मैले जीवनमा धेरै कुरा देख्न, सुन्न र भोग्न अनि जान्न पाएँ । यस मानेमा म आफूलाई साह्रै भाग्यमानी सम्झन्छु । सबैको भाग्यमा यस्तो ज्ञानको कुरा जान्ने अवसर जुन नसक्ला । हुन त अरूले जानेको, देखेको, भोगेको र बुझेको कुरा मैले सुन्दै नसुनी बुढो भएको पनि हुन सक्छु ।
लर्निङ विदाउट फियरको बारेमा म केही भन्ने विचारमा छु । लर्निङलाई हामी नेपालीमा सिकाइ भन्न सक्छौं । पढाइ र सिकाइमा केही फरक अवश्य छ । पढाइ घोकन्ते विद्यालाई पनि भनिन्छ । पढेको विषयको जानकारी सबैमा नहुन सक्छ तर सिकेका विषयको ज्ञान सबैमा हुन्छ नै भन्न सकिन्छ । मान्छेले पढ्नेभन्दा पनि सिक्ने प्रयास गर्नुपर्छ ।
सानो उमेरका बालबालिकाहरू पढाइदेखि तर्सिन्छन्, डराउँछन् । शिक्षकले पढाएका हुँदैनन् । नबुझ्ने ती साना बालबालिकालाई शिक्षकले कुट्छन्, पिट्छन्, हप्काउँछन्, गाली गर्छन्, अनेकथरीका शारीरिक सजाय दिन्छन् । बालबालिका त्रसित हुन्छन् । स्कूल जान मान्दैनन्, रुन्छन् । स्कूल जाने नानीहरू भाग्छन् र दिनभरि अन्त–अन्तै खेलेर साँझमा घर फर्कन्छन् ।
त्यसैले बालबालिकालाई डर, त्रास, धम्की र गाली नगरी हुर्काउनु, बढाउनु, पढाउनु, सिकाउनु र बुझाउनुपर्छ । बालकले आफूलाई सानो छु भन्ने सोचेको हुँदैन । प्रकृतिले सानैदेखि मान्छेका मनमा ’म’ भन्ने अहम् भरिदिएको हुन्छ ।
बलराम पोखरेल
मैले सानैदेखि आफ्नो अहम्को अपमान भएको बालबालिकाले रुचाउँदैनन् । म यस्तो, म उस्तो, म खान्छु, म खान्नँ, म जान्छु, म जान्नँ भन्दा पनि साना नानीहरूलाई गाली गर्ने हप्काउने हाम्रो समाज छ । बालबालिकालाई सम्मान दिने बाबुआमाका छोराछोरीहरू अपेक्षाकृत नदिनेका भन्दा बढी जान्ने, सिपालु, ज्ञानी र
बुद्धिमान् हुन्छन् ।
यस्तो आफूले जान्न पाएँ र गाउँ गाउँका अभिभावकहरूलाई भेला पारेर यस्ता कुरा सुनाउने, बुझाउने र भन्ने अवसर मैले पाएँ । एजुकेसन हेल्प लाइन नाउँको एन.जी.ओ. मा मैले काम गर्ने अवसर पाएँ । यो अवसर मैले साठी वर्षको उमेर काटेर सेवा निवृत्त भएपछि पाएको हुनाले यो ज्ञान घरमा काम लागेन ।
साना नानीहरूलाई आमाबुबाले के भनेर सम्झाउनुपर्छ, के भनेर कसरी बुझाउनुपर्छ, कसरी कुन दर्जाको व्यवहार गरेर घरको सदस्य भएको महसुस गराउनुपर्छ भनेर मैले गाउँका धेरै ठाउँका मानिसहरूलाई सिकाइदिएँ । मेरो कार्य नियमित भयो भएन भन्ने कुरा मलाई थाहा भएन ।
मैले एजुकेसन हेल्पलाइनमा ३-४ वर्ष जति मात्र काम गरेँ । धेरै अभिभावकहरूले खुसी व्यक्त गरेका थिए । मेरो नानी साह्रै बदमास थियो तर सरले भनेजस्तो व्यवहार गर्न थालेपछि सजिलै सप्रियो र स्कूल जान थाल्यो भनेर बाबुआमा खुसी भएको परिणाम पनि मैले सुन्न पाएँ ।