेपाललाई जोड्नु तथा निर्माण सम्पन्न भइसकेका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नु अहिलेको आवश्यकता हो । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन सके पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउने विश्वास छ । यसका साथै नेपाल पर्यटन बोर्ड र सरकारी निकायले अन्तर्राष्ट्रिय बजारमा नेपाललाई प्रभावकारी रूपमा प्रवर्धन गर्न थालेको अनुभव निजी क्षेत्रले गरिरहेको छ । पर्यटन प्रवर्धनमा सरकारी सक्रियता बढ्दै जाँदा उद्योगप्रति निजी क्षेत्रको आत्मविश्वास पनि बलियो बन्दै गएको छ ।
यसैबीच होटल उद्योगमा लगानीको उत्साह पनि निरन्तर कायम छ । पाँचतारे होटलदेखि पर्यटकस्तरीय होटलसम्म नयाँ लगानी थपिने क्रम रोकिएको छैन । अन्तर्राष्ट्रिय चेन होटलहरूको विस्तारले नेपालको आतिथ्य उद्योगको विश्वसनीयता बढाएको छ । व्यवसायीहरूको बुझाइमा गुणस्तरीय होटल आफैंमा पर्यटक आकर्षित गर्ने माध्यम हुन् । कुनै अन्तर्राष्ट्रिय होटल ब्रान्ड नेपालमा प्रवेश गर्दा त्यससँग आबद्ध ग्राहक स्वतः नेपालतर्फ आकर्षित हुने सम्भावना बढ्छ । यसले पर्यटकको गुणस्तर, बसाइ अवधि र खर्च गर्ने क्षमता तीनै पक्षमा सकारात्मक प्रभाव पार्न सक्छ ।
यद्यपि पर्यटन उद्योगले अझै केही चुनौती पार गर्न बाँकी छ । होटल सञ्चालन खर्च उच्च हुनु, विद्युत् महसुल महँगो हुनु तथा स्थिर सञ्चालन लागतले व्यवसायीलाई दबाबमा राखेको छ । होटलमा पर्यटक कम भए पनि कर्मचारी, मर्मतसम्भार, ऊर्जा तथा अन्य आधारभूत खर्च घट्दैनन् । त्यसैले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह मान्यता दिई विद्युत् महसुलमा सहुलियत उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरूले राख्दै आएका छौं । यसले सञ्चालन लागत घटाएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली होटल उद्योगलाई थप सक्षम बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै, बैंकिङ प्रणालीसँग सम्बन्धित चुनौती पनि कम छैन । होटल व्यवसाय तत्काल प्रतिफल दिने व्यापार होइन । ठूलो लगानी आवश्यक पर्ने र लगानी फिर्ता हुन लामो समय लाग्ने भएकाले छोटो अवधिको ऋण प्रणाली यस क्षेत्रका लागि उपयुक्त नहुने हाम्रो ठम्याइ छ । होटल उद्योगको प्रकृतिअनुसार दीर्घकालीन ऋण, सहज ब्याजदर र लचिलो पुनर्भुक्तानी प्रणाली आवश्यक छ । पर्यटन मौसमी व्यवसाय भएकाले अन्य व्यापारसरह एउटै वित्तीय मापदण्ड लागू गर्दा उद्योगलाई कठिनाइ हुने गरेको छ ।
यी चुनौतीका बाबजुद पर्यटन क्षेत्रप्रतिको लगानीकर्ताको विश्वास कमजोर भएको छैन । नयाँ होटलहरू निर्माण भइरहेका छन्, सेवा विस्तार भइरहेको छ र निजी क्षेत्रले दीर्घकालीन सम्भावनामाथि भरोसा कायम राखेको छ । यही कारणले पर्यटन उद्योगलाई नेपालको आर्थिक रूपान्तरणको सम्भावनायुक्त क्षेत्रका रूपमा हेरिएको छ । यदि पूर्वाधार, नीति र निजी लगानीबीच प्रभावकारी समन्वय कायम रह्यो भने नेपालको पर्यटन व्यवसाय आगामी दशकमा राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार बन्न सक्ने पर्याप्त संकेत देखिएका छन् ।
गुणस्तरीय पर्यटन नै दिगो विकासको आधार
नेपालमा पछिल्ला वर्षहरूमा होटल क्षेत्रमा नयाँ लगानी थपिने क्रम निरन्तर जारी छ । साना पर्यटकस्तरीय होटलदेखि पाँचतारे अन्तर्राष्ट्रिय चेन होटलसम्मको विस्तारले निजी क्षेत्रले पर्यटन उद्योगको भविष्यप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गर्छ । कुनै पनि मुलुकमा स्तरीय होटलहरूको उपस्थिति केवल आवास सुविधा विस्तार मात्र होइन, त्यो देशको पर्यटन क्षमताको सूचक पनि हो । अन्तर्राष्ट्रिय ब्रान्डका होटलहरू सञ्चालनमा आउँदा तिनका नियमित ग्राहक तथा अन्तर्राष्ट्रिय नेटवर्कमार्फत नयाँ पर्यटक स्वतः आकर्षित हुने सम्भावना बढ्छ । त्यसैले होटलमा भइरहेको लगानीलाई केवल निजी व्यवसायको विस्तारका रूपमा होइन, नेपालको पर्यटन पूर्वाधार सुदृढ हुने प्रक्रियाका रूपमा पनि हेर्न सकिन्छ ।
यद्यपि होटलको संख्या बढ्दै जानु मात्र पर्याप्त हुँदैन । पर्यटकको बसाइ अवधि लम्ब्याउनु र उनीहरूको खर्च गर्ने क्षमता बढाउनु पनि त्यत्तिकै आवश्यक हुन्छ । यदि गुणस्तरीय होटल काठमाडौंमा मात्र सीमित रहने हो भने पर्यटक लामो समय अन्य गन्तव्यमा बस्न इच्छुक हुँदैनन् । पोखरा, चितवन, लुम्बिनीलगायत प्रमुख पर्यटकीय क्षेत्र तथा अन्य सम्भावनायुक्त गन्तव्यमा पनि समान स्तरका होटल, सेवा र सुविधा विस्तार गर्न सके मात्र पर्यटकको बसाइ अवधि स्वाभाविक रूपमा बढ्ने अपेक्षा गरिएको छ । सातै प्रदेशमा स्तरीय होटलहरूको विस्तार हुँदै जानुले यही सम्भावनालाई बलियो बनाइरहेको छ ।
पछिल्ला दिनमा भारतीय धार्मिक पर्यटकसँग सम्बन्धित केही घटनाले चर्चा पाए पनि त्यसलाई समग्र पर्यटन उद्योगसँग जोडेर नहेर्नुपर्ने व्यवसायीहरूको धारणा छ । सीमित बजेटका धार्मिक पर्यटकका लागि आवश्यक पूर्वाधार, विश्रामस्थल, खाना पकाउने स्थान र सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न सके यस्ता पर्यटकलाई पनि व्यवस्थित रूपमा सेवा दिन सकिने विश्वास छ । पर्यटनको विविध स्वरूपलाई स्वीकार गर्दै प्रत्येक समूहका पर्यटकका आवश्यकता अनुसार पूर्वाधार निर्माण गर्नु नै दीर्घकालीन समाधान हुने देखिन्छ ।
पर्यटन प्रवर्धनका नाममा सरकारले विभिन्न समयमा भ्रमण वर्ष, पर्यटन दशक तथा अन्य अभियान घोषणा गर्दै आएको छ । यस्ता कार्यक्रमले पर्यटनबारे अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश प्रवाह गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपेक्षित उपलब्धि हासिल गर्न सकेका छैनन् । निजी क्षेत्रको बुझाइमा घोषणासँगै स्पष्ट कार्ययोजना, आवश्यक पूर्वाधार, बजेट तथा संस्थागत समन्वय सुनिश्चित गर्न सके यस्ता अभियान धेरै प्रभावकारी बन्न सक्छन् । पर्यटन प्रवद्र्धनलाई केवल नारामा सीमित नराखी व्यवहारमा उतार्न सके त्यसको प्रत्यक्ष लाभ होटल उद्योगदेखि समग्र अर्थतन्त्रसम्म पुग्ने विश्वास गरिएको छ ।
दक्ष जनशक्ति जोगाउनु पर्यटनको अर्को चुनौती
नेपालको पर्यटन उद्योगले पछिल्ला वर्षहरूमा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगति गरे पनि दक्ष जनशक्ति जोगाउने चुनौती अझै कायमै छ । होटल तथा आतिथ्य क्षेत्रमा काम गर्ने धेरै युवाले केही समय नेपालमा अनुभव हासिल गरेपछि विदेश जाने प्रवृत्ति बढेको छ । व्यवसायीहरूको बुझाइमा यसको मुख्य कारण पर्याप्त पर्यटक नआउनु र होटलहरूको औसत अकुपेन्सी अपेक्षाभन्दा कम हुनु हो । व्यवसाय विस्तार हुन नसक्दा होटलहरूले अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने तलब, सेवा–सुविधा र करिअरको अवसर दिन कठिन भइरहेको छ ।
यदि पर्यटक आगमन उल्लेखनीय रूपमा बढेर होटलहरूको अकुपेन्सी ८० देखि ९० प्रतिशतसम्म पुग्न सक्यो भने व्यवसायको आम्दानी स्वाभाविक रूपमा वृद्धि हुनेछ । त्यसपछि कर्मचारीको तलब, सुविधा र पेशागत अवसर पनि विस्तार हुनेछन् । यस्तो अवस्था सिर्जना भए पर्यटन क्षेत्रले स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्नुका साथै दक्ष जनशक्तिको विदेश पलायनलाई पनि उल्लेखनीय रूपमा कम गर्न सकिन्छ । पर्यटन उद्योगको विकास केवल होटल व्यवसायको विस्तार मात्र नभई रोजगारी सिर्जना र आर्थिक गतिविधिको विस्तारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो ।
नीतिगत सुधारले पर्यटनलाई नयाँ उचाइ दिन सक्छ
पर्यटन उद्योगको दिगो विकासका लागि नीतिगत सुधार अपरिहार्य रहेको व्यवसायीहरूको धारणा छ । विशेष गरी कर नीति, विद्युत् महसुल, हवाई सम्पर्क, भिसा प्रक्रिया तथा लगानीमैत्री वातावरणमा सुधार गर्न सके पर्यटन उद्योगले अपेक्षाभन्दा तीव्र गति लिन सक्ने विश्वास गरिएको छ । होटल उद्योगलाई उद्योगसरह विद्युत् महसुल उपलब्ध गराउने, दीर्घकालीन ऋणको व्यवस्था गर्ने तथा केही करमा सहजीकरण गर्न सके सञ्चालन लागत घट्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता पनि बढ्ने अपेक्षा गरिएको छ ।
भिसा प्रक्रियालाई अझ सहज बनाउने विषय पनि उत्तिकै महत्वपूर्ण मानिएको छ । विशेष पर्यटन अभियान वा भ्रमण वर्षका अवसरमा निश्चित अवधिका लागि भिसा सम्बन्धी सहुलियत उपलब्ध गराउन सके नेपालप्रति अन्तर्राष्ट्रिय आकर्षण बढ्ने हुन्छ । त्यस्तै विदेशी मुद्रामा कारोबार गर्ने होटल व्यवसायलाई निश्चित प्रोत्साहन उपलब्ध गराउने विषयमा पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । यस्ता नीतिगत सुधारले पर्यटन उद्योगलाई थप प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
व्यवसायीहरूको तर्कमा पर्यटनबाट हुने लाभ होटल उद्योगमा मात्र सीमित हुँदैन । नेपाल भ्रमणमा आउने प्रत्येक पर्यटकले यातायात, रेस्टुरेन्ट, हस्तकला, किनमेल, मनोरञ्जन तथा अन्य सेवामा पनि खर्च गर्छ । त्यसैले पर्यटनमा भएको एउटा लगानीले अर्थतन्त्रका धेरै क्षेत्रमा एकसाथ आर्थिक गतिविधि बढाउने क्षमता राख्छ । पर्यटकको संख्या बढेसँगै कर राजस्व, रोजगारी, सेवा व्यवसाय र समग्र आर्थिक चलायमानता पनि विस्तार हुने भएकाले पर्यटनलाई दीर्घकालीन आर्थिक लगानीका रूपमा हेर्नुपर्छ ।
हरित पर्यटन अब विकल्प होइन, आवश्यकता
विश्व पर्यटन उद्योग क्रमशः वातावरणमैत्री अभ्यासतर्फ उन्मुख भइरहेका बेला नेपालले पनि हरित पर्यटनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ । होटलहरूमा ग्यासको सट्टा विद्युतीय उपकरणको प्रयोग, सौर्य ऊर्जाको विस्तार तथा ऊर्जा दक्ष प्रविधिको उपयोगलाई प्रोत्साहन गर्न सके सञ्चालन खर्च घट्नुका साथै वातावरण संरक्षणमा पनि महत्वपूर्ण योगदान पुग्नेछ । यसका लागि सरकारले अनुदान तथा प्रोत्साहनका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने आवश्यक छ ।
ऊर्जा दक्षता र वातावरणमैत्री प्रविधिको प्रयोगले होटल उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी बनाउने मात्र होइन, नेपालको अन्तर्राष्ट्रिय छविलाई पनि सकारात्मक बनाउने विश्वास गरिएको छ । स्वच्छ ऊर्जा, दिगो पूर्वाधार र वातावरणमैत्री आतिथ्य सेवाको विकास गर्न सके नेपालले विश्व पर्यटन बजारमा आफूलाई थप प्रभावकारी रूपमा स्थापित गर्न सक्ने आधार रहेको छ ।
सरकार–निजी क्षेत्रको सहकार्य नै सफलताको आधार
पर्यटन उद्योगको दीर्घकालीन विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको छ । पछिल्ला वर्षहरूमा सातै प्रदेशमा होटलहरूको विस्तार हुँदै गएको छ र आगामी वर्षहरूमा आवास क्षमता अझ वृद्धि हुने अपेक्षा गरिएको छ । तर होटलहरूको क्षमता बढ्दै जाँदा त्यसअनुसार अन्तर्राष्ट्रिय उडान, सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन तथा पर्यटक सेवामा पनि समानान्तर सुधार आवश्यक रहनेछ । पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनलाई एउटै रणनीतिमा अघि बढाउन सके नेपालको पर्यटन उद्योगले दक्षिण एसियाकै प्रतिस्पर्धी गन्तव्यका रूपमा आफूलाई स्थापित गर्न सक्छ भने हाम्रो विश्वास छ ।
नेपालको भौगोलिक अवस्थाले उत्पादनमूलक उद्योग विस्तारमा केही सीमितता ल्याए पनि पर्यटन क्षेत्रमा भने अपार सम्भावना रहेको छ । प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता, धार्मिक पर्यटन, साहसिक गतिविधि र आतिथ्य संस्कृतिलाई प्रभावकारी रूपमा उपयोग गर्न सके नेपालले छोटो अवधिमै ठूलो संख्यामा पर्यटक आकर्षित गर्न सक्ने क्षमता राख्छ । पर्यटनबाट प्राप्त विदेशी मुद्रा, रोजगारी सिर्जना, निजी लगानी विस्तार र सरकारी राजस्व वृद्धिले समग्र अर्थतन्त्रलाई नयाँ गति दिन सक्छ । त्यसैले पर्यटनलाई केवल सेवा क्षेत्रका रूपमा होइन, राष्ट्रिय आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा हेर्नुपर्ने आवश्यकता अझ स्पष्ट हुँदै गएको छ ।
निष्कर्ष
नेपालको पर्यटन उद्योग अहिले पुनरुत्थानको चरणमा छ । भूकम्प र महामारीपछि देखिएको चुनौतीलाई उद्योगले बिस्तारै पार गर्दै गएको छ । पर्यटक आगमनमा सुधार, होटल क्षेत्रमा निरन्तर लगानी, अन्तर्राष्ट्रिय ब्रान्डहरूको विस्तार, पूर्वाधार विकास र पर्यटनप्रति निजी क्षेत्रको बढ्दो विश्वासले भविष्यप्रति आशावादी बन्ने आधार दिएको छ । यद्यपि यो सम्भावनालाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्न पूर्वाधार विकास, दीर्घकालीन वित्तीय नीति, लगानीमैत्री वातावरण, हरित पर्यटन, डिजिटल प्रवद्र्धन तथा सरकार–निजी क्षेत्रबीचको प्रभावकारी सहकार्य अपरिहार्य छ । यी पक्षमा निरन्तर सुधार गर्न सकिए नेपालको पर्यटन व्यवसाय उज्ज्वल मात्र होइन, राष्ट्रिय अर्थतन्त्रको सबैभन्दा बलियो आधार बन्न सक्ने सम्भावना प्रबल छ ।
पर्यटन वर्ष वा विशेष प्रवद्र्धन अभियान सञ्चालन गर्दा सरकार र निजी क्षेत्रबीच अझ प्रभावकारी सहकार्य हुनुपर्ने आवश्यकता पनि छ । होटलहरूले विशेष छुटसहितका प्याकेज ल्याउने, हवाई सेवाले सहुलियत उपलब्ध गराउने तथा पर्यटनसँग सम्बन्धित अन्य सेवामा आकर्षक सुविधा प्रदान गर्न सकिए विदेशी पर्यटकका लागि नेपाल थप प्रतिस्पर्धी गन्तव्य बन्न सक्छ । विश्व पर्यटन बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा पर्यटकलाई आकर्षित गर्ने यस्ता संयुक्त प्रयासको महत्व अझ बढ्दै गएको छ ।
नेपालका लागि अर्को महत्वपूर्ण सम्भावना ‘माइस’ पर्यटन अर्थात् बैठक, सम्मेलन, प्रदर्शनी तथा ठूला व्यावसायिक कार्यक्रमसँग सम्बन्धित पर्यटन हो । दक्षिण एसियाका धेरै अन्तर्राष्ट्रिय सम्मेलन दिल्ली, बैंकक वा माल्दिभ्समा केन्द्रित भइरहेका बेला नेपालले पनि यस क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउन सक्ने आधार प्रशस्त छन् । होटल क्षेत्रमा पर्याप्त आवास क्षमता विस्तार भए पनि अन्तर्राष्ट्रियस्तरका सम्मेलन आयोजना गर्न आवश्यक ठूला सम्मेलन हल, आधुनिक पूर्वाधार तथा सहज प्रशासनिक व्यवस्था अझै विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ ।
विवाह पर्यटन पनि नेपालका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा अघि बढिरहेको छ । प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक विविधता तथा गुणस्तरीय होटल सेवाका कारण नेपाललाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्न सकिने आधार रहेको व्यवसायीहरूको विश्वास छ । यसका लागि वैवाहिक कार्यक्रममा सहभागी विदेशीले ल्याउने सामग्री तथा गहनासम्बन्धी प्रशासनिक प्रक्रियालाई थप सहज बनाउन सके यो क्षेत्रमा उल्लेखनीय विस्तार हुन सक्ने अपेक्षा गरिएको छ । यससँगै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, सांस्कृतिक महोत्सव तथा सम्मेलन आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणमा पनि राज्यले प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।
पर्यटन उद्योगमा डिजिटल प्रविधिको प्रयोगले पनि नयाँ अवसर सिर्जना गरेको छ । अनलाइन ट्राभल एजेन्सी, डिजिटल मार्केटिङ तथा विश्वव्यापी बुकिङ प्रणालीमार्फत नेपाली होटलहरू प्रत्यक्ष अन्तर्राष्ट्रिय बजारसँग जोडिएका छन् । पहिले नयाँ होटललाई चिनाउन लामो समय र ठूलो विज्ञापन खर्च आवश्यक पथ्र्यो भने अहिले डिजिटल प्लेटफर्ममार्फत छोटो समयमै विश्वभरका सम्भावित ग्राहकसम्म पुग्न सकिने अवस्था बनेको छ । यसले पर्यटन व्यवसायलाई थप प्रतिस्पर्धी, पारदर्शी र पहुँचयोग्य बनाएको छ ।
(पूर्णभक्त दुवालसँग कुराकानीमा आधारित)